‘मलाई सेलिब्रिटी हुनु नै छैन’

शुक्रबार, ०२ चैत २०७४, ०४ : १७ अनिल यादव
‘मलाई सेलिब्रिटी हुनु नै छैन’

अनुपम शर्मा खासै परिचित र ‘पपुलर’ पात्र हैनन् तर उनको काम भने ‘पपुलर’ छ । संगीतकर्मी, रंगकर्मीसँगै अभिनेताका रुपमा उनले दरिलो परिचय बनाइसकेका छन् । यसअघि ‘ग्याङस्टर ब्लुज’, ‘लोफर’ लगायत फिल्ममा काम गरिसकेका उनले अहिले ‘गाँजाबाजा’मा निर्वाह गरेको ‘डढे’को भूमिकाबाट तारिफ पाइरहेका छन् । ‘कबड्डी कबड्डी’ फिल्मको ‘मायाका बादल’, ‘गाँठो’को थिम र लिरिकल सङ, ‘झोले’को ‘बमबम भोले’, ‘पशुपतिप्रसाद’को ‘मन तार सारङ्गीको’ लगायत गीतमा उनकै शब्द, स्वर र संगीत छ । ओझेलमै बस्न रुचाउने उनीसँग भेट्न शनिबार साँझ फोनमार्फत् समय मिलाउँदा अप्ठेरो मान्दै उनले अनुरोध गरेको थिए, ‘मेरो ठाउँमा अर्को अप्सन खोज्न मिल्दैन ? १०–१२ दिन म घर (कीर्तिपुर) बाट बाहिर ननिस्कउँ भनेको ।’ ‘इन्टरभ्यू दिए/नदिए पनि दाजुभाइ बसेर चियागफ गरौँ न भन्ने प्रस्तावमा राजी भएका उनी भोलिपल्ट (आइतबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्रको क्यान्टिनमा शुक्रबारकर्मी अनिल यादवसँग यसरी गफिए :

पहिलो पल्ट इन्टरभ्यू दिँदै हो ?
हो । 

त्यो पनि मलाई नकार्न नसकेर, है ! 
त्यही त । दाजुभाइ बसेर ‘चियागफ गरौं’ भन्नुभयो । म चियाको प्रेमी, गफको पनि ! त्यही वाक्यले लोभ्याएर भेट्न आइयो ।  

त्यसो भए मैले तपाईंलाई फँसाएछु आज ! (हाँस्दै) 
खोई, त्यस्तै होला जस्तो भो !

तपाईंले अभिनय गरेको फिल्म ‘गाँजाबाजा’ हलमा लागिरहेको छ तर तपाईं चुपचाप घरमा बसिरहनुभएको छ । फिल्म घोषणादेखि रिलिजसम्म कहीँकतै प्रचारमा देखिनुभएन, कारण के हो ?
खासमा मलाई एक्टिङ रमाइलो लाग्छ, गरिन्छ । प्रचारप्रसार रमाइलो लाग्दैन, गरिँदैन । सायद मलाई यी दुवै सँगै जोडिएर आ’को पाटो हो जस्तो नै लाग्दैन ।  

यसो गर्दा फिल्ममेकर्स रिसाउँदैनन् ?
‘गाँजाबाजा’मा मात्रै होइन म कुनै पनि फिल्मको प्रमोसनमा हिँडेको छैन । फिल्म खेल्नुअघि नै मैले प्रचारप्रसारमा नहिँड्ने सर्त राखेको हुन्छु । पब्लिसिटी भनेको आर्टिस्टको लेभलको काम होइन कि जस्तो लागेर पनि होला । यहाँ त मैले कुनै स्टेटमेन्ट बोलेँ भने त्यो पोजिटिभ्ली या नगेटिभ्ली जसरी पनि जान सक्छ । फिल्ममेकर्स मेरो सर्तमा तयार भएपछि नै मैले फिल्म खेल्ने हो । मलाई स्टेजमा चढेर माइक समातेर ‘आर यु रेडी’ भन्न आउँदैन ! ‘रातो सूर्य’ फिल्मको घोषणा कार्यक्रममा गएर पनि बोलिन ।  

किन नबोलेको त ?
गाह्रो लाग्छ क्या ! सायद मिडियाको लेन्स भएर सचेत भएँ कि ! मिडियालाई धेरै नजिकबाट बुझेको छु, त्यै भएर । 

मिडियामा इन्टरभ्यु नै पहिलोपल्ट दिँदैछु भन्नुभयो । आफूले अनुभव नै नगरी बुझ्नुभएको ?
मैले अध्ययन गरे नि ! अरुको हेरेर पनि सिकिन्छ नि ! अनमोल केसी, दयाहाङ राईहरुको जति मान हुन्छ, त्यति नै चरम आलोचना पनि देखेँ । मलाई मध्यमार्गसँग समस्या होइन, चरम आलोचनासँग हो । खुसीमा नमात्तिनु, दुःखमा नआत्तिनु भन्ने मनोविज्ञानबाट म निर्देशित छु । भनिन्छ नि, मेन्टेनिङ लो प्रोफाइल इज त बेस्ट प्रोफाइल । म लो प्रोफाइलमा रमाउन चाहन्छु तर दुःखको कुरा यो मनस्थिति मैले भित्रै राख्नुपर्ने हो, तपाईंसँग व्यक्त गर्ने नै होइन । यसरी तपाईंलाई भन्नु भनेको पनि ‘लो –प्रोफाइल’ होइन क्या ! त्यसैले म सेक्रेसीमै रमाउन चाहने हो । 

यस्तो देखिइरहेछ, तपाईं बोल्नुअघि एकदमै धेरै सोच्नुहुन्छ । कतिपय कुरा माइन्डबाट सेन्सर भएर मुखबाट नफुत्किएको महसुस गराइरहनु भएको छ, हो ? 
के गर्नु ? मेरो सेन्स अफ लिभिङ नै यस्तै भइदियो । यो मैले बनाएर भएको होइन । भएकै यस्तै हो । 

यो क्षेत्रमा लागेको ठ्याक्कै कति वर्ष भयो ?
काठमाडौं सिनारियोमा एक्टिभ्ली काम गरेको त्यही सन् २०१० देखि हो कि !  

एकछिन फिल्मको कुरा गरौं । ‘गाँजाबाजा’मा तपाईंले गरेको कामको  प्रशंसा भइरहेको छ । फिल्मभित्र तपाईंको पात्रले केही अपाच्य शब्द समेत बोलेको छ । सुटिङका बेला अप्ठेरो भएन ?
बिल्कुलै भएन । मेरो कामै रियालिज्मको पाटो हो । सिनेमामै भए पनि जतिसक्दो रियालिटीको नजिक पुग्ने हो  । सिनेमा रियालिजमको नजिक रै’छ भनेर झन् खुसी पो भइयो ! 

सुटिङको माहोल कस्तो थियो ?
त्यस्तो केही पनि हुन्थेन । दुइटा बाइकमा गएर सुटिङ गरेको हो । एउटा बाइकमा क्यामेरा, अर्कोमा एक्टर । त्यस्तो तामझामसँग ट्रलीसली लगाएर सुटिङ गरेको पनि होइन । सुटिङअघि वर्कसप भने थियो । 

गँजेडीको रोल निर्वाह गर्नका लागि कत्तिको मिहिनेत गरियो ?
देखिरा’कै क्यारेक्टर हो । २–४ चोटी खाको पनि थिएँ पहिला (हाँस्दै) । निर्देशकले दिएको डायलगहरु रटियो । सानैदेखि मलाई हेर्नेबित्तिकै धेरैले गाँजा खानेजस्तो, बहुला टाइपको देख्थे । खान्न भन्दा पनि कसले पत्याउने ? त्यसैले क्यारेक्टरमा काम गर्दा खासै केही गर्नु परेन ।  

कलाकारितामा तपाईंको रुचि सानैदेखिको हो ?
सानोछँदा क्लासिकल संगीत सिक्थेँ । घरबाटै सिकाइयो । पछि म्युजिक गर्दागर्दै थिएटरमा आएँ । थिएटर आएपछि एक्टिङ गरेँ ।

म्युजिक सिक्दै गरेको मान्छे अभिनयतिर कसरी लागियो ? 
ठ्याक्कै के–कारण मैले अभिनय गरेँ, किन संगीतमा लागेँ यी प्रश्नका जवाफै छैनन् मसँग । म अहिले विगत कोट्याउन चाहन्नँ । हिजो म कसरी यहाँ आइपुगेँ, के–कस्तो संघर्ष गरेँ त्यो म सम्झनै चाहन्नँ । म ‘मोमेन्ट टु मोमेन्ट’मा रमाउने मान्छे हो । मसँग मैले कलाकार बन्नका लागि ‘यस्तो गरेँ, उस्तो गरेँ’ भन्नेजस्तो कुनै कहानी पनि छैन । 

खुलेर बोल्न नचाहनुभएको हो ? 
अघि नै भनिसकेँ– यो मेरो सेन्स अफ लिभिङ हो । अहिले मैले खुलेर बोलेँ भने त्यो मेरालागि बलजफ्ती गरेजस्तो हुन्छ । मेरो नेचर नै ‘मैले यति साल यो गरेँ, अनि विभिन्न रेलका प्लटेफर्ममा सुतेँ, त्यो गरेँ’ भन्ने नै होइन । त्यस्ता अनुभव छँदा पनि छैनन् । मलाई संघर्ष गरेको चेत नै छैन । गरेकै भए पनि भन्नुपर्छ भन्ने लाग्दैन । यहाँ संघर्ष सबैको छ ! हाम्रो संघर्ष त के संघर्ष, यहाँ खोज्ने हो भने सुन्दा शरीरै सिरिङ्ग हुने संघर्षका कथाहरु थुप्रै भेटिन्छन् । 

नाटक, फिल्म र संगीत तीनथरी विधाबाट तीनथरीका प्रशंसक तपाईंसँग छन् । समीक्षकहरु तपाईंको कामको खुलेर प्रशंसा गर्छन् । तैपनि तपाईं चर्चाबाट पर भाग्न खोज्नुहुन्छ । मनोरञ्जन दुनियाँमा काम गर्नु अनि मिडियाबाट लुक्न खोज्नु, यो त विरोधाभाष भएन र ?
म मिडियामा छाएर मानप्राप्त गर्ने पक्षमै छैन । मलाई मान कमाउन मनै नलाग्ने होइन तर इन्टरभ्यु मिडियमबाट मन लाग्दैन । कामबाटै लाग्ने हो । मलाई यो पनि थाहा छ– मान्छेले जति नै मान पाउँछ, त्यति नै अपमान पाउँछ । जति स्टारडमको चर्चा हुन्छ, उति नै आलोचना पनि सुनिन्छ । दया (दयाहाङ राई) दाइलाई सुरुमा खतरा अभिनेता भनिन्थ्यो, अहिले एउटै अभिनय भयो भनेर आलोचना गर्न थालिएको छ । म यतिखेर तीर्थ श्रेष्ठको कविता सम्झिरहेको छु :

हामीले लेखेर आएका छौं हिउँमा आ–आफ्ना नामहरु
एकैछिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु
एकैछिनपछि घाम लाग्यो भने पनि रहने छैनन् हाम्रा नामहरु
हामी रहँदारहँदै नरहने हाम्रा नामहरु
हामी नै नरहेपछि झन् कसरी रहलान् र ? 

यो कविता प्रायःजसो एक्टरलाई कण्ठ छ ।

भनेपछि तपाईंलाई सेलिब्रेटी हुने, दर्शकसँग सेल्फी खिचाउने लोभ छैन ?
मलाई सेलिब्रिटी हुनु नै छैन । मेरो चाहना आफूलाई सेलिब्रिटी फिलै हुनै नदिने हो । मलाई पनि ‘आइडेन्टिटी क्राइसिस’ हुन्छ, नहुने होइन । तर सधैँ हुँदैन । अहिले मैले दिनको दुइटा काम रिजेक्ट गरिरहेको अवस्था छ तर म आफूलाई हराएको, अरुले बिर्सेको, बेवास्ता गरेको महसुस गर्नासाथ काम माग्न जान्छु । यो मानव स्वभाव हो ।

तपाईंलाई सेलिब्रिटी पनि हुनुछैन, सुपरस्टार पनि हुनुछैन । हुनुचाहिँ के छ त ? 
यस्तै रमाइलो गरीगरी जिन्दगी कटोस्, त्यही त हो नि ! अरु त के गर्न मन छ भनौँ ? हलिउड फिल्म खेल्न मन छ त भनौँ भने त्यो पनि पाए खेल्ने, नपाए नखेल्ने भन्ने हो । लक्ष्य नै त त्यस्तो केही छैन । 

अहिलेसम्म काम मागेको अवस्था छ ?
किन नहुनु ? ‘कबड्डी’ फिल्ममा त्यो जुँगावाला पुलिसको दुई सेकेन्डको रोल मैले रामबाबु (फिल्मका निर्देशक) दाइसँग मागेको हो । सुरुमा मान्नु भएको थिएन । धेरैजसो नाटकहरु मागेरै गरेको छु । 

किन मान्नुभएन ?
खोई, मलाई ठूलो कलाकार सम्झिएर होला (हाँस्दै) कि !

तपाईं अहिले ग्ल्यामर क्षेत्रमा हुनुहुन्छ, सहमत हुनुहुन्छ नि !  
मलाई त्यस्तो लाग्दै–लाग्दैन । म आफूलाई पूरै ललितकला क्षेत्र अन्तर्गतको भरतमुनि नाट्यशास्त्र अन्तर्गतको एउटा साधना गरिरहेको व्यक्तिजस्तो ठान्छु । त्यो पनि आफ्नो खुसीको लागि । 

(यति जवाफ दिइसकेपछि संवाददाताले फोटोसुटका लागि भोलिपल्टको समय माग्यो । अनुपमले आफ्नो मोबाइल देखाउँदै भने, ‘यी हेर्नुस् मेरो मोबाइल अफ भइसक्यो । अब यो १४ दिनसम्म खुल्दैन । गणेश दाइ (गाँजाबाजाका निर्देशक) सँग माग्नुस्, उहाँसँग हुन सक्छ ।’)

त्यत्रो दिन किन अफ गर्ने त मोबाइल ?
म केही दिन घरमै बस्न चाहन्छु । मोबाइल अन भएपछि डिस्टर्भ भइहाल्छ । तर मलाई ‘आइडेन्टिटी क्राइसिस’ भएको अथवा कुनै आवश्यकता महसुस भयो भने खुल्न पनि सक्छ । ठ्याक्कै १४ दिन लाग्छ भन्ने हुन्न । 

एकान्त प्रेमी हो तपाईं ? 
हो । तर मलाई भिडहरु नियाल्न भने मन लाग्छ । 

अघि दिनको दुइटा काम रिजेक्ट गरेको कुरा सुनाइरहनुभएको थियो । कस्तो काम गर्न तपाईं रुचाउनुहुन्छ ?
धेरै कुरा छ । हेर्दाखेरी कि त नयाँ हुनुप¥यो, कि त मैले गर्न नसक्ने हुनुपर्याे । म सिर्जनामा विद्रोह नै रुचाउँछु । कसैले नयाँ गर्न लाग्यो भने मैले त्यसको कदर गर्छु । मलाई अहिले म्युजिसियनको रोलमा काम गर्न मन लागिरहेको छ ।  

तपाईंका लागि एक्टिङ गर्नु, संगीत सिर्जना गर्नु भनेको के हो ?
खुसी हुने बहाना हो, अरु केही होइन । मलाई एक्टिङमार्फत् फरक–फरक चरित्र बाँच्न मन लाग्छ । आठ वर्षअघि अनुप बरालसँग एक्टर्स स्टुडियोमा एक्टिङ सिक्थेँ, त्यतिबेला जोगी बनेको क्षण कहिल्यै बिर्सन्नँ । म त्यतिबेला गलफ्रेन्डको घरमा जोगी बनेर पुगेको थिएँ । म पूरै जोगीको भेषमा थिएँ । घर पुग्दा सुरुमा ममी बाहिर निस्किनुभयो । पछि गःलफ्रेन्ड कलेज ड्रेसमा बाहिर निस्किइन् । म ऊसँग जोगीकै भेषमा सहर घुमेँ । त्यो क्षण सम्झदा आज पनि रमाइलो लाग्छ । केही वर्षअघि सुनिल दाइ (पोखरेल)सँग नाटक सिक्दा पनि माग्ने बनेको थिएँ । मादल बजाउँदै मागिएको थियो । ६ सय कमाएको थिएँ । 

नाटक, फिल्म र संगीत । यी तीनमध्ये केमा बढी मज्जा आउँछ ?
खासमा म आफूलाई ट्यागलाइन दिएकै रुचाउँदिन । मलाई यो एक्टर, म्युजिसियन अथवा रंगकर्मी भनेर कुनै ट्यागलाइन नदिए हुन्थ्यो भन्ने लाग्छ । आज पो छु त, भोलि त्यही काममा नहुन पनि सक्छु ! मज्जा आउने कुरा गर्दा त्यो ठ्याक्कै समयमा भर पर्छ । मलाई कहिले शान्ति मनपर्छ, कहिले कोलाहल । कहिले फिल्म मात्रै हेर्न मनपर्छ, कहिले मनै लाग्दैन । अस्ति ‘कोइन कलेक्सन’तिर मुड गयो । दुई महिना सिक्का बटुलेँ । अहिले घरमा बाटाभरि सिक्का छन् । 

अभिनय गर्ने पात्र र सिर्जना गर्ने संगीत तपाईंको जीवनसँग कति नजिक हुन्छन् ?
सबै नजिक छन् । मेरो जीवनसँग नजिक नभएका कुरा मलाई गर्नै आउँदैन । एकचोटी नाटकका लागि नाइटेङ्गल चराको रोल गर्नुपरेको थियो, आउँदै आएन । न मैले नाइटेङ्गल चरा देखेको छु, न मान्छे नाइटेङ्गल भयो भने कस्तो हुन्छ,  सोच्न सकेँ । गर्न त गरेँ तर राम्रो भएन । समीक्षा पनि ‘ठीकै’ भनेर आयो । 

यो कला क्षेत्रको के कुरा तपाईंलाई चित्त बुझ्दैन ?
ग्ल्यामरसँग धेरै नै जोडियो कि भन्ने लाग्छ । सिकाउँदाखेरी ग्ल्यामरसँग रिलेटेड नै हुन्न । नाटकमा दिइने ३ महिने, ६ महिने कोर्समा त्यस्तो हुँदै हुन्न । स्कुलिङ नै झुत्रे हुन्छ । त्यही भएर नाटकमा काम गर्नेहरु बढी सिम्पल, दाह्री पाल्ने, झुत्रे भएर हिँड्ने गर्छन् । थिएटर किन गरेको भन्दा फिल्मका लागि जस्तो भयो । खासमा थिएटर त आफैँमा एउटा विद्रोह हो– फिल्म कस्तो बनिनुपर्छ भन्ने । सुनिल सर(पोखरेल)ले अस्ति न्यु इयर पार्टीमा भन्नुभएको थियो– ‘आर्ट इज नेभर पोलिटिकल्ली करेक्ट ।’ कसरी बनाउने क्या करेक्ट ? एक्टिङ इमान्दारितातिर छ, इमान्दार भएर देखाउनुपर्ने छ ।  अनि त्यो कसरी पोलिटिकल्ली करेक्ट हुन सक्छ ? कुनै पात्रले रियलमा आइमाई भनिरा’छ र म यदि इमान्दार एक्टर हो भने त्यसलाई मैले पर्दाभित्र पनि भन्नुपर्छ ।  

आठ वर्षअघि गलफ्रेन्डको घरमा जोगी बनेर गएको सुनाउनुभयो । अहिले रिलेसनसिप स्टाटस के छ नि ?
त्यो बच्चैबेलाको हो, ब्रेकअप भइसक्यो । 

प्रेम भनेको के रहेछ जस्तो लाग्छ ?
हामीले गर्नेवाला लभ कसैको इगोमा लागेर गरिएको ‘अट्याचमेन्ट’ मात्रै रहेछ ।  एउटाले अर्कोलाई महान् ठानेपछि लभ पर्ने न हो ! 

तपाईं सामाजिक संजालमा पनि हुनुहुन्न, किन होला ?
२०१२ सम्म फेसबुक चलाउँथे । नेगेटिभिटी बढी आयो । क्रिएटिभिटी लस्ट भयो । चलाउन छाडिदिएँ । मलाई यही फोनै बढी भइराको छ । बिना स्वादको तनाव किन लिने ? यहाँ त सबै टेक्नोलोजीकल्ली रोगी भइसकेँ । मलाई टेक्नोलोजीको रोगी हुनुछैन । 

बजारमा जस्ता गीत हिट भइरहेका छन्, तपाईले सिर्जना गरेका गीत त्यस्ता छैनन् । बजारलाई पछ्याउन मन लाग्दैन ?
एक त नआएर होला । अर्को म क्रिएटिभ फिल्डमा छु । अरुले जे गरे त्यही गर्ने भन्दा पनि आफूलाई जे गर्न मन लाग्छ, त्यही गर्दा राम्रो होला । यही सोचअनुरुप म संगीत गर्छु । फिल्मको संगीतको कुरा गर्नुहुन्छ भने म स्क्रिप्ट माग्छु अनि पूरा पढ्छु । त्यसपछि मात्र संगीत गर्छु । म आफैँ लेख्छु, आफैँ संगीत भर्छु, आफैँ गाउँछु । संगीतमा काम गर्दा मलाई पूरै स्वतन्त्रता चाहिन्छ । 

यहाँ त कलाकारलेसम्म स्क्रिप्ट पढ्न अल्छी गर्छन् भनेको सुनिन्छ ?
हो र ? मलाई त स्क्रिप्ट पढ्नैपर्छ । ‘पुरानो डुङ्गा’को ‘रुमानी रंग’ गीत मैले भिडियो हेरेर बना’को हो । 

अहिलेसम्म गरेकामध्ये तपाईंलाई एकदमै सन्तुष्टि मिलेको आफ्नो काम ?
पूरै सन्तुष्ट मिलेको त के होला र ? जेमा पनि कमजोरी भेटिहाल्छु । 

जीवनकै पहिलो इन्टरभ्यू भन्नुभयो । कस्तो भयो जस्तो लाग्यो ? 
मैले त टेक्स्ट नै देखिसकेँ, कसरी आउँछ भनेर (हाँस्दै) ।

धेरै सोच्नुहुन्छ है तपाईं ?
हो, ममा अति चिन्तन छ । 

तपाई मान प्राप्तिको पछि कुद्नु छैन भन्नुहुन्छ, तर जसरी बोल्नुहुन्छ त्यसले मान नै प्राप्त गराउन खोजिरहेको छ जस्तो लाग्दैन ?
तपाईंले अहिले आएर थाहा पाउनुभयो  ? मैले अघिदेखि त्यही कुरा भन्न खोजिरहेको छु । 

(करिब १ घण्टाको कुराकानी यत्तिमै टुंगियो । गफगाफका क्रममा अनुपमले ५ कप चिया पिए । छुट्टिने क्रममा फेरि अनुरोध गरे– ‘मिल्छ भने अझै मेरो इन्टरभ्यु पब्लिस् नगर्दिनुस् । तपाईंले छापेको इन्टरभ्युले मेरो ‘सेन्स अफ लिभिङ’लाई नै उथलपुथल नबनाओस् ।’ उनको बोलीमा इमान्दारिता झल्किन्थ्यो ।)
 

Leave A Comment