
कपडा शरीर ढाक्ने साधन मात्रै हैन । यो व्यक्तित्व झल्काउने माध्यम पनि हो । मौसमअनुसारको पोसाक, रङ र शरीरको आकार मिल्दा व्यक्तित्व अर्कै हुन्छ । त्यसैले फेसनमा सचेतका लागि चिसो मौसम त्यत्ति प्रिय लाग्दैन ।
कलंकी बस्ने जस्मी महर्जनको लेग र नेकमा ट्याटु छ । बाक्लो र घाँटी पूरै ढाक्ने कपडाले दुवै ट्याटु ढाक्दा नमिठो लाग्छ रे । त्यसैले उनलाई जाडो त्यत्ति मन पर्दैन ।
गर्मी सुरु भएदेखि मख्ख छिन् उनी ।
‘चिसो हुँदा रुचिअनुसारको छान्नै पाइँदैन,’ उनले भनिन्, ‘मन परेर किनेका कपडा, अर्को बाक्लो कपडाले छोपेर लगाउनुपर्छ ।’ जस्मीसँगै भेटिएकी सुमी गुरुङलाई ब्युटी बोर्न देखिने कपडा मनपर्छ । चिसो मौसममा ब्युटी बोर्न देखाउने कपडा लगाउन अली मिल्दैन ।
‘आफ्ना शरीरका, आफूलाई मन परेका अंग गर्मी महिनामा देखाएर हिँड्न पाइन्छ, जाडोमा त सम्भव नै हुन्न,’ उनले भनिन्, ‘जाडो मौसममा लगाउने लुगा महँगो पनि हुन्छन्, गर्मीमा लगाउने लुगा राम्रा पनि हुन्छन्, सस्तो पनि ।’
जाडोमा ज्याकेट, स्वीटर, थर्माकोटलगायतका विभिन्न फेसनेबल कपडा देखिन्छन् भने गर्मीमा टि–सर्ट, हाफ पाइन्ट, वनपिसले बजार ओगटेका हुन्छन् । काठमाडौंको तापक्रम बढेसँगै अहिले बजार नयाँ फेसनका कपडाबाट ढाकिँदैछ । व्यापारीको छनोट पातला कपडा परिसकेका छन् ।
भृकुटीमण्डपका कपडा व्यापारी राकेश अग्रवालका अनुसार गर्मी सिजनको कपडाको माग बढिसक्यो अहिले । जाडोका कपडा गोदाममा थन्किसके । उनका अनुसार गर्मीमा युवाको तुलनामा युवती बढी सक्रिय हुन्छन् कपडा छान्न । युवाले प्रायः हाफ पेन्ट, क्वाटर पेन्ट, सेन्डो, एसी सर्ट, पातलो टि–सर्ट, पातलो मोजा, विन्डचिटर किन्छन् ।
युवतीले छान्ने कपडाको सीमा हुन्न । गर्मीमा प्रायः हल्का र खुला कपडाको माग बढी हुन्छ । स्लिभलेस टि–सर्ट, आउटर, कटन तथा सिल्कको कपडा, वन पिस, टप्स, कुर्ता, स्कार्फको माग बढी हुन्छ । जिन्सका पहिरन त सदाबहार नै भए ।
व्यापारीका अनुसार, सामान्यतया गर्मीमा लगाउने सर्ट सस्तोमा ३ सयदेखि महँगोमा २ हजारसम्म पर्छ । त्यस्तै टि–सर्ट २ सय देखि १५ सय रुपैयाँसम्ममा पाइन्छ । त्यसैगरी हाफ पाइन्टको ५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ । तर ओरजिनल ब्रान्डेड कपडाको ५÷६ हजारसम्म पर्न जान्छ ।
सस्तो कपडा विशेषतः चिनियाँ र नेपाली हुन्छन् । चिनियाँ कम्पनीले धेरै सस्तोदेखि महँगोसम्मका कपडा उत्पादन गर्ने हँुदा समग्र नेपाली बजार चिनियाँ कपडाले ओगटेको देख्न सकिन्छ । नेपालमा चीनबाहेक भारत, थाइल्यान्ड, बंगलादेश, भियतनाम, अमेरिका, इटलीलगायतका देशबाट कपडा आयात हुने गरेको छ ।
Leave A Comment