‘निजी फिल्म अवार्ड आयोजकलाई कार्यक्रममा धेरै संख्यामा स्टार आइदिऊन् भन्ने लाग्छ । त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्, ‘यदि तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौँ’ । त्यसो हो भने कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के ? प्रतिभा र क्षमताभन्दा पनि सहभागिताले प्राथमिकता राख्ने अवार्ड लिन जानुको महत्व के ? त्यसैले मैले ती अवार्डहरू नलिने निर्णय गरेको हुँ । त्यस्ता अवार्डले मबाट विश्वसनियता र निष्पक्षता गुमाइसकेँ ।’
यो टिप्पणी हो भारतमा दुईपल्ट राष्ट्रिय अवार्ड पाइसकेका अभिनेता अजय देवगनको जो निजी फिल्म अवार्डमा सहभागी हुँदैनन् । अवार्डमा सहभागी नभएकोबारे टिकाटिप्पणी बढेपछि उनले यो घतलाग्दो टिप्पणी गरेका थिए ।
पछिल्लो समय नेपालमा पनि रेखा थापा र दीपकराज गिरी अवार्ड कार्यक्रममा सहभागी हुन्नन् । खगेन्द्र लामिछाने त सुरुवातदेखि नै अवार्ड समारोहको तामझामबाट टाढै बस्छन् ।
अवार्डमा सहभागी नहुनुको पछाडि व्यक्तिपिच्छेका धारणा होलान् । तर सामूहिक कारण अवार्डहरूको घट्दो गरिमा नै हो । न पाउनेले पाउनुको कारण खुलाउन सक्छन् न नपाउनेले किन पाएनन् कारण खुल्छ । यसको मूल कारण भारतीय अभिनेता देवगनको टिप्पणीझँै विश्वसनियता र निष्पक्षताको कमी नै हो ।
नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले हालसालै वितरण गरेको एनएफडिसी फिल्म अवार्ड–२०७४ को अवस्था पनि उस्तै रह्यो । कार्यक्रम आयोजना लाजमर्दो नै भयो । पुरस्कार वितरण मनलाग्दी देखियो ।
अवार्डको सबैभन्दा महŒवपूर्ण विधा ‘उत्कृष्ट फिल्म’को अवार्ड ०७४ को अन्तिम महिनामा रिलिज भएको ‘शत्रुगते’ले पायो । यो पुरस्कारको टाइटल ‘राम्रो व्यापार गर्ने फिल्म’ हो भने पुरस्कार पाउनुको कारण खुल्न सक्छ । तर, विषयवस्तु र फिल्मको गुणस्तर मापनको आधार हो भने यसले पुरस्कारको गरिमा धान्न सक्दैन । व्यापारिक दृष्टिले सफल तर विषयवस्तु र अभिनयमा संलग्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पृष्ठभूमिको आधारमा यो बिर्सनलायक फिल्म नै हो ।
गत वर्ष प्रदर्शन भएका ‘तान्द्रो’, ‘गाजाबाजा’, ‘देश खोज्दै जाँदा’ र ‘घामपानी’सँग यसलाई दाँज्ने हो भने पुरस्कारको टाइटलको गरिमा धान्न हम्मे पर्छ ‘शत्रुगते’लाई । तितो तर यथार्थ यही हो ।
उत्कृष्ट फिल्मले निर्देशन, छायांकन, कथा÷संवाद, अभिनेता, अभिनेत्रीलगायतका महत्वपूर्ण विधामा अवार्ड भने पाएन । जुन फिल्मको निर्देशन, छायांकन, पटकथा र मुख्य अभिनय गर्ने पात्रहरु अब्बल हुँदैनन्, त्यो फिल्म कसरी उत्कृष्ट हुन सक्ला !
तर यही फिल्मले सर्वोत्कृष्ट लेखनको अवार्ड भने पायो । दीपकराज गिरी र प्रदीप भट्टराई मिलेर लेखेको फिल्मको मुख्य समस्या नै यही देखिएको थियो ।
त्यस्तै सर्वोत्कृष्ट कथा र संवाद विधाको अवार्ड ‘छक्कापञ्जा–२’ले पायो । यसलाई पनि दीपकराज गिरीले जितु नेपाल, केदार घिमिरे र अभिमन्यु निरवीसँग मिलेर लेखेका थिए । हास्य विधाका दुवै फिल्मको कथावस्तु कलाकारिताभन्दा बढी जोकरकारिताकेन्द्रित रहेको समीक्षकहरुको मत थियो ।
नेपाली फिल्ममा देखिने ठूलो कमजोरी पटकथा लेखनमा हो । अधिकांश फिल्म फ्लप हुनुको प्रमुख कारण यही विधाको कमजोरी देखिँदै आएको छ । जुन–जुन फिल्म पटकथामा कमजोर देखिएका थिए पुरस्कार दिँदा यही विधामा अब्बल ठहरिए ।
एनएफडिसी अवार्डको जुरी संयोजक थिए– संगीतकार शुभबहादुर सुनाम । जुरीमा वरिष्ठ साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय, वरिष्ठ अभिनेत्री चैत्य देवी र वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ थिए । यी चारजनाले ०७४ भरि रिलिज भएका करिब ७० फिल्म हेरेर नतिजा सार्वजनिक गरे ।
फिल्मको मौलिकता, सिर्जनशीलता, प्लट, पेसिङ, स्ट्रक्चर, क्यारेक्टर, सिनेमाटोग्राफी, निर्देशन, लेखन, मनोरञ्जन मूल्य र सम्पूर्ण ‘प्रोडक्सन क्वालिटी’का आधारमा अवार्डको मूल्यांकन हुनेगर्छ र हुनुपर्छ । पुरस्कृत फिल्मलाई यी कसीमा दाँजेर हेर्ने हो भने एनएफडिसी अवार्डको चयन कुन आधारमा भयो प्रष्टै देखिन्छ ।
अहिलेका हटकेक अभिनेता अनमोल केसी जुन अवार्ड समारोहमा पुग्छन्, त्यहाँ अरुले अवार्ड पाउने सम्भावना नै हुन्न । यो अहिलेसम्म बसेको नजिर हो । एनएफडिसी अवार्ड समारोहमा उनीसँगै सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा परेका अन्य तीन अभिनेता प्रदिप खड्का (लिलिबिली), पल शाह (म यस्तो गीत गाउँछु) र पुष्प खड्का (मंगलम्) सहभागी थिए । तर अनमोल आउनासाथ सबै ढुक्क थिए– अनमोलले अवार्ड पाउँदैछन् ।
अन्ततः फिल्म ‘कृ’बाट उनैले अवार्ड पाए । जबकि ‘कृ’मा उनले गरेको अभिनय तारिफ योग्य थिएन । ‘तान्द्रो’ फिल्मबाट अवार्डका दाबेदार दयाहाङ राईं कार्यक्रममा सहभागी थिएनन् । सर्वोत्कृष्ट अभिनेतामा उत्कृष्ट पाँच छान्दा ‘गाँजाबाजा’ मा प्रशंसनीय अभिनय गरेका अनुपम शर्मा र ‘देश खोज्दै जाँदा’बाट हेमन्त बुढाथोकीलाई जुरीले बिर्सियो ।
कसले अवार्ड पाउँदैछ, त्यो सहभागीअनुसार सहजै अनुमान भइसक्छ । जस्तो सर्वोत्कृष्ट अभिनेत्रीको उत्कृष्ट पाँच मनोनयनमा परेका अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह, नीता ढुंगाना, शिल्पा पोखरेल, केकी अधिकारी र बेनिशा हमालमध्ये बेनिशामात्रै कार्यक्रममा सहभागी थिइन् । उनको उपस्थितिसँगै अवार्ड कसले पाउँदैछ कार्यक्रम थलोमा गाइँगुइँ चलिसकेको थियो । र, अवार्ड पनि उनैले पाइन््– फिल्म ‘ब्लाइन्ड रक्स’बाट ।
एनएफडिसीको सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउने ‘लिलिबिली’ विभिन्न हिन्दी फिल्मका दृश्यको जोडतोडले बनेको थियो । स्कटल्यान्डको दृश्य राख्नु नै मिलन चाम्स उत्कृष्ट हुने आधार हो त ?
समीक्षामा निर्देशकीय पाटो जति कमजोर देखिए पनि जुरीको नजरमा चाम्सको निर्देशकीय पाटो अब्बल देखियो । अब्बलको आधारबारे जुरी नै जानकार होलान् ।
महजोडीको नाममा विनाप्रतिस्पर्धा दिने गरिएको महजुरी राष्ट्रिय चलचित्र पुरस्कार ‘भुईंमान्छे’ फिल्मले पायो । फ्लप भएको यो फिल्म राष्ट्रिय चलचित्रमा दरिनुको आधार देखिएन । अन्य विधामा पुरस्कृत फिल्मको अवस्था पनि उस्तै नै देखियो ।
अवार्ड गोपिकृष्ण इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा हुँदै आएको हो । विगतका पुरस्कृत फिल्मको सूचीले पनि फिल्मको कला पाटोभन्दा व्यापार पाटो हावी हुने गरेको देखिएकै हो ।
फिल्म समीक्षक यज्ञशले नेपाली फिल्मी अवार्डबारे गरेको एक टिप्पणीले अवस्था प्रष्ट पार्छ । उनले टिप्पणीकारसँग भनेका थिए ‘नेपालमा त्यस्तो फिल्मलाई अवार्डमा प्राथमिकता दिने गरिन्छ जसलाई अरू कुनै भाषामा उल्था गर्याे भने त्यो नेपाली फिल्म हो भनेर ठम्याउन मुस्किल पर्छ ।’
Leave A Comment