गायकको डिप लभमा केकी !

बिहिबार, ०७ असार २०७५, १२ : ५४ शुक्रवार
गायकको डिप लभमा केकी !

पाँच महिनाअघि अभिनेत्री केकी अधिकारीलाई शुक्रवारले सोधेको थियो, ‘तपाईंको अफेयरको खबर कहिल्यै सुनिँदैन नि ?’

त्यतिबेला थोरै मुस्कुराउँदै उनले जवाफ दिएकी थिइन्, ‘त्यो त तपाईंहरुले खोज्नुपर्यो नि !’ 

उनले चुनौतीको शैलीमा भनेकी थिइन्, ‘हामी खोज पत्रकारितामा अलि कमजोर छौँ क्या ! कलाकारको पर्सनल कुरामा अडियन्सलाई चासो लाग्छ तर हामी आफैँले बोल्नु भन्दा मिडियाले  गोप्य कुरा खोज्दा, रिसर्च गर्दा राम्रो हुन्छ !’ 

केकी त्यस्ती अभिनेत्री हुन्, जो व्यक्तिगत सम्बन्धबारे सधैँ जोगिदै आएकी छन् । फिल्मी क्षेत्रका उनका सहकर्मीहरुको नाम कसै न कसैसँग जोडिँदा उनी भने बचिरहेकी थिइन् । यो अवस्था फेरिन भने पाँच महिना नै काफी रह्यो । उनले आफ्नो प्रेम सम्बन्ध लुकाउन सकिनन् । उनको गुपचुप प्रेम बाहिरियो र उनी जोडिइन् पप गायक आर्जन पाण्डेसँग ।

दुई वर्षअघि आर्जनले आफ्नो गीत ‘तिम्रो मायामा हराएँ म’मा केकीलाई  अभिनय गराएका थिए । गीतमा अभिनयसँगै दुवै रियल लाइफमा मायामा हराए । 

आर्जनका अधिकांश म्युजिक भिडियोमा केकीले अभिनय गरेकी छन् । ‘ओइलिएर झर्न दिन्नँ’ र ‘तिम्रो मायामा हराएँ’मा त उनीहरु दुवैको अभिनय छ । 

केकीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनको समयमा पनि आर्जन उनीसँगै भेटिन्थे तर कसैले उनीहरुको सम्बन्धमाथि शंका गरेका थिएनन् । प्रेम न हो, कति समय लुक्छ र !

व्यवसायिक सहकार्यबाट सुरु भएको दुवैको सम्बन्ध गहिरो प्रेममा परिणत भएको र अहिले दुवै निरन्तर डेटिङमा रहेको निकटस्थ स्रोतको दाबी छ । 

दुवैको सम्बन्धबारे फिल्मीवृत्तमा चर्चा गर्माए पनि केकी अझै स्वीकार्ने मुडमा देखिएकी छैनन् । उनले यसलाई गसिप मात्र भएको तर्क गरिरहेकी छन् । उनको दाबीअनुसार दुवै ‘राम्रो साथी’ मात्रै हुन् । 

शुक्रवारले दुवैको सम्बन्धबारे जान्न खोज्दा यस विषयमा केही बोल्न चाहिनन् । ‘यस्तो विषयमा मलाई जवाफ दिनै मन लाग्दैन, हस् थ्यांक यू,’ यति भनेर उनले फोन राखिन् ।  तर उनले प्रेमको चर्चा गलत हो भनिनन् । 

उनका निकटकाहरुले बाहिरिएको खबर सही भएकोे पुष्टि गरिरहेका छन् । ‘उनीहरुको सम्बन्ध साथीभन्दा माथि छ,’ केकीकी नजिककी साथीले नाम नलेखिदिने सर्तमा भनिन् ।  

हालसालै आर्जनले इन्दिरा जोशीसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन्, ‘रेलिमाई ।’ यो गीतलाई केकीले आफ्नो फेसबुक पेजबाट बुस्ट गरेर आर्जनको गीत हिट गराउन मद्दत गरिरहेकी छन् । आर्जनले केकीसँग यही गीतको म्युजिकल्ली पनि बनाएर फेसबुकमा राखेका छन् । 

म्युजिकल्लीमा आर्जनले केकीलाई गीतको शब्दसँगै ‘आदि होइन पूरै दिइसकेँ, तिम्रो पीर मनैमा लिइसकेँ’ भन्दा केकीको मुहारको गज्जबको चमक देखिन्छ । 

दुवैको प्रेमको चर्चाले बजार तताउँदा केकी र आर्जन मौन हुनुले उनीहरुकै योजनामा खबर बाहिरिएकोझैँ देखिन्छ । आर्जनको ‘रेलिमाई’ गीतको लिंकसँगै केकी–आर्जन अफेयरको खबर हालसालै एकजना संगीतकर्मीले थुप्रै पत्रकारलाई जिमेलमार्फत् पठाएका थिए । मेलमा केकी–आर्जन डेटिङमा रहँदाको दुई तस्बिर र गीतको लिंक पनि अट्याच गरिएको थियो । 
 

Leave A Comment