सम्पादकिय : घोषणाको विजोग

शुक्रबार, २१ बैशाख २०७५, ०५ : २२ शुक्रवार
सम्पादकिय : घोषणाको विजोग

घोषणा गर्न जति सहज छ, कार्यान्वयन त्यत्ति नै असहज र कठिन । तयारी नै नगरी चर्चाका लागि गरिने घोषणा आखिरमा घोषणाकर्ताका लागि घातक हुने गरेका उदाहरण प्रशस्तै छन् । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको सय दिनमा काठमाडौंलाई अन्तराष्ट्रियस्तरको सहर बनाउने घोषणा होस् या लालबाबु पण्डितको धुँवाधुलो मुक्त काठमाडौंको सपना । अन्त्यमा यी घोषणा घोषणामै खुम्चिए । घोषणाकर्ता आफ्नै घोषणासँग डराउँदै हिँड्न बाध्य भए ।

यस्तै भयो यो साता पनि । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब काठमाडौंका सडकमा कतै खाल्डाखुल्डी नहुने घोषणा गरे । सुन्दर सफा सडकको कल्पना सुनाए उनले तर वैशाखमै आएको असारे झरीले उनको घोषणा र सडकको अवस्था छर्लङ्ग बनायो । केही समय परेको पानीको निकास नहुँदा सडक गंगा नदीझैँ बने । खाल्डाखुल्डी दह बने । काठमाडौंबासीको चार पाङ्ग्रे र २ पाङ्ग्रे सवारीसाधन पानी जहाज बने ।

काठमाडौंको सडकको स्तरोन्नतिको मुद्दा नयाँ हैन । लामै समय बितिसक्यो । काठमाडौंको सडकका खाल्डाखुल्डी, सडक बिस्तार र मेलम्चीको पानी सहरबासीको टुटीमा पुर्याउन खनिएको भग्नावशेषबाट बुङ्बुङ्ती उड्ने धुलोको समस्या समाधान गर्न निरन्तर काठमाडौंबासीले याचना गरिरहे र याचनाक्रम जारी छ ।

हरेक दिन सार्वजनिक हुने काठमाडौंको वायुको गुणस्तर रिपोर्टले सास फेर्नसमेत घातक  रहेको देखाइरहेको छ । प्रदुषण रिपोर्टअनुसार बिहान ६ बजेदेखि १२ र साँझ ६ देखि ८ सम्म काठमाडौंको वायुको अवस्था अहिले पनि दुर्वलहरुका लागि अस्वस्थकर नै छ । यसका विविध कारण त छन् नै मुख्य कारण भने धुलो नै हो । 

खाल्डाखुल्डीमा परेर अनाहकमा दुर्घटनामा पर्ने सहरबासी निरीह बन्दै सिंहदरबारतिर हेरेको पनि दुई वर्ष टेक्न लागिसक्यो । यस बीचमा धेरै घोषणा भए, घोषणाकर्ता फेरिए तर काठमाडौंको सडकको अवस्था फेरिएन ।

हिजो काठमाडौंमा प्रेम पार्क बनाउने, ढलमती भएका खोलाको बालुवाको मूल्य सुनझैँ बनाउने सपना बाँड्ने केशव स्थापित प्रादेशिक सरकारको गठनसँगै प्रादेशिक सरकारको भौतिक मन्त्री बने पनि उनी मकवानपुरतिरै हराए । काठमाडौंबासी आशैमा बसे । 

संघीय सरकारको गठनसँगै आएको सपनाको बाढीमा सडक पनि मिसिनु स्वभाविकै थियो । सँगै विभागीय मन्त्रीबाट आएको घोषणाले काठमाडौंबासीको मनमा झिनो आश पलाए पनि बेमौसमी बर्खासँगै देखिएको काठमाडौंको सडकको अवस्थाले विभागीय मन्त्रीकै घोषणालाई गिज्याउने काम गर्याे ।

काठमाडौंको सडकको समस्याको चुरो सडकसँग जोडिएका विभिन्न सरकारी निकाय बीचको समन्वयको अभाव नै प्रमुख हो । कुनै सडक स्थानीय निकायको मातहतमा छ, कुनै सडक विभागको । खानेपानी संस्थान, विद्युत प्राधिकरणले चिल्ला सडकमा उस्तै गरी धावा बोलेर छियाछिया बनाउने क्रम रोकिएको छैन ।

व्यक्तिगत स्वार्थका लागि कमसल सामानको ‘देखावटी पिच’, ठेकेदारको मनोमानी अनि तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई नियमअनुसार दण्ड जरिवाना गर्न हात कमाउने सरकारी अधिकारीको लाचारीको मार काठमाडौंबासीले खेप्नु परेको हो । 

इच्छाशक्ति हुने हो भने काठमाडौंको सडकको आहाल र मृत्युकुवाको परिचय बदल्न लामो कार्यतालिकाको आवश्यता पर्दैन । आवश्यकता छ त काम गर्ने दृढता । बेमौसममा आएको झरीले सडकको अवस्था देखायो । आउने झरी अगाडि नै भौतिक योजना मन्त्रीले घोषणा कार्यान्वयन गरेर बोल्ने मात्रै हैन काम गर्ने पनि मन्त्री हुँ भन्ने स्थापित गर्लान् त !
 

Leave A Comment