‘खराव गरे आफ्नै पार्टीलाई नि छाड्दिन’

आइतबार, १८ चैत २०७४, ०१ : ४० शुक्रवार
‘खराव गरे आफ्नै पार्टीलाई नि छाड्दिन’

पहिलोपटक संसद भवन पुग्दा खुब उत्साही र हतारमा थिएँ । आफ्नै जातिको तामाङ पोसाकमा सजिएर सांसद भवन पुगे । गणतन्त्रको सुन्दर पक्ष भनेकै सबै जातजातिको भाषा, भेषभूषाको संरक्षण तथा सम्बद्र्धन हुनु हो । यो प्रत्यक्षरूपमा अनुभव गर्न पाए । 

संसदहलमा बस्दा शिष्ट, मर्यादित र बढी औपचारिक हुनुपर्ने रहेछ । भूमिका उही भए पनि प्रत्यक्ष र समानुपातिकबाट चुनिएर आएका सिनियर र जुनियर सांसदको बस्ने स्थान फरक हुने र  प्रोटोकल मिलाएर बोल्नुपर्ने रहेछ । सुरुको दिन भएर होला  अलि धक लागेको थियो । 

अहिले सम्म ५ वटा मिटिङमा सहभागी भए । संसदमा बोल्दा शिष्टतालाई ख्याल गरी चलाखीपूर्ण तरिकाले आलोचना गरिँदो रहेछ । बौद्धिकतापूर्ण विवाद हुने रहेछ । नौलो लाग्यो । 

केही सांसदले कैलालीमा बोक्सीको निहुँमा भएको घटनालाई र बसमा भएको सामूहिक बलात्कारको घटनालाई उठाउने भनेर सल्लाह गरेका थियौं । पछि यस कुरामा प्रधानमन्त्रीले बोल्ने कुरा भयो । प्रोटोकलअनुसार बोल्नुपर्ने हुँदा पहिले सिनियरको पालो आउने भयो । अनि हामीले बोलेनांै ।  जुनियर भएकै कारण बोल्ने अवसर पाएकी छैन । 

सांसदको काम सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने हो । हाम्रोमा आफ्नो पार्टीको सरकार छ भने सरकारले गरेका सबै कामको समर्थन गर्ने चलन छ । यो गलत हो । आफ्नो दलको सरकार होस् या अर्को दलको , सार्वजनिक सरोकारको विषयमा आवाज उठाउनै पर्छ । म आवद्ध पार्टी सरकारमा छ भन्दैमा गलतलाई गलत हो भन्न हच्किन्न ।

सांसद हुँदैमा सबै विषयमा जानकार छौं भन्ने होइन । आफूले जानेका कुरालाई तिखार्ने र नजानेका नबुझेका विषयवस्तुको अध्ययन, चिन्तन, मनन गर्न जरुरी छ । 

सांसदहरु संसदको मिटिङ छोडेरै एनजिओ आइएनजीओको कार्यक्रममा जान्छन् भन्ने सुनेको छु । मिटिङ नै छाडेर जान नमिल्ने नियम बनाउनुपर्छ । उनीहरुको लेखाजोखा गरिनुपर्छ । एनजीओ आइएनजीओको दादागिरी अचाक्ली भएको छ । एनजीओ आइएनजीओको अनुगमन जरुरी छ । 

पहिले पनि युवा सांसदहरुको टिम बनेको रहेछ । अहिले पनि बन्छ । युवाले युवाको समस्यासँगै हरेक कुरामा अग्रसर भएर लाग्नुपर्छ । युवा सांसद इस्युमा एक हुन जरुरी छ । 

५ वर्ष सांसदको रुपमा सामाजिक सरोकारसँगै शैक्षिक मुद्दामा  विशेष ध्यान दिने योजना बनाएको छु । शिक्षामा देखिएको व्यापारीकरणको अन्त्य जरुरी छ । 

प्राविधिक शिक्षालाई सबै जनताको पहुँचमा पुर्याउने कुरामा सरकारलाई घच्घचाउने, बेरोजगार न्यूनीकरण गर्ने, युवालाई सर्टिफिकेट राखेर लोन लिने व्यवस्थाको कार्यान्वयन गर्न सक्रिय हुने मेरो लक्ष्य छ ।
नेपालबाट दैनिक औसतमा १३ सय युवा विदेश पलायन भएका छन् । यो गम्भीर विषय हो । यसले हाम्रो देशको अर्थतन्त्रमा असर पारेको छ । 

अहिले रेमिटेन्सले क्षणिक लाभ त होला दीर्घकालीनरूपमा भने असर पार्छ । यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर हुन जरुरी छ । यसका लागि ऋण प्रदान गर्ने, सिंचाइ सुविधा पुर्याउने, आवश्यक बीउबिजनका लागि सांसदले सरकारलाई दबाब दिन जरुरी छ ।  
(प्रतिनिधिसभा सदस्य नविना लामासँग प्रजु पन्तसँगको कुराकानीमा आधारित ) 

Leave A Comment