२०७३ सालमा दुई थरी फिल्ममेकर्स देखिए । एक– जसले फिल्मको व्यापार र दर्शकको भिडलाई सफलताको मानक माने । अर्को– जसले त्यही मानकविरुद्ध उभिएर विशुद्ध कथा भन्न रुचाए । व्यावसायिक हिसाबले बनेका ‘छक्कापञ्जा’, ‘जात्रा’ र ‘वीरविक्रम’देखि कथित फरकधारका ‘कालोपोथी’, ‘सेतो सूर्य’ र ‘डाइङ क्यान्डल’जस्ता फिल्म त्यही वर्ष प्रदर्शनमा आए । खुसीको कुरा दुवैथरीका मेकर्स व्यापारिक रुपमा सफल दरिए । ‘६क्कापञ्जा’ मात्रै होइन ‘कालोपोथी’ले पनि हलमा राम्रो दर्शक पायो ।
ठीक यसैगरी ०७४ सालमा पनि दुवैथरीका सिनेमा हलमा रिलिज भए । एकातिर ‘तान्द्रो’, ‘देश खोज्दै जाँदा’, ‘गाजाबाजा’जस्ता कलात्मक प्रस्तुति र गम्भीर विषयवस्तु बोकेका फिल्म रिलिज भए भने अर्कातिर विशुद्ध पैसा कमाउने लक्ष्यसहित बनेका ‘६क्कापञ्जा–२’, ‘दुई रुपैयाँ’, ‘म यस्तो गीत गाउँछुु’, ‘प्रेमगीत–२’, ‘शत्रुगते’जस्ता फिल्म पनि प्रदर्शन भए । विडम्बना कलात्मक प्रस्तुति बोकेका सिनेमाले हलमा राम्रो व्यापार गर्न सकेनन्, सरल र सस्तो कथामा कमजोर ढंगले प्रस्तुत गरिएका सिनेमाले भने राम्रो व्यापार गरे ।
फिल्मलाई पहिला कला त्यसपछि मात्र व्यापारको माध्यम मान्ने हो भने नेपाली फिल्म क्षेत्रका लागि साँच्चै २०७४ साल निराशाजनक रह्यो । अघिल्लो वर्षझैँ सशक्त ढंगले दर्शकको मानवीय संवेदना र मान्यतालाई हुँडल्न सक्ने फिल्म यो वर्ष बन्न सकेनन् । जतिमा जोडदार प्रयास देखियो (देश खोज्दै जाँदा, तान्द्रो) उनीहरु दर्शकको रोजाइमा पर्न सकेनन् ।
यो साल अघिल्लो वर्षको तुलनामा कम फिल्म बने । वर्षभर करिब ७० को हाराहारीमा फिल्म बने तर कमैले मात्र सफलताको राम्रो स्वाद चाखे । ‘६क्कापञ्जा–२’ र ‘शत्रु गते’को व्यापार उत्कृष्ट रह्यो । ‘ए मेरो हजुर–२’, ‘प्रेमगीत–२’, ‘म यस्तो गीत गाउँछु’, ‘दुई रुपैयाँ’, ‘कृ’, ‘घामपानी’ आदिको व्यापार सन्तोषजनक मानियो । कतिपय फिल्म त हलमा आएको र गएको पत्तोसमेत भएन ।
हँसाउनेकै दबदबा
नेपाली फिल्ममा यो साल पनि अघिल्लो वर्षझैँ हँसाउने फिल्मकै दबदबा रह्यो । दर्शक कमेडीदेखि लभस्टोरी सबै फिल्ममा हाँसेरै निस्किए । अघिल्लो साल कमेडी फिल्मले गरेको बम्पर व्यापारको प्रभावले होला, यो साल थुप्रैले फिल्ममा कमेडी शैलीलाई नै पछ्याए । प्रायः फिल्ममा एउटा न एउटा कमेडी क्यारेक्टर राखेरै छाडियो । हास्यरसमा बनेका दुई फिल्म ‘६क्कापञ्जा–२’ र ‘शत्रु गते’ले राम्रो बिजनेस गरे तर राम्रो समीक्षा बटुल्न सकेनन् । दुवै फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौलालगायत हाँस्य कलाकारसहित बहुसंख्यक कलाकारको उपस्थिति थियो । महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको ‘शत्रु गते’ पनि उनले यसअघि गर्दै आएका कामका अघि निकै फितलो देखिए ।
पछिल्लो समय कमेडी फिल्ममा देखिएको दर्शकको भिडले के प्रस्ट पार्छ भने दर्शक हाँस्न चाहन्छन् । हाँस्यरस भरिएका फिल्ममा दर्शकको रुचि औधि छ तर दर्शकको रुचि यस्तो छ भन्दैमा जबरजस्ती हाँस्य सिर्जना गर्ने लक्ष्य राख्नु असल फिल्मकर्मीको गुण पक्कै होइन । विडम्बना, यो साल बनेका अधिकांश कमेडी शैलीका फिल्ममा यस्तै अवस्था देखियो । अनुप्रास मिलेका संवाद राखेर होस् या द्विअर्थी , दर्शकलाई जबरजस्ती हँसाउने प्रयास भयो । संवादलाई गम्भीरतापूर्वक नलिई दर्शक पनि हाँसिदिए अनि फिल्म पनि चलिदियो ।
नेपाली दर्शकको हाँस्यरसप्रतिको रुचिलाई एउटा असल फिल्ममेकरले असल उद्देश्यका लागि प्रयोग गर्नुपर्ने थियो । जुन यो साल देखिएन । हाँस्यरसमै आधारित छिमेकी सिने उद्योग बलिउडमा बेजोड सिनेमाहरु बनेका छन् । बलिउडमै राजकुमार हिरानीले बनाएका ‘पिके’ र ‘मुन्नाभाइ एमबीबीएस’, उमेश शुक्लाको ‘ओएमजी’ आदि फिल्म केही बलियो उदाहरण छँदैथिए । अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ र ‘प्याडम्यान’ दुवै बलिया सन्देशसहित दर्शकमाझ आएका हाँस्यरसयुक्त फिल्म थिए । तिनले दर्शकलाई हँसाएनन् मात्र, सन्देश पनि दिँदै रमाइलो गराए । यसको अर्थ नेपाली फिल्म मेकर्सले यस्तै फिल्म बनाउनुपर्छ भन्ने होइन तर यस्तै उद्देश्य पक्कै बोक्नुपर्छ ।
जसको व्यापार भएन, तारिफ भयो
बक्स अफिसमा रुचाइनु/नरुचाइनु त्यो अर्कै पाटो होला तर यो साल रिलिज भएकामध्ये केही सम्झिनलायक फिल्मका कुरा गर्दा ‘तान्द्रो’, ‘देश खोज्दै जाँदा’, ‘गाँजाबाजा’ र ‘घामपानी’लाई बिर्सनु हुँदैन । दस वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोहमा संलग्न एक घाइते योद्धाको कथा ‘तान्द्रो’मा प्रस्तुत थियो । ‘गाँजाबाजा’ गाँजाको खोजीमा हिँडेका दुई युवाको कथा थियो, जसलाई निर्देशक गणेशदेव पाण्डेले निकै रोचक र कलात्मक ढंगले प्रस्तुत गरेका थिए । फिल्ममार्फत् आफूले भन्न खोजेको कुरामा निर्देशक प्रस्ट देखिन्थे । त्यस्तै ‘देश खोज्दै जाँदा’ मा झापाका शरणार्थी शिविरमा रहेका शरणार्थीको पीडाको कथा छ भने ‘घामपानी’मा तामाङ युवा र ब्राह्मण युवतीको प्रेमको कथा छ ।
कमजोर पटकथा र प्रस्तुति
नेपाली फिल्ममा पहिल्यैबाट देखिँदै आएको रोग हो– कमजोर पटकथा र फितलो प्रस्तुति । यो साल पनि थुप्रै फिल्म फ्लप हुनुको एउटै कारण देखियो– कमजोर कथा भन्ने शैली र लेख्य संरचना । यो साल थुप्रै फिल्म बने जसले एउटै फिल्ममा विभिन्न गम्भीर विषयलाई त प्रवेश गराए तर सतहमा पुग्न आवश्यक ठानेनन् । त्यसैले अन्ततः फिल्म राम्रो बन्नबाट चुक्यो ।
निर्देशकले दर्शकलाई उनीहरुको जीवनसँग जोड्न सक्ने कथा खोज्ने र त्यसको मर्मलाई बुझेर कलाकारले चरित्र निर्वाह गर्ने हो भने पक्कै पनि फिल्म उत्कृष्ट बन्न सक्छ तर सालभर रिलिज भएका फिल्म हेर्दा अधिकांश निर्देशक यसबाट चुकेका छन् । ‘जात्रा’ फिल्ममार्फत् अघिल्लो साल ‘अब्बल निर्देशक’ ठहरिएका प्रदीप भट्टराई यो साल ‘शत्रुगते’मार्फत् कमजोर साबित भए ।
अन्त्यमा, २०७४ सालमा पनि नेपाली फिल्म विदेश पुग्यो । त्यहाँका ठूल्ठूला बिल्डिङ र चिल्लाचिल्ला सडक पनि फिल्ममा देखाइए । सुकिलामुकिला मान्छेहरु पनि देखाइए । विडम्बना चाहिनुपर्ने मौलिकता भने यो पल्ट टाट पल्टियो । यो साल सिर्जनशीलता र कलात्मक पक्ष गौण बन्यो, जोकरकारिता बढी फस्टायो ।
Leave A Comment