कन्फ्युज्ड पुस्ता

बुधबार, २० असार २०७५, ०६ : ४४ प्रजु पन्त
कन्फ्युज्ड पुस्ता

ए प्लस वा ए आए साइन्स । डाक्टर त पक्का !
बि आएछ भने म्यानेजमेन्ट । बैंकको सिइओ या चार्टर एकाउन्टेन्ट । परिआए इन्जिनियर पनि बनौँला । 
त्यो भन्दा तल आए ठीकै छ, त्यही मानविकी पढ्नु पर्ला । राजनीति, पत्रकारिता, समाजशास्त्र छँदैछ ।
एसएलसीबाट नाम परिर्वतन भएर एसईई त बन्यो । बोर्ड फस्ट, प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणीको पद्धति परिर्वतन भयो तर विडम्बना हाम्रो मानसिकता उस्तै छ अझै ।

११ र १२ कक्षालाई सरकारले विद्यालय स्तरमै प्रवेश गराए पनि यो शैक्षिक तह भनेको भावि गन्तव्य निश्चित गर्ने प्रवेश विन्दु हो । भविष्यमा के बन्ने र कसरी बन्ने भन्ने यात्रा तय यही विन्दुबाट हुन्छ । 

सूचना प्रविधिको विकासले विश्व पकेटमा अटाइसक्यो तर के गर्नु ? मानसिकता भने उही छ । मेरो क्षमता के हो ? मलाई मनपर्ने विषय के हो ? मैले कुन विषयमा राम्रो गर्नसक्छु भनेर मूल्यांकनका आधारमा हैन, कति प्रतिशत आयो भने केमा भर्ना हुन सकिन्छ ? मेरो साथीहरु कुन विषय पढ्छन् ? अनि मेरा अभिभावक के चाहन्छन् ? त्यसैका आधारमा जोखिमपूर्ण गन्तव्य सुरु हुन्छ, हाम्रा किशोर–किशोरीको ।
समय र परिस्थिति बद्लिइसक्यो । कतै मानसिकता पनि बदलियो कि ?

एसईईको नतिजापछि कक्षा ११ को भर्नाका लागि विद्यालयमा लागेका लाइनहरुमा बसेकाहरुको मनस्थिति बुझ्दा सामाजिक सञ्जालमा फेरिएको चेतना समाजमा फेरिएको छैन । अहिलेको किशोर पुस्ता हिजोको भन्दा केही स्मार्ट त छ तर अझै कन्फ्युज छ ।

यो निष्कर्ष त्यत्तिकै निकालिएको हैन । एसईईको नतिजापछि नयाँ स्कुल भर्नाका लागि तँछाडमछाड गरेकाहरुबीच पुगेर अन्तक्र्रिया गर्दा निस्किएको निष्कर्ष हो ।
..................
शुक्रवारकर्मी मंगलबार काठमाडौं उपत्यकाका विभिन्न कलेज पुग्ने क्रममा माइतीघरस्थित अधिकांशको सपनाको कलेज मानिने सेन्ट जेभियरमा पुग्दा एउटा कुनामा एक्लै फर्म भरिरहेको अवस्थामा भेटिए, ओखलढुङ्गाका गणेश कार्की  । 

कक्षा १० सम्म ओखलढुंगामै पढेर उनी काठमाडौं भित्रिएका रहेछन् । 
कुन विषय छान्नुभयो त ? 
‘हेर्नु न दिदी ए प्लस आउँछ भन्ने थियो, ए मात्र आयो । मलाई पहिलेदेखि रिसर्च गर्न मन थियो । साइन्स पढूँ कि भन्ने लागेको छ ।’
त्यहीँ भेटिए आदिश्री आचार्य र कुसुम खड्का । दुवै जना फर्म भरिरहेका थिए । 
केको  फर्म भरिरहनुभएको ?
मुसुक्क हाँसे दुवै किशोरी । 
‘कलेज पढ्नलाई फर्म भरेको,’ उमेर अनुसारको चलाखी देखाए उनीहरुले ।
‘त्यो त थाहा छ नि ! कुन विषय पढ्न खोजिरहनु भएको छ पो भनेको त । तपाईंहरुले कुन विषय लिने निर्णय गर्नुभयो ?’
उनीहरुले एकै स्वरमा भने, ‘साइन्स ।’ 
अपेक्षित थियो उत्तर ।
‘किन साइन्स छान्नुभएको ?’
आदिश्री अगाडि सरेर बोलिन्, ‘मलाई त साइन्सबाहेक अरु विषय पढ्ने विषय हो जस्तै  लाग्दैन । विज्ञान पढेपछि सकिएन भने पनि अरु विषय पढ्न बाटो खुल्छ ।’
उत्तरबाट प्रस्ट भयो साइन्स पढेर निश्चित विषयमा दख्खल राख्नसक्छु भन्ने आत्मविश्वास थिएन । बरु कुसुम खड्का अलि क्लियर देखिइन् । 

‘म त एमविविएस पढ्न साइन्स लिन लागेको हो ।’
उनीहरु  दुवै जना उच्च  शिक्षाका लागि दाङ तुल्सीपुरबाट काठमाडौँ आएका रहेछन् । 
दुवै बानेश्वर बस्ने । आदिश्रीले हजुरबुबा र खड्काले दाजुहरुसँग बसेर अध्ययन गर्ने बताइन् । 
...................
साइकोलोजिस्ट सृष्टि श्रेष्ठको परिभाषामा किशोरावस्था भनेको हुरीजस्तै हो । एकदमै छिटो बत्तिएर आउने अनि धेरै नटिक्ने मनोभावना हुन्छ उनीहरुमा । यस उमेरमा गरिने निर्णय पनि उस्तै हुन्छ । हेर्दा जे पनि सहज लाग्छ तर जटिल हुन्छन् आउने बाटाहरु ।

हेर्दा अहिलेका किशोर–किशोरी आफ्नाबारे आफैं निर्णय गर्न सक्षमझैँ देखिन्छन् तर वास्तवमा उनीहरु सक्षम छैनन् । समय बद्लियो तर समाज बदलिएको छैन । परिवारको मानसिकता उस्तै छ । 
अझै यहाँ क्षमता र रुचिको आधारमा भावि बाटो तय हुन्न । अभिभावकको सपना लादिन्छ यहाँ अझै । आफ्नोबारे आफैँ निर्णय गर्न हाम्रा किशोर–किशोरी अझै स्वतन्त्र छैनन् । सामाजिक प्रतिष्ठासमेत जोडिन्छ कहीँकतै ।

‘किशोरावस्था भनेको संक्रमणकाल हो,’ मनोविद् गंगा पाठकले भनिन्, ‘यो बेलामा शारीरिक, मानसिक तथा भावनात्मक संवेगात्मक परिवर्तन देखा पर्छन् । यस उमेरमा शरीर त परिवर्तन भई नै हाल्छ, मानसिक रूपमा पनि ठूलो केही परिवर्तन हुने भएकाले अभिभावक सचेत हुन आवश्यक छ ।’

परिवारका सदस्यले आफूलाई कसरी हेरिरहेका छन्, समाजले कसरी हेरिरहेको छ भन्ने पाटोमा किशोर–किशोरी सचेत हुन्छन् । आफूलाई परिवार र समाजले हेर्ने दृष्टिकोणको आधारमा उनीहरुले आफ्नो दृष्टिकोण बनाइरहेका हुन्छन् । 

‘परिवारले जस्तो इन्पुट दियो उस्तै आउटपुट निस्कन्छ,’ मनोविद् श्रेष्ठले भनिन्, ‘हाम्रोमा आफूले भनेको जस्तै होस् भन्ने चाहना बढी देखिन्छ । यो राम्रो हैन ।’

श्रेष्ठ सबैको धारणा बुझ्ने, असल र खराब पाटो छनोट गर्ने र सामूहिकताका आधारमा निर्णय गर्ने ‘डेमोक्रेटिङ प्यारेन्टिङ’ को अभ्यास गर्न अभिभावकलाई सुझाव दिन्छिन् । 

पोखरा विश्वविद्यालयका प्राध्यापक एलपी भानु शर्मा अहिलेको किशोर–किशोरीको मुख्य चुनौती नै अरुको प्रभावबाट बच्नु रहेको बताउँछन् । पहिले आफ्नो स्वभावको पहिचान गरेर निर्णय गर्नु नै बुद्धिमतापूर्ण हुने उनको मत छ । 

‘अरूको प्रभावमा परेर क्षमताभन्दा बाहिर जाँदा आउने नतिजा दुःख नै हो,’ उनले भने, ‘बजारमा कुन विषय चल्छ त्यतातर्फ नहेरौँ । आफू कुन विषयमा राम्रो गर्न सक्छौँ त्यो हेरौँ । स्वभावलाई हेरौँ, आफूतिर फर्किऔँ ।’
....................
तर सबै उस्तै कहाँ हुन्छन् र ! यस्तै एक अभिभावक पनि भेटिए मालीगाउँका बुद्धिराम बिष्ट । उनी थापाथलीस्थित एभरेस्ट कलेजको प्राङ्गणमा फर्म भरिरहेका थिए, छोरीका लागि । नजिकै उभिएकी थिइन् उनकी छोरी ।
उनको हातमा साइन्सको फर्म थियो । 
‘साइन्स पढाउने तपाईंको इच्छा कि छोरीको ?’

‘छोरीले एसईईमा ए प्लस ल्याई अनि साइन्स पढ्छे रे ! त्यही भएर भर्ना गर्न आटँेको,’ बिष्टले भने ।
नजिकै बसेर बाबुले फर्म भरेको हेरिरहेकी छोरी सफला बिष्टले आफ्नै इच्छाले साइन्स रोजेको बताइन् ।
‘ड्याडीले त आफूलाई जे मन पर्छ, त्यही पढ भन्नुभएको थियो,’ सफलाले भनिन्, ‘मलाई त वैज्ञानिक बन्ने धोको छ । त्यही भएर साइन्स रोजेको ।’

त्यसपछि शुक्रवारकर्मी बानेश्वरको नेपाल मेगा कलेज पुग्यो । गेटमा नै करिब आधा दर्जन  विद्यार्थीसँग जम्काभेट भयो । समूहमा दुई किशोरी र चार किशोर थिए । सबै महेन्द्रनगरबाट आएका थिए, राजधानीमा उच्च शिक्षाका लागि । धेरै कलेज चहारिसकेका उनीहरुले कहाँ, के पढ्ने निश्चित भने गरिसकेका थिएनन् ।
........... 
प्राध्यापक शर्मा धेरैजसो अभिभावकले छोराछोरीलाई के पढाउने भनेर सोध्ने चलन रहेको बताउँछन् । उनको दृष्टिमा यो सन्तानको जीवनको अपमान हो । 

‘गुणात्मक क्षमता भएको मान्छेले यस्तो प्रश्न गर्दैन,’ उनी भन्छन्, ‘छोराछोरीलाई यो विषय पढ्, यो काम गर्, योसँग विवाह गर् भनेर सिधै निर्णय गर्ने चलन छ । उनीहरुलाई सोध्ने, उनीहरुलाई स्वतन्त्र भएर उनीहरुको जीवन बाँच्न दिने चलन छैन । यस विषयलाई संवेदनशील आँखाले हेरौँ । सजिलो हैन, सहज खोजाैं।’

मनोविद्हरु बाल्यकाल पार गरेर किशोरावस्थामा प्रवेश गरेकाहरुमा आफू बुझ्ने क्षमताको भइसकेको भान हुन्छ तर वास्तवमा उनीहरु के सही के गलत भन्ने निर्णय गर्ने अवस्थामा पुगिसकेका नहुने बताउँछन् ।
मनोविद् श्रेष्ठ अभिभावकले आफ्नो एकोहोरो इच्छा लाद्दा किशोर–किशोरीमा मानसिक समस्या आउन सक्ने सचेत गराउँछिन् । यसरी लाद्दा त्यसको नतिजा भयावहसमेत हुनसक्छ ।

एउटा रिपोर्ट हेरौँ न !

अभिभावकका लागि पढिदिएका बच्चाहरु छिट्टै कुलतमा फँस्ने सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएका छन् । यसबाट उनीहरुको भविष्य त बर्बाद हुन्छ नै, देशले समेत सक्षम नागरिक गुमाउँछ । 
लागूऔषध प्रयोगकर्ताको विषयमा विद्यावारिधि गरेका आशीष सिन्हाका अनुसार, १४ देखि २६ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी दुव्र्यसनको सिकार बनेका छन् । 

यो र यस्ता समस्या आउनुमा आफ्ना सन्तानको निरन्तर निगरानीको अभाव त हो नै, इच्छा विपरीत दिइने दबाबको पनि कम भूमिका हुँदैन । विज्ञहरुको मतअनुसार किशोर–किशोरीलाई दबाब हैन, समन्वय गर्नु बुद्धिमानी हुन्छ । कन्फ्युज्ड पुस्तालाई आफ्नो चाहना थोपरेर थप कन्फ्युज्ड बनाउने हैन, विकल्प सहितको परामर्श दिनु उत्तम उपाय हुने विज्ञहरुको धारणा छ ।
 

तस्बिर : ११ कक्षाा भर्नाका लागि कलेज छान्न हिडेका विद्यार्थी ।

Leave A Comment