पत्थरको तमासा

बुधबार, १५ बैशाख २०७३, ०६ : ५४
पत्थरको तमासा

यस्तो लाग्छ– देशमा भाग्य र अन्धविश्वासको सुपरमार्केट नै चलिरहेको छ। आफ्नो भविष्यप्रति चिन्तित मान्छेहरूलाई चिकित्सकले औषधि लेखिदिएजस्तो गरी ज्योतिषहरू पुर्जीमा रत्न–पत्थर सिफारिस गरिरहेका हुन्छन्। 'सोचेको पूरा हुन्छ, दोष काटिन्छ, ग्रहशान्ति हुन्छ, धनलाभ हुन्छ' भन्ने जस्ता भ्रमको खेतीमा फसेर औँलामा पत्थरजडित औँठी लगाउनेले के बुझिरहेको हुँदैन भने ऊ ठगिएको छ, पत्थरको वास्तविक मूल्यभन्दा सय गुना बढी तिरिरहेको हुन्छ । ज्योतिष र पत्थर व्यवसायीको मिलेमतोमा यो हानिकारक तमासा चलिरहेको छ । अम्मर जिसी र अनिल यादवले यो तमासाभित्रको वस्तुस्थिति नियालेका छन्।

'हामीलाई दिनको सात जना मात्र क्लाइन्ट पठाइदिनुस् । हामी तपार्इंलाई महिनाको दुई लाख कमिसन दिन्छौँ ।'

एकजना नाम चलेका ज्योतिषलाई काठमाडौँ, न्युरोडस्थित विशाल बजारको पसल नम्बर ११७ मा रहेको मनोकामना रुद्राक्षबाट आएको प्रस्ताव हो यो । ती ज्योतिषलाई आफूकहाँ आउने ग्राहकलाई 'त्यहाँ ओरिजिनल रत्न–पत्थर पाइन्छ' भन्दै सिफारिस गरिदिन मनोकामनाका साहूजीले प्रस्ताव गरेका रहेछन् । 'मैले ठाडै अस्वीकार गरिदिएँ,' नाम नखोलिदिने शर्तमा ती ज्योतिषले भने, 'यसरी जनता ठग्ने काम गर्नु हुन्न भन्ने मलाई लाग्छ । तर, यहाँ यसरी ठग्ने क्रम दिन प्रतिदिन बढिरहेको छ । यहाँ दिनदिनै रत्न–पत्थर व्यापारीहरू ज्योतिष किनिरहेका छन् ।'

ज्योतिषशास्त्रले आवश्यकताअनुरूप नौ ग्रहका रत्न–पत्थर लगाउँदा फाइदा हुने बताउँछ । तर, यहाँ यही शास्त्रीय मान्यतालाई बहाना बनाउँदै हजारौँ ज्योतिष पैसाको प्रलोभनमा परेर जनता ठगिरहेको बताउँछन्, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र खनाल । 'हामीकहाँ शास्त्रीय मान्यताअनुसार केही पनि भएको छैन,' उनी भन्छन् , 'यहाँ त मान्छेको अनुहार हेरेर यसलाई कसरी धुत्न सकिन्छ भन्ने मनस्थितिमा ज्योतिषहरू हुन्छन् । धेरै फटाहा छन् । पैसाको लोभमा ग्रहदशा बिग्रिँदै नबिग्रिएकालाई पनि हावातालमा रत्न–पत्थरका औँठी भिडाइरहेका छन् ।'
IMG 7578
ज्योतिष–व्यापारी मिलेमतो

सोमवार दिउँसो काठमाडौँ, गौशालास्थित पशुपति परिसरमा ज्योतिष गोविन्द्रप्रसाद उपाध्यायसँग हात हेराउँदै थिए, चिरञ्जीवी राई । झापाबाट काठमाडौँ आइपुगेका उनको जन्म मिति र चिनाको नामका आधारमा ज्योतिषले भविष्य बताइरहेका थिए । करिब आधा घण्टा भविष्य हेरेपछि उनले राईलाई मंगल ग्रहको दशा देखिएको भन्दै रत्न–पत्थरको औँठी लगाउन सिफारिस गरे । जसरी अस्पतालमा डाक्टरले पुर्जीमा लेखेर औषधिको सिफारिस गर्छन्, ठीक त्यसैगरी उनले आफ्नो नाम लेखिएको

पुर्जीमा 'मुगा ८ रतीको सुनमा धारण गर्नु' भनेर लेखे । पुर्जीको मुनि पसल नं ११७ (एक तल्ला माथि) विशाल बजार, न्युरोड भनी लेखिएको थियो । उनले त्यही पसलमा जाँदा सस्तो र भरपर्दो रत्न–पत्थर पाइने बताए । ज्योतिषले सुनमै धारण गर्नु भनेको रत्न–पत्थर उक्त पसलमा पुग्दा पञ्च–धातुमा लगाउन मिल्ने बताए पसलेले । 'तपाईंलाई विश्वास नलागे म गुरुलाई फोन लगाइदिन्छु । आफैँ कुरा गर्नुस्,' ती पसलेले पुर्जी लिएर गएका शुक्रवारकर्मीसँग भने , 'गुरुले पठाएका ग्राहकलाई हामीले ठग्न मिल्दैन । त्यसो भयो भने हाम्रो पनि व्यापार खस्किन्छ, गुरुको पनि विश्वास घट्छ ।' उनी ज्योतिषलाई गुरु भन्दै सम्बोधन गरिरहेका थिए । उनीसँग दुईथरीका मुगा रहेछन् । यो नक्कली र यो सक्कली भन्दै उनी देखाइरहेका थिए । 'चाहने हो भने तपाईंलाई यो नक्कली पनि भिडाउन सक्थेँ,' उनी भन्दै थिए, 'तर, त्यसो गर्न मिल्दैन ।' उनले ८ क्यारेट मुगालाई ५ हजार ८ सय रुपियाँ पर्ने बताए । ज्योतिष र तपाईंहरूको सम्बन्ध चाहिँ के हुन्छ ? ग्राहकका रूपमा शुक्रवारकर्मीले प्रश्न गर्दा उनले भने, 'विश्वासका आधारमा तपाईंहरू ज्योतिषकहाँ पुग्नुहुन्छ । उहाँहरूले सिफारिस गरेको सामानले तपाईंलाई काम गरेन भने ज्योतिषलाई पनि फलिफाप हुँदैन । त्यसैले उहाँहरूले भरपर्दो ठाउँ भनेर हामीकहाँ पठाउनुहुन्छ । त्यति मात्र हो ।' शुक्रवारकर्मीको 'ज्योतिषलाई कमिसन पनि त दिनुपर्ला नि ?' भन्ने प्रश्नमा उनको प्रस्ट प्रतिप्रश्न थियो, 'जग्गा मिलाइदिनेले फ्रीमा मिलाइदिन्छ ? कमिसन नभई यहाँ केही काम हुन्छ ?'

न्युरोडको विशालबजार होस् या पशुपतिनाथ परिसर, त्यहाँ रहेका अधिकांश रुद्राक्षपसल अर्थात् रत्न–पत्थरका व्यापारीहरूको साँठगाँठ कुनै न कुनै ज्योतिषसँग भइरहेको देख्न सकिन्छ । पशुपति परिसरमा रहेका अधिकांश रुद्राक्षपसलमा एकजना ज्योतिषको विज्ञापन देख्न सकिन्छ । कामधेनु अग्रवाल रुद्राक्षपसलसँगै ज्योतिष दिव्यराज ओझाको ब्यानर छ । ऊँ महादेव रुद्राक्षपसलमाथि ज्योतिष उद्धव भण्डारीको विज्ञापन छ । अग्रवाल रुद्राक्ष भण्डारमा पनि ज्योतिषकै विज्ञापन छ । त्यसो त विशालबजारमा रहेका अधिकांश रुद्राक्षपसलमा ज्योतिष परामर्श सेवा नै राखिएका छन् । ग्राहक सुरुमा ज्योतिष परामर्श कक्षमा निश्चित शुल्क तिरेर भविष्य हेराउन पस्छन् । त्यहाँ भविष्य हेर्ने क्रममा ज्योतिष ती ग्राहकमा कुनै न कुनै ग्रहको गडबडी देखिसक्छन् । अनि कुनै नै कुनै रत्न–पत्थरका औँठी लगाउन सुझाउँछन् । 'यसरी ज्योतिष र व्यापारीको मिलेमतोमा ग्राहक फसिरहेका दृश्य यहाँ दिनहुँ देख्न सकिन्छ,' विशालबजारमै कार्यरत एक कर्मचारीले बताए ।

आफूलाई अन्तर्राष्ट्रिय स्तरको ज्योतिष बताउने २५ वर्षीय हरिहर अधिकारी रत्न–पत्थरको धन्दामा ज्योतिष र व्यापारीको मिलेमतो रहेको स्विकार्छन् । तर, उनी आफू यस्तो कार्यबाट टाढा रहेको दाबी गर्छन् । 'मलाई रत्न व्यापारीहरूले खाममै पैसा हालेर पनि पठाए,' उनले भने, 'तर, मैले फिर्ता गरिदिएँ । यस्तो विकृति यहाँ धेरै छन् । ज्योतिषलाई फकाउनका लागि पसले आफैँले उनीहरूको 'प्रोस्पेक्टस'देखि 'भिजिटिङ कार्ड'सम्म बनाइदिइरहेका छन् । यहाँ ज्योतिषहरू जे मन लाग्यो, त्यही गरिरहेका छन् । दशा नलागेकोलाई पनि दशा लाग्यो भनिरहेका छन् । गेरुवस्त्र लगाएर आफूलाई भगवान्का रूपमा प्रस्तुत गरिरहेका छन् ।' उनी दक्षिण एसियाली ज्योतिष महासंघको राष्ट्रिय समिति परिषद्का प्रवक्तासमेत हुन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन पत्थर व्यवसायीले ज्योतिषसँग मिलेर आफूअनुकूल धन्दा गरिरहेको बताउँछन् । 'ज्योतिष किनेर आफूअनुकूल धन्दा चलाउनेहरू पनि छन् । कैयौँ गुणा मूल्य बढाएर बेच्नेहरू पनि छन् । प्राकृतिक र कृत्रिममा झुक्याउनेहरू पनि छन्,' महर्जनले भने ।

यसरी भिडाइन्छ पत्थर
govinda prasad upadhyaya
अधिकांश ज्योतिषले पहिले राम्रा–राम्रा कुराबाट भविष्यवाणी थाल्छन् र अन्तिममा समस्या देखाउँछन् । अनि, 'ट्रिटमेन्ट' भन्दै पूजा गर्नेदेखि रत्न–पत्थरका औँठी लगाउन सुझाउँछन् । मंगलवार दिउँसो शुक्रवारकर्मी ग्राहक बनेर न्युरोड, विशालबजारस्थित जय कृष्ण नन्दिनी, पसल नं १३२ पुग्दा त्यहाँ ज्योतिष परामर्श सेवा पनि थियो । आफूलाई आचार्य ज्योतिष गुरु सत्यप्रकाश ढुंगाना बताउने ज्योतिषले सबै राम्रैराम्रो योग देखाइदिए । अन्त्यमा 'यो चाहिँ औषधि हो' भन्दै आफ्ना दुइटा पुर्जी खर्चिए । एउटा पुर्जीमा पाँच हप्तासम्म प्रत्येक आइतवार भैरवको दर्शन गर्नू, कुकुरलाई खाना खुवाउनू र 'मेरो राहु'को २७ हजार जप गर्नू' भनी लेखिएको थियो । लेख्ने क्रममा उनी भन्दै थिए, 'सकेसम्म यो सब आफैँ गर्नू, पढ्न जान्ने मान्छेले पण्डितलाई बेकारमा पैसा किन दिनु ?' यसरी आफूलाई इमानदार साबित गर्न खोजेका उनले अन्त्यमा अन्य ज्योतिषझैँ रत्न–पत्थर सिफारिस गरिछाडे । उनले पाँच क्यारेटदेखि माथिको पुष्पराजको औँठी पञ्चधातुमा लगाउन सुझाए । 'यही पसलमा किन्नुभयो भने म 'रिस्क' लिन सक्छु । अरू ठाउँको सक्दिनँ,' उनले यसोसम्म भन्न भ्याए । पसलमा ग्राहकहरू बीसौँ हजार खर्चेर रत्न–पत्थर किनिरहेका थिए । हरेक रत्न–पत्थरको पसलको भित्तामा अनिवार्य लेखिएको देखियो– 'विक्री भएको रत्न फिर्ता हुने अथवा साटिने छैन ।'

सोमवार बिहान पशुपति परिसरभित्र पुग्दा फुटपाथमा कालो चस्मा र गेरुवस्त्र लगाएर बसिरहेका एकजना ज्योतिषलाई हात हेराइरहेका थिए, काठमाडौँ, जोरपाटीका सुरेन तामाङ । आफूलाई रामशरण उपाध्याय नाम गरेको ज्योतिष बताउने उनी न कुनै पात्रो हेरिरहेका थिए, न लगाएको चस्मा नै खोलेका थिए । उनले तामाङलाई मंगल ग्रह बिग्रेको भन्दै त्रिशूल आकारकोसानो पञ्चरत्न धातुको औँठी लगाउन सुझाइरहेका थिए । तामाङले भने 'सब बकवास हो' भन्दै केही नकिनीकन जंगिएर हिँडे ।

मनपरी मूल्य

ज्योतिष गोविन्दप्रसाद उपाध्यायको पुर्जी लिएर ८ क्यारेटको मुगाको मूल्य बुझ्न तीनटा पसलमा पुगे शुक्रवारकर्मी । पशुपतिनाथ परिसरमा रहेको कामधेनु अग्रवाल रुद्राक्षमा पुग्दा त्यहाँ दुई किसिमका मुगा देखाइयो । एउटाको ६ हजार ४ सय र अर्कोको ४ हजार ३ सय रुपैयाँ भनियो । 'यो सब बाहिरबाट आउँछ । ग्यारेन्टी कार्ड पनि हुन्छ,' त्यहाँ बस्ने कर्मचारीले भनिन् ।

त्यसपछि त्यही पुर्जी बोकेर पशुपतिनाथकै अग्रवाल रुद्राक्ष भण्डारमा पुगेर 'पत्थर छ ?' भनेर सोध्दा त्यहाँका पसलेले नभएको जवाफ दिए । पछि पुर्जी झिकेपछि उनले 'कुन ?' भन्दै जिज्ञासा देखाए । ८ रतीको मुगा भनेपछि उनले ४ हजार रुपियाँ पर्ने बताए । 'भोलि आउनू । म मगाइदिराख्छु,' ती पसलेले भने । तर, पसलभरि रत्न–पत्थरहरू सजाइएका देखिन्थे । जसलाई उनी फेसनेबल आइटम भनिरहेका थिए ।  ८ रतीको मुगालाई विशालबजारमा भने ५८ सय रुपियाँ भनिएको थियो ।

शास्त्रीय दृष्टिले उचित रत्न–पत्थर नेपालमा नपाइने बताउँछन्, ज्योतिष शान्तिराम कोइराला । 'यहाँ नक्कली रत्न–पत्थरलाई पनि चर्को मूल्यमा विक्री गरिरहेका छन्,' उनी भन्छन्, 'क्यारेटको ७० रुपियाँ पर्नेलाई पाँच हजारसम्ममा पनि बेच्छन् । ७० गुणा बढी रकममा यसरी बेच्नु भनेको लुट नभए के हो ?'

यसरी मनपरी मूल्यमा रत्न–पत्थरको व्यापार बजारमा भइरहेको पाइन्छ । सरकारले निश्चित मापदण्ड नबनाइदिएका कारण यस्तो भइरहेको बताउँछन्, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन । भन्छन्, 'जीवनलाई प्रत्यक्ष असर पार्ने रत्न–पत्थरजस्ता महŒवपूर्ण तŒवलाई यहाँ त हचुवामै प्रयोग भइरहेको छ । कसले कहाँबाट ल्याएको कुन रत्न–पत्थर कतिमा कसलाई केका लागि बेच्यो भन्ने नै आकलन गर्न नसकिने अवस्था छ । यो सबै समस्या सरकारी बेवास्ताका कारण भएको हो ।' अधिकांश रत्न–पत्थर विदेशबाटै आउने बताउँछन्, महर्जन । 'यसमा कसले राजस्व तिर्छ, तिर्दैन ? कसैलाई थाहा हुँदैन । झोलेहरूले ल्याउने माल पनि कम छैन ।'

आफूलाई ज्योतिष मर्मज्ञ तथा रत्नविद् दाबी गर्ने गुरु वशिष्ठ कुमार भने बजारमा विकृति नभएको दाबी गर्छन् । 'तपाईंहरूले भनेजस्ता विकृति बजारमा छैनन्,' उनी भन्छन्, 'ज्योतिषलाई त्यसरी किन्न खोज्ने व्यवसायी कोही छन् जस्तो मलाई लाग्दैन ।' आफूले दुईदेखि चार हजार रुपैयाँसम्मका रत्न–पत्थर बेच्ने गरेको उनले बताए । 'त्यस्ता महँगा हामीले प्रयोग गर्ने वा रिफर गर्ने गर्दैनौँ,' उनले भने ।

चारैतिरबाट मालामाल ज्योतिष

टेलिभिजनमा लाखौँ खर्च गरेर ज्योतिषहरू आफैँ कार्यक्रम चलाउँछन् । बाहिरबाट देखिँदा ती कार्यक्रमलाई समय किनेर ज्योतिष आफैँले चलाइरहेका हुन्छन् । तर, अदृश्य रूपमा ती कार्यक्रमको प्रमुख प्रायोजक रत्न तथा पत्थर व्यवसायी नै हुने स्रोत बताउँछ । 'यसबाट ज्योतिषहरूलाई दोहोरो फाइदा भइरहेको छ । कार्यक्रम चलाएबापत पैसा पनि नलाग्ने, त्यसबाट ग्राहक पनि बटुलिने । व्यवसायीबाट मासिक लाखौँ आम्दानी पनि हुने,' स्रोतले भन्यो ।

गुरु वशिष्ठ पनि टेलिभिजन र रेडियोमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाउँछन् । उनको पसलको बोर्डमा पनि त्यस्ता कार्यक्रम उल्लेख गरिएका छन् । भारतमा हासिल गरेको अनुभवकै आधारमा आफूले नाम अगाडि रत्नविद् लेख्ने गरेको उनी बताउँछन् ।

टेलिभिजनमा 'भविष्य तपाईंको' कार्यक्रम चलाउने ज्योतिष उद्धव भण्डारी आफूले चिना बनाउने र फलादेश बताउने कामबाहेक अरू केही नगरेको दाबी गर्छन् । 'त्यो भन्दा ज्यादा काम गरेकै छैन,' उनी भन्छन्, 'कसैले कर गरिहाल्यो भने मात्र रत्न–पत्थरको सिफारिस गरिदिन्छु ।' उनी नेपालमा भनेजस्तो उचित रत्न–पत्थर नपाउने कारणले यसप्रति ग्राहकलाई जोड नदिने गरेको बताउँछन् ।

ज्योतिष हरिहर अधिकारी टेलिभिजनमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाउँछन् । टेलिभिजनमा एक घण्टाको समय उनले किनेका छन् । जसबाटै उनी हजारौँ जनतामाझ परिचित छन् । 'कार्यक्रम चलाएबापत उनी वर्षमा ९३ लाख तिर्छन्,' स्रोतले भन्यो, 'यो कार्यक्रमको प्रायोजक पनि अदृश्य रूपमा रत्न–पत्थर व्यापारी नै छन् । '

गफै रहेछ

काठमाडौँ, बौद्धका रमेश थपलिया छ महिनाअघि एकजना ज्योतिषकोमा पुगेका थिए । श्रीमतीसँग दिनहुँ झगडा भएपछि उनी ज्योतिषको शरणमा पुगेका रहेछन् । ती ज्योतिषले तपार्इंमा राहुको ग्रह छ भन्दै २० हजारमा औँठी भिडाएछन् । 'सबै गफै रहेछ,' ३० वर्षीय रमेशले भने, 'अझै पनि झगडा भइरहन्छ । त्यस्तो औँठीले केही पनि लछार्दैन रहेछ । मलाई त विश्वासै लाग्न छोड्यो ज्योतिषको ।'

हातमा दुइटा रत्न–पत्थरको औँठी लगाएकी छिन् भक्तपुर, गट्ठाघरकी शर्मिला बुढाथोकीले । दुई फरक ज्योतिषले अशुभ ग्रह सबै काटिन्छ भन्दै उनलाई ती औँठी भिडाएका रहेछन् । 'सब बकवास लाग्यो,' २३ वर्षीया उनी अहिले पछुतो गर्छिन्, 'भनेजस्तो केही भा'को छैन । सब मनगढन्ते कुरामात्र गर्दा रहेछन् ज्योतिष । पैसा कमाउने धन्दा रैछ औँठी त । पहिले औषधि ठान्थेँ यी आँैठीलाई । अहिले फेसनका रूपमा लाइरा'छु ।'

Leave A Comment