‘यहाँ सोझी भएर कामै छैन, हिम्मतिली हुनुपर्छ ’

शुक्रबार, ०९ चैत २०७४, ०६ : ५० शुक्रवार
‘यहाँ सोझी भएर कामै छैन, हिम्मतिली हुनुपर्छ ’

र्याप ब्याटल त सुनिएकै हो तर पहिलोपल्ट बजारमा ‘दोहोरी ब्याटल’ गाएर चर्चामा छिन्– गायिका प्रीति आले मगर । दोहोरी क्षेत्रमा उनी  बेली डान्सरका रुपमा परिचित छिन् । ‘फुल्यो बामरी’, ‘पसिना आइरा’छ’, ‘ल्वाङ–सुपारी’, ‘अब हेर मेरो बेली डान्स’ उनले गाएका हिट नम्बर हुन् । स्टेज कार्यक्रममा निकै व्यस्त उनै प्रीतिसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

नाकमा पियरसिङ गर्नुभएको रहेछ, सौखिन हो ? 
मैले केही समयअघि एउटा बुलाकी लाउनुपर्ने गीत गरेकी थिएँ । बुलाकी लाउन यसले सजिलो हुन्छ । यो त अहिले फेसन पनि भइसक्यो (हाँस्दै) ।  

अहिले दोहोरी बजारमा तपाईंले गाएको ‘दोहोरी ब्याटल’ले तहल्का पिटिरहेको छ, है !
खोइ, के भन्नु ! गाली पनि खाइयो, चर्चा पनि पाइयो । युट्युबको ट्रेन्डिङ नम्बर २ मा पनि आयो । त्यति हुँदाहुँदै युट्युबबाट हटाइयो । फेरि सेन्सर गरेर हालियो । सेन्सर गरेर हाल्दा पनि ट्रेन्डिङ ९ सम्म आएको थियो । 

दोहोरी संगीतमा ब्याटल, डिलिट अनि फेरि भिडियो सेन्सर गरेर किन हाल्नुपर्याे त ? 
हामीले अहिलेसम्म गाइरहेका दोहोरी गीत आफैँमा ‘ब्याटल’ नै हो ।  दोहोरी र ब्याटल भन्नुमा खासै फरक छ जस्तो लाग्दैन । जसरी पनि सवालजवाल र घोचपेच नै हुने हो । हामीले आफूलाई आधुनिक भन्न रुचाउने, दोहोरी गीत सुन्न नरुचाउने दर्शक÷श्रोतालाई ‘ब्याटलकै रुपमा भए पनि दोहोरी सुनाऊँ न त’ भनेर ब्याटल ल्याएका हौं । 

भनेपछि दोहोरीका खास अडियन्सका लागि यो ब्याटल होइन ?
होइन, दोहोरी अडियन्सले स्वभाविक रुपमा यसलाई मन पराउने नै भए । दोहोरीप्रति वितृष्णा राख्नेहरुलाई पनि ‘दोहोरी रमाइलै हुँदो रैछ’ भन्ने महसुस गराउनलाई ल्याएका हौं । अर्को कुरा दोहोरीले नयाँ रुप लिँदै जाँदा यो आवश्यक पनि थियो । हिजोको दोहोरीजस्तो आजको दोहोरी छैन । बाजा, भिडियो, शब्द सबै कुरामा परिवर्तन भइसकेको छ । हिजो ‘पानको पात’देखि आज ‘फूल फुलेर पहेँली भयो’सम्म आइपुग्दा दोहोरी धेरैे फरक भइसक्यो । 

त्यसो भए युट्युबबाट डिलिट किन गर्नुपर्याे ?
एउटादुइटा कुराहरुले गर्दाखेरी हो । 

कस्तो कुरा ?
सिधैँ भन्नुपर्दा भिडियोभित्र हिरोको रोलमा रहेका प्रकाश सपुत (गायक)ले माझी औँला ठड्याउनुभएको थियो । र, मेरो एउटा ‘बिप’ गरेर राख्नुपर्नेजस्तो ‘लिप सिन’ थियो । कथाले मागेको भन्छ नि ! हो, त्यसरी नै एउटा आवेशमा आएको केटा–केटीले झगडाको क्रममा देखाउने व्यवहार प्रस्तुत गर्न खोज्दा हामीले त्यो सिन राख्यौं । तर, चर्को आलोचना भयो । सायद हामी लोकदोहोरी गायक–गायिका नभएर अरु नै भएको भए यस्तो हुँदैनथ्यो होला । हामीले पहिला गरेका कामहरुसँग तुलना गर्दा यो अलि फरक नै थियो । त्यसैले हामीसँग रिसाएका दर्शकलाई फकाउनका लागि सेन्सर गरेर फेरि अपलोड गरेका हौं । 

दोहोरी ब्याटल ल्याउने हिम्मत पनि गर्ने अनि गाली खानेबित्तिकै डिलिट गर्ने ? यो त साहसी काम भएन नि ?
के गर्ने, दुःख गरेर दर्शकबाट कमाएको प्रेम र लोकप्रियता गुमाउने डर भयो नि त ! अहिलेसम्म १५–१६ वटा देश घुमिसक्दा, २०–२५ वटा विदेशको कार्यक्रम गरिसक्दा पनि कहिल्यै गुन्युचोली नछोडेकी गायिका हुँ । अरुले जस्तो देखाउने नै भए त ति देखाइरहेका भन्दा कम आकर्षक छुइनँ म । शरीर पनि कम आकर्षक छैन । दुःख गरेर मेन्टेन गरिरहेकै हुन्छु । तर स्टेजमा जहिल्यै पनि भेषभूषालाई सम्मान गरेर गुन्युचोलीमा प्रस्तुत हुने गायिका अचानक ब्याटलमा त्यसरी प्रस्तुत भएपछि धेरैले प्रीति आले किन बौलाई ? भन्न थालेको सुन्दा अलि पीर प¥यो । चस्स मुटुमै बिझ्यो । त्यसैले सेन्सर गरेर फेरि अपलोड गरियो ।  

तर जे होस्, युट्युबको ट्रेन्डिङ २ मा आइपुगेको गीत हटाउन ठूलै साहस गर्नुभएको थियो, है ?
कुनैबेला जति क्यासेट बिक्थ्यो उति गीतको चर्चा हुन्थ्यो । पछि एफएममा जति बज्यो त्यति चर्चा हुन थाल्यो । त्यसपछि फेरि टिभीमा जति देखाइयो उति चर्चा हुने भयो । अहिले सबैलाई युट्युबले रिप्लेस गरेको छ । त्यो ब्याटलमा मेरो भन्दा पनि प्रकाश भाइ (सपुत)को लगानी थियो । उसको सिर्जना थियो । सायद त्यतिबेला उसलाई बढी पीर प¥यो होला । मैले त एकपल्ट प्रकाश भाइलाई बरु दर्शकसँग माफी मागौं तर युट्युबबाट नहटाऔंसम्म भनेको हो । तर गल्ती महसुस गरेपछि हटाउन किन कन्जुस्याइँ गर्ने भनेर हटायौं । 

सेन्सर गरेर अपलोड गरेपछि रिसाएका दर्शक खुसी भए त ?
खुसी नै छन् । हाम्रो कुरा यिनीहरुले माने भन्ने रेस्पोन्स छ । ब्याटल नै भनेर किन निकालियो भनेर प्रश्न गर्नेहरु पनि होलान् । तर सबैको कुरा सुनेर कहाँ साध्य हुन्छ र ! 

दोहोरीमा एउटाले नयाँ काम सुरु गरेपछि सबैले त्यसैलाई फलो गर्ने ट्रेन्ड छ । अब दोहोरी ब्याटलको पनि बाढी आउँछ होला, होइन ?

मैले सुनेको– यो बीचमा धेरै दोहोरी ब्याटल रेकर्ड भा’छ रे । हामी पनि अझै निकाल्छौं ।  

ब्याटलमार्फत् दोहोरीबाहेकका अडियन्सलाई क्यास गर्न कति सफल भइयो भन्ने लाग्छ ?
मज्जाले भइयो । अहिलेसम्म दोहोरी सुनेको थिइनँ, यस्तो हुँदोरैछ, अब सुन्न थालैँ भन्ने धेरै भेटकी छु । सयौं गीत गाउँदा पनि नचिन्नेले अहिले बाटोमा हिँड्दा चिनेको देख्दा ब्याटलकै कारण होला भन्ने लाग्छ । 

अलि पछाडी फर्कौं । कलाकारितामा तपाईंको प्रवेश कसरी भयोे ?

सुन्दा रेडिमेड जवाफ सुनिएला तर मैले सानैदेखि गाउने÷नाच्ने गरेको हो । स्कुलको कार्यक्रममा भाग लिन्थेँ । जिल्ला, अञ्चल हुँदै राष्ट्रियस्तरको दोहोरी प्रतियोगितामा भाग लिएँ । लाइभ दोहोरीमा सानैदेखि रुचि थियो । गाउँमा हुने बिहे, पूजा, ब्रतबन्धमा मलाई खोजीखोजी फकाइफकाइ दोहोरी गाउन लगाउथेँ । मैले दमौली, पोखरा हुँदै काठमाडौंसम्मका दोहोरी साँझमा काम गरेँ । अरुले विकृतिका रुपमा लिँदै गर्दा मेरा लागि दोहोरी साँझ ठूलो अवसर बन्यो । 

भनेपछि यो स्थानसम्म आइपुग्न संघर्ष धेरै गरियो जस्तो छ ?
१२ वर्षसम्म आइपुग्दा धेरै गरियो । 

के–के गरियो ?
रातभर दोहोरीसाँझमा गाइयो । गाएर पनि पुग्दो तलब हुँदैनथ्यो । थोरैभन्दा थोरै पारिश्रमिकमा कार्यक्रमतिर गाइयो । कतिपय कार्यक्रममा त तोकिएको पारिश्रमिक नपाउँदा मन खिन्न बनाएर पनि फर्किनुपरेको छ । २ देखि ३ लाखसम्म पैसा लगानी गरेर एल्बम निकालियो, अनि डुबाइयो । तर जिन्दगीमा हार भने खाइएन । म आफूलाई अरु गायकगायिकाभन्दा लक्की ठान्छु । स्टेज कार्यक्रम चाँडै पाएँ । २००६ मै हङकङ जाने मौका पाएकी थिएँ । त्यतिबेला उमेर सानो भएकाले मैले पासपोर्टका लागि १ वर्ष उमेर बढाएर नागरिकता निकालेकी थिएँ । हङकङलगत्तै कतार गएकी थिएँ । 

अघि तपाईंले दोहोरी साँझको प्रशंसा गर्नुभयो तर मैले १ वर्षअघि स्थलगत रिपोर्टिङ गर्दा दोहोरी साँझफोहोरी हुँदै गरेको पाएको थिएँ । यसमा सहमत हुनुहुन्न ? 
फोहोरी त कुन क्षेत्रमा नहोला र ? हामीले काम गरेजस्तो अहिले छ भनेर दाबी त गर्न सकिँदैन । सबैले राम्रो उद्देश्यले खोलेको भन्न पनि सकिन्नँ । सबै ठाउँमा राम्रो होला भन्न सकिन्नँ तर खराबसँगै राम्रा पनि छन् । 

दोहोरी साँझ मात्रै होइन लोकदोहोरी संगीत पनि फोहोरी भइरहेको आरोप लाग्छ । द्विअर्थी र भद्दा शब्दको प्रयोग व्यापक छ, यस विषयमा तपाईंको धारणा के छ ? 
दर्शक र स्रोताको मागअनुसार दोहोरी परिवर्तन त हुने नै भयो । भद्दा र द्विअर्थी शब्द भएका गीत आएको सत्य हो । यसलाई हामीले स्वीकार्नै पर्छ । चर्चाकै लागि काम गर्न खोज्दा दोहोरीलाई फोहोरी बनाउनेहरु बढेका हुन् । 

तपाईं आफैँ भने यसमा कतिको भागिदार छु भन्ने लाग्छ ?
खोइ, अहिले निकालेको ब्याटलकै कुरा गर्ने हो भने अहिलेको योङ जेनेरेसनले ‘आलु’, ‘घण्टा’ आदि शब्द प्रयोग गर्नु नर्मल हो जस्तो लाग्छ । त्यही पुस्ताको पात्रअनुसार त्यसरी बोलिएको छ तर योभन्दा अगाडि त त्यति धेरै छाडा दोहोरी गाको छु भन्ने लाग्दैन । 
 
बजारको माग अनुसार दोहोरी ट्रेन्ड चेन्ज भएको कुरा गर्नुभयो । बजारमा जे बिकिराछ त्यो अनुसार संगीत गर्ने कि बजारलाई जे आवश्यक छ त्यो दिनतिर लाग्ने ?
सकेसम्म बजारलाई जस्तो आवश्यक छ त्यस्तो दिने हो । बजारलाई मनपर्ने त हुनैप¥यो । अर्को कुरा, हाम्रो बजार अहिले त्यति साह्रो नमीठो र फोहोरी पनि भइसकेको छैन । 

तपाईं राम्रो बेली डान्सर पनि हो, है ?
नाचिन्छ । स्टेजका लागि आफैँ घरमा युट्युब हेरेर सिकेकी हुँ । अन्त कतै सिकेको होइन । अहिले पनि गरिराको छु । स्टेजमा पुगेपछि गीत गाएर मात्रै पुग्दैन, आफूसँग दर्शकलाई अड्याउने कला पनि हुनुपर्छ ।  

यसो गर्दा दर्शकको ध्यान स्वरभन्दा पनि बढी डान्स तिर जाने जोखिम  हुँदैन ?
दर्शकलाई मजा त दिनै पर्याे नि ! कसैले नाच हेरेर मजा लिन्छन्, कसैले गीत सुनेर । दर्शकको च्वाइसको कुरा हो । म एकपल्ट बहराइन त नाच्नको लागि मात्रै गएकी थिएँ । अर्को कुरा, म बेलीमात्रै होइन टिपिकल पनि राम्रै नाच्छु । म स्टुडियो छिरेर गीत रेकर्ड गर्नुअघि स्टेजमा छिरेको हो । हङकङको कार्यक्रममा पुग्दा म स्टुडियो छिरेकै थिइनँ । न गीत नै रेकर्ड गराएका थिएँ । । त्यसैले होला, पर्फमेन्स मेरो लागि सधैँ पहिलो प्राथमिकतामा पर्याे । 

अहिलेसम्म गाएका गीतको संख्या कति पुग्यो ? 
धेरै गाए याद पनि छैन । आफूले लगानी गरेको कुरा भने याद हुन्छ । ३ दर्जन बढीमा आफ्नो लगानी छ । डेढ २ सय त पुग्यो होला कि ! 

कति कला, कति पैसाका लागि गाइयो ?
सुरुमा त संख्या बढाउनकै लागि पनि गाइयो । मैले गा’को फलानो गीत भन्नका लागि पनि गाइयो । पैसा लिएर गाउन थालेको धेरै भएको छैन । ‘कति लिनुहुन्छ दिदी, गीत गाइदिनुपर्याे भन्नेहरु भेट्न थालेको भर्खरै त हो । 

तपाईंले पप गीत पनि गाउनुभएको छ, पपमा पनि रुचि हो ?
हो । ‘अब हेर बेली डान्स’ पपगीत नै हो । ‘चौतारीमा वरपिपल’ लोकपप हो । भर्खरै ‘मन परेको जुत्ता पो जुत्ता’ गाएकी छु ।  म पप पनि गाउन सक्छु, यो म  गर्वसाथ भन्न सक्छु । मान्छेहरुले हेप्ने क्या ! आधुनिक गाउनेहरुले ‘लोके’हरु हे भन्नबाहेक केही पनि जान्दैनन् अर्थात् संगीत बुझेका हुँदैनन् भन्ने टाइपले बोल्ने । हामीभन्दा अगाडिको दिदीदाइहरुले सुनाएअनुसार अलिकति हेपाइ भने थियो नै । अहिले हामीलाई त हिम्मत गर्दैनन् । हामीलाई हेप्न त ठूलै हिम्मत चाहिन्छ । तर पप गाउने पपेहरुले पहिला खुब पेल्थे रे !

‘पपे’ नै भन्दिने ?
हामीलाई लोके भन्छन्, अनि ? (लामो हाँसोसहित) । एउटा लोकदोहोरी गाउनेले जस्तो ठाउँको ठाउँ, तुरुन्तै त्यहाँको परिस्थिति हेरेर अन्त्याउनु प्रयास मिलाएर, ताल सुर मिलाएर तत्काल सिर्जना फुराएर गाउन सक्ने क्षमता कुन पपेसँग हुन्छ त अनि ? अर्काले बनाइदिएको वर्षौं लगाएर घोकेको गीत गाएर अनि हामीलाई हेप्ने सामथ्र्य राख्ने ? दिमाग चाहिन्छ क्या दोहोरी गाउन ! दुई मिनेटमै फुराएर गीत गाउन सक्नुपर्छ । त्यतिबेला पेल्ने हिम्मत गरेकै हुन् । रुचि त थियो नै, पपेहरुले हेपेको सुनेर इखले पनि पप गाइयो । 

अघिल्लो साता हामीले महिला गायिका संगीतकारबाटै यौन दुव्र्यवहारमा पर्ने गरेको स्टोरी प्रकाशित गरेका थियौं । यसमा तपाईंको धारणा के छ ?
लोकदोहोरीमा संगीतकारबाटै हुने भन्ने हुन्न तर दुव्र्यवहार त हुन्छ, किन नहुनु ? मैले नै कतिपल्ट भोगेकी छु । 
भनेपछि यहाँ चान्स मार्न खोज्नेको कमी छैन, है ?
चान्स मार्न खोज्ने त कति हो कति ! उम्रेकोदेखि घुम्रेको सम्मले चान्स मार्न खोज्छन् । कलाकार स्वभावैले खराब हुन्छन् भन्ने सोच राखेर हो कि ? या, कलाकारसँग टाइम बिताउन पाए हुन्थ्यो भन्ने रहरले हो ? बुझ्नै गाह्रो ।

विदेशतिर यौन दुव्र्यवहारविरुद्ध कलाकारहरु खुलेर बोल्न थालेका छन्  तर यहाँ किन खुलेर बोल्न चाहँदैनन् ?
यहाँ लेडिजहरुलाई अलि जोगिन गाह्रो छ । दमदारै भएर निस्किनुपर्छ । हिम्मतिली हुनुपर्छ । सोझी भएर कामै छैन । ‘दाइ, हजुर’ भनेर काम छैन । जस्तोसुकै परिस्थितिमा पनि लड्न सक्छु भन्ने हिम्मत हुनुपर्छ । सायद बदनामीको डरले बोल्न डराउँछन् । बोल्दाखेरी उल्टै केटी नै त्यस्तो भएर हो कि भनेर पीडितमाथि नै प्रश्न उठाउँछ हाम्रो समाज । मलाई लाग्छ, हाम्रो समाज नै यसमा जिम्मेवार छ । यहाँ बोल्ने वातावरण नै सिर्जना भएको छैन । 

बिहे गर्नुभएको छ है ?
छ । नौ वर्ष भइसक्यो । 

दोहोरी साँझमा गाउँदै गर्दा नै हो ?
हो । छोरी भइसकेपछि पनि दोहोरी साँझमा गाएँ । 

लोकप्रियता खस्किने डरले कलाकारहरु आफ्नो सम्बन्धबारे लुकाउन चाहन्छन् तर तपाईं मिडियातिर श्रीमान्बारे खुलेर प्रस्तुत भइरहनुहुन्छ, तपाईंलाई डर लाग्दैन ?
अँहँ, किन डराउनु ? खुलेर नबोल्नु भनेको त नकारात्मक अपेक्षा राखेजस्तो भइगयो नि ! श्रीमान लुकाउनु भनेको त अरुको लागि गेट खुल्ला गर्नु सरह भइगयो नि ! लुकाउँदा झन् धेरै टर्चर आउँछ भन्ने लाग्छ । मैले विवाहित हुँ भनिनँ भने अरुबाट मलाई त्यस्तै तरिकाले अफर आउन सक्छ । 

विवाहित प्रीतिलाई ‘म बिहे गरेर भगाउँछु’ भनेर प्रस्ताव राख्ने फ्यान छन् कि छैनन् ? 
१–२ जना झेल्या छु । विदेशतिरै पनि भेटेका छु । ‘तेरो बुढालाई छोड्दे, डिभोर्स गर, म बिहे गर्छु’ भन्ने टाइपको प्रस्ताव गरेका छन् । पत्यार नै नलाग्ने क्या ! बच्चाबच्चीले कुरा गरेजस्तो लाग्ने !

कहिलेकाहीँ चाँडै बिहे गरेजस्तो लाग्दैन ?
लाग्छ नि, किन नलाग्नु ?

कस्तो बेलामा लाग्छ ?
तपाईंजस्तो ह्यान्डसम मान्छे देख्दा (लामो र चर्को हाँसोसहित) ।

मलाई नै निःशब्द बनाइदिनुभयो त !
हाम्रो समाज जति आधुनिक भए पनि सिंगल भएजस्तो स्वतन्त्रता परिवार भएपछि हुँदैन नि त ! 
 

Leave A Comment