स्मोकर सेलिब्रिटी

आइतबार, १७ असार २०७५, ०५ : ४५ शुक्रवार
स्मोकर सेलिब्रिटी

प्रेस मिटमा बोल्न भनेपछि अभिनेत्री माला लिम्बू जिब्रो टोकिहाल्छिन्, कारण– उनलाई प्रस्ट नेपाली बोल्न आउँदैन । फिल्म ‘वन वे’बाट सुरु भएको यो दृश्य गत साता फिल्म ‘पुरानो बुलेट’को घोषणा कार्यक्रमसम्म आइपुग्दा पनि उस्तै देखियो । सधैँझँै यो फिल्मको प्रेस मिटमा पनि मालाले ‘मलाई नेपाली बोल्न आउँदैन’ भन्दै अंग्रेजी नै बोलिन् । 

यतिसम्म त चलेकै थियो तर जब प्रेस मिटमै मालाले आफ्नो अनियन्त्रित चुरोट प्रेम देखाइन्, त्यसले भने पत्रकारलाई आजित बनायो । पत्रकारहरू उनीसँग कुरा गर्न खोज्थे तर उनी ‘एकछिन ल, एउटा सिगरेट लिइहाल्छु’ भन्दै पर्खाउँथिन् । यतिसम्म कि उनले एकपल्ट चुरोट सल्काउन फिल्मका निर्मातालाई नै लाइटर मगाइन् । मालाको अनप्रोफेसनल व्यवहार धेरैलाई पचिरहेको थिएन । वरिपरि टिप्पणी सुनिन्थ्यो, ‘माला कहिल्यै नसुध्रने भइन् !’

प्रेस मिटका अर्का आकर्षण थिए, अनुपविक्रम शाही । उनको अग्लो ज्यान र सुगठिलो शरीर त सधैँ सबैको नजरमा पर्छ नै तर यो पल्ट अर्कै दृश्य नजरमा प¥यो । फिल्मका पाँच निर्मातामध्ये एकलाई जब माला लाइटर मागिरहेकी थिइन्, मालाले सिगरेट पिउन लागेको भेउ अनुपले पाइहाले । मालालाई सोधे, ‘छ ?’ । मालाले ‘छ’ भनेपछि उनीहरू दुवै कुनातिर लागे र सँगै गफिँदै सिगरेट पिए । 

०००
फिल्मभित्र कलाकारले चुरोट पिएको दृश्य त दर्शकले थुप्रैपल्ट देखेकै हो । तर केही नेपाली कलाकारहरु रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि उत्तिकै चुरोटप्रेमी छन् । माला र अनुप त उदाहरण मात्रै हुन्, यसरी आफ्नो ‘स्मोकिङ ह्याबिट’लाई ‘कन्ट्रोल’ गर्न नसक्ने नेपाली कलाकार यहाँ बग्रेल्ती छन् । 
अभिनेता भुवन केसी यस्तै कलाकार हुन् । केही समयअघि शुक्रवारले उनलाई सोधेको थियो, ‘तपाई मदिरा भनेपछि हुरुक्कै हुनुहुन्छ ?’ उनले त्यतिबेला आफू मदिराभन्दा पनि धूमपानप्रेमी भएको स्वीकार गरेका थिए । ‘रक्सी खाएर कहिल्यै लागेको मलाई थाहा छैन किनभने थोरै खाएपछि लाग्ने कुरै भएन । बरु मलाई धूमपान बढी खानुहुन्छ भन्ने अभियोग लगाएको भए सुहाउँथ्यो,’ भुवनले भनेका थिए, ‘म धूमपान असाध्यै धेरै गर्छु । चाहेर पनि छोड्न सकिरहेको छैन तर कोसिस गरिरा’को छु ।’

रेखा थापा अर्की लोकप्रिय अभिनेत्री हुन्, जसको चुरोट पिउने नराम्रो बानी छ । उनी साथीभाइसँगको भेटघाटमा मदिरा पिउँदिनन् तर चुरोट नभई हुँदैन । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी गोप्य ठाउँ खोजेर चुरोट सल्काउन थालिहाल्छिन् । 

अहिलेकी हिट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि चुरोट पिउने लत छ । पत्रकारलाई अन्तरवार्ता दिन पुग्दासमेत उनी चुरोट नलिई बस्न नसक्ने चर्चा फिल्मवृत्तमा छ । 

अभिनेत्री सुषमा कार्की पनि ‘सिगरेट क्रेजी’ भनेर चिनिन्छिन् । गायिका ज्योति मगरको पनि चुरोट लत त्यस्तै छ । निर्देशक निश्चल बस्नेतलाई पनि चुरोटको सर्कोसँग गहिरो प्रेम छ । अभिनेता आयुष्मान देशराज श्रेष्ठ पनि चुरोट एकदमै धेरै सल्काउँछन् । आयुष्मानकी प्रेमिका तथा अभिनेत्री प्रियंका कार्की पनि ‘लुकीलुकी’ चुरोट पिउँछिन् । 

नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल र विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ अहिले प्रेममा छन् । र, यी दुवै स्मोकिङ गर्न रुचाउँछन् । दुवै सँगै बसेर स्मोकिङ गर्छन् । 

भुवनका छोरा अर्थात् अहिलेका हटकेक अभिनेता अनमोल केसीले सार्वजनिक रुपमै चुरोट पिएको पाइएको छैन तर उनी निकटस्थ स्रोतका अनुसार उनी चुरोट भने निकै सल्काउँछन् । 

त्यस्तै अभिनेत्री शिल्पा पोखरेल, सविन श्रेष्ठ पनि ‘सिगरेट लभर’ हुन् । सिगरेट जसरी अहिले आम सर्वसाधारणमाझ सामान्य भइरहेको छ त्यस्तै अवस्था सेलिब्रिटीमाझ पनि छ । सार्वजनिक रुपमै चुरोट पिउनेहरु कम होलान् तर लुकीलुकी चुरोट पिउने कलाकारको जमात भने बाक्लै छ ।

फिल्ममा चुरोट लिएको दृश्य राख्दा स्क्रिनको तल्लो भागमा लेखिएको हुन्छ, ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ ।’ तर यो मामलामा कलाकार नै सचेत देखिएनन् । 
 

Leave A Comment