निर्देशक मारा रेखा

आइतबार, १६ बैशाख २०७५, ०२ : ३४ शुक्रवार
निर्देशक मारा रेखा

हुन त रेखा थापालाई लामो समयसम्म केही पनि फापेको देखिन्न । हुँदाखाँदाको विवाह त फापेन भने अरु के फापोस् ? तर रेखालाई नफाप्ने लिस्टमा निर्देशक पहिलो नम्बरमा आउँछन् । 

रेखाले ‘हिम्मतवाली’को सेटबाट निर्देशक श्याम भट्राईलाई निकालेर यसको सुरुवात गरेकी थिइन् । पछि उनले ‘पलाँस’को सेटबाट सुवास कोइरालालाई निकालेर निर्देशकभन्दा जान्ने हुने क्रमलाई निरन्तरता दिइन् । रेखाका पछिल्लो फिल्म ‘रुद्रप्रिया’का निर्देशक सुदीप भूपाल सिंहसँग पनि सुटिङको समयदेखि नै राम्रो सम्बन्ध थिएन ।

झन् फिल्मले पानी पनि नमागेपछि त दुवैको सम्बन्ध देखावटीमा पनि सीमित रहेन । निर्देशक पिर्ने रेखाको यस्तो ग्रहदशाले यसपालि रेखाकै जिगरी सम्झना उप्रेती रौनियारलाई पनि पिरेको छ । सुटिङको संघारमा रहेको फिल्म ‘मालिका’बाट रौनियारले हात झिकेकी छन् । रौनियारले आइतबार फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफू फिल्मको हिस्सा नरहेको बताइन् । 

स्रोतका अनुसार फिल्मका लागि निर्देशकको रुपमा रौनियारले आवश्यक इनपुट दिन नसकेपछि रेखाले रौनियारलाई बाहिरको बाटो देखाएकी हुन् । रेखाले रौनियारको ठाउँमा सविर श्रेष्ठलाई लिएर काम गर्न चाहेको केहीको दाबी छ । हरेक फिल्ममा निर्देशकसँग लफडा गर्ने रेखाको पाराले देख्नेलाई त कुरीकुरी लागिसक्यो, रेखालाई पनि लागे हुने नि !
 

Leave A Comment