बलिउडमा यौन शोषणको वास्तविकता

शुक्रबार, २१ बैशाख २०७५, ०५ : ३३ शुक्रवार
बलिउडमा यौन शोषणको वास्तविकता

भारतका स–साना गाउँ र सहरबाट हरेक वर्ष हजारौं युवायुवती फिल्म स्टार बन्ने सपना पालेर मुम्बई पुग्छन् । तर अधिकांशका लागि मुम्बई पुगेर बलिउडमा आफ्नो भाग्य परख गर्ने अनुभव एउटा डरलाग्दो वास्तविकतामा पुगेर टुंगिन्छ । 

हालै मात्र कैयौं यस्ता अभिनेत्रीहरुसँग बिबिसी संवाददाता रजिनी वैद्यनाथन र प्रतीक्षा घिल्डियालले कुराकानी गरे, जसले कास्टिङ एजेन्ट तथा निर्देशकले बलिउडमा भाग्य परीक्षा गर्ने बहानामा गर्ने यौन शोषणको डरलाग्दो पाटो सार्वजनिक गरे ।

६ वर्षअघि सुजाता (परिवर्तित नाउँ) ले आफ्नो गाउँ छाडेर भागिन् । उनको एउटै मात्र सपना बलिउडमा चर्चित अभिनेत्री बन्नु थियो । घरका अभिभावकले उनलाई त्यसको स्वीकृति दिएनन् । फलतः उनले घरबाट भाग्ने योजना बुनिन् मात्र होइन, आफ्नो गहना गुरिया बेचेर मुम्बई आइपुगिन् । 

त्यस बेला सुजाता मात्र १९ वर्षकी थिइन् । उनमा अभिनय कौशल कमै थियो र मुम्बईमा कहाँ, कसरी, कसलाई सम्पर्क गर्ने भन्ने ज्ञान थिएन । 

चाँडै नै आफूजस्तै फिल्म उद्योगमा संघर्ष गरिरहेका केही साथीहरुलाई भेटिन् उनले । उनीहरुले बलिउड छिर्न र गोडा फैलाउन उनलाई कैयौँ टिप्स दिन थाले ।

यस्तैमा उनको भेट भयो एक कास्टिङसँग । एजेन्टले आफ्नो अपार्टमेन्टमा भेट्न बोलाए । सुजाता अपार्टमेन्टमा गइन् र त्यहाँ जानु उनलाई गलत पनि लागेन । किनभने यस्ता कैयौं बैठक घरैमा हुन्थे र उनी त्यस्ता बैठकमा पहिला पनि गएकी थिइन् । उनी ती एजेन्टकहाँ पुगेपछि उनीमाथि जे घट्यो, त्यो भने दर्दनाक थियो ।

दर्दनाक अनुभव
सुजाता भन्छिन्, ‘उसले मलाई जहाँ पायो त्यहीँ छुन थाल्यो । उसले मेरो ड्रेसभित्र हात हुल्न थाल्यो र कपडा थुत्न थाल्यो । त्यसपछि त मलाई भाउन्न भएर आयो ।’

सुजाताले तत्काल यस्तो क्रियाकलाप रोक्न आग्रह गरिन् तर ऊ रोकिएन र भन्यो, ‘तिम्रो यस्तो एटिट्युडले बलिउडभित्र छिर्न सकिँदैन ।’ सुजातासँग यस क्रियाकलापलाई पुष्टि गर्ने कुनै प्रमाण छैन तर भन्छिन्, ‘एक्टिङको रहर पूरा गर्न कैयौं पटक यौन शोषण झेलिसकेकी छु ।’

उनी कैयौं पटक प्रहरीकहाँ पुगिन् तर उनका गुनासालाई प्रहरीले खासै महŒव दिएनन् । बरु उल्टै भने, ‘फिल्मी मान्छेले जे चाह्यो, त्यो गर्न सक्छन्, हामी यसमा तपाईंलाई सहयोग गर्न सक्तैनौँ ।’सुजाताले बिबिसीसँग आफ्नो परिचय लुकाइदिन आग्रह गरिन् । उनलाई डर छ, कतै उनको नाम खुलासा भयो भने अहिले पाइरहेको सानोतिनो काम पनि नखोसियोस् !

‘कुनै अभिनेत्रीले आफूमाथि शोषण भयो भनेर कुरा खोल्न थाल्यो भने प्रचार चाहिएकाले यस्तो गरेको आरोप लगाइन्छ,’ उनले भनिन्, ‘यसपछि त उसको छवि यसरी बिग्रन्छ कि ऊ पूरै उद्योगबाटै पाखा लाग्छे ।’
भारतीय फिल्म उद्योगमा भूमिका दिएबापत बदलामा सेक्सुअल फाइदा मागिनु स्वाभाविक भएको धेरैको धारणा छ । 

पाखा लाग्ने डर
बिबिसीले लगभग एक दर्जन अभिनेत्रीहरुसँग यस विषयमा कुराकानी ग¥यो । उनीहरुले फिल्ममा काम पाउनका लागि कैयौं पटक भद्दा टिप्पणी र यौन शोषणको सामना गर्नुपरेको स्वीकारे ।

‘ममाथि कसले कहाँ के ग¥यो र भन्यो भनेर बताएँ भने हाम्रो त करियर नै सकिन्छ,’ एक यस्तै पीडितले भनिन्, ‘पाखा लाग्नुभन्दा चुप लाग्नु नै ठीक भनेर सहनुपर्ने अवस्था छ ।’

राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित फिल्म अभिनेत्री उषा जाधवजस्ता केही सीमित अभिनेत्री मात्र छन्, जसले आफूमाथि भएको यौन शोषणको अनुभवलाई सार्वजनिक रूपमै बताउने हिम्मत गर्छन् ।

उषा आशा गर्छिन्, ‘मैले जसरी खुलस्त बोलेँ, त्यसपछि अरूलाई पनि यस किसिमको हिम्मत पलाओस् ।’
उषा पहिलोपटक मुम्बई आउँदा काम पाउनका लागि निर्माता तथा निर्देशकसँग सुत्नुपर्ने सुनाइएको थियो । आफूमाथि घटेको घटना स्मरण गर्दै उनले भनिन्, ‘हामीले तपाईंका लागि यत्रो गरिदिँदैछौँ भने तपाईंले पनि त बदलामा केही दिनुप¥यो नि, हैन त ? भनेर मुखेञ्जी मलाई भने । म त केही बोल्न सकिनँ ।’

‘फिल्म उद्योगमा केही नारीलाई उनीहरुले सहमति जनाउनुभन्दा अर्को कुनै विकल्प छैन भन्ने लाग्छ तर हिम्मत गर्नुपर्छ मैलेजस्तो,’ उनी थप्छिन्, ‘मैले जहिले पनि त्यस्ता प्रस्तावलाई लत्याएँ । कतिपयले मलाई त धम्की नै दिए । मैले ऊसित नसुतेकोमा सिध्याइदिने धम्की दिएको थियो, फिल्ममा कहिल्यै काम पनि पाउँदिनस् भनी डर देखाएको थियो ।’

‘मैले उसलाई जवाफ फर्काउँदै भनेकी थिएँ, हेर्दै गर तेरै अघिल्तिर म काम गरेर देखाइदिन्छु,’ उनले त्यो दिन सम्झँदै भनिन्, ‘अन्ततः मैले काम पाएँ र राष्ट्रिय पुरस्कारसमेत जितेँ ।’ उनको सुझाव छ, आफूलाई मन नपरेको कुरालाई अस्वीकार गर्ने हिम्मत गर्नुपर्छ । आफ्नो क्षमतामाथि विश्वास हुनुपर्छ ।’

शक्तिको कुरा
आफूमाथि भएको यौन शोषणका बारेमा खुलेर कुरा गर्नेमध्येमा राधिका अप्टे पनि पर्छिन् । बिबिसीसँग कुरा गर्दै अभिनेत्री अप्टे भन्छिन्, ‘हामीभित्र ‘नाइँ’ भन्ने शक्ति छ भने त्यसलाई प्रयोग गर्नुपर्छ । यस्तै शक्तिले नै नयाँ कुरा जन्माउँछ ।’

राधिकाले जस्तो खुलेर सायदै कसैले यौन शोषणका बारेमा बोलेका होलान् । एकजना फिल्म निर्देशकले उनलाई फिल्ममा खेल्न दिएबापत फोनबाट सेक्स मज्जा दिनुपर्ने भनी बाध्य पारेका थिए ।

पछिल्लो समय ‘प्याडम्यान’ फिल्ममा अभिनय गरेकी राधिकाले भनिन्, ‘मैले खुलेरै यौन उत्पीडनबारे कुरा गर्न थालेँ । यस्तो गम्भीर विषयमा बोल्न डराउने उद्योगका अन्य पीडित देख्दा मलाई चिन्ता र दुःख दुवै लाग्छ ।’

केही वर्षयता राधिका फिल्मभित्र र फिल्मबाहिर पनि महिला अधिकारका कुरा राख्दै आइरहेकी छन् ।
‘बलिउड छिर्ने कुनै सरल र निर्धारित तरिका छैन, यसै कारण महिला अभिनेत्रीमाथि अन्याय, दुव्र्यवहार मात्र होइन अनेक किसिमका हुनु–नहुनुपर्ने काम भइरहेका छन्,’ उनको दाबी छ ।  

उनी थप्छिन्, ‘भारतीय फिल्महरुमा मौका र अवसर बडो गाह्रो तरिकाले फेला पर्छ । यसका लागि निजी सम्पर्क, सोसाइटीमा पहुँच र हामी कस्तो देखिन्छौँ, ती सबै कुराले निर्भर गर्छ । हलिउडमा भने अभिनयमा छिर्ने एउटा औपचारिक प्रक्रिया हुन्छ । एक्टिङ स्कुलमा जानु, सिक्नु, पढ्नु र स्टेज सोमार्फत फिल्ममा काम पाइन्छ त्यहाँ । तर यहाँ त्यस्तो बाटो छैन ।’

फिल्म निर्माता र निर्देशकले जसलाई चाह्यो, उठाएर अभिनेत्री बनाउन सक्छन् तर त्यसका लागि उनीहरु ‘खुसी’ हुनुपर्याे । राधिका चाहन्छिन्, हलिउडजस्तै बलिउडमा पनि मीटू ह्याट्यागको अभियान चलोस् । ‘यस्तो त्यतिञ्जेलसम्म सम्भव छैन, जबसम्म बहुचर्चित अभिनेता, अभिनेत्रीहरुले पीडितहरुको समर्थन गर्दैनन्,’ राधिकाको भनाइ छ ।

कोही खुल्न चाहँदैनन्
बलिउडकी अर्की चर्चित अभिनेत्री कल्कि कोचलिनले बिबिसीसँग भनिन्, ‘मैले पहिले नै आफूमाथि भएको बाल यौन शोषणका बारेमा खुलेर बोलेकी थिएँ । आफूमाथि भएको शोषण खुलेर बोल्न नसक्ने नयाँ युवतीहरुलाई देख्दा मलाई दया लाग्छ । आखिर किन आफूमाथि भइरहेको गलत व्यवहारबारे मुख खोल्दैनन् भन्ने लाग्छ ।’

‘तपाईंको कुनै किसिमको पहिचान छैन भने कसैले पनि तपाईंका कुरा सुन्दैनन् तर तपाईं एउटा सेलिब्रिटी हुनुहुन्छ भने तपाईंले बोलेका एक–एक, स–साना कुरा पनि हेडलाइन बन्छन्,’ उनको सुझाव छ, ‘त्यसैले सेलिब्रिटीहरुले खुलेर यसबारेमा बोल्नुपर्छ ।’

त्यसो त यस किसिमको उत्पीडन बलिउडबाहिर पनि उत्तिकै देखिन्छ । बलिउडबाहिरका क्षेत्रीय फिल्ममा छिर्ने प्रयास गर्नेहरुमाथि पनि उत्तिकै शोषण हुने गरेको छ । पछिल्लो समय क्षेत्रीय फिल्ममा अभिनय गर्ने युवाहरुले पनि मुख खोल्न थालेका छन् । 

हालै दक्षिण भारतीय तेलुगू फिल्म उद्योगकी एक अभिनेत्री श्री रेड्डीले उनीमाथि भएको कास्टिङ काउचको विरोध गर्दै चलचित्र संघको परिसरमा सार्वजनिक रूपमै आफूले लगाएको कपडा खोलेर अनसन बसेकी थिइन् । सुरुमा श्रीले सस्तो लोकप्रियताका लागि यस्तो काम गरेको भनी आरोप लाग्यो । कतिसम्म भने स्थानीय कलाकार संघहरुले पनि उनलाई फिल्ममा नलिन सर्कुलर जारी गरे । 

तर राष्ट्रिय मानवाधिकार आयोगले घटनालाई गम्भीरतापूर्वक लिएको बताएपछि उनीमाथि लगाइएको प्रतिबन्ध हटाउनु पर्याे । यतिबेला बल्ल आएर तेलुगू फिल्म उद्योगले यस विषयलाई जाँच गर्नुपर्ने भन्दै यौन उत्पीडन कमिटी बनाएको छ । श्री रेड्डीले बिबिसीलाई एक अन्तर्वार्तामा भनिन्, ‘फिल्म उद्योगका मानिस मसँग नाङ्गो तस्बिर माग्छन् भने भीडकै अगाडि किन नग्न नहोऊँ !’

हालै दक्षिण भारतीय एक अभिनेत्रीलाई अपहरण गरिएको थियो र गुडिरहेको कारभित्र उनीमाथि छेडछाड गरिएको थियो । घटना सार्वजनिक भएपछि दक्षिणी राज्य केरलाको फिल्म उद्योगले महिला कल्याणका लागि एउटा समूह गठन नै गर्यो । 
उदेक लाग्ला, यौन उत्पीडन महिलामाथि मात्र सीमित छैन । 

पुरुषहरु पनि पीडित
सन् २०१५ मा बलिउडका प्रख्यात अभिनेता रणवीर सिंह (पद्मावतका खलनायक) ले समेत कास्टिङ काउच भोग्नुपरेको थियो । बलिउडमा आफूमाथि भएको यौन शोषणका बारेमा खुलेर कुरा गर्ने सीमित व्यक्तिमध्ये उनी एक हुन् । त्यस्तै अभिनेता, निर्देशक तथा गायकको समेत परिचय बटुलेका फरहान अख्तरले पनि यस विषयमा गम्भीर हुन आवाज उठाएका छन् । 

पछिल्लो समय उनले मर्द नामक एउटा अभियान नै सुरु गरेका छन् । अंग्रेजी मर्दको पूरा अर्थ ‘मेन अगेन्स्ट रेप एन्ड डिस्क्रिमिनेसन’ हो । यस अभियानअन्तर्गत देशका भिन्दाभिन्दै ठाउँ, गाउँ र दूरदराजका क्षेत्रमा यौन हिंसाप्रति जागरुकता फैलाउने काम भइरहेको छ ।

फरहानले बिबिसीलाई भने, ‘हामीले यस उद्योगमा आउन चाहने, आएका सबै महिलालाई आफूमाथि भएका शोषणका बारेमा खुलेर कुरा राख्न प्रोत्साहित गर्दै आइरहेका छौँ । कुनै नारीले ममाथि फलानोले यस्तो ग¥यो भनेर भन्यो भने म वास्तवमै उसको कुरामा विश्वास गर्छु । यस्तो भन्नु चानचुने हिम्मतको कुरा होइन ।’

फरहानलाई बलिउडमा पनि मीटू ह्यासट्यागजस्तो अवस्था एक दिन अवश्य आउने विश्वास छ । ‘यो त्यस बेला मात्र सम्भव छ, जब महिला आफैँ खुलेर यसबारेमा कुरा गर्न थाल्छन्,’ उनी थप्छन्, ‘अनि मात्र जसजसले यस्तो कुकर्म गरेको छ, उनीहरुलाई आफ्नो अपराधप्रति अपराधबोध हुन थाल्छ ।’

बिबिसीसँग कुराकानी गर्दै केही अभिनेत्रीले भने, ‘जबसम्म यस विषयमा ठूला अभिनेत्री र प्रमुख मानिसहरुले मुख खोल्दैनन्, यस क्षेत्रमा कुनै ठूलो परिवर्तन आउला भन्ने लाग्दैन ।’
अनि, जबसम्म त्यो क्षण आउँदैन त्यतिञ्जेल यौन उत्पीडन र यौन दुव्र्यवहार बलिउडमा एउटा थाहा पाएकै रहस्यका रूपमा रहिरहन्छ ।
......
यो त भयो भारतको विषय । नेपालमा पनि फिल्ममा करिअर बनाउन चाहनेहरुको अवस्था यो भन्दा फरक छैन । सांगीतिक क्षेत्रमा हुने यौन दुव्र्यवहारका घटना त शुक्रवारले सार्वजनिकै गरिसक्यो । विडम्बना, अन्य क्षेत्रमा यस्ता क्रुर व्यवहार व्यहोरेकाहरु समाजले के भन्ला या अहिले पाइसकेको अवसर पनि गुम्ने भयले अझै बोल्न सकेका छैनन् । भारतमा झँै नेपालमा पनि स्थापित कुनै कलाकारले मीटू अभियान अगाडि बढाउने हिम्मत गर्लान् !


 

Leave A Comment