‘एकचोटी मेस्सीले ट्रफी उचालेको हेर्ने मन छ’

बिहिबार, ३१ जेठ २०७५, ०४ : ३२ अनिल यादव
‘एकचोटी मेस्सीले ट्रफी उचालेको हेर्ने मन छ’

गायक प्रमोद खरेल फुटबल र क्रिकेटका पारखी हुन् । यसपालिको विश्व कपमा उनी कसलाई किन समर्थन गर्दैछन् ? विश्व कपको छेकोमा उनीसँग गरिएको विश्व कप संवाद । 

विश्व कपको ज्वरोले कत्तिको छोएको छ ?
सिकिस्तै बनाइ सक्यो नि ! कहिले सुरु होला भइसक्यो । विश्व कपकै कारण मैले मेरो बहुप्रतिक्षित गीत झुम्कावाली –२ को रिलिज विश्व कपपछि सारेको छु । 

यसपालि कुन टिमलाई सपोर्ट हो ?
यसपालि मेरो समर्थन अर्जेन्टिनालाई हो । ब्राजिललाई विकल्पमा राखेको छु ।  

ब्राजिलको समर्थक हुनुहुन्थ्यो । यसपालि टिम नै परिवर्तन ?
अर्जेन्टिनाका मेस्सी मलाई मनपर्ने खेलाडी हुन् । यो उनको अन्तिम विश्व कप रहेछ । त्यसैले एक चोटि मेस्सीले ट्रफी उचालून् भन्ने मेरो कामना हो । यसको अर्थ मलाई ब्राजिल मन पर्न छाडेको भने होइन । म ब्रजिलको फुटबल कल्चरको फ्यान हुँ । रोनाल्डो, रोनाल्डिनो, रोमारियो आदि मेरा प्रिय खेलाडी हुन् । तैपनि यसपालि मेस्सी !

घरमा अरु कसका समर्थक छन् ? 
घरमा श्रीमतीदेखि लिएर सबैजना जर्मनीका समर्थक छन्, म मात्रै अर्जेन्टिना !

भनेपछि विश्वकपलाई लिएर झगडा सुरु भइसक्यो होला !
त्यस्तो त हुन्न, अरुको पनि नहोस् । मलाई त सामाजिक सञ्जालमा एक अर्काको टिमलाई नराम्रो भनेको पनि मन पर्दैन । रोनाल्डो, मेस्सीजस्ता महान खेलाडीका तस्बिर दुरुपयोग गर्दा त झन् चित्त दुख्छ । 

यसपालिको विश्वकप कसरी हेर्ने योजना छ त ?
ओपनिङ घरमै हेर्छु । त्यसपछि दुई दिन पोखरामा हुन्छ, त्यतै हेर्छु । त्यसपछि फेरि घरमा । साथीहरुसँग हेर्ने योजना पनि छ । १५ दिन नेपालमा हेरेपछि अमेरिका यात्रा तय छ । बाँकी खेल अमेरिकाबाटै हेर्छु । 

तपाईंका लागि सबैभन्दा यादगार विश्वकप कुन सालको थियो ? 
सन् १९९८ को फ्रान्समा भएको विश्व कप । त्यतिबेला विश्व कप हेर्नका लागि जागिर गरेर आफैँले सादा टिभी किनेको थिएँ । ब्याट्रीवाला टिभी हेर्न हाम्रो घरमा २५–३० जना भेला हुन्थे । गाउँमा मकै खाँदै, रमाइलो गर्दै विश्व कपको हेर्दाको मज्जै बेग्लै ! त्यतिबेलाजस्तो मज्जा अहिलेसम्म भोग्न पा’को छैन । 

बाजी खेलिन्छ कि खेलिँदैन ?
खेलिँदैन । 

विश्वकप तपाईंले समर्थन गरेकै टिमले जित्ला भन्ने आधार के हो ?
जित्छ नै त भन्दिनँ, समर्थन भने अर्जेन्टिनालाई गरेको हो । अर्जेन्टिनाका मेस्सी यस्ता खेलाडी हुन्, जसले जुनसुकै समयमा खेलको मोड परिवर्तन गरिदिन सक्छन् । यति भन्दाभन्दै म के पनि मान्न तयार छु भने  ब्राजिल, जर्मनी र स्पेन पनि यो विश्व कपका प्रमुख दाबेदार हुन् । 

पहिलोपल्ट विश्व कप हेरेको याद छ ?
सन् १९९४ अमेरिकामा भएको विश्व कप हेरेको थिएँ । फÞाइनलमा रोबर्टाे बाजियोको पेनाल्टी मिस भएपछि रोमारियो र डुंगा सम्मिलित ब्रजिलले उपाधि उचालेको थियो । 

कहिलेकाहीँ निन्द्रामा नेपालले विश्वकप खेलेको सपना देख्नुभएको छ ? 
छैन । हेर्दाहेर्दै इन्डियन फुटबल कहाँ पुगिसक्यो तर हाम्रोमा भूकम्पले भत्काएको रंगशालाको अझै कन्तबिजोग छ । मापदण्डबिनाका मैदानमा हुने जिल्लापिच्छेका गोल्डकपले विश्वकपको सपना के देखिन्थ्यो होला र !

तपाईं फुटबल विश्व कपका बेला मात्रै हेर्नुहुन्छ कि अरुबेला पनि ?
फुटबल र क्रिकेट हेर्न मैले विश्व कप पर्खिनु पर्दैन । म फुटबलको क्लबस्तरीय खेल पनि उत्तिकै फलो गर्छु । 
 

Leave A Comment