‘नाटक सिक्नकै लागि बलिउड फिल्म खेलिनँ’

आइतबार, १७ असार २०७५, ०६ : ३७ अनिल यादव
‘नाटक सिक्नकै लागि बलिउड फिल्म खेलिनँ’

हिजोका जासुस रवीन्द्र झा फिल्म ‘जात्रा’बाट कलाकारका रुपमा चिनिए । राष्ट्रिय अनुसन्धान विभागको जागिर छाडेर अभिनयमा होमिएका उनको ‘दुई रुपैयाँ’, ‘फाटेको जुत्ता’, ‘शेरबहादुर’, ‘सुनकेसरी’ लगायत फिल्म आइसकेको छ । ‘जात्रा’मा सहायक पात्रको भूमिका भए पनि उनको कामले तारिफ पायो । रवीन्द्रलाई अहिले फिल्म गर्न भ्याइनभ्याइ छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले ‘चौका दाउ’ फिल्मको काम भइरहेको छ । 

तपाईंको खास जग नाटक हो तर अहिले फिल्ममा बढी सक्रिय हुनुहुन्छ । नाटकलाई माया मारेको हो ?  
नाटक त मेरो मनमा छ, माया कसरी मार्नु ? तर अहिले फिल्ममा बढी सक्रिय छु । एउटा फिल्म सक्न पा’को हुँदैन अर्को सुरु भइहाल्छ । यस्तै भइरा’को छ । 

अहिले त फिल्मको कमी छैन । कुनै समय फिल्मका लागि पनि अयोग्य हुनुभयो होला नि ? 
त्यस्तो कहिल्यै महसुस गर्नुपरेन । मैले कहिल्यै फिल्म खेल्न चाहेकै थिइनँ । अहिलेसम्म जुन–जुन फिल्ममा काम गरेँ, सबैमा मलाई अफर नै गरिएको हो । नाटकमा आउनुअघि एउटा ‘महाकवि विद्यापति’ भन्ने सिरियल खेल्न मैले उत्साहसाथ अडिसन दिन पुगेको थिएँ । कालीचरणको भूमिकामा खेल्ने अवसर पनि पाएँ । १३ एपिसोड चलेपछि सिरियल बन्द भयो तर अभिनयको भोक बाँकी नै थियो ।  त्यसपछि काठमाडौंमा प्लस टु पढाई सक्नेबित्तिकै जनकपुर (गृहनगर) गएँ । त्यहाँ मिथिला नाट्य कला परिषद् छ भने सुनेँ, त्यसै प्रवेश गरे अनि नाटक सिकेँ । त्यहाँ पुगेपछि थाहा भयो– दिल्ली (भारत) मा नाटक झन् राम्रो क्लास हुन्छ रे ! त्यसपछि त्यता लागियो । 

सुनेअनुसार ‘चंखे शंखे पंखे’ फिल्ममा काम गर्दा सुरुमा तपाईंलाई पत्याइएकै थिएन !
‘चंखेशंखेपंखे’अघि मैले ‘१२ नेपाली एक चिहान’ फिल्म गरिसकेको थिएँ । त्यतिबेला म इटहरीमा बसेर रेडियो नाटक निर्माण गर्थें । वसन्तसँग चिनजान थियो । इटहरीमा काम गर्दै थिएँ । फिल्म युनिटबाट फोन आयो, ‘एउटा क्यारेक्टर छ, काम गर्नुप¥यो ।’ कति दिन लाग्छ ? भनेर सोधेपछि जवाफ आयो ‘दुई तीन दिनमा सकिन्छ ।’ त्यसोभए हुन्छ भनेर म काठमाडौं गएको थिएँ तर हप्ता दिनसम्म बस्नुप¥यो । कारण– मलाई देख्दा निर्देशकलाई तराईको मन्त्री क्यारेक्टरमा फिट हुन्छ भन्ने विश्वास नै लागेन । निर्देशक मबाट खुसी नभएको मैले महसुस गरिसकेको थिएँ । फर्किन खोजिरहेको थिएँ तर एक दिन फिल्मको नाइट सुटिङ भयो जहाँ म क्यारेक्टरको हुलियामा स्पटमा पुगेँ । पुग्नासाथ क्यामेराम्यान चकित ! जब मैले सट दिएँ, निर्देशक सुदर्शन थापा झन् चकित ! 

तपाईं आफ्नो फिल्मी करिअरको टर्निङ प्वाइन्ट केलाई मान्नु हुन्छ ?
‘जात्रा’ फिल्म नै हो । 

सुनिएअनुसार तपाईंलाई यही फिल्ममा खेलाउन निर्देशकले निकै ठूलो कसरत गर्नुप¥यो, सही हो ?
सही सुन्नुभयो । खासमा म फिल्म खेल्नु नपरोस् भनेर भागिरहेको थिएँ तर फिल्मले छोडिरहेको थिएन । प्रदीप भट्टराईले ‘जात्रा’का लागि मैले निर्वाह गरेको हजामको क्यारेक्टरमा धेरै खोजी गर्नुभएको रहेछ । उहाँसँग मेरो चिनजान थियो तर दिमागमा म परेको थिइनँ । पछि एकजना साथीले उहाँलाई भन्दिएछ, ‘रवीन्द्रलाई खेलाउँदा राम्रो होला ।’ त्यसपछि प्रदिप सरले मलाई कल गर्नुभयो । बानेश्वरमा चिया भेट भयो । फिल्मको क्यारेक्टरबारे सुनाएर अफर गर्नुभयो । मैले सोधेँ, ‘कति दिन लाग्छ ?’ जवाफ आयो, ‘२८ दिन ।’ मैले सोचेको थिएँ, १–२ दिनमा सकिन्छ । सिधैँ ‘मैले सक्दिनँ’ भनेँ । त्यतिबेला म जनकपुर जाँदैथिएँ । फर्केपछि कुरा गरौँला भनेको थिएँ । यहाँ त उहाँहरु मेरो अफिससम्म पुगेर अनुमति माग्नुभएछ । फर्कंदा त अफिसका साथीहरु ‘बधाई छ, फिल्म खेल्ने हुनुभएछ’ भन्दा म त ट्वाँ । 

‘जात्रा’मा तपाईंलाई खेल्न राजी बनाउन कति दिन लाग्यो नि ?
त्यस्तै १५–२० दिन । 

फकाई–फकाई खेलाएको फिल्मले तपाईंको जीवन नै चेन्ज गरिदियो है ? 
हो नि, त्यसपछि त जात्रैजात्रा पो भयो जिन्दगीमा ! यो फिल्म मेरो जीवनकै टर्निङ प्वाइन्ट बनिदियो । मलाई त फिल्मको सुटिङ सकिँदासम्म पनि प्रदिपजीले मलाई लिड रोलमा राखेर ठूलो रिस्क लिइरहेको महसुस भएको थियो । दर्शकले मलाई के पत्याउलान् भन्ने फिल भएको थियो तर सोचेजस्तो भएन । दर्शकले त मलाई माया पो गरे ! 
 
दुई दशकको अभिनय यात्रालाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ? 
अहिले पनि जब म एक्लै हुन्छु, म ती दिनका पीडाहरु सम्झन्छु । धेरै पीडाबाट गुज्रिएका दिनहरु छन् तर अहिलेका कलाकारलाई त्यति पीडा थिएन । मलाई जे भए पनि दर्शकले सधैँ रुचाए । रेडियो नाटक, स्टेज नाटक र फिल्म जहाँ देखे, त्यतै रुचाए । अर्को कुरा, मिडियाको सपोर्टले पनि मलाई अभिनय गर्ने ऊर्जा मिल्यो ।  

पीडाको कुरा पनि गर्नुभयो । कस्तो–कस्तो पीडा भोग्नुपर्याे ? 
साथीकै आमाबुबाले मलाई गाली गर्थे । साथीलाई मसँग हिँडेकोमा झन् गाली गर्थे । त्यो आवारा–गुन्डासँग किन हिँडेको ? त्यसले पढ्दैन, नौटंकीमात्रै गर्छ भन्दै मेरैअगाडि उनीहरुलाई गाली गर्थे । एकदमै आत्मग्लानि महसुस हुन्थ्यो । मेरो परिवारलाई पनि त्यसले चित्त दुख्थ्यो । त्यसैले मेरो परिवार मलाई नाटक सिकाउने पक्षमा हुनुहुन्थेन तर समय सधैँ एउटै कहाँ हुँदोरहेछ ? मलाई गाली गर्ने तिनै मान्छेहरु आज मलाई मेरो छोरालाई पनि फिल्ममा लगाइदे भन्छन् । 

तपाईंले त राष्ट्रिय अनुसन्धान विभागमा जागिर खानुभएको रहेछ । फेरि कसरी अभिनयतिर आइपुग्नुभयो ? 
हो । जागिर खाएको ५–६ महिनामै छाडे । सायद मेरो मनमा अभिनय नै थियो । मेरो दाइ, बुबा सबै सरकारी जागिरे । बुबालाई म पनि सरकारी जागिरे नै होस् भन्ने थियो । त्यसैले बुबालाई मैले अनेक तिकड्म गरेर फकाउन खोजेँ । मान्नुभएन । त्यसपछि मैले घरमा खाना खान छाडिदिएँ । कम बोल्न थालेँ । आमाले यो कुरा ‘वाच’ गर्नुभएको रहेछ । बुबालाई सुनाउनुभएछ । त्यसपछि फेमिली मिटिङ भयो । छलफलपछि मलाई नाटक सिक्ने अनुमति दिइयो । तीन हजार रुपैयाँ लिएर त्यसपछि म दिल्ली लागेँ । दिल्लीमा नेसनल स्कुल अफ ड्रामाभित्रै रहेको आदि नाट्य दृष्टिमा आवेदन दिएँ । जम्मा २० जनाको कोटा रहेछ । ८ जना महिला र १२ जना पुरुष । हजारौंले फर्म भरेका थिएँ । परीक्षा र इन्टरभ्यु नै तीन महिनासम्म चलेको थियो । जुन दिन नाम निस्क्यो, त्यो दिन भित्तामा रवीन्द्र झा पनि पास भएको देखेँ । 

तपाईंको नजरमा अहिले नेपाली फिल्ममा मधेस र मधेसीको उपस्थिति कस्तो छ ? 
उत्साहजनक छ । अहिले मधेसले नेपाली फिल्ममा पुलको काम गरिरहेको छ । अधिकांश फिल्मको स्क्रिप्ट मधेस पस्न थालेको छ । त्यही भएर तराईमा पनि नेपाली फिल्म चल्न लागेको छ । मधेसी कलाकार पनि मिथिला नाट्य क्षेत्रबाटै खोज्न थालिएको छ । नेपाली फिल्ममा बल्ल मधेसको खास सुगन्ध पाइन थालेको छ । 

तर मधेसी चरित्रलाई धेरैजसो मजाक बनाउने र दर्शक हँसाउने हिसाबले प्रयोग गरियो भन्ने टिप्पणी पनि छ नि ! ‘जात्रा’मा तपाईंले अभिनय गरेको हजामको रोल स्टेरियोटाइपको भयो भन्नेहरु सुनिएकै हो । यसबारे के भन्नुहुन्छ ?
‘जात्रा’मा मैले गरेको क्यारेक्टरको कुरा गर्ने हो भने त्यो आवश्यक थियो । एउटा सानो चोकको कथा थियो । जहाँ नाईको पसल आवश्यक थियो । त्यहाँ कुनै पनि एंगलबाट पात्रलाई हेपिएको थिएन । त्यस्तो भएको भए म काम गर्दिन थिएँ । जहाँसम्म फिल्ममा मधेसीको चरित्र चित्रणको कुरा छ, मैले त अवस्था अहिले राम्रै देखेको छु । केही फिल्मले खराब नियतका साथ चरित्र चित्रण गरेका पनि होलान्, तर म यसमा कलाकार सचेत हुनुपर्छ भन्छु । जस्तो रोल दिए पनि खेलिहाल्नु हुन्न । हँसाउनकै लागि भनेर कुनै समुदायको खिल्ली उडाउनु राम्रो होइन । 

तपाईं त मनोज बाजपेयीको फिल्म ‘पिन्जर’मा अडिसन दिएर पास पनि हुनुभएको थियो रे !
हो, तर म त्यतिबेला नाटक पढिरहेको थिएँ । एक दिन हाजिर मिस गर्दा स्पष्टीकरण दिनुपथ्र्यो नत्र स्कुलले निकालिदिन्थ्यो । मसँगै पढ्ने एकजना महिला कलाकारले पनि अडिसनबाट नाम निकाल्नुभएको थियो । उहाँले स्कुल छोड्नुभयो र फिल्म खेल्नुभयो । मैले स्कुल रोजे, फिल्म छोडेँ ।  फिल्ममा मैले १–२ डायलग बोल्न पाउँथे होला तर क्लास छोडेको भए धेरै कुरा सिक्नबाट वञ्चित हुन्थेँ । जनकपुरबाट कष्ट गरीगरी नाटक सिक्न आएको खेर जान्थ्यो । 


धेरै नेपाली कलाकारको लक्ष्य बलिउड हुन्छ तर तपाईं किन नेपाल फर्किनुभयो ?
तपाईं बलिउडको कुरा गर्नुहुन्छ, मेरो त नेपाली फिल्म खेल्ने पनि लक्ष्य थिएन । मलाई त जनकपुरमै फर्केर मिथिला नाटकको विकास गर्नु थियो । काम गरेँ पनि । धेरैलाई सिकाएँ । धेरै नाटक गरेँ । नाटकको वर्क सप पनि चलाएँ । 

नाटकको त्यस्तो भुत भएको मान्छे अहिले कसरी फिल्मतिर ? 
अघि भनिसकेँ, नाटक अझै मनमा छ । अभिनय अझै गरिरहेकै छु । अर्को कुरा अचेल फिल्ममा थिएटरबाटै आएका कलाकारले राम्रो गरिरहेका छन् । 

यतिबेला फिल्म समीक्षक नवीन सुब्बाको एउटा टिप्पणी याद आयो, ‘फिल्म र थिएटरको एक्टिङ फरक हुनुपर्छ तर फरक भएन ।’ के भन्नुहुन्छ ?
उहाँले कुन हिसाबले यसो भन्नुभएको त्यो त थाहा भएन तर मेरो नजरमा फिल्म र थिएटर बीचको फरक भनेको नाटकको फ्रेम सानो र फिल्मको ठूलो हुन्छ । नाटक मञ्चमा पुगेपछि निर्देशकको हातमा हुन्न तर फिल्मको अभिनय पुरै निर्देशकको हातमा हुन्छ । फरक त यस्तैयस्तै हो । 

अर्को कुरा, तपाईंले त आफ्नो जीवनसाथी पनि नाटकबाटै भेट्नुभयो है ! 
(मुस्कुराउँदै) । हो, मेरी श्रीमती प्रियंका झा मभन्दा पनि खतरा कलाकार हुन् । उसले त अवार्ड पनि धेरै पाएकी छन्, बरु मैले अहिलेसम्म पाएको छैन । पाएको भनेको प्रमाणपत्र मात्रै हो । 

तर उहाँ फिल्ममा त्यति देखिनुहुन्न नि ?
ऊ र मैले ‘जात्रा’मा सँगै काम गर्यौँ । त्यसपछि गरेका छैनौँ । उसको बढी रुचि नाटकमै छ । त्यसैले नाटकतिर बिजी छ । 

तपाईंहरुको काम गर्दागर्दा लभ परेको हो ?
त्यस्तो पनि होइन । हामीबीच बिहे गर्न पाए हुन्थ्यो भन्नेखालकोे भावना कहिल्यै आएन । म त एउटै संस्था (मिथिला नाट्य) को मान्छे बिहे गर्नुहुन्न भन्ने लाइनमा थिएँ । हामी दुईले चलाउने ‘१२ मसला १३ स्वाद’ नामको मैथिली हास्यव्यंग्य कार्यक्रम खुब हिट थियो मिथिला क्षेत्रमा । त्यो कार्यक्रम सुनेर श्रोताहरु हामीलाई गाउँगाउँबाट भेट्न आउँथे । हाम्रो नाटकको जोडीलाई अग्रजहरुले नै रियल जोडीका रुपमा देख्न चाहे ।  नाटकका अग्रजहरुले नै हामी दुवैको घरमा कुरा मिलाएर हाम्रो बिहे गराइदिएका हुन् । 
तपाईंले काम गरेका फिल्म हलमा हिट हुन्/नहुन्, तपाईंको काम सधैँ हिट हुन्छ । तपाईंको विचारमा फिल्मको व्यापारले कलाकारको करिअरमा असर गर्छ÷गर्दैन ? 
असर त गरिहाल्छ नि ! जति फिल्म हिट भयो, त्यति उसको काम दर्शकमाझ पुग्ने हो । अर्को कुरा निर्माताका लागि पनि फिल्म त चल्नैपर्यो । इन्डस्ट्री पनि बाँच्नुपर्यो तर इन्डस्ट्री बचाउने नाममा जस्तो फिल्म बनाए पनि हुन्छ भन्ने हुन्न ।  इन्डस्ट्रीले दर्शकलाई पनि त राम्रो प्रसाद दिनुपर्यो नि ! राम्रो स्क्रिप्ट दिनुपर्रयो, राम्रो फिल्म बन्नुपर्यो । 

आफूले पाएको भूमिका न्याय गर्न तपाईं कत्तिको मिहिनेत गर्नुहुन्छ ?
म स्क्रिप्ट पाउनासाथ दुई पल्ट पूरै पढ्छु । एकैपल्ट फिल्मबारे पूरै जान्नलाई पढ्छु । अर्को मेरो क्यारेक्टरबारे गहिरिएर बुझ्नलाई पढ्छु । अनि त्यस्तै रियल क्यारेक्टर खोज्छु र नियाल्छु । सुटिङको एक दिनअघि नै मेरो सिनबारे खबर गर्न डिरेक्टरलाई अनुरोध गर्छु । त्यो सिनको डायलग अघिल्लो दिन पढ्छु । त्यसपछि एकैपल्ट सेटमा पढ्छु । सेट पुग्नासाथ फिल्मको लुगा लगाउँछु, मेकअप गर्छु अनि क्यारेक्टरमा डुब्छु । यताउता ध्यान दिन्नँ । यही हो मेरो काम गर्ने स्टाइल ।

त्यो के हो जो तपाईंको बारेमा धेरै दर्शकलाई थाहा छैन ? 
अरु त धेरै थाहा हुनुपर्ने हो । दर्शकले फिल्ममा मलाई जति देखिरहनुभएको छ, म त्यति मात्रै होइन । मलाई लाग्छ, मलाई निर्देशकले राम्रोसँग प्रयोग नै गर्न सकेका छैनन् । त्यस्तो कुनै क्यारेक्टर छैन होला जसलाई म निर्वाह गर्ने हिम्मत गर्दिनँ । 

तपाईंको पहिचान त नेपाली फिल्ममा कमेडी कलाकारको रुपमा बन्दैछ !
हो । धेरैले मेरो अभिनय हेरेर हाँसिरहेका छन् । कमेडी रोल नै बढी पाइरहेको छु । तर म ठोकुवासाथ भन्छु, म कमेडी स्वादको मान्छे मात्रै होइन । म अरु स्वाद पनि दिन सक्छु । 
 

Leave A Comment