०७४ उपलब्धिपूर्ण  वर्ष

शुक्रबार, ३० चैत २०७४, ०१ : ४३ शुक्रवार
०७४ उपलब्धिपूर्ण  वर्ष

सुरेश ढकाल, मानवशास्त्री
एउटै समय हरेक मानिसका लागि फरक अवस्था र दृष्टिकोण बोकेर आउँछ । एकै घटनालाई हेर्ने नजर पनि हरेक मानिसको फरक–फरक हुन्छ । २०७४ साल पनि हरेक नजरका लागि फरक–फरक दृष्टिकोण दिएर जाँदैछ, जसमा केही सकारात्मक घटना छन्, केही नकारात्मक । यो सालमा कतिपय काम जस्ताको तस्तै रहे । ती कुराहरु न अघिल्लो वर्ष सम्पन्न हुन सकेका थिए, न यो वर्ष नै सम्पन्न भए । २०७४ को विश्लेषण गर्दा राजनीतिक क्षेत्रका लागि निकै उपलब्धिपूर्ण रह्यो ।यो नेपाली समाजका लागि खुसीको पाटो हो ।

हाम्रो समाज यति धेरै राजनीतिक विचारधाराको छ कि, सानो घटनाक्रमले पनि समाजमा उथलपुथल ल्याउँछ । जसको प्रत्यक्ष असर समाजमा पर्छ । उदाहरणका लागि एक समय यस्तो पनि थियो, गाउँघरमा जतिओटा पार्टी पुगेका थिए, त्यतिओटै बाटो पनि खनिएको थियो । प्राकृतिक विनाश भए पनि त्यसलाई वास्तै नगरी मानिसहरु आफ्नै पार्टीको बाटो हिँड्ने, आफ्नै पार्टीले बनाइदिएको धाराको पानी खानेसम्मको अवस्थामा पुगेका थिए । 

सकारात्मक प्रभाव
राजनीतिक क्षेत्रमा आशालाग्दो वर्ष यसकारण भयो कि, २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो, जुन लामो समयसम्म हुन सकेको थिएन । त्यसैगरी अपत्यारिलो पारामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भयो त्यो पनि शान्तिपूर्ण ।

त्यति मात्रै हैन, नेकपा एमाले र माओवादी केन्द्रको मिलापले समाजमा सकारात्मक प्रभाव पार्याे । पहिले तँ त्यो पार्टीको, म यो पार्टीको भनेर झगडा गर्ने छिमेकी पार्टी एकीकरणका कुराले एक भए । यो हाम्रो समाजको सकारात्मक पक्ष हो ।

स्थानीय निर्वाचनमा वडा सदस्यमा एक महिलाले जित्नु पनि नेपाली समाजका लागि ठूलो उपलब्धि मान्न सकिन्छ । त्यसैमाथि कोटा सिस्टमले महिला, दलित र पछाडि परेको समुदायलार्ई स्थान दिँदा उनीहरु पनि निर्णय गर्ने ठाउँसम्म आइपुगेका छन् । भलै उनीहरु महत्वपूर्ण पोष्टमा कम मात्रामा आउन सके । तै पनि यो उत्साहजनक पक्ष हो । 

चुनाव हुनु राम्रो पक्ष भए पनि त्यसको व्यवस्थापन पक्ष सबल नहुनु दुःखद् हो  । मानवीय, सामाजिक तथा आर्थिक तयारी कम देखियो । 

अर्को राम्रो पक्ष देशको चौथो अंगको देखियो । यो वर्ष मिडियाले निकै राम्रो काम गरे । सञ्चारमाध्यमले यो साल निकै राम्रो कभरेज र राम्रो विषयकोे उठान तथा नराम्रो पक्षको विरोध गरे । यो भूमिका देश र समाजका लागि राम्रो रह्यो । लामो समयसम्म लम्बिएको मधेस र पहाडकोे समस्या पनि २०७४ सालमै टुंगियो । यसले आगामी दिनमा देशलाई सकारात्मक प्रभाव पार्ने निश्चित छ । 

यो वर्ष हत्या हिंसा र बलात्कारका घटना धेरै बाहिर आए । यस्तो घटना घट्नु राम्रो भएन । घटनालाई हिंसाका मारबाट बचेकाहरु (पीडित शब्द त्यति उपयुक्त ठान्दिन) ले नै मिडियामा ल्याएर पीडकलाई कारबाहीको माग गर्नु निकै सकारात्मक कुरा हो । यसले हिंसाबाट बचेकाहरु अब लुकेर बस्दैनन्, उनीहरु पनि आफ्ना विचार, धारणा बाहिर ल्याउन डराउँदैनन् भनेर बुझ्नुपर्छ । यसले समाजमा सकारात्मक छाप पारेको देखिन्छ । 

नकारात्मक प्रभाव
२०७४ सालमा न्यायपालिका मारमा प¥यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा दर्ता हुनु र पछिल्लो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाइएका अभियोगका कारण समाजमा नकारात्मक असर परेको देखिन्छ । 

जनताको एउटै आशाको केन्द्रबिन्दु न्यायपालिकाभित्रै यस्तो खिचलोले उनीहरुको विश्वास घटेको देखिन्छ । समाजमा न्यायपालिकाप्रति नकारात्मक छाप पर्नु दुःखलाग्दो पाटो हो । हुन त यसलाई कतिपयले व्यक्तिगत रूपमा लिए, तर यो संस्थागत कुरा हो, जनताले व्यक्तिगतरूपमा भन्दा संस्थागत रूपमा बुझ्ने हुँदा न्यायपालिकामाथि अविश्वासको वातावरण बन्नु सुखद हैन ।

यो साल नागरिक समाजको उपस्थिति जति मात्रामा हुनुपथ्र्यो, त्यो हुन सकेन । एउटा गोविन्द केसीको सत्याग्रहले मात्रै नागरिक समाजको दायित्व धानेको देखियो । धेरै महत्वपूर्ण गतिविधि भएको वर्ष नागरिक समाज मौन हुनु देशका लागि दुर्भाग्यपूर्ण अवस्था हो । 

पहिलेको निरन्तरता
सबैले अब होला, अब पक्कै निर्माण सम्पन्न होला भनेर निरन्तरता दिएका केही काम यो साल पनि बाँकी नै रहे । जसमा लामो समयदेखि प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजनालाई लिन सकिन्छ । 
गएको २ दशकदेखि प्रायः नेताहरुले मेलम्ची आइपुग्न लागेको कुरा काठमाडौंवासीलाई सुनाइरहे पनि त्यो आजको दिनसम्म पनि आएन । त्यस्तै अन्य विकास निर्माणका काम पनि तोकिएको समयमा सम्पन्न हुन सकेनन् । जसको उदाहरणमा सडक निर्माण र विस्तारका कामलाई लिन सकिन्छ । 

२०७२ को भूकम्पले घर भत्काएर टहरोमा पुगेका सर्वसाधारण टहरोमै अड्किए । अझैसम्म अनुदानको अभावका कारण पालै त्याग्न नसक्नेको संख्या बाक्लै छ । यसले जीवनमा नकारात्मक प्रभाव पार्ने नै भयो । जीवनमा नकारात्मक असर परेपछि त्यसको सकारात्मक प्रभाव समाजमा पर्न सक्दैन ।

सोसल मिडियामा आवाज
नेपालका लागि नयाँ मिडियाका रूपमा उदाएका सोसल मिडियाको भूमिका यो साल एकदमै सफल र राम्रो रह्यो । मनमा लागेका पीडा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालबाट पोख्न पाए र यसले सरकारमा रहेकालाई झक्झक्याउने काम गर्याे । जनता र सरकारी अधिकारीबीचको सञ्चारका लागि सामाजिक सञ्जालको भूमिका प्रभावकारी रह्यो ।

महिलाको हिम्मत बढ्यो
अघिल्लो वर्षको तुलनामा सम्बन्धविच्छेदका घटना बढेका छन् । सम्बन्ध विच्छेदका घटना बढ्नु दुःखद् पाटो हो तर यसलाई महिला सबल भएको ठान्नुपर्छ । पहिले–पहिले महिला पुरुषको भरमा बस्नुपथ्र्यो, अरूमा निर्भर हुनुपथ्र्यो जसकारण जतिसुकै शारीरिक, मानसिक यातना सहेर पनि सँगै बस्नुपर्ने बाध्यता थियो ।

अहिले महिलामा आत्मनिर्भरता बढेकाले सम्बन्धविच्छेदका घटना बढेका हुन्, आगामी वर्षमा पनि यो बढ्दै जानेछ । यसलाई अनौठो घटनाका रूपमा लिनु पर्दैन । अहिले जति सम्बन्ध विच्छेदका घटना बाहिरिएका छन्, त्यसमा प्रेम विवाह गर्नेहरु छन् । यो भनेको आफ्नो निर्णय आफैँ लिन रुचाउनेको संख्या हो । यसले महिला आफैँले निर्णय लिन सक्षम भएछन् भन्ने देखाउँछ । 

यी सबै पाटो केलाउँदा समग्रमा २०७४ आशालाग्दो वर्षको रूपमा रह्यो । २०७५ मा जनताको आशा र भरोसा कार्यान्वयन होस् शुभकामना ।
(पुष्पा थपलियासँगको कुराकानीमा आधारित)
 

Leave A Comment