सिन्दुर जात्राको मज्जा

आइतबार, ०९ बैशाख २०७५, ०१ : ०८ रेणु त्वानाबासु
सिन्दुर जात्राको मज्जा तस्बिरः दीपेश श्रेष्ठ

बुद्धकृष्ण बाग श्रेष्ठले छैटौँ पटक जिब्रो छेडेका छन् । प्रत्येक वर्ष भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेमा सियोले जिब्रो छेड्ने जात्रा मनाइन्छ । त्यही जात्रामा बुद्धकृष्णले पुनः आफ्नो जिब्रो छेडाए ।
गत वर्ष पनि उनैले जिब्रो छेडेका थिए । उनले नौ वर्षअघि निरन्तर चार पटक जिब्रो छेडिसकेका थिए । आमाको निधन भएकाले एक वर्ष उनले जिब्रोे छेडेनन् । बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ पटक जिब्रो छेडे । त्यसअघि बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिब्रो छेडेका थिए ।
परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा कति जनाले जिब्रो छेडे यकिन विवरण पाउन मुस्किल छ । अहिले १३ जनाको मात्रै नाम फेला परेको छ । विवरणअनुसार सबैभन्दा धेरै जिब्रो छेड्ने कीर्तिमान बेखानारायण हाय श्रेष्ठको नाममा छ । उनले ३२ पटक जिब्रो छेडेका थिए । हर्कनरसिंह वाग श्रेष्ठले २२ पटक, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ वाग श्रेष्ठले आठ, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, बुद्धकृष्ण बाग श्रेष्ठले छ, हर्केश्वर व्याँ श्रेष्ठ र हरिभासिक श्रेष्ठले तीन–तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हरिदेव किला श्रेष्ठ, मुनि घो श्रेष्ठ र धर्मराज बलाम श्रेष्ठले १–१ पटक जिब्रो छेडेका छन् । 
बोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ । किंवदन्तीअनुसार प्राचीन कालमा बोडेको नीलवाराही दायाँबायाँ बस्ने भूत पिशाचले बोडेबासीलाई दुःख दिन्थे । जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिशाचलाई आफ्नो वशमा पारेको विश्वास छ । त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिब्रोमा सियो घुसाइदिए ।
अनेक दुःखपछि वेदना सहन नसकेर पिशाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने वचन दिए । त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिन वाचा गराइएको किम्वदन्ती छ । वाचाअनुसार सात वर्षसम्म पिसाचले जिब्रो छेडेपछि जात्रालाई निरन्तरता दिन बोडेकै कोही व्यक्तिको जिब्रो छेड्न लगाइयो र हालसम्म यो परम्परा चलिआएको छ । 
कम छैन सिन्दुर जात्रा 
बिस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा पनि उत्तिकै लोकप्रिय छ । जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोडेमा हजारौंको भीड लाग्ग्ने गरेको थियो । यस वर्ष पनि भिड पातलिएन । 
जात्रा हेर्न मध्यपुर थिमिका विभिन्न टोलका मात्रै नभई भक्तपुर अनि काठमाडौ, ललितपुर, कीर्तिपुर, काभ्रेपलान्चोक लगायतका विभिन्न ठाउँंका जात्राप्रेमीहरु आएका थिए ।

यिनले छेडे आफ्नै जिब्रो
बेखानारायण हाय श्रेष्ठ : ३२ 
हर्कनरसिंह बाग श्रेष्ठ :२२ 
कृष्णचन्द्र बाग श्रेष्ठले: १२
जुजुभाइ बाग श्रेष्ठ : ८ 
दिलकुमार खपे श्रेष्ठ: ७
चन्द्रसेन घो श्रेष्ठ : ७
बुद्धकृष्ण बाग श्रेष्ठ : ६
हर्केश्वर ब्याँ श्रेष्ठ : ३ 
हरिभासिक श्रेष्ठ : ३
इन्द्र बाटा श्रेष्ठ : २

Leave A Comment