औचित्यहिन श्वेतपत्र

बिहिबार, २२ चैत २०७४, ०४ : ३५ शुक्रवार
औचित्यहिन श्वेतपत्र

अर्थमन्त्री डा. युवराज खतिवडाले हालै श्वेतपत्र जारी गरेका छन् । खतिवडाले प्रचारप्रसारका साथ जारी गरेको  श्वेतपत्रलाई लिएर आर्थिक वृत्तमा बहस चलेको छ । पत्रपत्रिकाहरूमा श्वेतपत्रमाथि विश्लेषण र विवेचना भैरहेको देखिन्छ । सबैभन्दा महŒवपूर्ण कुरा अहिलेको अवस्थामा अर्थमन्त्रीले श्वेतपत्र जारी गर्नुको उद्देश्य के हो ?

किन जारी गरियो श्वेतपत्र ? अर्थशास्त्रीहरू श्वेतपत्रको आवश्यकतामाथि प्रश्न उठाइरहेका छन् । प्रचुर बहुमत प्राप्त सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्र जारी गर्ने सन्देश दिएका खतिवडाले दुई महिनापछि घोषणा हुने बजेट र नीति तथा कार्यक्रमको संघारमा श्वेतपत्र जारी गर्नुको कारण स्पष्ट छैन ।

श्वेतपत्रले अर्थतन्त्रलाई दिशा दिने कुरा गरेको छैन । त्यसैले श्वेतपत्र जारी गर्नुको औचित्यबारे प्रश्न उठिरहेका हुन् । हो, श्वेतपत्रले मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको छ । मुलुकको आर्थिक तस्बिर उतार्ने प्रयास गरेको छ । अर्थतन्त्रका समस्याहरूको डंगुर समाज सामुन्ने राख्नुलाई श्वेतपत्र भनिदैन ।

श्वतपत्रमा अर्थतन्त्रका समस्याहरू विश्लेषण गरिएको हुन्छ । अर्थतन्त्रका सूचकहरूका आधारमा मुलुकको वर्तमान अवस्थाको आँकलन गर्ने गरिन्छ । र, सँगसँगै बिग्रिएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने उपायहरू प्रस्तुत गरिएका हुन्छन् । बिग्रिएको अर्थतन्त्र सुधार्ने रणनीतिहरू समावेश हुनुपर्छ श्वेतपत्रमा । खतिवडाले जारी गरेको श्वेतपत्र समस्या औल्याउने काम भएका छन्, समाधानका शब्दहरू छैनन् ।

अर्थतन्त्रका यस्ता रोगहरू छन् भनेर पहिचान गर्न अर्थमन्त्री सफल देखिन्छन् । उनले ती रोगको निदान के के हुन सक्छन् भनेर स्पष्ट भन्न सक्नुपथ्र्यो । समस्या देखाउनुलाई समाधान भन्न मिल्दैन । हुनसक्छ, निवर्तमान सरकारले अर्थतन्त्र डामाडोल पारेको आरोपका निम्ति अर्थमन्त्रीले श्वेतपत्र जारी गरेका हुन् । त्यसो हो भने त्यसका लागि कुनै एउटा सरकार दोषी छैन । मुलुकको संक्रमणकालीन राजनीति, पटक–पटक फेरिएका सरकार समग्रमा दोषी छ, मुलुकको अस्थिर राजनीति ।

नेपालको अर्थतन्त्र रोगग्रस्त भएको लामो समयदेखि हो । अर्थशास्त्रीहरू विगत पाँच वर्षदेखि एउटै प्रकृतिबाट अर्थतन्त्र चलिरहेको औँल्याइरहेका थिए । त्यस आधारमा खतिवडाले निवर्तमान सरकारमाथि आक्रमण गर्ने अस्त्रको रुपमा श्वेतपत्र जारी गरेको अर्थ लगाउनेहरूको संख्या ठूलो छ । श्वेतपत्र आरोपपत्रको हैसियतमा ओर्लनुले वर्तमान सरकारको राजनीतिक उद्देश्य पूरा गर्नसक्छ, वर्तमान सरकार जिम्मेवारीबाट पन्छने र हिजोको सरकारलाई दोष थोपर्ने आधार बन्न सक्छ । यस्ता हतकण्डाले मुलुकका आर्थिक समस्याका गाँठा फुक्दैनन्, समाधानका सूत्र भेटिदैनन् । 

अर्थतन्त्रका समस्या सदाबहार छन् । अनियन्त्रित व्यापारघाटा, बढ्दो साधारण खर्च, खुम्चदै गएको पुँजीगत खर्च, उपभोक्तामुखी आर्थिक–सामाजिक अवस्था, समयमै भौतिक पूर्वाधार विकास सम्पन्न गर्न नसक्ने प्रवृति हाम्रा सदाबहार समस्या हुन् । यसबाहेक बजारमा जकडिएको कार्टेलिङ र सिन्डिकेट प्रणाली पनि स्वतन्त्र बजारका विरोधी हुन् र तिनले लामो समयदेखि उदारवादी अर्थतन्त्रमाथि प्रहार गर्दैआएका छन् । हामीकहाँ आर्थिक वर्षको तेस्रो चौमासिकमा विकास निर्माणका लागि छुट्याएको रकम अत्यधिक खर्च हुने गर्दछ ।

असारे विकासको नाममा पैसा सिध्याउने तर भरपर्दो काम नहुने परम्परा यसपटक पनि दोहोरिने देखिदैछ । तेस्रो चौमासिकसम्ममा एक चौथाई सरकारी खर्च पनि हुन नसकेको अवस्था नयाँ होइन । बहुमतको वामपन्थी सरकारको आगमनसँगै पुँजीबजार खस्किएको छ । सेयर बजार ओरालो लाग्नुका पछाडि सरकार मात्र होइन अर्थमन्त्रीको सेयर बजारप्रतिको दृष्टिकोण र उनका अभिव्यक्तिलाई कारण मान्नेहरू धेरै छन् । पुँजीबजारलाई अनुत्पादक क्षेत्र मान्ने खतिवडाको माक्र्सवादी चिन्तन र मनोविज्ञानकै कारण सेयरमा लगानी गर्ने ठूलो संख्याका नागरिक प्रभावित बनेका छन् ।

वाणिज्य बैंकहरू लगानीयोग्य अर्थात् ऋण दिने पैसाको अभाव देखाइरहेका छन् । अधिकाश बैंकहरू ऋण प्रवाह गर्न नसक्ने अवस्थाका पछाडि बजारमा पैसाको अभाव हो । सरकारको खातामा भएको पैसा बाहिर आउन नसक्नुले पनि यस्तो अवस्थाका लागि योगदान गरेको हुनसक्छ । असारे विकासका नाममा आउँदा दिनमा सरकारी खाताबाट प्रवाहित हुने पैसाले बैंकहरूको तत्कालिन समाधान गर्नसक्छ तर यो समाधान मौसमी मात्र हो । मुलुकमा पुँजी प्रवाहलाई सुचारु राख्नका लागि  सरकारको स्पष्ट नीति हुनुपर्दछ । यसका लागि वैदेशिक लगानी आवश्यक हुने जानकारहरू बताउँछन् ।

वामपन्थी रुझानको सरकार र लामो सयमदेखिका कानुनी, नीतिगत अभाव, अन्योल तथा सरकारी निकायको ढिलासुस्ती र व्यवहारको पृष्ठभूमिमा वैदेशिक प्रत्यक्ष लगानी सहज देखिदैन । वैदेशिक पुँजी आकर्षणका लागि सरकारले आफ्नो धारणा स्पष्ट बनाउन आवश्यक हुन्छ । समस्याका फेहरिस्त पस्किएर वैदेशिक लगानी आकर्षित गर्न सकिन्न । अर्थतन्त्रका यस्ता कखराबारे खतिवडा सम्भवतः जानकार छन् । 
अर्थमन्त्री खतिवडा राष्ट्र बैंकको गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षलगायत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमजस्ता निकायमा काम गरेको अनुभव छ ।

अनुभवका हिसाबले उनका लागि अर्थ मन्त्रालयको बागडोर  त्यति चुनौतीपूर्ण नहुनुपर्ने हो । अर्थमन्त्रीको जिम्मेवारीमा राजस्व संकलन, सरकारको खर्च व्यवस्थापन गर्ने हो र अर्थतन्त्रमा देखापरेका विकृति, विसंगति हटाएर समस्याग्रस्त अर्थतन्त्र सुधार्दै लैजाने हो । खतिवडा आफ्नो मुख्य जिम्मेवारीबाट पन्छिएर आलोचनाको खेतीमा उत्रिएको श्वेतपत्र जारीले औल्याउँछ ।

अर्थमन्त्रीले पेश गरेका अर्थतन्त्रका सूचक र आँकडाहरू राष्ट्र बैंकले पटक–पटक सार्वजनिक गर्दैआएका धरातलीय यथार्थ हुन् । अहिले अर्थतन्त्रका समस्या मात्र पस्कने र दुई महिनापछि बजेट तथा नीति तथा कार्यक्रमबाट समाधानका सूत्र दिने हुनसक्छ । खतिवडा अर्थमा जानकार र राजनीतिक हिसाब किताबमा पनि उत्तिकै कौशलपूर्ण देखिन्छन् । हुनसक्छ, खतिवडाले दोहोरो खेल खेल्दैछन् ।

अहिले अर्थतन्त्रका समस्याका पहाड मात्र देखाउने, सत्तामा बसेर समाधान दिँदै जाने । त्यसो गर्दा दुइटा अवस्था हुन्छ । एउटा अर्थतन्त्र सुध्रने । अर्थतन्त्र सुध्रिएको अवस्था जस लिन पाइने हो भने खतिवडा नायक बन्ने भए । होइन, अर्थतन्त्र अहिल्यै जस्तै अवस्था रहिरह्यो भने पनि घाटा छैन,  खलनायक बन्नु पर्दैन, बिग्रिएको दोष लिनु पर्दैन । 
 

Leave A Comment