बच्चाको नामले तनाव

शुक्रबार, ०२ चैत २०७४, ०२ : ३२ शुक्रवार
बच्चाको नामले तनाव

बच्चा पाएर हुर्काउनु सबैभन्दा ठूलो तनाव सोच्नुहुन्छ भने अब बच्चाको नाम के राख्ने भनेर बेलैमा होस पुर्याउनुहोला । बेला–बेला बच्चाको अनौठो नाम राख्दा कानुनी कठघराको सामना गर्नुपर्ने कुराको पछिल्लो उदाहरणका रुपमा फ्रान्सको एक जोडीको खबर आएको छ ।

आफ्नी छोरीको नाम अरुको भन्दा भिन्दै राख्ने भन्दै उनीहरुले छोरीको नाम ‘लिएम’ राखिदिएका थिए । फ्रेन्च भाषामा ‘लिएम’को अर्थ आक्रामक वीर योद्धा भन्ने अर्थ लाग्छ । बच्चीको नाम अनौठो त छँदै थियो । तर फ्रान्स सरकारले ती जोडीले परम्परागत केटाको नाम छोरीलाई दिएको भन्दै कानुनी झमेलामा उपस्थित गराएको छ । फ्रान्स सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा लिएम नाम राखेमा बच्चाको लिंग पहिचानमा झन्झट हुने बताएको छ ।

अदालतमा अभियोजकले बच्चीको नामले पछि उसको सामाजिक सम्बन्धमा व्यवधान खडा गर्ने भन्दै न्यायाधीशलाई बच्चीको नाम लिएम राख्न बन्देज लगाउनुपर्ने बताएका छन् । यसरी कानुनी कठघरामा उपस्थित भएपछि बाबु आमाले बच्चीको नाम अर्कै राख्नुपर्ने र उनीहरुले नयाँ नाम सोच्न नसकेमा न्यायाधीशले नै बच्चीको नाम राख्नुपर्ने समाचारहरुमा आएको छ । तर बच्चीका अभिभावक बच्चीको नाम लिएम नै राख्नुपर्ने भन्दै अदालतमा लडिरहेका छन् । कानुनी झमेलाकै कारण उनीहरुले यतिबेला बच्चीको नामकरणलाई स्थगित गरेका छन् ।

फ्रान्स बच्चाहरुको नामकरणमा निकै कठोर देश हो । फ्रान्समा बच्चाको नामकरण गर्दा धेरैपटक कानुनी झमेला बेहोरेको खबर आइरहन्छन् । फ्रान्समा बच्चाहरुको नाम नुटेलन, स्ट्रबेरी र म्यानहट्टन राख्न प्रतिबन्ध गरिएको छ । 
 

Leave A Comment