‘फुटबल पागलपन’

आइतबार, ०३ असार २०७५, ०३ : ४६ शुक्रवार
‘फुटबल पागलपन’

रुसमा हुने फुटबलको एक महिने कुम्भमेला नेपालमै बसेर मनाउने क्रममा  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) की सांसद नवीना लामा एकै थलोमा भेटिए र त्यो दिन अर्जेन्टिना अन्य टिमसँग प्रतिस्पर्धा गरिरहेको अवस्था भयो भने दुवैको समर्थन एउटै टोली छ– अर्जेन्टिना । 

उनीहरुसँगै सशस्त्र द्वन्द्वबाट रुपान्तरण हुँदै शान्तिपूर्ण राजनीतिमा आएका देवेन्द्र पौडेल मिसिए भने उनी पनि शर्मा र लामासँगै खुसी र दुःखी हुनेछन् ।

शर्मा सरकारविरुद्ध कटु आलोचनामा सक्रिय छन् । सत्ताधारी दलकी नेतृ तथा सांसद लामा अनि पौडेल सरकारको बचाउमा स्वाभाविक रुपमा उत्रिने नै भए । त्यसैले यी तीनबीच राजनीतिक तहमा एक मत र एक धार हुने कुरै भएन । 

राजनीतिक परिदृश्यमा तीनै जना एकअर्काका आलोचक भए पनि फुटबलले यो सीमा मेटेको छ । नेपाली राष्ट्रिय टोली विश्वकपको मैदानमा छैन तर अबको एक महिना तीनै जनाले लगाउने जर्सी र दुवैको मुहारमा हाँसो र दुःख ल्याउने टिम भने एउटै छ ।

नेपालबाट ४ हजार किलोमिटर पर रुसमा हुने विश्वकपको रन्कोबारे जान्न शुक्रवारकर्मीले यी तीन नेतासँग सम्पर्क गर्दा तीनै जनाले एउटै टोलीलाई समर्थन गरेको बताए र टोली थियो– अर्जेन्टिना ।
‘मलाई मन पर्ने टोली अर्जेन्टिना हो,’ शर्माले भने ।

‘म त अर्जेन्टिनाको जर्सी नै लगाएर खेल हेर्ने हो । खै कसैले जर्सी गिफ्ट पो दिइहाल्छन् कि !’ सांसद लामाले भनिन् ।

‘म अर्जेन्टिनाको सपोर्टर हुँ । मेसीका कारण मलाई यो टिम मन पर्छ,’ पौडेलले भने । 

कला र खेल यी दुई यस्ता विधा हुन्, जसले पेसा, उमेर, वर्ग, लिङ्ग, राजनीतिक आस्था, प्रतिस्पर्धा, दुस्मनी सबै फिका बनाइदिन्छ । यी तीन नेताकोझैँ ।

६ महादेशबाट छनोट राउन्ड खेलेका २ सय ९ राष्ट्रमध्ये फुटबलको महाकुम्भमा भाग लिन ३२ देश रुसमा भेला भएका छन् अहिले । उत्साह भने संसारका सबै देशमा छ । आफ्नै देशको टिम सहभागी भएका देश हुन् या सपनामा पनि विश्वकप खेलेको नदेख्ने नेपालजस्ता मुलुक होऊन्, सबै देशका फुटबलप्रेमी उत्तिकै उत्साहका साथ रुसका रंगशालातिर नजर लगाइरहेका छन् ।

आफ्ना प्रिय टोलीका आधारमा उनीहरुको समर्थन बेग्लाबेग्लै टोलीलाई होला तर सबैको मनमा फुटबल नै छ । एक महिना फुटबलप्रेमीको कार्यतालिका एकै हुनेछ ।

यसमा नेपाली फुटबलप्रेमी कसरी अछुतो रहन सक्छन् र ! विश्वकपको उल्लासमा सबै घुलमिल भइसके यता पनि । नेपाली जर्सीमा रंगिने फुटबलप्रेमी आ–आफ्नो प्रिय अन्तर्राष्ट्रिय टोलीको जर्सीसँग लपक्कै भइसके । 

जर्सी, फुटबल, प्रोजेक्टरको मागले व्यापारको आयतन ह्वात्तै बढाएको छ । 
पहिलाको जस्तो कसको घरमा गएर हेर्ने होला भन्ने चिन्ता धेरैमा देखिन्न । सहरमा प्रोजेक्टर भित्रिनेदेखि गाउँका अधिकांश कान्लासम्म टेलिभिजनको सेट पुर्याइसक्यो वैदेशिक रोजगारले । प्रविधि सहजताले पकेटमै भएको मोबाइलबाटै सहजै विश्वकप हेर्न सकिने भएको छ । 

अर्थशास्त्रका  प्राध्यापक दिपेश पन्तका अनुसार आर्थिक रुपमा विश्वकप हाम्रा लागि त्यत्ति फाइदाजनक हुन्न । विश्वकप लक्षित जर्सीदेखिका सबै सामग्रीको आधार आयात नै भएकाले यसले समग्र अर्थतन्त्रलाई  नकारात्मक असर पार्ने उनको विश्लेषण छ । 

व्यवसायीका अनुसार विश्वकपमा नेपालमा जर्सीको व्यापारको आँकडा मात्रै २० करोड हाराहारीको हुन्छ, जुन अधिकांश चीनबाट आउने गरेको छ । तर यो महाकुम्भमा आर्थिक चिन्ताभन्दा टिमकै चिन्ताले प्राथमिकता पाउँछ । यसले फुटबलप्रेमीलाई रोक्न सक्दैन विश्वकपमा सामेल हुन । 

गजब छ माहोल 
विश्वकपको माहोलबारे बुझ्न शुक्रवारकर्मी सहर पस्दाको माहौल गजब देखियो । सहरी क्षेत्रका अधिकांश पसलअगाडि २–४ वटा भए पनि जर्सी झुण्डिएका थिए । खेलकुद केन्द्रित व्यवसाय गर्नेहरु दसैँ लागेजस्तै व्यस्त थिए । 

टेलिभिजन, प्रोजेक्टर बिक्री गर्नेहरु सुस्ताउन पाएका थिएनन् । खानपिन केन्द्रित होटल, रेस्टुराँ व्यवसायी ग्राहकलाई आकर्षित गर्ने नयाँ स्किम बनाउन व्यस्त थिए । कोही यही मौकामा खेलसँग जोडिएको आफ्नो व्यवसाय सुरु गर्ने ध्याउन्नमा देखिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी हरि खड्का विश्वकपको यही मौका छोपेर दरबारमार्गमा हालै खोलिएको किङ्स लाउन्ज जमाउने ताकमा  भेटिए । उनले विश्वकपलाई आधार बनाएर ग्राहक आकर्षित गर्न स्क्रिन जडान गरिसके रे ! 

छायाँकनमा गएको फिल्म ‘क्याप्टेन’ले प्रचारका लागि यही मौका पारेर अनमोल केसीको क्रिस्टियानो रोनाल्डो फ्लेवरको फोटो तयार पारिसकेको छ । 
यो त भयो माहोल क्यास गर्ने काइदा । कुनै आर्थिक स्वार्थ नबोकेका फुटबलप्रेमीमा पनि उत्साह कम छैन ।

ब्राजिल र अर्जेन्टिना नै हावी
जर्सी बिक्रीको संख्या हेर्ने हो भने जर्मन जर्सीको संख्या धेरै देखिन्छ । दोस्रोमा ब्राजिल छ भने तेस्रोमा अर्जेन्टिना लगायत अन्य छन् । शुक्रवारकर्मीले फेला पारेका प्रशंसकमा भने ब्राजिल र अर्जेन्टिनाको समर्थककै दबदबा देखियो । म्यारोडोना र पेलेको जादुमयी खेल कौशलमा कायल भएका नेपालीहरु अझैसम्म पनि टिम बदल्ने मुडमा देखिएनन् । 

अधिकांश कलाकार अर्जेन्टिनाको पक्षमा देखिएका छन् भने चर्चित  खेलाडीहरु ब्राजिलको पक्षमा । राजनीतिज्ञ, व्यवसायी, साहित्यकारमाझ पनि यिनै दुई टोलीको दबदबा देखियो । आम नागरिकमाझ पनि यी दुई टोलीकै समर्थक बढी भेटिए । 

विश्वकपको माहोलबारे बुझ्न गरिएको र्यान्डम भेटका क्रममा फेला परेका दुई दर्जन बढी युवामध्ये थोरै मात्र टिमप्रति विश्वस्त देखिए । अधिकांश भने स्टार खेलाडीको भरमा विभिन्न टोलीलाई समर्थन गरिरहेका थिए ।

आफूले समर्थन गरेको टिमले नै विश्वकप जित्ने दाबी गरे पनि टोलीको सकारात्मक र नकारात्मक पाटो विश्लेषण गर्न भने उनीहरुको उति रुचि देखिएन । उनीहरु सबै आफूले समर्थन गरेको टोलीको नकारात्मक पाटो त कोट्याउनै नचाहेको देखिन्थ्यो ।

ब्राजिल र जर्मनीका समर्थकले टिमको फर्मेसन र खेलाडीको योग्यताबारे बोले । अर्जेन्टिना, पोर्चुगलका फ्यान ‘वन म्यान आर्मी’मा बढी भर देखिए । अधिकांश आफ्नो समर्थन रहेको फुटबल टोलीका युवा सदस्यप्रति बढी विश्वस्त थिए ।

शुक्रवारले भेटेको विद्यार्थी अनुज पोखरेल ब्राजिलको डाइ हार्ट फ्यान रहेछन् । सन् २०१२ मा रोनाल्डोले बल घुमाएको देखेपछि लोभिएका उनी त्यही टिममा अड्किइरहेका छन् । टिम बदल्न मनले नै मान्दैन रे !
‘२०१२ मा रोनाल्डो भन्ने बित्तिक्कै खतरा लाग्थ्यो,’ उनले भने, ‘अहिले उनी छैनन् तर एक से एक खेलाडी भएकाले धेरै चिन्ता छैन ।’

सिभिल इन्जिनियर सबन भण्डारीले खुलेर ब्राजिलको दाबेदारी पेस गरे । रियल म्याड्रिड र बार्सिलोनाका अनुभवी स्टार खेलाडी नेइमार, मार्सेलो, क्यासिमेरो, पलिन्हो, कोर्टिन्हो, विलियन लगायत टिममा हुनु ब्राजिलको बलियो दाबेदारीको कारण रहेको भण्डारीले बताए ।

अर्जेन्टिनी टोलीका फ्यान शिवकृष्ण प्याकुरेल क्याप्टेन मेसीको भरमा रहेछन् । अघिल्लो पटक वल्र्डकपको फाइनलमा पुगेर पनि दोस्रो स्थानमै चित्त बुझाएको टोलीको अवस्था अहिले पहिलाको भन्दा कमजोर देखिन्छ । मेसीका लागि यो अन्तिम विश्वकप हुनसक्छ । त्यसैले उनी मेसीको विश्वकपको बिदाइअगाडि च्याम्पियन भएको हेर्न व्यग्र रहेछन् ।

पोर्चुगलका फ्यान विकास घिमिरे टिममा रहेका जोसिला खेलाडीले चमत्कार गर्नेमा विश्वस्त देखिए । विद्यार्थी सिर्जना दाहाल स्पेनको पक्षमा रहिछन् । स्पेनका खेलाडीहरु राम्रो फर्ममा रहेका र युवा खेलाडीको जोश र डिफेन्सको फलामे बारले विश्वकपमा राम्रो नतिजा ल्याउने विश्लेषण सुनाइन् उनले । 

अर्का विद्यार्थी हरि भण्डारी जर्मन टोलीको समर्थक रहेको बताए । सबै टिम छनोट गरेर मात्रै विश्वकप हेर्छन् भन्ने पनि छैन । सुशान्तराज पन्त यस्तै रहेछन् । उनी फुटबलका फ्यान हुन् तर कुनै टिमप्रति क्रेजी हैनन् । उनको यो टिम त्यो टिम भन्ने रहेनछ । उनी कमजोर टिमको समर्थन गर्ने रहेछन् प्रायः ।

‘जापान र साउदी अरेबियाको समर्थन गर्नसक्छु,’ उनले भने, ‘हेरौँ, यो भन्दा पनि कमजोर टिम पनि भेट्छु कि !’

कसले उचाल्ला त कप ?
विश्वका दिग्गज फुटबल विश्लेषकहरु सम्भावित विजेताको हिसाबकिताबमा व्यस्त छन् । बिबिसीले बेल्जियमलाई सम्भावित विजेताको पूर्वानुमानसहितको विवरण सार्वजनिक गरिसक्यो । अन्य विश्लेषकमध्ये कसैले ब्राजिल, जर्मनी र अर्जेन्टिनालाई विजेताको रुपमा विश्लेषण गरिरहेका छन् ।  
स्पेनदेखि ब्राजिल अनि इस्कोदेखि टिमो वेर्नरसम्मले यस पटक सबैलाई चकित पार्ने विश्लेषकहरुको अनुमान छ । 

खेलकुदका ख्यात विश्लेषकहरुका अनुसार यसपाला फ्रान्स निकै फर्ममा देखिएको छ । गएको वर्ष वेल्ससँगको मैत्रीपूर्ण खेलमा फ्रान्सले पेरिसको रंगशालामा निकै प्रभावशाली खेल खेलेको थियो । एन्टोनी ग्रिएजम्यानले त फुच्चे जादुगरजस्तै चमत्कार देखाएका थिए । नेमार, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो गोल्डेन बलका लागि पहिल्यै तय भएका केही खेलाडी छँदैछन् । 

केही विश्लेषकले यसैको आधारमा यस पटकको विजेता राष्ट्र फ्रान्स र उत्कृष्ट खेलाडीका रुपमा एन्टोनीलाई चयन गरेका छन् ।

स्पेनमा यस पटक सर्जियो रामोस, गेरार्ड पिक, सर्जियो बस्केट्स, डेभिड सिल्भा र एन्ड्रिस इनिस्टाजस्ता खेलाडी छन् । इनिस्टालाई गोल्डेन बुटका दाबेदारका रुपमा हेरिएको छ । 

बेलायत पुनः बौरिने केही फुटबल विश्लेषकले सपना देखेका छन् । खासगरी कुनै दबाब नभएको बेलायती नयाँ टोलीले चमत्कार गर्न सक्ने अपेक्षा उनीहरुको छ । ह्यारी केन, मार्कस रसफोर्ड र रहिम स्टर्लिङ बेलायती खेलका नयाँ आशा हुन् ।  रहिमले कर्नर पाए चमत्कार गर्ने अपेक्षा केहीको छ ।

कन्फेडेरेसन्स कपको रिहर्सल खेल हुँदा जर्मनीले रुसलाई स्वादिलो तरिकाले हराएको थियो । यस खेलमा २२ वर्षे टिमो वेर्नरले निकै ठूलो आशा देखाए । उनी मेसी, नेमार वा ग्रिएजम्यानको हाराहारी प्रतिभा देखाउन कम्मर कसेको भान उनका खेल हेर्दा थाहा हुने विश्लेषणसमेत आएका छन् । 

चार वर्षअघि ब्राजिल उति फर्ममा थिएन । यस पटक भने आफूलाई पुनः बौराएको विभिन्न परीक्षण खेलमा देखिएको छ । एलिसन, मार्सेलो, फर्नान्डिनो, कौटिन्हो, विलियन र जिससजस्ता खेलाडीले भरिपूर्ण यस टोलीले यस पटक कसैलाई छुट दिने सम्भावना छैन ।

अघिल्लो पटक आफ्नै घरेलु मैदानमा भएको विश्वकप उचाल्न नसकेको पीडा भुलाउन पनि यो टोलीले चमत्कार गर्ने अपेक्षा केहीको छ । साथमा यस पटक टिटोले कोचको भूमिका निर्वाह गरेकाले टोलीलाई उथलपुथल पार्लान् भन्ने अपेक्षा धेरैको छ । नेमारबाट धेरैले चमत्कारको अपेक्षा गरेका छन् ।
केही विश्लेषकका अनुसार एक जना खेलाडीको भरमा उचालिएको कुनै टोली छ भने त्यो अर्जेन्टिना नै हो । यसका खेलाडी मेसीका कारण संसारका धेरैजसो फुटबल प्रशंसकहरु अर्जेन्टिनाले गोल्डेन बल उचाल्ने अपेक्षा गरिरहेका छन् ।
...............
हरेक कुराको सकारात्मकझैँ नकारात्मक पाटो हुन्छ नै । फुटबलको हकमा पनि यो लागू हुन्छ । मैदानमा उत्रिएका खेलाडीका लागि भने यो महायुद्ध बराबरको खेल बन्न पुग्छ । ब्राजिलका लेखक नेल्सन फाल्काओ रोड्रिगेसले भनेका छन्, ‘फुटबल खेलको सबैभन्दा अन्धो पक्ष भन्नु नै त्यहाँ फुटबलबाहेक केही नदेखिनु हो ।’ हुन पनि यतिबेला नेपालीहरुले फुटबलबाहेक केही देखेका छैनन् । यतिबेला यहाँ पनि फुटबल पागलपनको याम चलिरहेको छ ।

 

Leave A Comment