बढ्दो गीत विवाद

शुक्रबार, ०९ चैत २०७४, ०९ : ३५ शुक्रवार
बढ्दो गीत विवाद

सफल संगीतकारको रूपमा दरिएका कालीप्रसाद बास्कोटा गीत चोरीको विवादमा तानिएका छन् । प्रदर्शनको तयारीमा रहेको डमरुको डण्डीबियोमा समावेश गरिएको तितेपाती तितेपाती झ्यापझ्याप बोलको गीत आफ्नो भएको अर्का गायक प्रकाश पौडेलको दाबीसँगै बास्कोटा गीत चोरीको विवादमा तानिएका हुन् ।

‘नाई मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत गाएर चर्चामा आएका पौडेलले सो बोलको गीत आफ्नो २०५८ सालको एल्बममा रहेको दाबी गरेका हुन् । प्रायः खेल प्रतियोगितामा दर्शकहरुले यो शब्द हुटिङको बेलामा प्रयोग गर्ने गरेका छन् ।

विवादमा तानिएका फिल्मी गीत

–तितेपाती तितेपानी 
फिल्म डमरुको डन्डिबियो
–उकालीमा अघिअघि
फिल्म कृ
–नाइलनको साडीमा र झ्याम्मझ्याम्म
फिल्म छक्कापञ्जा २

पछिल्लो समय गीतको लय र शब्द चोरीको विवाद खुबै बढ्न थालेको छ । चलचित्र ‘कृ’ मा समावेश  ‘उकालीमा अघि–अघि’ बोलको गीत विनाअनुमती प्रयोग गरेको विवाद प्रहरी कार्यालयमै पुगिसकेको छ । चलचित्र सम्झनामा समावेश सो बोलको गीत अनुमति नै नलिई आफ्नो चलचित्रमा प्रयोग गरेको भन्दै त्यसका निर्देशक शम्भु प्रधान न्याय माग्दै प्रहरी कार्यालयमा पुगेका थिए । अहिले यो प्रकरण अनुसन्धानमै छ ।

छक्कापञ्जा २ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतसमेत विवादमा तानिएको थियो । पुरानो लोकगीत स्रष्टासँग अनुमति नै नलिई प्रयोग गरेपछि विवाद भएको थियो । आफ्नो हजुरबुबा कान्छा मगर नेपालीको गीत अनुमति नै नलिई फिल्ममा प्रयोग गरेको भन्दै प्रिन्स नेपालीले दाबी गरेका थिए । उनले मौखिक दाबी मात्रै गरेनन् गीतको पुरानो भर्सनसमेत सार्वजनिक गरेका थिए ।

अर्को फिल्मको गीतसँग बिट मिलेको भन्दै छक्कापञ्जा–२ को ‘झ्याम्म झ्याम्म’बोलको गीत समेत विवादमा तानिएको थियो । फिल्म देवर बाबुको ‘बास्ना मिठो कस्तुरी’को बोलको गीतको बिटसँग यसको बिट मिलेको दाबी गरिएको थियो । तर पछि यो विवाद त्यसै सेलायो ।

फिल्मको मात्रै हैन, अन्य गीत पनि बेलाबेलामा विवादमा तानिने गरेको छ । आफूले गाएको गीतको अनुमति नै नलिई अर्को गायकलाई गाउन दिएको विवादमा परेका थिए गायक यशकुमार । आरोप लगाएका थिए बाबु बोगटीले ।

गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गाएको ‘लालुमाई’ भाकाको गीत चोरी गरेको आरोप लगाएका थिए संगीतकार तथा गीत संकलक रमेश विजीले । अनुमति नै नलिई गीत गाएको भन्दै गायक तथा संगीतकार गंगा बरदान बिपुल क्षेत्रीसँग रुष्ट भएका थिए । क्षेत्रीले उनको ‘कहाँमा काट्यो’बोलको गीत अनुमति नै नलिई गाएका थिए ।

Leave A Comment