अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ हो : निराजन रायामाझी

शुक्रबार, ०१ असार २०७५, ०२ : ०९ अनिल यादव र सुजन श्रेष्ठ
अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ हो :  निराजन रायामाझी

अवसरवादी शब्द आफैँमा अत्यन्तै नकारात्मक मानिन्छ तर फुटबलमा स्ट्राइकर अवसरवादी भयो भने मात्र उसले टिमको सफलता प्रयासलाई सुखद् क्लाइमेक्स दिन सक्छ । एउटा राम्रो स्ट्राइकर हुन आवश्यक सबभन्दा महत्वपूर्ण गुण अवसर सिर्जना गर्ने र पाएका अवसरलाई आफ्नो पक्षमा उपयोग गने क्षमता हो । अवसरवादी स्ट्राइकरले मात्र टाइम एन्ड स्पेसको सही उपयोग गर्न सक्छ । सही समयमा सही ठाउँमा पुगेर गोल गर्न सक्छ । निराजन रायामाझी नेपाली फुटबलमा त्यस्तै क्षमता भएका दुर्लभ स्ट्राइकर हुन् । त्यसैले त उनले नेपाली राष्ट्रिय टोलीका लागि सबभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्न सकेका छन् । उनी हरि खड्कासँगै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेको सूचीमा समान १३ गोलका साथ अग्रस्थानमा छन् । खेलाडीका रुपमा संन्यास लिइसकेका उनले रुसमा हुने विश्वकपलाई कसरी हेरिरहेका छन् ? अनिल यादवसुजन श्रेष्ठले गरेको अन्तरंग कुराकानी :


सारा संसार विश्वकपमय छ । यसको ज्वरोले तपाईंलाई कत्तिको छोएको छ ? 
चार वर्षमा एक पटक आउने विश्वकपको प्रभाव नपर्ने त को होला र ? झन् म जस्तो खेलाडीलाई छाइहाल्छ नि ! 

तपाईको समर्थन कुन टोलीलाई रहन्छ ?
मेरो त सधैँ अर्जेन्टिना नै हो । मैले राम्रोसँग फुटबल हेर्न थालेको सन् १९९० को  विश्वकपबाट हो । त्यतिबेला म्याराडोना उच्च लयमा थिए । उनको प्रदर्शनले मलाई लोभ्यायो । उनीसँगै अर्जेन्टिनाले पनि मेरो मन जित्यो । अहिले पनि मेसीको खेल्ने शैली एकदमै मनपर्छ । 

अर्जेन्टिना कोपा अमेरिकामा दुई पल्ट र विश्वकपमा एक पल्ट फाइनलमा पुगेर हारेको टिम हो । यसपालि जित्ला त ? 
पहिलेको तुलनामा टोली अझै बलियो भएको छ । जित्नलाई राम्रो खेलेर मात्र पनि हुँदैन । सबै कुराले साथ दिनुपर्छ । पहिले पनि अर्जेन्टिनाको  प्रदर्शन कमजोर थिएन । उसलाई भाग्यले मात्र साथ नदिएको हो । आशा गरौं, यसपालि भाग्यले साथ दिन्छ । 

खेलाडीहरु भाग्यमा धेरै विश्वास गर्छन्, हो ?
हो । हामी मैदानमा पुग्नेबित्तिकै ढोग्नुको कारण पनि यही हो । मैदानभित्र गर्ने मिहिनेत आफ्नै ठाउँमा छ । त्यसमा भाग्यले पनि साथ दिनुपर्छ ।

तपाईले जर्मनीमा पनि फुटबल खेल्नु भयो तर अझै अर्जेन्टिनाको फ्यान हुनुहुन्छ । जर्मनीको फुटबलले तपाईंलाई प्रभाव पारेन ? 
मैले जर्मनीमा स्टेटको क्लबबाट फुटबल खेलेँ । त्यहाँ बस्दा तल्लो तहका लिगहरु पनि खेलेँ । उनीहरुको स्तर हाम्रो कल्पनाभन्दा धेरै माथि छ । उनीहरु एकदम व्यावसायिक छन् । धेरै लगानी गरेका छन् । उनीको प्रदर्शन पनि राम्रो छ तर सानैदेखि अर्जेन्टिनाको प्रभाव भएकाले होला मेरो समर्थन जर्मनीतिर गएन । 

जर्मनी पुगेपछि नेपालको फुटबललाई कुन स्थितिमा पाउनु भयो ? 
त्यहाँको फुटबल र हाम्रो तुलना गर्नु नै बेकार छ । त्यहाँको एउटा स्टेटको सानो क्लबको ड्रेसिङ रुम र हाम्रोमा आकाश पातालको फरक छ । उनीहरुको डे«सिङ रुममा छिर्दा म चकित भएको थिएँ । फुटबलको लोकप्रियता हेर्ने हो भने नेपाल पनि जर्मनीभन्दा कम छैन । तर हाम्रो सिस्टमले गर्दा हामी पछाडि छौं । हामीले खेल्दा एउटा जर्सी पाउन पनि मुस्किल हुन्थ्यो । कहिले एन्फा विवाद कहिले के विवाद । लिग हुन नसकेकै वर्षांै भइसक्यो । खेलाडीको जीवन स्थानीय स्तरका प्रतियोगिता खेलेरै बित्छ । राष्ट्रिय खेलाडी बनेपछि त्यहाँबाट माथि जाने ठाउँ छैन । त्यसपछि के गर्ने त ? अन्योल अझै छ । भलै पैसाका हिसाबले पहिलेभन्दा आज केही सुधार भएको होला तर फुटबल विकासका हिसाबले म त्यस्तो देख्दिनँ ।

पूर्व प्राविधिक निर्देशक चियाकी ताकेदाले त नेपालमा राम्रो प्रशिक्षण प्रणाली नभएकाले नेपालको फुटबल जहाँको त्यहीँ रहेको टिप्पणी गरेका थिए, सहमत हुनुहुन्छ ? 
मलाई त्यस्तो लाग्दैन । कमजोरी प्रशिक्षकमा होइन, राज्य प्रणालीमा छ । फुटबल खेलाडीका लागि एन्फा पितासरह हो । एन्फाले पहिला क्लबहरुलाई व्यवस्थित बनाउनु पर्छ । क्लब बलियो भयो भने मात्र एन्फा बलियो हुने हो तर यहाँ ठ्याक्कै उल्टो भइरहेको छ । 

नेपालको विश्वकप खेल्ने सपना कहिले पूरा होला ?
यो त धेरै परको कुरा हो । त्यहाँ पुग्नलाई धेरै मिहिनेत गर्नुपर्छ । नेपालमा एउटा गतिलो रंगशाला पनि छैन । इच्छाशक्ति भयो भने रंगशाला बनाउनु ठूलो विषय होइन । विडम्बना, त्यसो हुन सकेन । एउटा राम्रो रंगशाला पनि नभएको हाम्रोजस्तो देशले अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ होला । 

कहिलेकाहीँ सपनामा विश्वकप खेलेको देख्नुहुन्छ ? 
नढाँटी भन्दा अहिलेसम्म देखेको छैन । बरु स्पेनिस क्लब बार्सिलोनाबाट खेलेको सपनासम्म देखेको छु । 

पहिलोपल्ट विश्वकप हेरेको क्षण याद छ ?
सन् १९९० मा पहिलोपटक हेरेको थिएँ । सायद म १४÷१५ वर्षको थिएँ होला । आफ्नो घरमा टिभी थिएन । अरुकै घरमा सबैजना जम्मा भएर हेरेका थियौं । त्यतिबेला म्यारोडोना खुब चर्चामा थिए । हामी चौरमा फुटबल खेल्दा पनि सबैजना म्यारोडोनाको चर्चा गर्थे । म्यारोडोनाले कस्तो चाहीँ खेल्ला भनेर हेरेको थिएँ । उसको खेल्ने रवाफले मलाई झनै लोभ्यायो । 

रुस विश्वकपले नयाँ स्टारहरु जन्माउने सम्भावना कत्तिको छ ?
अर्जेन्टिनाकै पाबलो डिबाला, स्पेनका आन्द्रियास इनिएस्टा र कोस्टा, बेल्जियमका इडेन हाजार्ड, फ्रान्सका एमबाप्पे लगायतका खेलाडी रुसमा चम्कन सक्ने नयाँ अनुहार हुन् । बेल्जियमका धेरै नयाँ खेलाडी उदाउन सक्छन् । 

तपाईंले पहिलोपटक विश्वकप हेर्दा र अहिले फुटबल खेल्ने शैलीमा के फरक पाउनु हुन्छ ? 
धेरै फरक छ । पहिलो इन्डिभिजुअल गेम बढी खेलिन्थ्यो । पूरा टिम एउटा खेलाडीमा भर पथ्र्यो । अहिले त्यस्तो छैन । टिम गेम बढी हुन्छ । खेलाडीले आफ्नो खुट्टामा बढी बल नै राख्दैनन् । वान, टु टचभन्दा बढी हुँदैन । अहिले खेलको स्पिड बढी छ ।

यही विश्वकपबाट भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग गर्ने भनिएको छ । यो फुटबलको लागि कत्तिको उपयुक्त हो ? 
यो राम्रो हो । पछिल्लो विश्वकपमा लामपार्डले हानेको बल गोल थियो तर रेफ्रीले त्यसलाई मान्यता दिएनन् । हेर्दा सामान्य गल्तीजस्तो देखिए पनि त्यसको असर धेरै हुन्छ । पछिसम्म पनि चुकचुक हुने अवस्था आउनु भन्दा यस्तो प्रविधिको प्रयोगबाट तत्काल सच्याउनु बेस हो । भिएआरले यस्ता त्रुटि सच्याउने मौका दिन्छ । फेयर गेम हुन्छ । 

यसले फुटबलको स्पिरिटलाई मार्छ भन्नेहरु पनि छन् नि ?
त्यस्तो होइन । गलत निर्णय हुनुभन्दा केही समयमा सही निर्णय हुनु राम्रो हो । त्यति धेरै असर पर्छ जस्तो मलाई लाग्दैन । समयअनुसार प्रविधिको प्रयोग गर्नु राम्रो हो । यसले फुटबललाई राम्रो नै गर्छ ।

विश्वकपसँग जोडिएका रमाइलो अनुभूतिहरु कस्ता छन् ?  
अघिल्लो पल्टको विश्वकपमै त्यस्ता क्षणहरु छन् । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हार्दा म आफैँले हारेजस्तो महसुस भएको थियो  । दरबारमार्गमा बसेर फाइनल हेरेका थियौँ । जसको टिमले हार्छ उसले रेस्टुराँको बिल तिर्ने बाजी थियो । हारेपछि मैले लगभग ७ हजार ५ सय जतिको बिल तिरेँ । बिल तिर्दाभन्दा मन परेको टिम हार्दा बढी पीडा भयो । एक हप्तासम्म मन पूरै खल्लो भएको थियो । कतै निस्कनै मन लागेन । 
प्रसङ्ग बदलौं, तपाईको विवाह भएको कति वर्ष भयो ? 
१८ वर्ष ।

प्रेम कि मागी विवाह ?
प्रेम विवाह । दशरथ रंगशालामा उनी फुटबल हेर्न आउँथिन् । मेरो फ्यान थिइन् । त्यहीँबाट हामी साथी बन्यौं । साथीको सम्बन्ध थाहै नपाई मायामा बद्लिएछ । यो मायाप्रेम भन्ने चिजै यस्तै हुने । अहिले छोरी नै १० कक्षामा पढ्ने भइसकिन् । 

घरमा छोरी र श्रीमती कसको सपोर्टर हो नि ?
सबै अर्जेन्टिनाको । 

जबरजस्ती अर्जेन्टिनाको बनाउनुभएको त होइन ? 
खासमा भन्नुपर्दा उनी (श्रीमती) जर्मनीको समर्थक हुन् । अर्जेन्टिनाको मेसी पनि उनलाई मनपर्छ । 

त्यसोभए सुरुमा किन अर्जेन्टिना भन्नुभएको ?
मैले बाहिर पब्लिकमा त्यस्तो म्यासेज दिन खोजेको हो (हाँस्दै) तर झुट धेरैबेरसम्म नटिक्ने रहेछ । 

फुटबलबाट संन्यास लिइसक्नु भयो । अहिले केमा व्यस्त हुनुहुन्छ ?
आफ्नै व्यवसाय सुरु गरेको छु । साथीसँग मिलेर थाइल्यान्डको पटायामा होटल सञ्चालन गरेको छु । त्यतै व्यस्त हुन्छु । 

अहिले नेपाल आएको कति दिन भयो ?
२० दिन जति भयो । वल्र्डकपभरि यतै बस्छु । अगस्टतिर फर्कन्छु । 

फुटबललाई चटक्कै माया मार्नु भयो है ?
रहरले होइन, देशको स्थितिले गर्दा हो । यहाँ सबैलाई जिउजिउ गर्नुपर्छ ! खेलुञ्जेल ताली र वाहवाह पाइन्छ, त्यसपछि भने जिल्ल भइन्छ । सम्मान त पाइन्थ्यो तर पकेटमा पैसा हुँदैनथ्यो । त्यसैले म व्यवसायतिर लागेँ । 

फुटबल मैदान कत्तिको मिस हुन्छ ?
मिस त भइहाल्छ नि ! उमेर भइन्जेल खेल्ने न हो । तैपनि देशको प्रतिनिधित्व गरेर खेल्न पाएँ । त्यही नै गर्वको कुरा हो । यो अवसर सबैले पाउँदैनन् ।

तपाईंलाई पहिलोपल्ट कहिले आफू सेलिब्रिटी महसुस भयो ?
२००६ को साफ गेम खेल्न जानुअघि एन्फाले बिदाइ कार्यक्रम राखेको थियो । त्यतिबेला मिडियाको भिड र क्यामेराको लस्कर देख्दा भने सेलिब्रिटी भइयो कि जस्तो महसुस भएको थियो । 

खेलाडी भइञ्जेल तपाईंले सबैभन्दा बढी मिस गर्ने कुरा के हुन्थ्यो ?
परिवार नै हो । खेलाडी भएकै कारण परिवारलाई चाहे जति समय दिन सकिनँ । अरु त त्यस्तो खास केही छैन । खेलाडी भएकै कारण आज म यहाँ छु जस्तो लाग्छ । 

खेलाडीका लागि सबैभन्दा खुसीको पल के हुुन्छ ?
खेलको अन्तिममा जब टिम विजयी भएको संकेत आउँछ, त्यतिबेला जस्तो खुसीको पल खेलाडीका लागि सायदै अरु हुन्छ । 

तपाईकै कारणले टिम हारेको कुनै खेल छ ?
छ नि, किन नहुनु ! बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसबाट खेलेको थिएँ । त्यतिबेला बालदाइ (बालगोपाल महर्जन) र मैले पेनाल्टी मिस गर्दा टिमले हारेको थियो । त्यतिबेला एकदमै पीडा भएको थियो । 

आफ्नो कारण टिमले हार्दा के–के सहनुपर्छ ?
पछाडि धेरैले कुरा काट्छन् । यत्रो स्टार खेलाडी ‘जाबो पेनाल्टीमा पनि गोल हान्न नसक्ने’ भन्दै खिसी गर्छन् । 

स्टार खेलाडी भएका नाताले तपाईंलाई गोल गर्ने दबाब कत्तिको हुन्थ्यो ?
हुन्थ्यो नि ! गोल मिस गर्न हुँदैन भन्ने मानसिकता दर्शकको हुन्थ्यो । त्यसले हामीलाई पनि दबाब पथ्र्यो । मैले गोल गर्नैपर्छ भन्ने दिमागमा भइरहन्थ्यो । 

फउल गेम कत्तिको खेल्नु हुन्थ्यो ?
मैले त्यस्तो रफ खेलिनँ । त्यत्रो समय खेल्दा मैले ५÷६ वडा मात्र पहेँलो कार्ड खाएँ होला । 

तपाईंलाई त भरसक आफैँ गोल गर्न खोज्ने अवसरवादी खेलाडी पनि भन्छन् नि !
त्यस्तो होइन । हाम्रो बेलाका खेलाडीहरुले यस्तो सोच्दैनथे किनभने त्यतिबेला अहिलेको जस्तो मिडिया थिएनन् । हाम्रो पालामा प्रत्यक्ष प्रसारण भन्ने नै हुँदैनथ्यो । साँच्चै भन्ने हो भने त्यतिबेला मलाई गोलको महत्व नै थाहा थिएन । त्यसैले त्यस्तो सोच्ने कुरै भएन । 

विश्वकपका सबै खेल हेर्नुहुन्छ ? 
म च्याम्पियन्स लिग त हेर्न नछुटाउने मान्छेले चार वर्षमा एक चोटि आउने विश्वकपको खेल छुटाउने त कुरै हुँदैन नि ! 
 

Leave A Comment