फिल्म दृष्टि | झेल्नु नपर्ने ‘हरि’

बिहिबार, २४ जेठ २०७५, १२ : ५३ अनिल यादव
फिल्म दृष्टि | झेल्नु नपर्ने ‘हरि’

केही गीत, केही फाइट, केही कमेडी र केही रोमान्सका दृश्य राख्दा फिल्म बनिहाल्छ अनि बजारमा चलिहाल्छ नि भन्ने परम्परागत मानसिकताबाट धेरै पर रहेर बनेको छ– हरि । न यहाँ अनावश्यक चुट्किलाले महत्व पाएको छ, न अनावश्यक ग्ल्यामर नै भित्रिएको छ । 

कसैले छाड्ने हिम्मत गर्न नसकेको नेपाली फिल्मको परम्परागत कथ्य संरचनालाई ‘हरि’ले सजिलै छाडिदिएको छ । ‘हरि’ नेपाली फिल्ममा बिल्कुलै नयाँ प्रयोग हो । हिजो नेपाली फिल्ममा जसरी कथा भनिन्थ्यो, यो फिल्मले त्यसरी कथा भनेको छैन । 

निर्देशकले कथा भन्न बिल्कुलै नयाँ शैली आत्मसात गरेका छन् । अरुले रोपिदिएकै विरुवामा मलजल गर्न रुचाउनेहरुको भिडमा निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले गरेको यो हिम्मत तारिफयोग्य छ । 

यो सिनेमामार्फत् नेपाली फिल्मले पहिलोपल्ट सन् १९२१ मा फ्रान्सको पेरिसबाट सांस्कृतिक क्रान्तिका रुपमा सुरु भएको सररियालिज्म (अतियथार्थवाद)लाई आत्मसात गरेको छ । तर जसरी सररियल फिल्महरुले यौन जीवनका बारेमा ज्यादा कुरा गर्न रुचाउँछन्, त्यस्तो प्रयास ‘हरि’ले गरेको छैन । निर्देशकले पात्रमार्फत् अवचेतन र अलौकिक मनको यथार्थलाई आत्मसात भने गरेका छन् ।

‘हरि’ यही नाम बोकेको पात्रको कथा हो । चार पुस्ताको पारिवारिक परिचयबाट सुरु हुने यो फिल्मले तीस वर्षीय विष्णुहरि (विपिन कार्की)को कथा भन्छ । जो फिल्ममा रामहरिका पनाति, कृष्णहरिका नाति र शिवहरिका छोरा हुन्छन् ।

फिल्ममा विपिनले चारवटै भूमिका निर्वाह गरेका छन् । विष्णुहरि फिल्मका न्यारेटर पनि हुन्, जो आफ्नो कथा आफैँ सुनाउँछन् । धर्म र अन्धविश्वासमा बढी विश्वास राख्छन् उनी । उनको आफ्नै बाँच्ने शैली छैन । आफ्नो पुर्खा र आमाले बनाएको नियममा उनी बाँचिरहेका हुन्छन् । 

उनी लक्ष्मी फाइनान्स कम्पनीका म्यानेजर हुन्छन् जो बाइकमा घर–अफिस गर्छन् । भगवानप्रति यतिसम्म आस्तिक हुन्छन् कि बाटोमा ८ वटा मन्दिरलाई अफिस जाँदा र अफिसबाट फर्कदा ढोग्न कहिल्यै छुटाउँदैनन् । प्रणामी धार्मिक समुदायका हुन् उनी, प्याज लसुन केही चल्दैन । क्यान्टिनको मःम पनि चल्दैन, घरबाटै टिफिनमा खाजा बोकेर अफिस जान्छन् । हरियो रङको कपडा पनि लाउँदैनन्, कारण ज्योतिषले फाप्दैन भनेको छ । 

एकदिन सधैँजसरी बाइकमा अफिस गइरहेका बेला हरिको टाउकोमा चराले आची गरिदिन्छ । त्यसपछि उनको मनमा तनाव सुरु हुन्छ । तनाव आचीले भन्दा पनि काग या परेवा कसको भन्नेमा हुन्छ । परेवा उसका लागि शुभ संकेत हो भने काग खराब समयको संकेत । त्यसपछि उत्पन्न हुने तनावकै बीचमा हरिमा एकाएक बदलाव आउँछ । आफ्नै ऐनाअगाडि उभिएर जब उसले ‘म को हुँ’ भनेर आफूले आफैँलाई प्रश्न गर्न चाहन्छ, त्यसपछि फिल्मले लिने नयाँ मोड र उत्पन्न हुने अप्रत्यासित घटना नै यसको कथा हो । 

एउटा निर्दोष र इमान्दार व्यक्ति थाहा नपाउँदा–नपाउँदै कसरी अपराधको भुमरीमा फँस्छ ? निर्देशकले हरिमार्फत् समाजको यो यथार्थ देखाउन खोजेका छन् ।  फिल्मभित्र विष्णुहरिका बाबु पनि छन् जो अलि ‘साइको’ लाग्छन् । आमा पनि छिन्, जो छोरालाई औधि प्रेम गर्छिन । अफिसमा आफूभन्दा कनिष्ठ कर्मचारी (कमलमणि नेपाल)पनि छन् जसको हेपाहा र काममा ठग्ने प्रवृत्तिसँग रुष्ट छन्, हरि । 

फिल्ममा ‘हरि’ सपना देखिरहन्छन् । बाहिरी भन्दा पनि आन्तरिक यर्थाथसँग बढी अन्तरक्रिया गर्छन् । उनको खास द्वन्द्व आफ्नै पहिचानसँग हुन्छ । 

‘हरि’ले पनि अतियर्थाथवाद (सररियालिज्म)लेझैँ परम्परागत रुढी व्यवस्थालाई अस्वीकार गरेको छ । फिल्मले बढी अव्यक्त जीवन र प्रकृतिका पाटालाई उजागर गर्न खोजेको छ । स्क्रिन–प्लेको तयारीमा पनि अचेतन लेखनलाई महŒव दिइएको देखिन्छ ।   

फिल्मलाई पहिला कला र त्यसपछि मात्र पैसा हो भनेर मान्न तयार दर्शकलाई यो फिल्म साँच्चिकै कलात्मक र साहित्यिक लाग्छ । ‘नमस्ते दर्शकवृन्द, म हरि । आराम हुनुहुन्छ ?’ भनेर सुरु हुने यो फिल्ममार्फत् प्रमुख पात्रले अन्त्यसम्म दर्शकसँग अन्तरक्रिया गर्छन् । पात्रसँग अन्तरक्रिया गरेको अनुभूत गरिरहेका दर्शकलाई फिल्मको अन्त्यतिर हरिले ‘दर्शकवृन्द यतिन्जेलसम्म मलाई झेलिदिनुभएकोमा यहाँहरुलाई हृदयदेखि नै धन्यवाद’ भन्दा झन् नजिक महसुस हुन्छ । 

फिल्मभित्र टेम्पोवाली (थिन्ले ल्हामो)लाई देख्दा जाग्ने हरिको प्रेम, छेउमा बुबाको गाइने साथीले बजाउने सारङ्गी दर्शकलाई कलात्मक मात्रै लाग्दैन यसले दर्शकमा बेग्लै मिठासपन पनि छर्छ । फिल्ममा गरिएको छायाको प्रयोग, अन्तिम दृश्य आदि उस्तै अर्थपूर्ण र कलात्मक लाग्छन् । रहस्मयी बाबा, बुबाको ज्याकेट लगाउँदा हरिमा आउने मनोवैज्ञानिक परिवर्तन लगायतका केही दृश्य हलबाट बाहिर निस्कँदासम्म दर्शकको मस्तिष्कबाट हट्दैन, बरु मगज हल्लाइरहेको हुन्छ ।   

यति भन्दाभन्दै ‘हरि’ कमजोरीविहीन बन्न भने सकेको छैन । हाफ टाइमपछि फिल्मले लय गुमाएको भान हुन्छ । पात्रको मूल द्वन्द्व आफ्नै पहिचानसँग हुन्छ, तर फिल्म अन्तै गइरहेको जस्तो लाग्छ । यसले फिल्मको मूल द्वन्द्व स्थापित गर्ने चरणमा निर्देशकीय दुविधा देखाउँछ । 

अभिनयको चर्चा गर्दा दर्शकलाई पूरै फिल्म अवधिभर इन्गेज गराउने ल्याकत राखेका छन्– विपिन कार्कीले । एउटै फिल्ममा एउटा कलाकारलाई चार वटा पात्रको भूमिका निर्वाह गर्नु चानचुने चुनौती होइन तर उनले यसलाई अवसरमा बदलेर न्याय गरेका छन् । 


सुनिता श्रेष्ठसँग श्रीमान् भएर रोमान्स गर्दा र छोरा भएर अभिनय गर्दा पनि उनी चिप्लिएको पाइएन । सुरुदेखि नै फरक–फरक चरित्रमा अभिनय गर्दै आइरहेका विपिनले फेरि एकपल्ट आफूलाई बहुमुखी र प्रतिभाशाली अभिनेता साबित गरेका छन् । 


फिल्ममा सुनिताको अभिनय तारिफयोग्य छ । आकाशको भूमिकामा कमलमणि नेपाल फिट देखिएका छन् तर फिल्मभित्र उनको श्रीमतीको अभिनय अलि ‘लाउड’ लाग्छ । थिन्लेको मुस्कानसहितको अभिनयले दर्शकलाई लोभ्याउँछ । 

फिल्मभित्र क्यामेराको प्रयोग प्रशंसनीय छ । पात्र र दृश्यलाई बलियोसँग स्थापित गराउन क्यामेराले भूमिका खेलेको छ । फिल्ममा क्यामेराको चालसँगै दृश्यका रङहरु परिवर्तन हुन्छन्, जसले पात्रहरुको अवस्थालाई चित्रण गरिरहेको जनाउँछ । 

फिल्ममा प्रयोग गरिएको साउन्ड अर्को सुन्दर पक्ष हो । दर्शकलाई फिल्मको लयसँग गाँस्न र इन्गेज गराइरहन ब्याकग्राउन्ड म्युजिकले पनि भूमिका खेल्छ । 

फिल्ममा तडकभडक, धुमधमाका र मसला खोज्नेहरुलाई त भन्न सकिन्न तर सिरियस फिल्मप्रेमी र विपिनका अभिनयका पारखीका लागि यो फिल्म रुचिकर छ । कथा चोरेर बनाइने १० वटा ‘कोहलपुर एक्सप्रेस’हरु भन्दा बल्लतल्ल बन्ने ‘हरि’ नै नेपाली फिल्मको उन्नतिमा सारथि बन्न सक्छ । 

Leave A Comment