'ग्राहकको आग्रहमा विकिनीमा नाचियो'

सोमबार, ११ असार २०७५, १० : ४७ अनिल यादव
'ग्राहकको आग्रहमा विकिनीमा नाचियो'

नाइट कर्नर 

-रितु लामा, डान्सर 

गाउँमा आर्थिक अवस्था ठिकठिकै थियो । कलाकार बन्छु भनेर १२ वर्ष अगाडि काठमाडौं आएँ । काठमाडांै आएपछि जोरपाटीमा एउटा डान्स कल्चरमा डान्स सिकेँ ।  कलाकार बन्न धेरै कोसिस गरेँ  । डान्सबारमा नाच्ने एउटा बहाना मात्रै थियो । पैसा नभएपछि कलाकार बन्न सकिँदैनथ्यो । त्यसैले डान्सबारमा काम गर्न थालेँ । 

डान्सबारमा नाच्ने र कलाकार बन्ने प्रयास सँगसँगै अगाडि बढाएँ । एकदुई जना निर्देशकले पैसाविना कहाँ फिल्म खेल्न पाइन्छ भने । त्यसो भनेपछि डान्सबारमा नाचेको पैसाले कलाकार बनाइदिन्छन् भनेर  निर्देशकलाई दिएँ । खेलाउन त खेलाए तर न फिल्म चल्यो न गीत नै ।

जेनिसा केसीसँग एक्सन फिल्म खेलेँ । ‘अपेक्षा’ फिल्ममा नि खेलेँ । ‘खरो छ भाइ खरो’ भन्ने टेलिफिल्म पनि खेलेँ । गीतमा पनि मोडलिङ गरेँ । भर्खरै एउटा दोहोरी गीतमा नाचेर आएँ । तर कुनै चलेन । मिहिनेत गरेर कमाएको पैसा मात्र खेर गयो । त्यसपछि संगत गर्नै छाडिदिएँ । डान्सबारमा नाचेको एक जुग हुन लाग्यो । अहिले पनि सर्ट मुभि खेलेर चित्त बुझाइरहेकी छु । दिउँसो सर्ट मुभी बेलुका डान्सबारमा काम गरिरहेकी छु । 

डान्सबारमा केटाको भन्दा केटीको तलब राम्रै हुन्छ । कहिलेकाहीँ नगए पनि हुन्छ । नगएको दिन पैसा काटिदिन्छन् । यसो उसो गरेर महिनाको १० हजार जति कट्छ । 

दर्शकको रोजाइमा विकिनीमा नाचियो 
डान्सबारमा प्रायः चलेका हिन्दी गीतमा नाच्ने हो । यसमा आएका ग्राहकको रोजाइ प्रमुख हुन्छ । पहिला–पहिला विकिनीमा पनि नाचियो । अहिले त्यस्तो अफर आउँदैन अनि नाच्नु पनि पर्दैन । पहिले जस्तो छैनन् अहिले ग्राहक । पुरै ड्रेस लगाएर नाच्दा पनि हुन्छ । 

डान्सबारमा आउने सबै ग्राहक एकै किसिमका हुन्नन् । कोही ग्राहक डान्सरको हात समातेर बसेरै रमाउँछन् । कोही अलग्गै बसेर सँगै खाना खान पनि खोज्छन् । ग्राहकजस्तै कोसँग कस्तो व्यवहार गर्ने त्यो डान्सरमा पनि भरपर्छ ।

प्रायः प्रहरी आएर एक्लै बस्न खोज्छन् । प्रहरीका ठूलो पदका आएर फकाउँछन् । फोन नम्बर माग्छन् । दिन्न भन्न नि भएन ठूला मान्छे । दुःख दिन सक्छन् । एकजना प्रहरी निरीक्षक थिए । सधैँ आएर जे पायो त्यही व्यवहार गर्ने । एकपटक मोबाइल नम्बर मागेर लगे । फोन गरेर जे पायो त्यही भन्ने गरेपछि फोन उठाउनै छाडिदिएँ । प्रहरी देख्यो कि कन्पारा तात्छ ।

पैसा देखाएर लोभ देखाउने, बाहिर घुम्न जाउँ भन्ने ग्राहक पनि आउने गर्छन् । उनीहरुले जे भन्यो त्यही मान्यो भने त के के भन्छन् भन्छन् । को सँग कस्तो व्यवहार गर्ने त्यो आफूमा पनि भर पर्छ । ग्राहक रिसाउलान् भनेर उनीहरुले भनेको मान्न थाल्यो भने त के के हुन्छ हुन्छ । आफ्नो तर्फबाट नराम्रो व्यवहार नगर्ने हो । उनीहरुले भनेको मान्नैपर्छ भन्ने हुन्न । 

डेरा पनि पाइन्न 
डान्स गर्नु भनेको नराम्रो पेशा हैन । डान्सबारमा काम गर्दैमा सबै नराम्रो नै हुन्छन् भन्ने पनि हुन्न । कतिपय घरबेटीले तपाई कहाँ काम गर्नुहुन्छ भनेर सोध्छन् । राति काम गर्ने भन्दा कोठा पनि दिँदैनन् । आखिर यो पनि कामै त हो ।

डेरामा बस्दा को आयो, को गयो भनेर अनावश्यक चियो गर्छन् । भाडा तिरेर बसेपछि डेरावालाको पनि व्यक्तिगत जीवन हुन्छ नै । घरकै सदस्य जस्तो यो भएन त्यो भएन भन्न थालेपछि डेरै छाडेर हिँडे । अहिले जहाँ बसेको छु त्यहाँको घरबेटीलाई सबै थाहा छ । अहिले भने राम्रो व्यवहार छ ।  डान्सबारमा काम गर्दैमा सबै खराबै हुन्छन् भन्ने सोच देख्दा दुःख लाग्छ । 

दोस्रो बिहे गर्छु
गाउकै केटासँग लभ परेर पहिल्यै बिहे भएको थियो । ऊ मगर परिवारको, म लामा । बिहे गरेर गएपछि झगडा परिरहने । ससुराबाले राति १२ बजे निस्केर जा भनेर निकालिदिए । घरबाट निस्केपछि  काठमाडौं आएँ । आफ्नो दुःख त छँदै छ । उसको अहिले बिहे भएर छोराछोरी छन् । मैले बिहे गरेको छैन । अब यो मंसिरमा आर्मीसँग बिहे गर्दैछु । 
                            प्रस्तुति : भोला अधिकारी

 
 

Leave A Comment