‘रामेश: निरन्तर बगिरहेको नदीजस्तै’

बिहिबार, २४ जेठ २०७५, १२ : १६ अनिल यादव
‘रामेश: निरन्तर बगिरहेको नदीजस्तै’

तस्बिर :  विजय राईं

शनिबार साँझ काठमाडौं, जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा जनगायक रामेश श्रेष्ठले आफ्नो अन्तिम प्रस्तुतिका रूपमा चिरपरिचित गीत गाए :

‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ...’


हलमा रहेकाहरु प्रफुल्ल थिए यो गीत सुन्दा । निक्कै पुरानो गीत हो यो । तर उनले गाउँदा भर्खर रिलिज भएको पपुलर गीतभन्दा कम मोहक थिएन यो ।

गाउनुअघि गीतबारे रामेशले दिएको अभिव्यक्ति झन् घतलाग्दो थियो । ‘यो गीत लोकप्रिय भएको आज ४५ वर्ष पुगिसकेछ । हिजोको बच्चा आज ४५ वर्षको भइसकेछ,’ कार्यक्रममा मञ्चअघि बसेका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दे उनले प्रश्न गरे , ‘तीन पुस्ताले गाइसक्यो यो गीत तर किन हाम्रो देशको मुहार चाहिँ सधैँ उस्ताको उस्तै ?’ 

उनले यस्तोभन्दा ओलीको मुहारमा थोरै मुस्कान, थोरै गम्भिरता झल्किन्थ्यो । 

११ औं गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठान काठमाडौंले संयुक्तरूपमा आयोजना गरेको रामेशको एकल सांगीतिक प्रस्तुति ‘युगिन आवाज’ मा उनको स्वर सुन्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिकपूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृति मन्त्री रविन्द्र अधिकारीसमेत उपस्थित थिए । 

दिउँसोको चारबजेबाट सुरु भएको कार्यक्रममा रामेशले १५ वटा गीत गाए । नेपालको पहिलो राष्ट्रिय गान ‘हिमगिरि मण्डित’बाट आफ्नो प्रस्तुति थालेका उनले ‘तिमी देऊ तिम्रा हातहरु’, ‘मेरो देश खोज्दै जाँदा’, ‘ओ जनता महान’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘भोकै मर्ने महाकवि’, ‘कति राम्रो छ नेपालीको मन’ आदि बोलका उनका लोकप्रिय गीत प्रस्तुत गरेका थिए । 

हरेक गीत प्रस्तुत गर्ने क्रममा उनले गीतसँग जोडिएको कथा पनि सुनाएका थिए ।  गायनमा उनलाई रायनले सघाए । 
प्रधानमन्त्री ओली कार्यक्रममा आइपुग्दा उनले १० वटा गीत गाइसकेका थिए । ११ औं गीत गाउँदै थिए, ‘हामी जित्ने छौं एक दिन...’ । रामेशले यो गीत गाइरहँदा ओली घोत्लिइरहेका थिए । पछि मन्तव्यको क्रममा घोत्लिनुको कारण उनी स्वयंले खुलाए । 

‘म आउँदै गर्दा उहाँले जुन गीत प्रस्तुत गर्दै हुनुहुन्थ्यो त्यतिबेला मैले मेरो जेल जीवन सम्झिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिबेला हामीलाई दिनको ७५ पैसा दिइन्थ्यो, कुहिएको उसिनेको चामल दिइन्थ्यो । अत्यन्तै अमानवीय व्यवहार गरिन्थ्यो । तैपनि हामीसँग बाँच्ने एउटै आदर्श थियो– हामी जित्नेछौ एक दिन । जेलमा धेरै गाइन्थ्यो यो गीत । जानीनजानी गाइन्थ्यो । हामीलाई विश्वास थियो, ‘हामी जित्ने छौैं एक दिन । एकजुट हुँदैछौँ  एक दिन । र, आज त्यो दिन पूरा भएको छ । रामेशजीले गाउनुभएको गीतले सार्थकता पाएको छ ।’

‘हामी जित्ने छौं’ अमेरिकी लोक गायक पिट सिगरको गीतलाई नेपालीमा भावानुवाद गरेर गाइएको हो । 

कार्यक्रममा पाँच दसकभन्दा लामो समयदेखि नेपाली संगीतमा क्रियाशील रामेशलाई साँस्कृतिक संस्थानका तर्फबाट ‘यूग गायक’को सम्बोधनसहित अभिनन्दन गरिएको थियो । 

प्रगतिशील गीतमार्फत जनतामाझ चेतना छर्न रामेशले पु¥याएको योगदानको प्रधानमन्त्री ओलीले खुलेर चर्चा गरे । ‘मलाई रामेश निरन्तर बगिरहेको नदीजस्तो लाग्छ,’ अभिनन्दनपछि उनले भने,  ‘मौसमअनुसार कहिले ठूलो छाल, कहिले सानो छाल, कहिले शान्त भावसहित बग्यो होला तर निरन्तर बगिरहेको छ । आज हामीमार्फत उहाँलाई देशले अभिनन्दन गरेको छ । विश्वभरका नेपालीले गुण मानेका छन्, आदर व्यक्त गरेका छन् ।’

७४ वर्षीय रामेशले २०३० देखि नेपालको राजनीतिक आन्दोलनमा जनपक्षीय संगीतमार्फत भूमिका खेलेका थिए । उनका बालगीत, महिला जागरण, वातावरण, सामाजिक राजनीतिक जागरणसम्बन्धी गीतहरुका करिब एक दर्जन गीति एल्बम प्रकाशित छन् । 
 

Leave A Comment