सिरियलमा लोकल भाषाको सुगन्ध

बिहिबार, २७ बैशाख २०७५, ०४ : २३ भोला अधिकारी
सिरियलमा लोकल भाषाको सुगन्ध

नेपालको भौगोलिकतासँगै भाषा र संस्कृतिमा पनि उत्तिकै विविधता छ । सरकारी भाषा भएकाले नेपाली भाषाको फैलावट अलि बढी नै छ । क्षेत्रीय भाषा पनि चलेका हैनन् । तर, सीमित वर्गमा । यस्तै भौगोलिक भाषालाई जनमानसमा भिजाउन कलाकार भने सक्रिय छन् । 

नेपाली टेलिभिजनमा प्रसारण हुने विभिन्न कार्यक्रममा कलाकारहरुले क्षेत्रीय भाषा प्रयोग गरेर जनमानसमा फैलाउने काम गरेका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हास्य सिरियल भद्रगोलका कलाकार कुमार कट्टेल जिग्रीले पूर्व धराने युवाको शैलीलाई भिजाएका छन् । उनी धराने भाषाले युवामाझ लोकप्रिय पनि छन् । 

उनले अभिनयमा धरान आसपासमा बसोबास गर्ने लाहुरे सन्ततिको बोल्ने शैली र भाषालाई टपक्क टिपेर पस्कने गरेका छन् । सर्वसाधारणले पनि बोल्दाबोल्दै ‘आच ब्रो के छ खबर’ भन्ने गरेको सुनिन्छ । यो उनकै प्रभावको परिणाम हो । 

नेपालका पूर्वमा बसोबास गरिरहेका राई समुदायको बोलिचाली ट्याक्कै सिरियलमा उतारेका छन् विनोद राईले । उनले मेरी बास्सैमा घ्याम्पे सुब्बाको भूमिका निभाउँदै ‘हैन हौ बित्थामा’ भन्ने थेगो र पूर्वेली हाउभाउ देखाउने गर्छन् । 

केही वर्ष अघि मेरी बास्सै सिरियलमा तक्मे बुढाका नामले चर्चामा आएका विल्सन बिक्रम राईले पनि पूर्वेली राई भाषालाई भिजाउने काम गरे अभिनयमार्फत । उनले राई, लिम्बू समुदायका लाहुर गएर फर्केका बुढापाकाको चरित्र टिपेर बोल्ने ढाचालाई अभिनयमार्फत प्रस्तुत गरेका थिए । 

पश्चिमको बैतडी, बाजुरामा बोलिने भाषाले पनि सिरियलमा ठाउँ पाए र लोकप्रिय पनि भए । काँचको पर्दामा पश्चिमेली भाषा भिœयाएका थिए कलाकार राजेश नाथले । उनले मेरी बास्सैमा बैतडी बाजेको भूमिकामा प्रस्तुत भएका थिए । उनले बोल्ने भाषा ‘कञ्जा यतै दुखान्छन् उतै दुखान्छन्’ भन्ने थेगो खुब जम्यो । 
मेरी बास्सैमा बैतडी बाजेका रूपमा चर्चामा आएका उनको लोकप्रियता पश्चिम क्षेत्रमा ह्वात्तै बढायो स्थानीय भाषाको प्रयोगले ।

ब्रेक फेलमा शिवहरि पौडेलले बोल्ने ‘क्यारम मुवा हजुर, दर्शन गरे के रे ’ पनि पश्चिमेली शैली नै हो । उनको यो शैली कास्की, बागलुङतिर प्रचलित छ । त्यतातिर ‘क्यारम त ता ना नी, खाने कि नाई’ जस्ता शब्द  प्रयोग गरेको पाइन्छ । 

‘जोगिन्दरको पान पसल’ कार्यक्रम चलाइरहेका शिवशंकर रिजालले मधेसको भाषा प्रयोग गर्छन् । पान पसलेको भूमिकामा सेलिब्रेटी बोलाएर गफ गर्ने उनको भेषभूषासमेत स्थानीय नै प्रयोग गर्छन् ।

‘डिट्ठासाब’ सिरियलका किशोर भण्डारीले नेवार समुदायको प्रतिनिधित्व गर्दै आएका छन् । उनले नेवार समुदायको हाउभाउ र बोल्नेशैलीलाई पछ्याउँदै आएका छन् । उनको ‘फुलमान साहु’ को गेटअप लोकप्रिय छ ।

‘डिट्ठासाव’ सिरियलकी कलाकार रेश्मा तिमल्सिना कहिले बुनुमैचाङको भूमिकामा झुल्किन्छिन् त कहिले शेर्पा समुदायको भूमिकामा देखा पर्छिन् ।

Leave A Comment