काम गरौं,  सपना मात्र नबाँडौं

आइतबार, ०२ बैशाख २०७५, ०२ : ३६ शुक्रवार
काम गरौं,  सपना मात्र नबाँडौं

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गर्दै छौं । २०७४ समाप्त भएर २०७५ प्रारम्भ हुँदैछ । नयाँ वर्षले नेपालीमा नयाँ उमंग, उत्साह भर्न सकोस् र काम गर्र्न जागरुक बनाउन सक्यो भने २०७५ को सार्थकता रहने छ ।  
बितेको वर्ष नेपालको इतिहासमा राजनीतिक हिसाबले महत्वपूर्ण वर्षको रूपमा रहेको छ । स्थानीय,  प्रदेश र केन्द्र गरी तीन तहका निर्वाचन सम्पन्न भए ।

नेपाली नागरिकले तीन तहका निर्वाचनमा उत्साहजनक सहभागिता जनाएर आफ्नो अधिकारको प्रयोग गरे । अहिले तीनवटै तहमा राजनीतिक नेतृत्व स्थापित भएको छ र सबै तहले आफ्ना काम सुरु गरेका छन् । यस अर्थमा बितेको वर्षलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले आधार वर्ष मान्न सकिन्छ । यसै वर्ष राजनीतिक संक्रमणकाल सकिएको र २०७२ मा नेपाली जनताले बनाएको संविधानको कार्यान्वयनका लागि राजमार्ग बनेको छ । 

अब राजनीतिक नेतृत्वमा रहेकाहरूको मुख्य काम, मुलुकको हितका निम्ति काम गर्ने, अहोरात्र खट्ने बेला हो । तर नेताहरूमा त्यस्तो लगाव देखिँदैन । नेताहरू खास गरेर सत्ता राजनीति गरिरहेकाहरू औपचारिक कार्यक्रम, उद्घाटन, भाषण र उपदेशमा सक्रिय देखिन्छन् ।  नेताहरू अहिले खास गरेर जनतामा अपेक्षा जगाउने, विकास र समुन्नतिका सपना बाँड्ने कामलाई प्राथमिकता दिँदै आएका छन् । जनताका दैनिकीसँग सरकारले सरोकार राखेको देखिँदैन, सुनिँदैन । औपचारिक कार्यक्रममा सहभागी हुने र भाषण गर्ने सरकारका मन्त्रीहरूको मुख्य काम हो जस्तै भएको छ । 

निश्चय नै जनतामा आशा बाँड्नु पर्दछ, राजनीति गर्नेहरूले सपना देखाउनुपर्छ । त्यस्ता सपना व्यावहारिक र मुलुकको धरातलीय यथार्थमा आधारित हुनुपर्छ । हामीले अनुभव गर्दै आएको वास्तविकता के हो, नेताहरू जनताको अपेक्षा जगाउँछन् । तर, पूरा गर्दैनन् । यस्तो अवस्था प्रत्युत्पादक बन्न जान्छ । विगतका सत्ता सञ्चालनमा यो नियति फेरि दोहोरिँदैन भन्ने छैन । कारण, व्यवस्था परिवर्तन भएको छ,  पात्रहरू उनै हुन्, प्रवृत्ति पुरानै हो र कार्यशैलीमा परिवर्तन देखिएको छैन ।

यस्तो अवस्थाले जनतामा निराशा उत्पन्न हुने र नागरिकमा विद्रोही भावना जाग्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा अहिलेको राजनीतिक व्यवस्थाको खिलाफमा सक्रियताका साथ लागि परेकाहरू मौका पाउँछन् । नेताहरूले  भाषणबाट सपना देखाउँने भन्दा काम गर्ने बेला हो । अहिलेको अवस्था भनेको काम गर्नका लागि स्वर्णिम अवस्था हो । 

नेपाली जनतामा अहिले जागेको सबैभन्दा ठूलो विश्वास राजनीतिक स्थायित्व हो । राजनीतिक स्यायित्व हुनेबित्तिकै सबै थोक प्राप्त भै हाल्छ भन्ने प्रचारका दुई प्रमुख वामपन्थी राजनीतिक दलहरूको चुनाव गठबन्धनदेखिको सहकार्य अहिले सरकार बनाउनेसम्म टिकिरहेको छ । चुनावी तालमेल पछि गएर पार्टी एकता हुने राजनीति अहिलेसम्म प्रचारमै छ । एमाले र माओवादी आपसमा एकीकृत भएको अवस्थामा राजनीतिक स्थायित्वको जति विश्वास गर्न सकिन्छ ।

त्यत्तिकै शंकास्पद, भयप्रद हुन जान्छ एकीकरणविनाको सहकार्य । दुई पार्टी एकीकृत हुन सकेनन् भने त्यसले निम्त्याउने सरकारमाथिको संकट आफ्नो ठाउँमा छँदैछ । त्यो सँगै राजनीतिक स्थायित्वको  जगमा देखाइएका सपना भत्किन सक्छन् र आम नागरिकमा निराशा छाउन सक्छ । कारण, बितेको वर्षको राजनीतिलाई केलाउँदा दुई खाले राजनीतिक समीकरणहरू भए । स्थानीय तहको निर्वाचनसम्म कांग्रेस र माओवादी सत्तामा थिए ।

कतिपय स्थानमा चुनावी समीकरण पनि गरे । स्थानीय चुनाव पछि सम्पन्न भएका संघीय र प्रदेश चुनावमा एमाले, माओवादी एकीकरण हुने उद्घोष गर्दै चुनावी तालमेलमा गएका हुन् र राम्रो परिणाम पनि ल्याउन सके । अहिले त्यही सहमतिको जगमा सरकार गठन भएको छ । तर एकीकरण गर्ने मिति पछाडि धकेलिँदै गएको पछिल्लो राजनीतिले आशंका जन्माएको छ र फेरि पनि दलहरू सरकार गठन र विघटनमा केन्द्रित हुने त होइनन् भन्ने प्रश्न उपस्थित भएको छ ।

राजनीतिक दृश्यमा पार्टी एकीकरणको पेचिलो पक्षको पटाक्षेप हुँदै गर्दा त्योभन्दा धेरै सरकारले अघिल्लो वर्ष आर्थिक रूपले जर्जर रहेको दाबी गर्दै श्वेतपत्र जारी गरेको छ । सरकारले ल्याएको श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी कांग्रेसले लाल पत्रको संज्ञा दिँदै राजनीतिक पूर्वाग्रहबाट मुलुकको आर्थिक अवस्थाको दोषपूर्ण विश्लेषण गरेको आरोप लगाएको छ । राजनीतिक दलको आरोप पत्यारोपका राजनीति आफ्ना ठाउँमा छन् । समग्रमा सरकारले मुलुकको आर्थिक पाटो अत्यन्त कमजोर रहेको उद्घाटित गर्दै जनताका अपेक्षामा केही गर्न सकिन्न भन्ने सन्देश त दिँदै छैन ? प्रश्न स्वाभाविक बन्न पुगेको छ ।

सरकार गठन हुनुलाई मात्र सफल मान्न सकिन्न । सरकारहरू केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले जनताका अपेक्षा सम्बोधन गर्ने नीति लिन आवश्यक छ । यसका सरकारहरूको प्रशासनिक, प्राविधिक र आर्थिक अवस्थाअनुसार योजना, कार्यक्रमहरू अघि सार्ने र भनेका कामहरू पूरा गर्दै जाने नीति लिन आवश्यक हुन्छ । त्यसैले नेताहरू, सरकारहरूसँग एउटै आग्रह गरौं, काम गरौं सपना मात्र नबाँडांै  । नयाँ वर्षले यस्तै सन्देश दिन सकोस्, शुभकामना । 

Leave A Comment