लयमा फर्कंदै पुराना पप पुस्ता

आइतबार, १६ बैशाख २०७५, ०२ : ३० पुष्पा थपलिया
लयमा फर्कंदै पुराना पप पुस्ता

एकताका टेलिभिजन हेर्दा होस् या एफएम रेडियो खोल्दा होस्, दीपक बज्राचार्य, जेम्स प्रधान, विवेक श्रेष्ठ, नवीन के भट्टराईकै स्वर  घन्किरहेको हुन्थ्यो ।

त्यसबेला दीपकले अमीरा पुर्कार्दै थिए, जेम्स पहेँलो वस्त्रमा बमबम भोलेमा मस्त–व्यस्त थिए । उता विवेक पोखरामा कन्दरा ब्यान्डको नेतृत्व गर्दै शब्दमार्फत् हङकङ पोखरा डुल्दै थिए । सुनील उप्रेती, सञ्जय श्रेष्ठ, हरिश माथेमा लगायतको दबदबा चिर्न उनीहरुलाई मौलाउँदै गएको निजी रेडियो स्टेसनले खुबै सघायो, त्यसबेला ।

काठमाडौंमा दुई दसक पहिलेसम्म हरेक हप्ता नयाँ–नयाँ लोक पप गीतहरु सार्वजनिक हुन्थे, रेडियो टेलिभिजन र पत्रपत्रिकामा अन्तर्वार्ता दिन गायक तथा ब्यान्डका सदस्यलाई भ्याइनभ्याई हुन्थ्यो । 
यसपछि एक समय यस्तो आयो, त्यसलाई केही विज्ञ पपगीतको ‘स्याचुरेसन प्वाइन्ट’ मान्छन् ।

त्यस विन्दुबाट एल्बम बिक्न छाडे । एल्बम बिक्न छाडेपछि सांगीतिक कलाकार निराश बने । त्यस अवधिमा धेरै गायक विदेश पसे, नेपालमै बसेकाहरु पनि कोही स्टुडियो खोलेर रमाए, कोही रेडियो टेलिभिजनका लागि जिङ्गल बनाउँदै बसे भने केहीले संगीत नै छाडेर अन्य पेसा अँगाले ।

अहिले समय परिवर्तन भएको छ । लामो समयसम्म गुमनाम रहेका गायकहरु, ब्यान्डका सदस्यहरु हिजोआज फेरि सांगीतिक बजारमा चहलपहल गर्न थालेका छन् । एक किसिमले उनीहरु जुर्मुराएका हुन् कि भन्ने छनक दिइरहेका छन् ।
हिजोआज दिनदिनै ५० को दशकमा चर्चा कमाएका गायक तथा ब्यान्डहरुको नयाँ गीत युट्युबको ट्रेन्डिङमा पर्न थालेको छ । यसको जल्दोबल्दो उदाहरणका रूपमा गायक दीपक बज्राचार्य, जेम्स प्रधान, नवीन के. भट्टराई, कन्दरा ब्यान्डका विवेक श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।  यतिबेला युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ, दीपक बज्राचार्यको ‘मन मदन’ गीत । उनको यो गीत लामो समयपछि चर्चामा आएको हो ।

दीपक भन्छन्, ‘केही साथीभाइहरु विदेश गए, कोही आए, कोही अझै गायब छन् तर म न कतै गएको छु, न आएको नै । संगीत क्षेत्रमा छिरेदेखि नै म यसैमा रमाइरहेको छु ।’ 

दीपक र केही साथीहरु मिलेर सात वर्षदेखि ‘थिम अफ रिदम’ अभियान चलाइरहेका छन् । ‘थिम अफ रिदम’ भन्नाले स्थानीय बाजाहरुलाई स्थानीय वाद्यवादककै सहयोगमा बजाउने र त्यस पुरानो संगीतलाई नयाँरूपमा सिर्जना गर्ने हो । दीपकले भने, ‘हामीले धेरै अगाडिदेखि ‘मन मदन’जस्ता गीतहरुको क्रिएसन गरिरहेका छौं तर अन्य गीतहरु यो गीत जति फेमस हुन सकेनन् ।’

दीपकको भनाइअनुसार संगीतका क्षेत्रमा केही विदेशिएका कलाकारहरुले कमब्याक त गरेका छन् तर आफू भने कहिल्यै यो क्षेत्रबाट नबाहिरिएकाले कमब्याक भन्न नमिल्ने बताए ।  ‘कम्तीमा पनि वर्षको एउटा गीत मैले निकालिरहेको छु तर दुर्भाग्य भन्नुपर्छ, ती गीत चर्चामा आउन सकेनन्,’ उनको तर्क छ, ‘गीत चर्चामा नआउँदैमा कोही गायब भयो भनेर भन्न नमिल्ला !’

अर्का गायक जेम्स प्रधान पनि लामो समयको अन्तरालपछि छैटौं गीति एल्बम ‘क्रम’ लिएर झुल्किए । जेम्सलाई सबैले प्रयोगवादी वा फरक खालका गायक भनेर पनि चिन्छन् । ‘क्रम’ गीति एल्बममा उनले पहिलेकै जस्तो सुनिआएको शैलीलाई अपनाएका छन् । उनले ‘क्रम’मा आठओटा गीत समावेश गरेका छन् । जेम्स सात वर्षपछि एल्बम लिएर झुल्किएका हुन् । यति लामो समयसम्म कता थिए त जेम्स भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा एल्बम मात्रै निकालेर बस्नै सकिँदैन ।’

उनले थपे, ‘हुन त मेरो बानी नै ग्याप गरेर म्युजिक एल्बम निकाल्ने हो तर यो मात्रै पनि रिजन हैन ।’ त्यसो भए अहिले  किन आए त उनी ‘क्रम’ एल्बम लिएर भन्ने प्रश्नमा उनले भने, ‘अहिले युट्युबहरुबाट पनि राम्रै भ्युअर्स पाइराखिएको छ ।’ जेम्सले उत्साहित स्वरमा भने, ‘युट्युबदेखि अडियन्सले दिएको प्रतिक्रियाले अब छिट्टै नयाँ एल्बम निकाल्छु भन्ने हौसला पाइरहेको छु ।’ जेम्स बीचमा जिङ्गल्सतिर अल्झिएका थिए । अब पुनः संगीतमा सक्रिय हुन खोज्दैछन् । हुन त यसअघि उनी सेल्फी भिडियो बनाएर पनि चर्चामा आएका थिए । 

२० वर्ष पहिले ‘आँखामा तिमीलाई’ बोलको सुपरहिट गीत गाएर संगीत क्षेत्रमा प्रवेश गरेका हुन्– नवीन के. भट्टराई । उनको गीतको मात्रै चर्चा हुँदैनथ्यो, सँगै ‘क्याप टोपी’को पनि चर्चा चुलिन्थ्यो । 

तर उनी पनि लामो समय हराए । २०७० सालमा ६ वर्ष हराएर फेरि एउटा एल्बम ‘काठमाडौंमा’ लिएर आए । त्यसपछि फेरि गायब भएका उनी एउटा गीत ‘चाहना एउटै मेरो’ लिएर संगीतको दुुनियाँमा कमब्याक भएका छन् । 

गायकहरु मात्रै हैन, चर्चित गीत गाएका ब्यान्डहरु पनि यो साल संगीत क्षेत्रमा पुनः फर्किएका छन् । त्यस्तैमा एउटा ब्यान्ड हो ‘कन्दरा’ । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘लेककी हे माया मोहनी सबैलाई लगाउने,’ ‘हङकङ पोखरा’ लगायतका चर्चित गीत गाएको कन्दरा ब्यान्ड दुई महिनाअघि मात्रै ‘हिमालमुनि’ बोलको गीत लिएर फर्किएको छ ।

ब्यान्डका केही मेम्बरहरु विदेशी कार्यक्रममा जाँदा उतै हराएपछि यो ब्यान्ड केही वर्षदेखि निस्क्रिय बनेको थियो । यसका मुख्य गायक विवेक श्रेष्ठ पनि नेपालकै स–साना स्टेज कार्यक्रम र तीन चार वर्षको फरकमा एक दुई गीत गाएरै दिन बिताइरहेका थिए ।

तर अहिले फेरि नयाँ जोश र जाँगरका साथ नयाँ गीत लिएर फर्किएका छन् । यसको कारणबारे विवेक भन्छन्, ‘पहिले ब्यान्डले मात्रै जिन्दगी नचल्ला, अरू पनि काम गर्नुपर्छ भन्ने सोचले विदेश पसियो तर अब भने नेपालमै नयाँ भविष्य खोज्न फेरि ब्यान्ड सुरु गरेका हौं ।’ मुख्य गायक श्रेष्ठले भने, ‘अहिले ब्यान्ड मेम्बरहरुलाई च्यालेन्ज बढे पनि नयाँ प्रविधिले अडियन्सहरुको प्रतिक्रिया पाउन सजिलो भएको छ र धेरै अडियन्ससम्म पुर्याउने माध्यम पनि बढेको छ ।’ 

५० को दशकमा धेरै पप गायकहरु उदाएका थिए तर तिनीहरु लामो समयसम्म चलमलाउन सकेनन् । तर, अहिले फेरि उनीहरु चलमलाउन सुरु गरेका छन् । कोही पुरानै विशेषता बोकेर फर्किएका छन्, कोही नयाँ कुरालाई थप्दै अगाडि बढेका छन् । समय परिवर्तन भयो, उनीहरुको जीवन परिवर्तन भयो तर परिवर्तन नभएको स्वर बोकेर श्रोतामाझ प्रस्तुत भएका उनीहरु निकै उत्साहित छन् । यसलाई कतिले निरन्तरता दिन सक्लान् कतिले नसक्लान् । सबैले अझै सुन्दर संगीतलाई श्रोतामाझ ल्याउन सकून् शुभकामना । 
 

Leave A Comment