‘थेगो’ले थेगिएका कलाकार

आइतबार, १८ चैत २०७४, ०१ : ३५ भोला अधिकारी
‘थेगो’ले थेगिएका कलाकार

थेगोविनाका हास्य टेलिसिरियल नै छैनन् । अधिकांश पात्रले कुनै न कुनै थेगोको प्रयोग गर्ने गरेका छन् । कतिले चलनचल्तीको थेगोलाई प्रयोग गर्ने गरेका छन् भने कतिले आफैँले नयाँ थेगो जन्माउने गरेका छन् । थेगो प्रयोग गर्दा त्यसैको सहायताले सहजै दर्शकले पहिचान गर्ने भएकाले हास्य कलाकारमाझ थेगो प्रयोग गर्ने प्रतिस्पर्धा देखिन्छ । 

चर्चित हास्य सिरियल ‘ब्रेक फेल’का कलाकार शिवहरि पौडेलले ‘कुरा बुझ्नु भो’ भन्ने थेगो प्रयोग गर्छन् । यसअगाडि उनले जिरे खोर्सानीमा ‘प्वाक्क मुखमा हान्नु जस्तो’ थेगो प्रयोग गर्थे । हास्य कलाकार किरण केसी आफ्नो नामले भन्दा पनि उनले प्रयोग गर्ने ‘ए राता मकै’ थेगोले बढी परिचित छन् । कार्यक्रममा किरण केसी मात्र भन्यो भने दर्शक अलमलमा पर्छन् । थेगोको प्रयोग गरे उनी सहजै चिनिन्छन् । 

उनको बसोबास रहेको इमाडोल क्षेत्रको चोकको नामै उनको थेगो ‘रातामकै चोक’ राखिएको छ । ब्रेक फेलमा उनले ‘चिकेन चिल्ली’ थेगो प्रयोग गर्ने गरेका छन् जुन जमेको छैन ।

जिरे खोर्सानीमा राजाराम पौडेलले ‘परेको म बेहरुँला’ भन्ने थेगो प्रयोग गरेका छन् । उनी हरिवंश आचार्यको १५ गते फिल्मबाट चम्केका हुन् । अमेरिकाबाट फर्किएर हास्य टेलिसिरियलमा सक्रिय भएका उनी पछिल्लो समय थेगोले परिचित छन् । उनी भन्छन्, ‘थेगोले मान्छेलाई धेरै प्रभाव पार्दो रहेछ  ।’ 

अर्का चर्चित कलाकार उत्तम केसी ‘चुईचुई पारेर’ थेगो प्रयोग गर्छन् । ‘जति फिल्म खेले पनि मलाई चिन्ने भनेकै ‘चुइ चुइ पारेर’ थेगोले हो,’ उनले भने, ‘१०–१२ वर्षअगाडि बोलेको थेगो अहिले पनि दर्शकले उत्तिकै रुचाएका छन् ।’

‘भोक लाग्यो¬’ थेगोले चर्चित छन् कलाकर देवीराम पराजुली । उनको परिचय नै थेगो बनेको छ । दर्शकले टेलिसिरियलमै देखिने गेटअप र थेगो रुचाएकाले उनी स्टेज कार्यक्रममा फरक भूमिकामा देखिन सकेका छैनन् ।

‘म फरक गर्न चाहन्छु तर दर्शकले ‘भोक लाग्यो’ भन्ने थेगो रुचाइदिएका कारण पुरानै लुगा, पुरानै गेटअप र बोल्ने शैलीमा अड्किएको छु,’ उनले भने । 

नेपाली हास्य सिरियलमा थेगो प्रयोग गरेर चर्चामा आएका अर्का कलाकार हुन्, शिवहरि नेपाल (बैरागी) । उनले जिरे खोर्सानीमा बोलेको ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ निक्कै चर्चित भयो । उनको थेगोले प्रयोग गरेर जिस्काउने क्रम बढ्दा समानुपातिक सूचीमा परेका सांसद हैरान भएका थिए । 
पवन खतिवडाले ‘ब्रेकफेल’ सिरियलमा ‘बाबा’ भन्ने थेगो प्रयोग गर्छन् । जिग्रीका बुवा भनेर परिचित शंकर आचार्यले प्रयोग गर्ने ‘हजुर वरिष्ठ हस्त नमस्ते’ भन्ने थेगो पनि चर्चित सूचीमा पर्छ ।

थुप्रै चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका शंकर ‘भद्रगोल’मा प्रयोग हुने यही थेगोको लोकप्रियतासँगै जमे । कुमार कट्टेल (जिग्री) को ‘सक्कि गो नी’ थेगो पनि हिट छ । ‘भद्रगोल’कै अर्का कलाकार अर्जुन घिमिरे (पाँडे) को ‘तँलाई डाम्नो’ भन्ने थेगो, उनीसँगै अभिनय गरेका गोविन्द कोइरालाको ‘काका’ भन्ने थेगो पनि हिट छ । 

भद्रगोलकै अर्का चर्चित कलाकार कमलमणि नेपालको थेगो ‘के त भन्दा आखिरीमा हो नि त’ भन्ने थेगोले उनी थेगिएका छन् । कमलमणि रंगमञ्चबाट कलाकारितामा आएका हुन् । ‘भद्रगोल’कै
सुवास कार्कीको ‘तनावै तनाव छ खल्तीमा दुई रुपैयाँ छैन’ भन्ने थेगो पनि चल्तीको बन्यो । थेगोको संख्याको हिसाबले ‘भद्रगोल’ भरिएको छ । यसै सिरियलमा सागर लम्साल ‘बले’ ले प्रयोग गर्ने ‘साङ्लो बोरो’ थेगो पनि चर्चामा आयो । 

दमन रुपाखेतीले ‘हाक्काहाकी’ सिरियलमा ‘कुरो बुझे भै गो’ र ‘कि खान पाकाले खान्छन् कि खान न पाकाले खान्छन्’ भन्ने थेगो भने जमेन । हाकाहाकीका अर्का कलाकार राम थापाले ‘सिधा कुरा प्रस्ट विचार’ थेगो प्रयोग गर्छन् । उनले प्रयोग गर्नुभन्दा अगाडि नै यो ‘उज्यालो नेटवर्क’ले चर्चामा ल्याएको थिम लाइन हो । 

शिव शर्माले प्रयोग गर्ने ‘दुःखी आत्मा’, बबिता बानियाँ (जेरी) ले हाकाहाकी सिरियलमा बोलेका ‘हे मेरो भगवान्’ थेगो चलनचल्तीका सामान्य थेगो हुन् । कुमार विनोद नेपालले जिरेखोर्सानीमा बोल्ने थेगो ‘बाल मतलब छैन’ उनले प्रयोग गर्नुभन्दा पहिला नै चल्तीमा आइसकेको थेगो हो । पूर्वेली राई परिवारमा बोलिने थेगो ‘ज्यू’बाट चर्चामा आए कलाकार पारवान राई । उनले बोल्ने तव र ज्यू थेगो राम्ररी जम्यो । 
 

Leave A Comment