फूलै फूलको मौसम

आइतबार, ०९ बैशाख २०७५, ०१ : ३२ उपेन्द्र खड्का
फूलै फूलको मौसम

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा ४१ जिल्लाको एक सय ५३ हेक्टरमा पुष्प व्यवसाय हुन्छ । करिब सात सय पुष्प व्यवसाय छन् भने ४३ हजारले रोजगारी पाएका छन् । वसन्त ऋतु, त्यसै पनि फूलै फूलको ऋतु मानिन्छ । नेपालको राष्ट्रिय फूल लालिगुराँसले पहाडलाई ढकमक्क बनाएको हुन्छ यही मौसममा । 
पहाडमा फुल्ने लालिगुराँस कम मनमोहक देखिँदैनन् । लालिगुराँस मात्रै हैन, धेरै किसिमका फूल फुल्छन् वसन्त ऋतुमा । व्यावसायिक रूपमा बाह्रै महिना फूल फुलाउन थालिएको छ । 
रोबिक महर्जन बायोटेक्नोलोजीका विद्यार्थी हुन् । उनी २३ वर्षका भए । घर पाटन हो । आइतबार बेलुका काठमाडौंको भृकुटीमण्डपमा मेलाबाट उनी बाहिरिँदै थिए । उनले मेलामा सपिङ पनि राम्रै गरेका थिए । 
उनको साथमा ‘डेल्फूनियम’ फूल थियो । रोबिकले घरमा बगैंचा छैन । उनले फूलको शोख गमलाबाट पूरा गर्दै आएका रहेछन् । 
प्रत्येक वर्षको फूल मेलामा उनी आइपुग्छन् । अवलोकन गर्छन् । एकछिन भए पनि फूलसँग खेल्दा आनन्द आउने भएकाले फूल किनेको उनी बताउँछन् । उनले दैनिक एक घण्टा फूल स्याहार्न बिताउने गरेका छन् ।

चाबेलकी २३ वर्षीया मल्लिका श्रेष्ठले पनि झोलामा गुलाफ झुण्ड्याएकी थिइन् । उनी पनि बायोटेक्नोलोजीकै विद्यार्थी हुन् । उनको घरमा पनि फू्ल रोप्ने जमिन भने छैन रे । गमलामा रोपेर कौशी सजाउँछिन् उनी । फूल फुल्दा आनन्द लाग्छ रे उनलाई । 
काठमाडौंमा फूलको बिरुवालाई प्राथमिकता दिएर काठमाडौं उपत्यकालाई फूलै फूलको सहर बनाउनुपर्ने मल्लिकाको धारणा छ । 
काठमाडौं महाराजगञ्जका ६१ वर्षीय जितेन्द्र थापामगरको हातमा पनि ढकमक्क फुलेको पिंक कलरको ‘प्यालार्गोनियम’ को गमला थियो । 
जितेन्द्रकी श्रीमती टीकादेवी थापारमगरको हातमा पनि ‘लक्कि बेम्बो’ थियो । उनले ६ वटा लक्की बेम्बो बोकेकी थिइन् । करिब डेढ फिट लामा थिए, लक्कीबेम्बो । जितेन्द्र र टीकादेवी वर्षैपिच्छे पुष्प मेलामा पुग्छन् । सिंगापुर प्रहरीबाट रिटायर्ड भएपछि काठमाडौं बस्न थालेको बताउँछन्, उनीहरु । 
जितेन्द्रले करिब एक रोपनी क्षेत्रफलको गार्डेन भएको बताए । फुर्सदको समयमा धूलो धुवाँमा घुम्नु भन्दा गार्डेनमै काम गर्ने बताउँछन्, जितेन्द्र र टीकादेवी । एक सिजनमा तीन सयभन्दा धेरै सिजनल फूल रोप्छन्,उनीहरु । 
सामान्यतः वर्षमा तीन सिजनमा फूल रोपिन्छ । तीन सयभन्दा धेरै गमला रहेको उनले बताए । जितेन्द्र वर्षमा पचास हजारभन्दा धेरै फूलमा खर्च गर्छन् । काठमाडौंलाई गार्डेनसिटि बनाउनुपर्ने उनको सुझाव छ । 
गोकर्णकी ३५ वर्षीया रेनु अर्याल पनि वर्षेनी पुष्प मेलामा फूलको अवलोकन गर्न आउँछिन् । उनी वर्षमा दस हजारभन्दा धेरै फूलमा खर्च गर्छिन् । उनको बगैंचा पनि छ । 
उनी सयपत्री, जिनिया, गोदावरी, पिटुनिया, डेन्थस, गजिनियालगायतका सिजनल फूल रोप्छिन् । उनी आफैँ फूलको स्याहार गर्छिन् । 
कोटेश्वरमा बस्ने ३८ वर्षीय मनीषा राईले पनि मेलामा पिंक कलरको बेगनबेली किनिन् । राईले १२ इन्चे गमलामा ढकमक्क फुलेको बेगनबेली किनेकी थिइन् । ‘बनसाई’ जस्तो देखिने बेगनबेली कम मनमोहक थिएन । तीन हजारमा राईले बेगनबेली किनेको सुनाइन् । आफू भाडामा बस्ने भएकाले कौशीमा राख्दा पनि फूल राख्ने भएकाले बेगनबेली किनेको उनले सुनाइन् । बेगनबेली प्रायः बाह्रै महिना फुलिरहने बहुवर्षीय फूल हो । 
बेगनबेली जति धेरै घाम भयो उति धेरै राम्रो फुल्छ । उनले कौशीमा बहुवर्षीय फुल्ने फूलका बिरुवा राखेको बताइन् । 
फूल मानव सभ्यतासँग जोडिएको छ । जीवनसँग जोडिएको छ । नेपालमा फूलको इतिहास छोटो छैन । पौराणिक कालदेखि नै फूलका सुन्दरताको व्याख्या गरेको पाइन्छ । फुलबारी र आँगनमा रोपिने फूल आज गार्डेन तथा गमला, ¬कौशी र छतमा रोप्ने क्रम बढेको छ ।
हर्टिकल्चर विशेषज्ञ अनिल आचार्यका अनुसार नेपालमा फूलको शौखिन बढिरहेको छ । काठमाडौंमा भएको वातावरणीय प्रदूषणका कारणले पनि फूल रोपेर घर सुन्दर बनाउने संख्यामा वृद्धि भएको आचार्यको ठम्याइ छ । 
‘फूल आँखा र मनसँग सम्बन्धित हुन्छ,’ आचार्य भन्छन्, ‘नयाँ किसिमका फूल देख्यो भने रोप्ने चलन ह्वात्तै बढेको छ ।’ 
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा फूल प्रयोगकर्ता बढिरहेका छन् । फ्यानका अनुसार नेपालमा हालसम्म ४१ जिल्लामा पुष्प व्यवसायको विस्तार भएको छ । करिब सात सय पुष्प व्यवसाय छन् । 
करिब एक सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । फ्यानका अनुसार करिब ४३ हजारले नेपालमा पुष्प व्यवसायबाट रोजगारी पाएका छन् । 
फ्यानका सचिव विश्वमणि पोख्रेलका अनुसार आर्थिक वर्ष ०७३/७४ मा १० करोडका फूल तथा फूलजन्य वस्तु आयात भएको छ । वर्षेनी आयात घटिरहेको  पोख्रेल बताउँछन् । 
हिउँद महिनामा गुलाफ, जरबरा, कार्नेसनलगायतका कट फ्लावर नेपालमा आयात हुने गरेको उनी बताउँछन् । त्यसैगरी ग्लाडुलस, विभिन्न प्लान्ट, बीउलगायत पुष्पजन्य सामग्री नेपाल भित्रिन्छन् भने नेपालबाट पनि फूलका बीउ, बल्ब, गानोलगायत निर्यात हुन्छन् । 
आव ०७३/०७४ मा एक अर्ब ७१ करोडभन्दा धेरैको फूलको कारोबार भएको छ । ०७२/७३ मा एक अर्ब ५१ करोडको कारोबार भएको थियो भने ०७१/७२ मा एक अर्ब ४१ करोडको फूलको कारोबार भएको थियो । वार्षिक १५ प्रतिशतभन्दा धेरै पुस्पव्यवसायको वृद्धि तथा फूलको माग बढिरहेको सचिव पोख्रेल बताउँछन् । 
नेपालमा ०७२ मा गएको भूकम्पले पुष्प व्यवसाय पनि थिल्थिलो भयो । भूकम्पपछिको तितो अनुभव सुनाउँछन् गोठाटारस्थित अग्रिम नर्सरीका अम्बर खड्का । भूकम्पपछि बल्ल अहिले पुष्प व्यवसाय तग्रिँदैछ भन्छन् खड्का । 
बानेश्वरस्थित रोजडेल नर्सरीका प्रकाश राई पनि फूलका शौखिन दिन प्रतिदिन बढिरहेको अनुभव सुनाउँछन् । राईले पाँच हजार मूल्यसम्ममा अर्किट बिक्री गरेका छन् । 
 

Leave A Comment