'युट्युब गायक'काे क्रेज देखेर छ्क्क छन् जेम्स

शुक्रबार, १६ चैत २०७४, ०५ : १६ शुक्रवार
'युट्युब गायक'काे क्रेज देखेर छ्क्क छन् जेम्स

‘कोही मरिहत्ते गरेर भेट्न खोज्थे, कोही स्टेजको बार नाघेरै आउने, कोही ठूल्ठूला प्लेकार्डमा ‘म्यारी मी जेम्स’ भनेर उभिने, चिच्याउने, छुन खोज्ने, अनेक किसिमका फ्यानहरु मैले देखेँ ।’प्रतिभाशाली सर्जक हुन् जेम्स प्रधान । उनलाई गायकका रुपमा मात्र चिनाउनु उनको प्रतिभाको अवमूल्यन हुन्छ । गीत गाउने मात्र होइन, सङ्गीत सिर्जना, गीत रचना, सङ्गीत संयोजन, विज्ञापनमा आवाज दिनेदेखि भिडियो खिच्ने र सम्पादनको कामसमेत गरेका छन् उनले । संगीतमा नौला प्रयोग गरेर युवामाझ लोकप्रिय भएका उनी केही समय गायनबाट हराए । हालै ‘क्रम’ नामक गीति एल्बम लिएर झुल्किएका उनले आफ्नो संगीत यात्रा र आनिबानीबारे शुक्रबारकर्मी अच्युत कोइरालासँग गरेको अन्तरङ्ग कुराकानीः

तपाईं जुन बेला पपगायनमा छिर्नुभयो, तपाईंअघिका पुस्ताले पहिल्यै हिँड्न सजिलो पारिदिनु भएको थियो । तापनि हरेकको जीवनमा एउटा संघर्षको समय आउँछ । सङ्गीतमा लाग्दा तपाईंले कहिले अप्ठेरो महसुस गर्नुभयो ?
मैले गायनमा आउँदा ओम विक्रम विष्ट, सुनील मास्के लगायतका अग्रजले पहिल्यै बाटो खनिसक्नु भएको थियो । उहाँहरुको समय सङ्घर्षको समय थियो । म भाग्यमानी छुजस्तो लाग्छ किनभने म कम समयमै सङ्घर्षले स्थापित भइहालेँ । खासमा त्यसलाई सङ्घर्ष पनि भन्न मिल्दैन होला । साथीभाइसँग युवा उमेरमा गरिने जामअप, रमाइलो, दौडधुप सामान्य नै हो । रमाइलोका लागि गरेका काम नै सङ्घर्ष बनिदियो । एल्बम बिक्री गर्न यहाँत्यहाँ जान्थ्यौँ, कन्सर्टमा हजार, पाँच सय पाइन्थ्यो, कहिलेकाहीँ सित्तैमा पनि गाइयो । एल्बमका पोस्टर भित्तामा आफैँ टाँस्ने, रेडियो एफएममा दौडादौड गर्ने, हजामकहाँ क्यासेट लैजानेदेखि अन्यअन्य रेकर्डिङ स्टुडियोका भित्तामा पोस्टर टाँसियो । यत्तिका दौडधुप भए पनि, त्यो बेला कहिल्यै पनि म यो फिल्डमा स्ट्रगल गरिरा’छु भन्ने लाग्दैनथ्यो । 

पहिलो एल्बम ‘भेडेटारको चौतारी’ नै चलिदिएन, कस्तो लाग्यो ?
यो एल्बम चलेन । किन चलेन भनेर म आफैँ छक्क परेँ । 

तपाईंलाई बडो टेन्सन भयो होला, निराश हुनुुभयो होला !
होइन, म त अझ बढी काम गर्न मोटिभेट भएँ ।

तपाईं त उल्टो मान्छे हुनुहुँदोरहेछ ! फ्लप एल्बमबाट पनि कसरी प्रेरित हुनुभयो ?
एल्बम नचलेपछि किन चलेन भनेर धेरै सोचेँ । मैले ‘रअ’ म्युजिक निकालेको थिएँ । तर त्यो बेला सबै सिन्थेसाइजर म्युजिकको बोलवाला थियो । मैले सिन्थ म्युजिक गरिनँ, लाइभ म्युजिकमा गएँ । एल्बम नचल्नुका कारण खोतल्दै जाँदा सिन्थ म्युजिक गर्नुपर्ने थाहा पाएँ, नयाँ प्रयोग गर्नुपर्ने चाल पाएँ । यस्ता कुरा पत्ता लगाउँदै जाँदा म झन्–झन् मोटिभेट हुँदै गएँ । नयाँ किसिमको सिर्जना गर्नुपर्ने निष्कर्षमा पुगेँ । यसपछि म्युजिकका लागि नयाँ नयाँ सामग्रीहरु किन्ने, त्यसलाई चलाउने, सिक्ने, साउन्ड राम्रो निकाल्नका लागि ग्याजेटहरू भेला पार्ने गर्न थालेँ । हुँदाहुँदै मैले घरेलु स्टुडियो नै बनाएँ र धेरै प्रयोग गरेँ । त्यो बेला लोकपपको जमाना थियो । नेपथ्यको छेक्यो छेक्यो बडो हिट थियो । त्यस्तै गाउने सल्लाह पनि दिन्थे । कसैको सल्लाह मानिनँ, सारंगी र गितारको फ्युजन गरेर ‘भैगो उनी जाऊन्... ’ तयार पारे र बल्ल मेरो गीत हिट भयो । 

तपाई बिजनेसमा लागेको परिवारको सदस्य । बिजनेस सम्हालोस् भन्ने परिवारको चाहना थियो होला ! सङ्गीतबाहेक मेरो अरु कुनै फिल्ड छैन भन्ने कुन बेला लाग्यो ?
जब पहिलो एल्बम फ्लप भयो नि, त्यै बेला मैले सोचिसकेको थिएँ, यसबाहेक मेरो अरु कुनै फिल्ड छैन । मैले यसैमा लाग्नुपर्छ । मेरो बाटो यही हो । म एल्बम चलाउँछु, गीत चलाउँछु । यो फिल्ड रमाइलो छ, रोचक छ, नयाँ–नयाँ प्रयोग गर्न पाइने रहेछ भन्ने लाग्यो ।

तपाईं जिद्दी हगि ?
त्यस्तो त होइन होला तर पनि सङ्गीतको मामिलामा हुँला पनि ।

सुरुमा अभिभावकले केही भन्नु भएन होला तर पछि पारिवारिक व्यवसाय चलाउने दबाब त आयो होला नि ?
सुरुमा घरबाट कुनै किसिमको दबाब थिएन । पहिलो एल्बम निकाल्दा पनि उहाँहरुको सहयोग नै थियो तर एल्बम नचलेपछि व्यवसाय चलाओस् भन्ने बुबाआमाको चाहना थियो । भाग्यवश, ‘भैगो उनी जाऊन्’ गीत चलेपछि भन्न छाड्नु भयो । बरु उल्टै गर, राम्रै छ भनेर हौस्याउन थाल्नुभयो । 

तपाईंलाई कुन बेला सङ्गीतबाटै जीवन धान्न सकिने रहेछ भनेर ढुक्क हुनुभयो ?
मैले कुनै काम योजनाबद्ध तरिकाले गरिनँ । मन लाग्यो गरेँ । मन लागेन गरिन । सांगीतिक क्षेत्रमा पनि यसो गर्छु, उसो गर्छु भनेर गरेको थिइनँ । रहरमा सुरु गरेको थिएँ । पछि चर्चा पाएँ, स्टार बनेँ । अनि, समयले जहाँ लिएर गयो, त्यहीँ गएँ । 

ओहो, म त हिट पो भएछु भन्ने तपाईंलाई कहिले लाग्यो ?
‘भैगो उनी जाऊन् ’ बोलको गीत चलेपछि केही कन्सर्टमा गाउने अफर आउन थाल्यो । त्यो बेला चिठ्ठीमाथि चिठ्ठी आउन थालेँ । श्रोताले अटोग्राफ लिन थाले । त्यसपछि अँ, अब स्टार भएँ, म चल्न थालेँ भन्ने लाग्न थाल्यो ।

तपाईंहरूको समयको सबैभन्दा रमाइलो पक्ष भनेको क्रेजी फ्यानको समय पनि हो । अनौठा र उदेकलाग्दा व्यवहार देखाउने प्रशंसक यहीबेलादेखि जन्मिए भन्ने मलाई लाग्छ । तपाईंले अनुभव गर्नुभएका कुनै अनौठा बानीव्यवहार ?
अँ, कोही मरिहत्ते गरेर भेट्न खोज्थे, कोही स्टेजको बार नाघेरै आउने, कोही ठूल्ठूला प्लेकार्डमा ‘म्यारी मी जेम्स’ भनेर उभिने, चिच्याउने, छुन खोज्ने, अनेक किसिमका फ्यानहरु मैले देखेँ । अहिले सम्झँदा अस्ति भर्खरजस्तो लाग्छ !

तपाईंको जीवनबाट सङ्गीत छुट्याइदियो भने तपाईं के हो ? को हो ?
म केही होइन, कोही हुँदिन किनभने योबाहेक मैले जानेको केही छैन ।

पक्कै व्यापारी त हुनुहुन्थ्यो होला ?
म हिसाबकिताबमा बडो कमजोर छु । हुन त मेरो परिवार अहिले पनि टेलिकमको बिजनेसमा छ तर त्यसमा म टिक्दिन थिएँ होला !

हिसाबकिताबमा कमजोर भन्नुभयो, उसो भए तपाईंले सङ्गीत र विज्ञापनको क्षेत्रमा उठाउनुपर्ने रकम हिसाब गर्याे नै आधा करोड नै पुग्ला !
(जेम्स यतिबेला मुस्कुराउँछन् ।)

नयाँ पुस्ता तपाईंसँग प्रायः झुम्मिन्छन्, तपाईंले त कति जनाको ‘लाइफै’ बनाइदिनु भएको छ, हगि ?
कति जनाको लाइफ बन्यो पनि, कति जना दुई तीन दिन आएर काम गरेजस्तो गर्ने अनि विदेश अप्लाई गर्नेहरु पनि छन् । कतिपयले मसँग काम गरेको भनेर राम्रो ठाउँमा जागिर खाइरहेका छन् । कोही लागिपरेर, साँच्चिकै काम सिक्ने हिसाबले आएका पनि छन् । पछि उनीहरु स्टार पनि भए । कतिपयले गम्भीरतापूर्वक काम गरेर केही सीप नलागेर हावा खाएका पनि छन् ।

बाबु बोगटी, अराज केशव, सुगम पोखरेल, सविन राई तपाईंका कारणले पछि गायक बने भन्यो भने ?
त्यो गलत हुन्छ किनभने प्रतिभा उनीहरुकै हो । मैले थोरै होस्टेमा हैंसे गरेँ हुँला । जस्तो सविन राईले एउटा एल्बम लिएर आएको थियो । मैले गीत सुन्नेबित्तिकै यो एल्बम ननिकाल्नु, बरु अलि मिहिनेत गरेर अर्को नयाँ शैलीको निकाल्नु भनी सुझाव दिएको थिएँ । पहिले मानेन, निकाल्यो, फ्लप भयो । पछि आएर नयाँ किसिमले गर्छु भन्दा मैले सहयोग गरेँ, ‘सतह’ एल्बम हिट पनि भयो । ऊ प्रतिभाशाली थियो, मबाहेक अरुकहाँ गएको भए पनि हिट हुन्थ्यो तर मसँग ठोक्कियो । मलाई यसरी क्रेडिट लिन अप्ठेरो लाग्छ । 

तर पनि... ?
कतिपय गायक गायिका भाइबैनीले मेरा गीत, सङ्गीत माग्नुभयो, मिहिनेत गर्नुभयो, अघि बढ्नुभयो । मैले सकेको सहयोग गरेँ । उहाँहरु अघि बढेको देख्दा खुसी लाग्छ ।

तपाईंहरुको समय (२२ वर्षअघि) र अहिले के परिवर्तन आयो सङ्गीत क्षेत्रमा ?
ठूलो परिवर्तन जनसंख्यामा आयो । २० वर्षअघि जनसंख्या कम थियो, अहिले बढेको छ । त्यो बेला एक लाख एल्बम बिक्थ्यो भने अहिले झन् बढी बिक्नुपथ्र्यो तर प्रविधिमा आएको परिवर्तनले त्यो गुम्यो । अहिले तपाईंले युट्युबमा हेर्नुभयो भने तपाईंले नामै नसुनेका कैयौँ गायकगायिकाको भ्युअर अचम्मलाग्दो गरी बढी देख्नुहुन्छ । त्यो नेपालबाट मात्र हेरिएको हुँदैन, विश्वभरबाटै हेरिएको हुन्छ । यस्तो देख्दा म आफैँ चकित छु ।

पहिला र अहिलेको सङ्गीतमा तपार्इंले केही फरक पाउनुहुन्छ ? स्वादमा या अन्य कुरामा ?
फरक केही छैन । प्राविधिक कुरा चाहिँ धेरै फरक भइसक्यो । भाषा अलिकति फरक भएको हो कि ! पहिला घुमाउरो तरिकाले व्यक्त गरिने गीतिभाका अहिले सिधासिधा भएको छ । पहिला चिठ्ठी लेख्दा घुमाउरो तरिकाले लेखिन्थ्यो, अहिले त सिधै ‘डब्लुटिएफ’ आइसक्यो । यो चाहिँ धेरै देखिन्छ ।

अनि प्रविधिको फड्को नि ?
हाम्रो पुस्ताले ग्रामोफोन, एलपी, टेप, सिडी, डिभिडी, एलडी सबै देख्यो । अहिले त जमाना क्लाउडको भइसक्यो ।

तपाईंले भर्खरै निकाल्नु भएको ‘क्रम’ एल्बम सिडी वा अन्य कुनै मिडियममा ननिकाली सिधै क्लाउडमा रिलिज गर्नुभयो । साउन्डक्लाउडडटकममा तपाईंको गीत सुन्न पाइन्छ । त्यस्तै युट्युबमा पनि राख्नु भएको छ । के अब एल्बमलाई टेप वा सिडीमा निकाल्ने जमाना गएको हो ?

सात वर्षपछि मैले ‘क्रम’ निकाल्न खोज्दा कसैले पनि मेरो एल्बम निकालिदिन्छु भन्न आएन । निकाले पनि उसले केमा निकाल्छ ? 

प्रविधिले त उथलपुथल नै ल्यायो, यसपालाको एल्बममा तपाईंले के उधुम गर्नुभएको छ ?
उधुम गर्न होइन, म पनि यही फिल्डमा छु है भन्न एल्बम निकालेको हुँ । यो पुस्तासँग नजिकिन एल्बम निकालेको छु । यसमा उधुम भनेको एउटै एल्बममा मैले नेपाली, नेवारी र संस्कृत भाषामा गाएको छु । विप्लव प्रतीक, पुरुषोत्तम सापकोटाका शब्द छन् । सापकोटाज्यूको संस्कृत गीत गाएको छु ।

संस्कृत शब्दमा गाउने दुस्साहसै गर्नुभएको ?
यो काम कसैले गरेको छैन भनेर हो तर अरुले गरिसकेको रहेछ भन्ने पछि मात्र थाहा भयो । यस गीतमा स्वर्गको बयान छ, त्यहाँका अप्सराहरुका कुरा छन् ।

यस्तायस्ता प्रयोग गर्न तपाईं डराउनु हुन्न, हगि ?
पैसा डुब्ने कुरामा बाहेक अरु कुरामा प्रयोग गर्न मलाई डर लाग्दैन । समय खर्च गर्न मलाई कुनै डर छैन । 

पैसा डुब्ने कुरामा डर लाग्छ भन्नुभयो, पहिल्यै अगुल्टो खाइसक्नु भएकाले बिजुली चम्कदा तर्सनु भएको हो ?
त्यसरी डुबाएको त छैन तर म हिसाबकिताबमा कमजोर भएकाले यस्तो भनेको हुँ । म अरुलाई मुर्गा बनाउने, विचल्लीमा पार्नेजस्ता कुराबाट परै रहन चाहन्छु भन्न खोजेको हो ।

तपाईं त प्रविधि रुचाउने मान्छे, यसअघि नै तपाईंले सेल्फी भिडियो खिचेर युट्युबमार्फत् चर्चा बटुलिसक्नु भएको थियो । सोसल मिडियामा कसरी पछि पर्नुभयो ?
पाँच वर्षअघि नै सामाजिक सञ्जालमा उपस्थिति जनाएको थिएँ । त्यो समय ठीक थियो । त्यही बेला मैले भ्लग बनाउने, फेसबुकमा आफ्ना गतिविधि सेयर गर्ने गरेको भए मेरा लाखौँ फलोअर हुन्थे होलान्, धेरै माथि पुगिन्थ्यो होला । त्यो बेला मैले यसको महत्व बुझिनँ ।

अनि अहिले ?
अहिले महत्व बुझिसकेपछि लागिपरेको छु । भ्लग र अन्य सक्रियता बढाउँदैछु । जुन बेला जागिन्छ, त्यही बेला ‘सवेरा’ भन्ने भनाइ नै छ । जुन बेला रियलाइजेसन हुन्छ, गम्भीर भएर लाग्यो भने लक्ष्यमा पुगिन्छ ।

अहिले सिर्जनशीलता देखाउने माध्यम परिवर्तन भए तर यसले त सिर्जनशीलता त बढाउँदैन नि, हैन ?
त्यो त हो । जस्तो पहिलेका गीत कति राम्रो भनिन्छ । किनभने हामीभन्दा उनीहरु सिर्जनशील थिए, वर्षौंपछि पनि ती गीत सुनिन्छ, गाइन्छ भने हामीभन्दा अग्रजहरु बढी सिर्जनशील रहेछन् भन्ने बुझिन्छ । अथवा यसलाई यसरी हेर्दा पनि हुन्छ– राम्रा काम पहिल्यै गरिसकिएको छ र गर्नुपर्ने नयाँ काम छैन । त्यसैले हामी बारम्बार पछाडि फर्केर हेरिरहेका छौँ ।

तपाईंलाई देख्नेबित्तिकै दिमागमा के आउँछ भने– गायक हो कि, सङ्गीतकार हो कि गीतकार हो कि, के हो तपाईं ?
म आफैँ कन्फ्युज छु, म के हो ? तर यस्तो छ, सबै चिज गरेको भए पनि हरेक दिन म गीत लेख्दिनँ, हरेक दिन सङ्गीत दिन्नँ । 

तपाईंले रचना गर्दा कसरी गर्नुहुन्छ ? 
कहिलेकाहीँ हिँड्दाहिँड्दै आउँछ । कहिले सपनामै देख्छु । तर उठ्दा बिर्सन्छु । मैले कैयौँ चोटि सपनामा गीत लेखेको छु तर एउटा गीत भने जुरुक्क उठेर लेखेको छु । ‘प्रिय तिमी आयौ, हेर म निदाएको बेला...’ गीतलाई दीपक वज्राचार्य साथीले गाएको छ । कतिपय अवस्थामा गुडिरहेको, उडिरहेको बेला आउँछ ।

गीत लेख्दा मात्र यस्तो हुन्छ कि सङ्गीत भर्दा पनि यस्तो हुन्छ ?
सङ्गीत भर्दा पनि आउँछ । कहिलेकाहीँ शब्द मात्र पनि आउँछ, कहिले ट्युन मात्र आउँछ । कहिले शब्द र ट्युन दुवै आउँछ । कहिलेकाहीँ उल्टो पनि हुन्छ । जस्तो यस पटकको एल्बममा बनाएको गीतको भिडियो छ– पोखरा जाँदा ठाउँ यति राम्रो लाग्यो कि भिजुअल खिच्यौँ, मैले गाएजस्तो गरेँ, गीतार बजाएजस्तो गरेँ । पछि ल्याएर कुन गीतमा यसलाई मिलाउने भन्ने थाहा थिएन । पछि यसका लागि गीत र सङ्गीत रचना गर्दै गाएँ । भिडियोसँग मिक्स गर्दा रत्तिभर मिलेन तर पनि तानतुन गरेर मिलाएँ । अझै पनि लिप्सिङ र अन्य कुरा मिलेको छैन । त्यसरी कहिलेकाहीँ उल्टो काम पनि हुन्छ ।

तपाईं म्युजिक भिडियो निर्देशक पनि हो, गीत लेख्नुहुन्छ, सङ्गीत भर्नुहुन्छ, गाउनु हुन्छ । जीवनमा अरु के गर्ने इच्छा छ ?
मलाई फिचर फिल्म बनाउन ठूलो इच्छा छ तर यसका लागि ठूलो रकम चाहिन्छ । म अरुलाई डुबाउन चाहन्न । म आफैँमा ९० प्रतिशत क्रिएटिभिटी छ, १० प्रतिशत मात्र छैन । एउटा पैसा र अर्को कलाकार ।
तपाईंका चेला (अराज केशव)ले समेत फिल्महरु बनाइसके । तपाईंलाई लगानी गर्नेको पनि कमी छैन होला ।

फिल्म निर्देशन गर्ने इच्छा पूरा गरे भइहाल्यो नि ?
मेरो इच्छाका लागि अरुलाई म डुबाउन चाहन्नँ । अर्को कुरा ममा आत्मविश्वास पनि पूरै आएको छैन । साना भिडियो, प्रयोगात्मक फिल्म बनाएर आफूलाई निखार्दैछु । 

तपाईंले फिल्म बनाउनु नै भयो भने के विषयमा बनाउन मन छ ?
हलिउड मुभीबाट म ज्यादै प्रभावित छु । उनीहरुजस्तो बनाउन हामी सक्तैनौँ मलाई थाहा छ । स्टडी ब्याड मुभीज् टु मेक अ गुड मुभी (राम्रो फिल्म बनाउन खराब फिल्मको अध्ययन गर) भन्छन् । कतिपय नेपाली फिल्म हेरेर घरिघरि त्योभन्दा अलि राम्रो फिल्म बनाउन सकिएलाझैँ लाग्छ । मलाई थ्रिलर विधाको फिल्म एकदमै मन पर्छ । बनाएँ भने त्यही बनाउँछु । ‘फच्र्युन टेलर’ भन्ने फिल्म बनाइहेरेको छु । युट्युबमा हेर्नु न !

तपाईंलाई थ्रिलर मन पर्छ तर नेपाली जनताले प्रायः थ्रिलरलाई रुचाएका छैनन् । खास के कारण हुनसक्छ ?
दर्शकहरु निर्देशक वा मेकरभन्दा बढी शिक्षित छन् । उनीहरुले बलिउड, हलिउड हेरेर धेरै शिक्षित भएका छन् । उनीहरुको अपेक्षा धेरै ठूलो हुन्छ नेपाली फिल्मसँग । त्यसैले हामी अधिकांश अवस्थामा उनीहरुको अपेक्षा पूरा गर्न नसकेर नै असफल भएका हौँ । तर समग्रमा हेर्ने हो भने साइनो, बासुदेव, कुसुमे रुमाल हेर्नुस्, ती फिल्मभन्दा अहिलेका फिल्मको मेकिङ, स्क्रिनप्ले (पटकथा) धेरै सुध्रिएको छ । 

तस्बिर : कृष्पा श्रेष्ठ
 

Leave A Comment