स्लिमको चक्कर

बिहिबार, ०६ साउन २०७३, ०४ : ३५ अम्मर जिसी , Kathmandu
स्लिमको चक्कर

राजधानी र प्रमुख शहरहरूमा स्लिम बनाइदिने ग्यारेन्टी दिएर खुलेका छन्, असंख्य स्लिम सेन्टरहरू, जहाँ करिना कपुरको जस्तो ज्यान बनाउन चाहने युवतीहरू धाइरहेका छन् । स्लिम बन्ने चक्करमा ‘हर्बल’ का बिल्ला भिरेका विभिन्न औषधि खानेदेखि शरीरमा मेसिन घोट्नेसम्मका काममा लिप्त छन् उनीहरू । अनि, विज्ञापनका चिप्ला भाषाले तानिएर पैसा र समय खर्च गरिरहेका छन् र आफ्नो स्वास्थ्यलाई जोखिममा पारिरहेका छन् । त्यतिमात्र होइन, चुरोट खाए स्लिम भइन्छ भन्नेजस्ता भ्रममा पनि परिरहेका छन् । अम्मर जिसीले स्लिम बन्ने आकांक्षालाई स्लिम बनाउने धन्दाले कसरी ‘क्यास’ गरिरहेको छ ? बुझ्न खोजेका छन् ।

सेन्टरको नामै ‘ग्यारेन्टी स्लिम’ । यहाँ बकाइदा ग्यारेन्टीका साथ आफूले चाहेकै भाँतीमा शरीरको आकारप्रकार मिलाउन चाहनेहरूको ताँती लाग्छ । सेन्टरको शरीर बनाउने आकर्षक प्याकेजका लागि उनीहरू जति पनि खर्चन तयार छन् । कति दिनमा कति किलो तौल घटाउने हो ? कुन अंग भद्दा लाग्छ ? त्यो भद्दा लाग्ने अंगलाई घटाउने वा बढाउने ? वा गोलो, लाम्चो, चुच्चो, चेप्टो, पुट्ट परेको ? कस्तो बनाउने ? ‘त्यस्तै बनाइदिन्छौँ हामी,’ सेन्टरका सीईओ विपुल पालिखे प्याकेज पस्किन्छन्, ‘तपाईंको चाहनाअनुसार नै समय र मूल्य लाग्ने हो ।’
उनका अनुसार चाहेकै जसरी स्लिम बन्ने हो भने तीनटामध्ये एउटा विकल्प छान्नुपर्छ । औषधि, मेसिन र अपरेसन । औषधि खाएर बोसो झार्ने वा मेसिनबाट बोसो पगाल्ने वा शरीर चिरेर बोझ लाग्ने बोसो फ्याँक्ने । सीईओ पालिखेकै भाषामा यी विकल्पका लागि खर्चिनुपर्ने समय र मूल्य क्रमशः यस्ता छन्, ‘५ महिना–२० हजार वा २ महिना–२५ हजार वा १ हप्ता–३० हजार रुपैयाँ ।’ घटाउन चाहेको तौल र खर्चन सक्ने समयअनुसार यसमा सामान्य हेरफेर हुनेछ पनि भन्छन् उनी ।
शरीरको आकारप्रकार मिलाउने यस्तै व्यवसायको सञ्चालक छिन्, मृदुला श्रेष्ठ । ‘जीवनदान स्लिम सेन्टर’की सञ्चालिका उनी ग्यारेन्टी चाहिँ दिन सक्दिनन् । ‘हामी वारेन्टी मात्रै दिन्छौँ,’ फुस्स फुलेको भुँडीदार शरीरकी धनी उनी भन्छिन्, ‘भनेको पैसा फिर्ता हुँदैन । चाहेको साइजमा स्लिम नभए फेरि जति पटक आउनुस् । पैसा लाग्दैन ।’ उनकै शब्दमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको हर्बल प्रोडक्ट प्रयोग गर्दै दिएको सल्लाहबमोजिम चल्नसके पक्का ‘जिरो फिगर’ !
मृदुला आफू भने मोटाउनमै खुशी भएकाले स्लिम बन्न आवश्यक नठानेको बताउँछिन् । ‘मलाई हिरो–जिरो केही बन्नु छैन,’ उनी स्लिम सेन्टरको इमान बचाउन भने खोज्छिन्, ‘चाहेको भए यही दबाई खाएर उहिल्यै स्लिम भइसक्थेँ नि ।’  
काठमाडौँ, सुन्धाराको ग्रेट हर्बलले एकदमै सस्तोमा शरीर बनाइरहेको दाबी गर्छ । ‘बिना साइड इफेक्ट एक महिनामा चार हजार रुपैयाँ मात्रले १५ किलोसम्म तौल घटाइरहेका छौँ,’ ग्रेट हर्बलकी जुना कार्कीले भनिन्, ‘हामीले भनेअनुसार हर्बलले काम नगरे आधा पैसा फिर्ता हुन्छ ।’ खाने हर्बलसँगै लाउने हर्बल (मलम) पनि दिने गरेको उनले बताइन् ।
काठमाडौँ, कोटेश्वरको हेलो सपको आफ्नै दाबी छ । अमेरिकी हर्बलले नेपालीहरूलाई स्लिम बनाइरहेको उसको दाबी छ । ‘दिनमा एकपटक ५० दिन खाए १० किलो पक्का घट्छ,’ हेलो सपका एक कर्मचारीले  भने, ‘यसका लागि पाँच हजार खर्च लाग्छ । अहिलेसम्म हजारौँले यो प्रयोग गरिसक्नुभयो । सबै सन्तुष्ट हुनुहुन्छ । भएन भनेर कोही पनि फर्किनुभएन ।’ उनका अनुसार मोटोपन घटाउने÷बढाउनेसँगै यौनांग मिलाउने कामसम्म पनि हेलो सपले गर्छ । योनी टाइट गर्न साढे १२ सय रुपैयाँ मात्र खर्चिंदा पुग्छ भन्छन् उनी । ‘यसले खुकुलो भएका सेलहरूलाई एक्टिभ बनाउने र कस्ने काम गर्छ,’ ती कर्मचारीले भने, ‘साइड इफेक्ट नहुने ग्यारेन्टी हुने नै भयो । अझ हर्बलले त शरीरका अरू समस्या पनि निको पार्दिन्छ । त्यसैले ढुक्क भएर युज गर्दा हुन्छ ।’


बोसोको पखाला चलाइदिने !
नायिका करिश्मा मानन्धरले हाई–हाई गर्दै आएको एउटा सेन्टर छ, हेल्दी होम । जसले बोसोको पखाला चलाइदिएर हेर्दाहेर्दै स्लिम बनाइदिने दाबी गर्छ । होममा थरीथरीका औजार छन् । त्यस्ता मेसिनले बोसोको पखाला चलाइदिने दाबी गर्दै एमडी मोहन भुसाल भन्छन्, ‘सुरुमै एक किलो जति तौल हेर्दाहेर्दै घटाएर मात्र कस्टोमरको विश्वास जित्दै पैसा लिन्छौँ ।’ टार्गेट अनुसारको धेरै थरी प्याकेज उपलब्ध रहेको उनले बताए । ‘पाँचदेखि १० किलो घटाउने भए महिनाको १५ हजार र १२ किलोदेखि माथि घटाउने चाहना हो भने मासिक ३० हजार रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘ग्यारेन्टी दिएरै कोर्स सुरु गर्छौं । हाम्रोमा मेसिनसँगै हर्बल प्रोडक्टको युज र मसाज थेरापी पनि प्लस पाउनु हुनेछ ।’
विभिन्न नाममा खुलेका स्लिम र फिटनेस सेन्टरहरू भन्दा बेग्लै पहिचान बनाइसकेको उनको दाबी छ । हेल्दी होम अन्तर्राष्ट्रिय ब्रान्ड भएको दाबी गर्ने उनी थप्छन्, ‘हामी अन्य स्लिम सेन्टरहरूसँग तुलना हुने सेन्टर नै होइनौँ । हजारौँको विश्वास जितिसक्यौँ ।’ यही विश्वासले आफूहरू देशैभरि शाखा खोल्ने अभियानमा जुटेको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा चार र बाहिर चार गरी आठवटा शाखा हेल्दी होमले चलाइरहेको उनले बताए ।
उनका अनुसार सबभन्दा पहिला मेसिनबाट गरिने ‘बीएमआई टेस्ट’ले शरीरको अवस्थिति बताउँछ । ‘त्यसैअनुसार कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्छौं,’ उनले विधि सुनाए, ‘सुरुमा तीन घण्टाजति मेसिनबाट मसाज गराउँछौँ । त्यसको ७२ घण्टाभित्र असर देखिन्छ । दिनमा १० पटकसम्म पखाला चल्छ । त्यो पखाला बोसोको हो ।’ उनको भनाइमा पिसाब र पसिनाबाट समेत बोसो झारिदिने यो मेसिन प्रयोग गर्ने हो भने ‘फिजिकल एक्सरसाइज’ रोक्नुपर्छ । अंग–अंगको ‘सेपरेट थेरापी’ पनि हुन्छ । चाहेको अंगबाट मात्र बोसो पगालिन्छ । यहाँ बोसो तताएर पगाल्ने मात्र गरिँदैन, बोसो जमाएर हिउँ बनाइदिने विधि पनि छ । मेसिनले हिउँ बनाएको त्यो बोसो मेसिनबाट हट्नेबित्तिकै पटपटी फुट्छ । ‘बत्ती गएपछि फ्रिजको बरफ फुटेर पानी बनेजसरी बोसो पग्लिएर झर्छ,’ भुसालले भने, ‘हर्बल फाइबर डाइट दिने र त्यो डाइट चार्टअनुसार प्रयोग पनि गर्नुपर्छ ।’ यसले कुनै पनि ‘साइड इफेक्ट’ गर्दैन भन्छन् उनी । करिश्माजस्ता स्लिम बन्न चाहने चर्चित कलाकार, वकिल, पत्रकार, हाकिम, मन्त्री, सभासद्, व्यापारी सबैको विश्वास जितेको दाबी गर्ने उनी आफूहरू ९० प्रतिशत सफल रहेको ठोकुवा गर्न पनि पछि पर्दैनन् ।
शरीर बनाउने धन्दा
शहरबासीको तनमनमा स्लिम बन्ने भूत सवार छ । त्यसका लागि उनीहरू जति पनि धन खर्चिन वा जे पनि गर्न तयार छन् । ग्यारेन्टी र वारेन्टी दिँदै शरीर बनाइदिने व्यवसाय चलाइरहेकाहरू मालामाल छन् । कसले आकर्षक विज्ञापनमार्फत प्याकेज पस्केर मान्छे तान्ने ? धन्दावालाहरूबीच प्रतिस्पर्धा चर्को छ ।
सात वर्षदेखि स्लिम बनाइदिने व्यवसाय चलाइरहेका धनवीर तामाङ आफूहरूले जनतालाई स्वस्थ बनाइरहेको दाबी गर्दै सरकारबाट प्रोत्साहन समेतको आश गर्छन् । ‘मोटोपन यसरी बढिरहेको छ कि त्यो सरकारले चाहेर पनि नियन्त्रण गर्न सक्दैन,’ उनी भन्छन्, ‘हामी त्यही मोटोपन घटाएर जनतालाई स्लिम बनाइरहेका छौँ । सरकारले हाम्रो व्यवसायलाई प्रोमोट गर्नुपर्दैन ?’ बिनामापदण्ड र बिनादर्ता व्यवसाय चलाइरहेका उनी आफ्नो बचाउ गर्न कसिन्छन् । ‘अमेरिकाको हर्बल कम्पनीमा दर्ता गरेपछि नेपालमा दर्ता गर्न आवश्यक लागेन,’ उनले भने, ‘सरकारले दर्ता गर्नैपर्छ भन्यो भने गरौँला । तर, हाम्रो अधिकारका लागि बोलिदिने कोही भएन ।’ स्लिम सेन्टरहरूको पनि एउटा छुट्टै महासंघ खुल्नुपर्ने उनको माग छ ।  
स्लिम सेन्टरका केही मात्र ग्राहक पुरुष हुन्छन् । धेरैजसो युवतीहरूलाई स्लिम बन्ने भूतले सताइरहेको सेन्टरका सञ्चालकहरू बताउँछन् । उनीहरूका अनुसार फुर्सदिला अधबैँसे महिलाहरू धेरै आउँछन् । ‘जसरी भए पनि वेट लस गराइदिनुप¥यो भन्दै धेरै युवती र अधबैँसे महिलाहरू धाउँछन्,’ स्लिम सेन्टर सञ्चालक विपुल पालिखे भन्छन्, ‘उनीहरू दुःख नगरी वेट लस हुँदा एकदम खुशी हुन्छन् । महिलाहरूको यही स्लिम हुने भोकले हाम्रो व्यवसाय चलिरहेको छ ।’ चिकित्सकका अनुसार बच्चा जन्माइसकेपछि महिलाहरू ज्यादा मोटाउँछन् । सुत्केरीलाई स्याहार गर्दा धेरै खुवाउने र शारीरिक परिश्रम नगर्ने कारणले उनीहरू मोटाउने गरेको चिकित्सकहरूको भनाइ छ ।
‘औषधि र हर्बलकै बेइज्जत गरे’
आयुर्वेदिक औषधिपसल सञ्चालक सञ्जय देउजा स्लिम सेन्टरहरूले ‘हर्बल’ शब्दकै बेइज्जत गरेकोमा दुःखी भएको बताउँछन् । ‘पुरियामा जे पायो, त्यही प्याक गरेर नानाभाँती विज्ञापन गरेर हर्बलकै बेइज्जत गराउँदै छन्,’ उनी भन्छन्, ‘औषधि भनेको त रोग निको पार्ने पो हुन्छ । उल्टै रोग लाउने त विष पो हो ।’ स्लिम बन्ने नामको मनपरी अभ्यासले महिलाहरूलाई रोगको भारी बोकाइरहेको उनको बुझाइ छ ।
आफूहरूले प्रयोग गर्ने हर्बल आयुर्वेदिक पसलमा पाइने भन्दा कैयौँ गुणा गुणस्तरीय रहेको दाबी स्लिम सेन्टरवालाहरूको छ । ‘हामी त्यस्ता गाउँघरका जे पायो त्यही धुलोमुलो बेच्दैनौँ,’ मृदुला श्रेष्ठ भन्छिन्, ‘विश्वविख्यात हर्बलको सहारामा हामीले मानिसहरूलाई स्लिम र हेल्दी बनाइरहेका छौँ । शंका लाग्छ भने सरकारले जाँच गरोस् । हामी तयार छौँ ।’
पोषणविद्हरूको चेतावनी
स्लिम बन्ने नाममा जुन अभ्यास भइरहेको छ, यी सबै पोषणका दृष्टिले भयानक जोखिमपूर्ण रहेको पोषणविद्हरूको चेतावनी छ । ‘यहाँ इमोस्नल ब्ल्याकमेलिङ भइरहेको छ,’ पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘मानिसहरू व्यस्त छन् । अल्छी छन् । आहारबिहार अस्वास्थ्यकर छ । यसले मोटोपन हुने नै भयो । मानिसहरूको यही कमजोरीमाथि खेलेर कमाउ धन्दा चलाइरहेका छन् ।’ स्लिम बनाउन शहरमा भइरहेका अभ्यासहरूलाई उनी ‘अप्राकृतिक’ नै भन्छिन् । यो अभ्यास शारीरिक मात्र नभएर मानसिक रूपमै घातक रहेको बताउँदै उनले भनिन्, ‘परिवारलाई देखाउन खाना खाने । अनि बाथरुममा गएर सकी–नसकी बान्ता गरेर फाल्नेहरू पनि छन् । कैयौँ मानसिक समस्याको शिकार भइरहेका छन् ।’
पोषणविद् प्राडा उमा कोइराला एउटा समस्याको समाधान खोज्ने नाममा शहरबासीले सारा शरीर नै कसैलाई सुम्पिरहेको बताउँछिन् । ‘मोटोपनको कारण पत्ता नलगाई मनपरी गरेर मानिसहरू रोगको खानी बन्ने घातक काम गर्दै छन्,’ उनी भन्छिन्, ‘शरीरमा त्यसरी एक्काीस खलबली मच्चाउँदा हाीन पुग्नु स्वाभाविक हो । शरीर वृद्धि–विकासको आफ्नै गति हुन्छ । त्यो गति असन्तुलित भए गम्भीर समस्या निम्तिन्छ नै ।’
घातक परिणाम
वीरगञ्जकी ४० वर्षीया समिता अग्रवालको तौल ९० किलो छ । पाँच वर्षअघि तौल घटाउने निहुँमा राजधानी आएकी उनी त्यसपछि यतै छिन् । सुरुमा फिटनेस सेन्टर धाइन् । सोचेजसरी तौल घटाउन नसकेपछि योगतिर लागिन् । त्यसमा पनि उनलाई चित्त बुझेन । गत वर्षदेखि स्लिम सेन्टर जान थालेकी उनी अहिले पाँच किलो तौल घटाउन त सफल भइन् । तर, उनको मुटुमा समस्या आइलागेको पत्तो लाग्यो । ‘हर्बल खाएँ, मेसिन लाएँ, धेरै गरेँ,’ उनले दुःख पोखिन्, ‘अहिले त्यसकै रिजल्ट भोग्दै छु ।’ पसल र घरमा व्यस्त हुनुपर्दा शारीरिक कसरत गर्ने उनलाई समय नै छैन । मर्निङवाक गर्न पनि मन लाग्दैन भन्छिन् ।   
भ्रममा बाँच्नेहरू
ब्युटिसियन पारु रूपाखेतीलाई चुरोट पिउँदा स्लिम भइन्छ भन्ने भ्रमले ‘चेन स्मोकर’ बनाइसक्यो । चुरोटले कालो भएको ओठ ‘प्लास्टिक सर्जरी’ गरेर पहिलाकै अवस्थामा पु¥याउने धोको उनको हो । ‘साथीहरूले स्लिम भइन्छ भन्दै चुरोट तानेको देखेर सुरु गरेकी हुँ,’ मोडेल बन्ने धुनले स्लिम हुने भूत चढेको बताउने उनी भन्छिन्, ‘अचेल ओठ कालै भएर लाजै भइसक्यो ।’
बिहानको खाना मात्र खान्छिन्, पूर्णिमा वाग्ले । ‘अरू त फास्ट फुड खाएर बाँचेकी छु,’ दंग परेकी उनी पेटतिर देखाउँदै भन्छिन्, ‘खुशी छु । फुत्त आएको भुँडी यति घटिसक्यो । पैसा पनि बचेको छ ।’ वाइन खाँदा पेट घट्छ भन्ने पनि भ्रम छ उनमा ।
‘यस्ता कैयौँ भ्रम लिएर मान्छेहरू स्लिम बन्न खोज्दै छन्,’ पोषणविद् डा. जया प्रधान भन्छिन्, ‘शरीर असन्तुलित बनाउँदै छन् । क्यालोरी अपुग हुँदै छ ।’ शरीर लामो समयसम्म असन्तुलित रहेमा मानिस डिप्रेसनतिर जाने सम्भावना देख्छिन् उनी । नेपालमा सञ्चालित मोटोपन घटाउने सेन्टर तथा क्लिनिकहरू बिनामापदण्ड चलिरहेको उनको भनाइ छ । ‘घरमै पाक्ने खाना मिलाएर खाने, जंकफुड नखाने, नियमित शारीरिक कसरतका लागि अल्छी नगर्ने हो भने मोटोपनका लागि नानाभाँती गर्नै पर्दैन,’ उनी सुझाउँछिन्, ‘बुझेकै मान्छेहरूले यस्ता अप्राकृतिक कामको प्रमोट गरिदिँदा यो ट्रेन्ड नै बनिसक्यो । यस्ता गतिविधि नियन्त्रण र नियमन गर्न अत्यावश्यक छ ।’ चिकित्सकहरू पनि स्लिम बन्ने हचुवा अभ्यास मानव स्वास्थ्यका लागि हितकर छैन भन्छन् ।

..

पोषणविद्हरू भन्छन्...

डा. जया प्रधान
मोटोपन नियन्त्रणका नाममा विभिन्न टेक्निक लगाएर पैसा कमाउने धन्दा झाँगिएका देखिन्छन् । मानिसहरू यस्ता टेक्निककै पछि लागेर त्यही मोटोपन झन् अनियन्त्रित बनाउँदै छन् । औषधि वा मेसिनमा निर्भर हुँदै शारीरिक कसरत घटाइरहेका छन् । खानपान स्वास्थ्यकर छैन । रोगहरूको मूल कारण बन्दै छन् यस्ता अभ्यास । पोषणका दृष्टिले यो एकदमै खतरनाक छ । सेन्टर धाउने बेलासम्म स्लिम हुन्छन्, पछि झन् धेरै फुलिन्छन् । घरकै खाने, समयमा सुत्ने, जाँडरक्सी नखाने, आवश्यक शारीरिक कसरत गरिरहने हो भने सेन्टर धाउनु आवश्यकै छैन ।
प्राडा उमा कोइराला
स्लिम बन्ने नाममा डरलाग्दो ट्रेन्ड मौलाएको छ । भ्रामक प्रचार गरेर युवायुवतीलाई ‘मिसगाइड’ गरिएका छन् । एक्कासि शरीरमा उथलपुथल ल्याउँदा शरीर असन्तुलित हुन्छ । यस्ता अभ्यास अप्राकृतिक छन् । तिनले शरीरका अंगहरूको विकासमा प्रत्यक्ष असर पार्छन् । ग्रन्थीहरूले काम गर्न छाड्छन् । प्राकृतिक प्रक्रिया अपनाएर पनि मोटोपन घटाउन सकिन्छ भन्ने बुझ्नुपर्छ । कसैले नियन्त्रण नियमन नगर्दा सेन्टरहरूले मनपरी गरिरहेका छन् । शरीर फिट राख्न मेसिनले सहयोग नगर्ने होइन । तर, त्यो सहयोगी मात्र हो । त्यसमै निर्भर हुने हो भने घातक हुन्छ ।


डा. अरुणा उप्रेती
शहरमा मोटोपन घटाउने वा स्लिम बन्ने नाममा अवैज्ञानिक अभ्यासहरू भइरहेका छन् । एकैछिनमा परिणाम देख्न चाहने मानसिकताले झन् ठूलो खाल्डोमा धकेल्छ । हेल्दी हुनतिर नभएर पातलो हुनतिर आकर्षित छन् युवतीहरू । घरको खाना खाँदैनन् । जंकफुड र जाँडरक्सी खान्छन् । शारीरिक अभ्यास गर्दैनन् । शरीर हेरेर स्वस्थ या अस्वस्थ भन्न सकिँदैन । जथाभावी गरेर शरीर स्लिम बनाउने तन्नेरीमा चढेको भूत खतरनाक छ । जथाभावी योग गर्नु पनि घातक मानिन्छ । उल्टै मानसिक रोगको शिकार बन्दै छन्, स्लिम बन्न चाहनेहरू ।

 

स्लिम हुने फेसन
गोपाल दाहाल÷धरान
धरानकी सरीता लिम्बूलाई आफू मोटी भएकोमा साह्रै चिन्ता लाग्थ्यो । जुन लुगा लगाए पनि नसुहाउने, हिँड्न पनि गाह्रो हुने भएपछि उपायको खोजीमा लागिन् । कहिले फिटनेस सेन्टर गइन् त कहिले जुम्बा तर ज्यान घटेन । त्यसपछि टेलिभिजन र पत्रपत्रिकामा ‘ग्यारेन्टीवाला’ विज्ञापनले उनको ध्यान तान्यो । उनले विभिन्न नामका औषधि खाइन् । ज्यान नघटेपछि अहिले शारीरिक कसरत र खाना नियन्त्रणमा लागेकी छिन् । भन्छिन्, ‘बजारमा पाइने ग्यारेन्टीवाला तरिका सब हावा रहेछन् । बरु पसिना निस्किने गरी दौडिने अनि चिल्लोचाप्लो कम खाएदेखि घट्न थालेकी छु ।’
स्लिम बन्न चाहनेलाई लक्ष्य गरेर बजारमा धेरै किसिमका औषधिदेखि एकैदिनमा बोसो घटाउने नारासहितका ग्यारेन्टीवाला सेन्टरहरू खुल्ने क्रम बढिरहेको छ । अनेक आकर्षक विज्ञापन पत्रपत्रिका र टेलिभिजनमा देखेर औषधि प्रयोग गर्नेहरू पछि पछुताउने गरेका छन् ।
मोटोपन भएका महिलालाई लक्ष्य गरेर धरानमा केही महिनाअघि धरान हेल्दी होम खुलेको छ । महिनामा पाँचदेखि १० केजी घट्ने शतप्रतिशत ग्यारेन्टी दिने गरिएको हेल्दी होममा पुग्ने महिलाको संख्या पनि बढिरहेको छ । तर, हेल्दी होममा धाउने उनीहरू विज्ञापनमा भनिए जस्तो सुधार नभएको बताउँछन् । सेन्टर धाउञ्जेल घटे पनि पछि फेरि ह्वात्तै मोटाउन थालेपछि उनीहरू आक्रोशित हुने गरेका छन् ।
हेल्दी होम सञ्चालक दीपक बनेपाली भने आफूकहाँ आउनेहरू पाँचदेखि १० केजी घटेको र आफूहरूले सिकाएको तरिका अपनाए पछि पनि नमोटाउने दाबी गर्छन् ।
पहिला आकर्षक विज्ञापनको लोभमा परेर विभिन्न औषधि प्रयोग गर्नेहरू खास उपलब्धि नभएपछि पछिल्लो समय आफैँ कसरत गर्न र खानेकुरामा ध्यान दिन थालेका छन् । फिटनेसका लागि जुम्बा सेन्टर धाइरहेकी मनु शेर्पा भन्छिन्, ‘मुख्य कुरा त खानामै ध्यान दिनुपर्छ अनि कसरत पनि नियमित गर्नुपर्छ ।’
भातै खान छाडेकी धरानकी रचना लिम्बूलाई ग्यास्ट्रिकले सतायो । त्यसपछि उनलाई खाना नखाई बसेर मात्र स्लिम बनिँदैन भन्ने लागेको छ । उनी अहिले फिटनेस सेन्टर धाउन थालेकी छिन् ।
ब्युटिसियन विष्णु लिम्बू अहिलेका युवतीहरूबीच स्लिम बन्नु पनि फेसनजस्तै भएको बताउँछिन् । भन्छिन्, ‘धेरै मोटो वा धेरै दुब्लो दुवै उचित होइन । आफूलाई सुहाउँदो र सजिलो फिगर बनाउन एरोबिक, योग वा रनिङ गरे हुन्छ । औषधि खानु आवश्यक छैन ।’
दुब्लाउने होड
मनोज घर्तीमगर÷पोखरा
स्याङ्जाकी झुमा थापा आफू मोटी भएकोमा चिन्तित हुन्थिन् । कैयौँ उपाय अपनाइन् । तर, अन्तिममा थाकिन् । अहिले शारीरिक कसरत र खानपानमा ध्यान दिन थालेपछि तौलमा नियन्त्रण आएको बताउँछिन् ।
पोखरामा स्लिम बनाउन भन्दै खोलिएका जुम्बा, एरोबिक र जिम धाउने युवतीहरू धेरै छन् ।  चिप्लेढुंगामा जिप्सन जुम्बा एन्ड फिटनेसकी सञ्चालक नमिता गुरुङ तौल घटाउन र शरीरलाई स्लिम बनाउन आउने युवतीहरूको चाप अत्यधिक रहेको बताउँछिन् । ‘बिहान र साँझ दुई सेसन चल्छ । दुवैमा उत्तिकै चाप हुन्छ,’ नमिता भन्छिन् ।
आयुर्वेदिक भन्दै तौल घटाउने नाममा अनेकन औषधि बेच्ने पसल पोखराका गल्लीगल्लीमा छन् । तिनले उचाइ बढाउनेदेखि १२ दिनमा छदेखि १० किलो तौल घटाउने भन्दै प्रचार गर्छन् । यस्तै प्रचारको भर परेर औषधि लिनेहरू पनि प्रशस्तै छन् । सपना आयुर्वेद हस्पिटल प्रालिमा दैनिक १२–१५ जना स्लिम बन्न चाहनेहरू आउने गरेकोे हस्पिटलकी अध्यक्ष सपना रानाले बताइन् । ‘सयमा एक जनाको तौल नघट्नु आफ्नो ठाउँमा छ, तर शतप्रतिशत रिजल्ट आउँछ,’ अध्यक्ष रानाको दाबी छ, ‘आयुर्वेद औषधि भएकाले राम्रो छ । कसैलाई मेसिनको सहायताले पनि तौल घटाइन्छ ।’
पोखराबाट प्रकाशित हुने दैनिक पत्रिकामा तौल घटाइने प्रचार गरिएका थुप्रै विज्ञापन छापिन्छन् । रेडियोमा उत्तिकै बज्छन् भने स्थानीय टीभीमा पनि त्यत्तिकै देखाइन्छन् । यहाँ एलोपेथिक औषधिदेखि जडीबुटीसम्म दिइन्छ भन्दै विभिन्न मेसिनहरू प्रयोग गरेर पनि तौल घटाइने दाबी गरिन्छ । तर, यस्ता औषधिमा कुनै पनि सत्यता नभएको वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पलाल पोखराका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. बुद्धिबहादुर थापा बताउँछन् । ‘अहिलेसम्म तौल घटाउने दुइटा औषधि निस्केका छन् । तर, ती औषधि लाभदायक नभएको वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ,’ डा. थापा भन्छन्, ‘बजारमा तौल घटाउने भनेर बेचिने कुनै पनि औषधि राम्रो मानिँदैन ।  औषधिले तौल घट्दैन । बरु खानपानमा ध्यान र शारीरिक व्यायामले तौल घट्छ । स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।’

..

‘बोसोलाई इनर्जीमा बदल्न सक्नुपर्छ’
रोजी पुन
फिटनेस इन्स्ट्रक्टर
शरीर किन मोटो छ वा फिट छैन ? त्यसबारे थाहै नपाएर सीधै जे पायो त्यही गर्दा हानिकारक हुन्छ । वंशाणुगत कारण, हर्मोन, शारीरिक निष्क्रियताा, अस्वस्थ खानपानलगायत कारणले शरीरको मोटोपन अनियन्त्रित हुने हो ।
मोटोपन घटाउने धेरै उपाय छन् । तर, स्वास्थ्यकर दुइटा विकल्प छन् । एउटा अपरेसन गरेर बोसो हटाउने र अर्को बोसोलाई इनर्जीमा रूपान्तरण गर्ने । हामी नेपालीका लागि अपरेसन गर्न त्यति सहज छैन । त्यसैले शारीरिक कसरत गरेर बोसोलाई इनर्जीमा बदल्न सक्नु शरीरका लागि उत्तम विकल्प हुन्छ । खानै छाडेर स्लिम बन्न थाले पोषण अपुग हुन्छ । औषधि खाँदा अरू समस्या बल्झने हुन्छ ।
एक्कासि शरीरको तौल घटाउन खोज्छौँ । जसलाई शरीरले ग्रहण नै गर्न सक्दैन । चाँडो परिणाम चाहने अवास्तविक लक्ष्य लिएर आउनेहरू फिटनेस सेन्टरमा पनि छन् । उनीहरू आत्तिन्छन् । चाँडो परिवर्तन हुँदा दीर्घकालमा के असर पर्छ ? सोच्दैनन् । एक्कासि शरीर ‘सक्ड’ हुँदा त्यसले कैयौँ समस्या ल्याउँछ । मेसिन लाउन छाडेपछि वा औषधि नखाएपछि फेरि झन् धेरै बोसो थपिन थाल्छ । घातक रोगहरूसँगै कपाल झर्ने, शरीर फुस्रो हुनेजस्ता समस्या देखिन्छन् ।

..

अभिनेत्रीका फिट सूत्र

करिष्मा मानन्धर
‘सदाबहार अभिनेत्री’ भन्दै मेरो सौन्दर्यको प्रशंसा गर्दा खुशी लाग्छ । यसलाई जोगाइराख्न उत्तिकै चुनौती रहेछ । अहिले मेरो पेट लागेकोमा चिन्ता छ । शरीरलाई फिट राख्न खानपिनमा ध्यान दिनुपर्ने रहेछ भन्ने बुझ्दै छु । पहिले त्यति वास्ता गर्थिनँ । अचेल सकेसम्म अग्र्यानिक खानेकुरा खान थालेकी छु । घरकै सागपातमा जोड दिन्छु । आफ्नै फार्ममा पालेको कुखुराको मासु खान्छु । नियमित व्यायाम गर्छु । बिहानै क्लब जान्छु ।

दीपाश्री निरौला
म पहिलेदेखिकै मोटी हुँ । यो मोटोपन नै मेरो पहिचान हो । अब त दर्शकले दुब्लाए भने नरुचाउलान् कि भन्ने पो डर छ । तर, पनि स्लिम हुन कसलाई मन लाग्दैन र ? धेरै प्रयास गरेँ । तर, सकिनँ । छ महिनाअघि म ७१ किलो थिएँ । अहिले ६५ किलो छु । घरमै व्यायाम गर्छु । ध्यान पनि गर्छु । घरमै म्युजिक बजाएर नाच्छु र पसिना निकाल्छु । समयको व्यस्तताले ब्यालेन्स डाइट गर्नै सकिएन । घरमा डाइटिङ गरे पनि बाहिर पुगेपछि जे पनि खाइन्छ ।
बेनिशा हमाल
जसलाई पनि आफ्नो शरीर स्वस्थ र फिट होस् भन्ने चाहना हुन्छ । झन् कलाकार भएपछि त बढी नै हुँदो रहेछ ।  बीचमा केही मोटाइएछ । त्यसैले छ महिनादेखि निरन्तर फिटनेस क्लब धाइरहेकी छु । ४५ मिनेटजति लगातार कार्डियो गर्छु । त्यसपछि चेस्ट, एप्स र जुम्बा सबै मिलाएर गर्छु । फिट रहन व्यायामले मात्र पनि पुग्दैन रहेछ । खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ । त्यही भएर म धेरैजसो ब्रेकफास्ट गर्छु । बिहानै उठेर दुई ग्लास पानी पिउँछु । ब्राउन ब्रेड, अण्डा र ग्रिन टी खान्छु । शरीरलाई सकेसम्म सुगरफ्री बनाउन खोजिरहेकी छु ।
खुश्बु खड्का
उमेर जति बढ्दै गयो, त्यति नै ज्यानको चिन्ता बढ्दो रहेछ । म सानैदेखि स्लिम छु । अहिले कतै मोटाइहाल्छु कि भन्ने डर लाग्छ । आफूलाई यसरी नै फिट राखिरहनका लागि हरेक दिन तीन घण्टा एक्सरसाइज गर्छु । घरमै पनि वामअर्प र रनिङ गर्छु । अभिनयमा आउनुभन्दा अघि म तेक्वान्दोको खेलाडी हुँ । त्यसैले व्यायाम गरेन भने शरीर दुख्दो रहेछ । यसकारण घरमै किक हान्ने गरिरहेकी हुन्छु । सुटिङका बेला पनि समय मिलाएर व्यायाम अनिवार्य नै गर्छु ।


 

Leave A Comment