लोकगीतको मर्म मर्दै

शुक्रबार, ०७ साउन २०७३, ०३ : १५ मनोज घर्तीमगर , Kathmandu
लोकगीतको मर्म मर्दै

लोकगायक प्रजापति पराजुलीलाई अहिलेका लोकगीत हेर्न लाज लाग्छ । लोकगीतका नाममा बनेका अश्लील म्युजिक भिडियो र तिनमा प्रयोग हुने शब्द चयनले गर्दा पराजुली परिवारसँग बसेर टीभीमा लोकगीत नहेरेको धेरै भएको बताउँछन् । लोकगीतको मर्म नबुझेको उनको बुझाइ छ । ‘संगीतका माध्यमबाट नेपाली जनजीवन, भाषा, संस्कार र संस्कृति बोल्ने लोकगीत नेपालको मौलिक संस्कृति हो,’ प्रजापति भन्छन्, ‘लोकगीतलाई संस्कृतिको एउटा पाटो भनिए पनि पछिल्लो समय यसको मौलिकता गुम्दै गएको छ ।’
‘गीतकारले शब्द चयनमा मेहनत गर्न छाडेका छन् । गायका÷गायिकाले जेपायो त्यही शब्दमा स्वर भर्छन् । त्योभन्दा झन् विकृति म्युजिक भिडियोमा देखिन्छ,’ उनले थपे, ‘यसमा कसैको चासो छैन । बिकाउ गीतमा मात्रै सबैको ध्यान छ ।’

लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल समिति गण्डकीका अध्यक्ष शंकर विरही गुरुङका अनुसार भिडियोको भ्युअर्स बढाउने सोचले गर्दा लोकगीतमा विकृति आएको हो । ‘अडियो क्यासेटका जमाना गए, भिडियो पनि बिक्री हुन छाडे,’ विरहीले भने, ‘युट्युबमा हालिएको भिडियोमा कसरी भ्युअर्स बढाउने भन्नेमै केन्द्रित भएकाले लोकगीतमा विकृति आएको हो ।’

‘लोकगीतका म्युजिक भिडियोमा अभिनय गर्ने मोडल पारदर्शी पोशाक लगाउँछन् । जति नांगो र भद्दा देखियो त्यति राम्रो भिडियो बनेको ठान्छन् अहिलेका निर्देशक । भिडियोमा मोडलको लुगा जति छोटा हुन्छन्, त्योभन्दा गएगुज्रेका शब्द चयन गर्छन् गीतकार । तिनमा उस्तै खाले संगीत भर्छन् संगीतकार अनि सेक्सी गीत भन्दै युट्युबलगायत सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती सेयर गरिन्छन्,’ विरहीले भने ।
विरहीजस्तै लोकगीतको मर्ममै प्रहार भएको बताउँछिन् प्राज्ञ हरिदेवी कोइराला । ‘उहिले स्वर परीक्षा पास नगरी रेकर्डिङ गर्न पाइँदैनथ्यो । त्यही पनि लाइन लागेर गीत निकालिन्थ्यो,’ उनले भनिन्, ‘प्रविधिले अल्छी बनाएकाले लोकगीतको मौलिकता गुम्दै गएको छ । अहिले लोकगीतको मर्ममै प्रहार भएको छ । लोकगीतका नाममा अश्लीलता बढ्दै गएको छ ।’

लोकगीत र त्यसको भिडियो कस्तो हुनुपर्छ भन्नेमा लोकसंगीतकर्मीबीच एकरूपता छैन । चल्तिका गायकगायिका मौलिक गीतका पÔपाती भए पनि तिनकै गीतमा असली मौलिकता देख्न पाइँदैन । नयाँ पुस्ताका गायकगायिका र मोडल त लोकगीतमा ग्ल्यामर हुनुपर्ने धारणा राख्छन् । डिस्कोमा छायांकन गरिएको ‘दङ खाएको छु’ बोलको गीत नेपाली सञ्चार माध्यमले अश्लील भन्दै नबजाएपछि युट्युबमै सार्वजनिक गरेका गायक मनसुदन थापामगर अहिलेका स्रोताको माग अनुरूप लोकगीत पनि ग्ल्यामरस हुनुपर्ने बताउँछन् । ‘नयाँ पुस्ता ग्ल्यामरस भिडियो हेर्न रुचाउँछ । दर्शकको चाहना अनुरूप मैले पहिलो पटक लोकदोहोरी गीत डिस्कोमा छायांकन गरेको हुँ । तर, बजाइएन,’ उनले भने ।

 

Leave A Comment