डिभोर्सको नाटक

आइतबार, ०९ साउन २०७३, १० : ५८ अम्मर जिसी , Kathmandu
डिभोर्सको नाटक

नेपाली समाजमा सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढिरहेको छ । नक्कली बिहे र नक्कली सम्बन्ध विच्छेदका घटना पनि देखिने गरेका छन् । विदेश जानका लागि, ऋणबाट मुक्त हुनका लागि, कसैलाई ठग्नका लागि डिभोर्सको दुरुपयोग गर्नेहरू भेटिइन थालेका छन् । ‘कोर्ट म्यारिज’ र डिभोर्ससम्बन्धी व्यवस्थाको दुरुपयोगबारे अम्मर जिसीको रिपोर्ट ।

भोलि नै भत्काउँछु भनेर कसले घर बनाउँछ होला ? आफ्नै विवाह र त्यही वैवाहिक सम्बन्ध विच्छेदलाई विभिन्न खाले स्वार्थ अनुकूल प्रयोग गर्न खोज्नेहरूलाई देख्दा लाग्छ, उनीहरू भत्काउनकै लागि नयाँ घर बनाउँदै छन् । र, लगत्तै भत्काएरै पनि छाड्छन् । त्यसबाट प्राप्त मुनाफाले मालामाल बन्छन् । यसरी कागजी बिहे (कोर्ट म्यारिज) र सम्बन्ध विच्छेदको व्यवस्थालाई नै दुरुपयोग गर्न पुरुष÷महिला दुवै उद्यत छन् । यस्ता कृत्यले पेशेवर रूप नै धारण गर्न थालेको कानुन व्यवसायी तथा अदालतका कर्मचारीहरूको अनुभव छ ।  
सम्बन्ध विच्छेदः ठगीको एक हतियार
वैधानिक तथा अवैधानिक तवरबाट श्रीमतीका नाममा ऋण लियो । ढुकुटीसुकुटी खेलाएर लाखौँ रुपैयाँ उठायो । यो दायित्वबाट पन्छिन खोज्नेहरू सम्बन्ध विच्छेदलाई नै हतियार बनाउने प्रयास गर्छन् ।
श्रीमान्, श्रीमतीकै राजीखुशीमा अंश दाबी नगर्ने गरी सजिलै सम्बन्ध विच्छेद भएको जोडी हो, ललितपुरका सुविन्द्र श्रेष्ठ र गीता थापाको । फैसला भएको दुई महिनापछि गीताविरुद्ध ठगी आरोपमा उजुरी परेपछि थाहा लाग्यो, सम्बन्ध विच्छेदलाई उनीहरूले ठगीको एक हतियारमात्र बनाउन खोजेका रहेछन् ।
ठगी आरोप प्रमाणित भइहालेको अवस्थामा सामान्य सजाय भुक्तान गर्दा छुटकारा मिलिहाल्ने विश्वाससाथ उनीहरूले यस्तो नाटक रचेका थिए । श्रीमतीका नाममा चल÷अचल सम्पत्ति केही नभएको र श्रीमान्सँग अलग्गिएको प्रमाण जुटाउन चाहन्थे उनीहरू । आकर्षक ब्याजको लोभ देखाउँदै उठाएको लाखौँ रुपैयाँसहित चल÷अचल सम्पत्ति सबै आफूले कुम्ल्याएर सहमतिमा श्रीमतीसँग सुविन्द्रले सम्बन्ध विच्छेद गरेका थिए । हाँसीखुशी घरबार चलाइरहेको जोडीले एक्कासि डिभोर्स गरेको सुन्दा आफन्त र छरछिमेकी तीनछक परेका थिए ।
‘पैसा उठाउन घरमा जाँदा सुविन्द्र उनी (श्रीमती) घरबाट भागिसकेको र आफूहरूको डिभोर्स भइसकेको भन्थे,’ ठगी उजुरी दिनेमध्येका एक सुजन लामाले भने, ‘अर्कासँग भएको कारोबारको किचकिच मसँग नगर्न भन्दै सुविन्द्र उल्टै हामीलाई हपारेर पठाउँथे । सबैतिर बुझेपछि थाहा भयो, उनीहरू कागजी रूपमा मात्र छुटेका रहेछन् ।’ ठगीको उजुरीपछि प्रहरीले गीताको खोजी भइरहेको मात्र बताउने गरेकाले आफूहरूले उनीमाथि कारबाही हुने आश मारिसकेको सुजनले बताए । उनका अनुसार दर्जनौँ व्यक्तिको ८० लाख हाराहारी ठगेको आरोप छ, सुविन्द्र–गीता जोडीलाई ।
अमेरिका पठाइदिन्छु भनेर ६० लाख रुपैयाँ ठगेको आरोप छ, कृष्ण दंगालविरुद्ध । उनी अरूलाई उता पठाउनुको साटो विद्यार्थीको लाखौँ ठगेर आफैँ अमेरिका कुलेलम ठोकेका रहेछन् । सबै सम्पत्ति श्रीमतीका नाममा गरेर सम्बन्ध विच्छेदको कागज बटुलेर ठग्ने उनको योजना थियो । पीडित दुईजना विद्यार्थीले दर्ता गरेको ठगी मुद्दामा कृष्णविरुद्ध काठमाडौँ जिल्ला अदालतले फैसला गरेको चार वर्ष कैद समेत भुक्तान भएको छैन । ‘घरमा जाँदा उनकी श्रीमती ‘डिभोर्स पेपर’ देखाउँदै हामीलाई ‘प्रहरी लाएर लखेटौँ’ भन्दै धम्क्याउँथिन्,’ पीडितमध्येका एक विद्यार्थीले भने, ‘डिभोर्स त नाटक मात्र रहेछ । यही नाटकमा उसले हाम्रो सपना चकनाचुर पारिदियो । लाखौँ रुपैयाँ डुबाइ पनि दियो ।’ उनका अनुसार ठगी आरोप सामसुम भएपछि मिलापत्र गरेर फेरि बिहे गरेको कागज बनाएर श्रीमतीलाई पनि अमेरिका लाने योजना कृष्णको थियो । अन्य दर्जनौँ विद्यार्थी ठगिएको भए पनि अदालती झमेला भन्दै उजुरी गर्ने आँट नगरेको ती पीडित विद्यार्थीले बताए ।
देखावटी सम्बन्ध विच्छेद
मेनपावर व्यवसायी थिए, राजु सापकोटा । विदेश पठाइदिन्छु भनेर लाखौँ रुपैयाँ असुलेको तर नपठाएको उजुरी प्रहरीमा प¥यो । उनीविरुद्ध यसअघि नै ठगीका तीनटा उजुरी परिसकेका थिए । घरमा पैसा असुल्न आउनेहरूको घुइँचो लाग्न थाल्यो । उनकी श्रीमतीले चलाएको होटल र बारमा समेत पीडितहरू थुप्रिन थाले ।
मेनपावर बन्द गरेर विदेशतिर टाप कस्ने योजना बनाए उनले । सँगै सम्बन्ध विच्छेदको नाटक रचेर श्रीमतीलाई पनि त्यसबाट जोगाउने ‘मास्टर प्लान’ बन्यो । योजनाअनुसार नै श्रीमतीले सम्बन्ध विच्छेद मुद्दा अदालतमा दर्ता गरिन् । माग गरेजति नै सम्पत्ति चुपचाप पाएकी राजुकी श्रीमतीले शुक्रवारसँग यसबारे ‘केही पनि नबोल्ने’ बताइन् । राजुबाट आफू ठगिएको बताउनेहरूको लर्को होटलमा जम्मा हुन थालेपछि उनले प्रहरी लाएरै लखेट्न थालिन् । ‘कत्रो हिंसा सहेर आफूले त बल्लतल्ल त्यो (राजु) बाट छुटकारा पाएकी छु, उल्टै मसँग उसको हिसाब मागेर हिंसा गर्ने ?’ अदालतको फैसला प्रति र नगरपालिकाबाट पाएको प्रमाणपत्र देखाउँदै उनी भन्ने गर्छिन्, ‘ऊसँग मेरो नाता तोडिइसक्यो ।’ उनका एक छिमेकीका अनुसार राजुले श्रीमतीकै सहमतिमा ‘कागजमा मात्र हुने गरी’ भन्दै सम्बन्ध विच्छेद गरेर घर छाडेका हुन् ।
काठमाडौँ, ढुंगेअड्डाकी प्रमिला रेग्मी (नाम परिवर्तन) ले सम्बन्ध विच्छेद गरेको वर्षदिन पुग्यो । उनलाई अहिले देखावटी सम्बन्ध विच्छेद गरेको आरोप लागेको छ । सम्बन्ध विच्छेदपछि उनले श्रीमान्बाट काठमाडौँको एउटा घर र केही नगद प्राप्त गरेकी थिइन् । लगत्तै आफूभन्दा आठ वर्ष कान्छो केटासँग बिहे गरिन् । दोस्रो पटक बिहे गरेको केटा जानकारी नदिएरै सम्पर्कविहीन भएको बताउने प्रमिलाले पहिलेकै श्रीमान्सँग फेरि सम्बन्ध बढाएपछि उनीमाथि शंका गर्नेको संख्या बढेको हो । उनले दोस्रो पटक बिहे गरेको केटा सुनचाँदीपसले थिए । सुन र पैसा लुटेर आफ्नो भाइ नै बेपत्ता पारिदिएको भन्दै ती दुलाहाका दाइ पूर्ण विश्वकर्माले उजुरी दिने तयारी गरेका छन् । ‘उनीहरूका बूढाबूढी मिलेर मेरो भाइलाई फसाए,’ पूर्णले भने, ‘डिभोर्सको पेपर देखाएर मेरो भाइलाई ठगियो । लुटियो । अन्तिममा बेपत्ता नै पारियो ।’  
विदेश सपना पूरा गर्न नाटकीय डिभोर्स
काठमाडौँ, बौद्ध बस्ने एउटा तामाङ जोडी अधिवक्ता मुना उपाध्यायकहाँ आइपुग्यो । सम्बन्ध विच्छेद गर्न चाहन्थे उनीहरू । कुरा बुझ्दै जाँदा थाहा भयो, कोही युरोपियन केटीसँग विवाह गर्न ती श्रीमान्ले श्रीमतीको सहमतिमा डिभोर्स गर्न चाहेका रहेछन् । जुम्ल्याहा बच्चा बोकेर आएकी ती महिलालाई कानुन व्यवसायी र परामर्शदाताले निकै सम्झाउने प्रयास गरे । तर, उनले कसैगरी मुद्दा दर्ता गरिहालिन् र फैसला पनि भयो । ‘सुरुमै हामीले धेरै सम्झाउन खोज्यौँ,’ अधिवक्ता उपाध्यायले भनिन्, ‘उनी एकोहोरो ‘म्युचुअल अन्डरस्ट्यान्डिङ’को कुरा गर्न थालिन् । मैले किन डिभोर्स गर्न नपाउने भनेर प्रतिप्रश्न गर्न थालिन् ।’ अहिले सम्बन्ध विच्छेद गरेर युरोप गएपछि उताकीसँग डिभोर्स गर्ने ती श्रीमान्को योजना थियो । श्रीमती श्रीमान्बाट आफूले धोका नपाउनेमा विश्वस्त थिइन् । उनीहरूको सम्बन्ध विच्छेद भएरै छाड्यो ।
अधिवक्ता उपाध्यायका अनुसार विदेश जाने सपनाकै कारण आफ्नो वैवाहिक सम्बन्धलाई विच्छेद गरेर अर्को व्यक्तिसँग किर्ते बिहे गर्न खोज्ने ट्रेन्ड बढेको छ ।
मनोविद् कञ्चन रावतको भनाइमा विवाह र सम्बन्ध विच्छेदलाई चानचुने कुरा सम्झने र यसमा खेलाँची गरेर आफ्नो स्वार्थ पूर्ति गर्न सकिन्छ भन्ने मनोविज्ञानले यस्ता घटना बढ्दै गएका छन् । ‘‘हिडेन डिजायर’हरूबाट प्रेरित भएर बिहे गर्छन् । जानाजान नक्कली विवाहसमेत गर्न पछि पर्दैनन्,’ उनले भनिन्, ‘यसैगरी सम्बन्ध विच्छेद पनि फाइदाकै लागि गर्न चाहन्छन् । विवाह र सम्बन्ध विच्छेदलाई खेलाँची ठान्ने मनोविज्ञानले यसो भइरहेको छ ।’ कसैलाई ‘पर्सनालिटी डिसअर्डर’ले समेत समस्या पारिरहेको उनको भनाइ छ । धेरैसँग सम्बन्ध राख्न खोज्ने प्रवृत्ति यसको लक्षण हो । ‘उनीहरू आफूले चाहेको मान्छेसँग सजिलै सम्बन्ध बनाउन सकिन्छ भन्ठान्छन्,’ उनले भनिन्, ‘त्यस्ता सम्बन्धहरू तोड्न पनि सजिलो ठान्छन् । र, पटकपटक बिहे गर्ने र तोड्ने गर्छन् । विवाह र सम्बन्ध विच्छेदले कसैको जीवनमा कति गहिरो अर्थ राख्छ भन्नेतिर सोचेकै हुँदैनन् ।’
पटकपटक सम्बन्ध विच्छेद गर्नेहरू यो व्यवस्थालाई दुरुपयोग गर्न उद्यत छन् भन्छिन्, अधिवक्ता सरस्वती श्रेष्ठ । ‘केही समयअघि तेस्रो पटक सम्बन्ध विच्छेद गर्न आएकी एक महिलाबारे बुझ्दा उनले बिहे गर्ने र ठग्ने अनि डिभोर्स गर्ने गरेको थाहा भयो,’ उनले सुनाइन्, ‘डिभोर्सलाई फाइदाका दृष्टिले हेर्नेहरू पनि छन् । कैयौँ महिलासँग डिभोर्स गरिसकेका पुरुष पनि हुन्छन् । तर, महिला सीधै अदालत जान पाउने व्यवस्थाले महिलाहरू नै बढी डिभोर्स गर्ने गरेको जस्तो देखिन्छ ।’
विवाहको हप्तादिनमै सम्बन्ध विच्छेद गर्न खोज्नेहरू पनि छन् । यस्तोमा धेरैजसोले डिभोर्सलाई आफूअनुकूल दुरुपयोग गर्न खोज्नेहरू रहेको कानुन व्यवसायीहरूको भनाइ छ । काठमाडौँ र ललितपुर जिल्ला अदालतमा फाट्टफुट्ट यस्ता केसहरू आउँछन्, जुन बिहेको हप्तादिनमै डिभोर्स मुद्दा ल्याएर हाँसीखुशी अदालत आउँछन् ।
सम्बन्ध विच्छेदको खुकुलो महलसँगै विपक्षीको चल÷अचल सम्पत्ति नभएको अवस्थामा चार वर्षभन्दा धेरै सजाय गराउन नहुने भन्ने ठगी महलको व्यवस्थालाई पनि दुरुपयोग गरेर फाइदा लिनेहरू छन् ।
फाइदा लिन खोजेको आरोप
कोर्ट म्यारिज गरेर विदेश जान खोज्नेहरूको संख्या कम छैन । जिल्ला प्रशासन कार्यालयबाट हुने यस्तो विवाहको व्यवस्था पनि दुरुपयोग हुने गरेको छ । विदेश जानकै लागि मिलेमतोमा गरिएका त्यस्ता विवाहको प्रभाव के हुन्छ भन्ने कुरा त्यस्ता विवाहबाट बनेका सम्बन्धहरू विवादमा परेर अदालत जाँदा मात्र थाहा हुने गरेको छ ।
कविता सुनुवार (नाम परिवर्तन) को राम घिमिरेसँग सम्बन्ध विच्छेदको फैसला भइसक्यो । उनले दाबी गरेअनुसारकै अंश प्राप्त गरिन् । विवाहको चार महिनापछि उनले मुद्दा हालेकी हुन् । रामको परिवार अचेल ‘आफैँले खनेको खाल्डोमा आफैँ परियो’ भन्दै सुस्केरा हाल्छन् । यूएसमा भएका राम भिसाका लागि मात्र भन्दै कवितासँग कागजी विवाह गरेको दाबी गर्ने गर्छन् । रामले यसअघि पनि विवाह गरेर सहमतिअनुसारै सम्बन्ध विच्छेद गरेका थिए । ‘छोराले केही हुन्न भनेको भरमा यत्रो सम्पत्ति र इज्जत माटोमै मिल्यो,’ रामका बुवा गजुरनाथ दाबी गर्छन्, ‘चिनेको भरमा कागजी बिहे गराइयो । त्यही कागजले झमेला गरायो ।’
उता, ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी गंगा अधिकारीलाई पनि यही आरोप विपक्षीले लाउने गरेका छन् । जापानमा रहँदै आएका राजेशविक्रम थापासँग पोहोर कोर्ट म्यारिज गरेकी २१ वर्षीया गंगाले गत जेठमा अंश दाबी, माना चामल र सम्बन्ध विच्छेद मुद्दा दायर गरिन् । ‘चिनेकै भनेर जापान जानका लागि मात्र विवाह गराइदिएका थियौँ,’ राजेशका बुबा राजुले भने, ‘खै के कारणले भिसा आएन । अहिले यो मुद्दाको पासो आइलाग्यो ।’  
गंगाले भने आफूले जापान जानका लागि मात्र विवाह नगरेको बताउँदै आफूले गम्भीरतापूर्वक बिहेको निर्णय लिएको बताइन् । ‘जापान जानका लागि मात्र हुन्थ्यो भने म किन अंश दाबी गर्थें,’ उनले भनिन्, ‘विवाहको कुरा गर्दा केटा जापानमा भएको भनियो । विवाह भइसकेपछि ‘भिसा आएन, घर जाऊ’ भन्न थालियो ।’
कोर्ट म्यारिजबाट निम्तिएका झमेला अदालत पुग्ने क्रम बढ्दो छ । विदेशको सपना देखेर कोर्ट म्यारिजका नाममा नक्कली बिहे गर्नेहरू पनि छन् । तर, यस्तो बिहेलाई नियमन गर्न प्रहरी, प्रशासनले आवश्यक ठानेको देखिन्न । ‘मिलेमतोमा बिहे गरेर विदेश जानेहरू पनि प्रशस्तै हुन्छन्,’ जिल्ला प्रशासन कार्यालय, काठमाडौँका एक कर्मचारी भन्छन्, ‘तर, त्यस्तालाई कुन आधारमा कारबाही गर्ने ? हामीले प्रक्रिया हेर्ने हो ।’ दाइ–बहिनी र काका–छोरी नाता पर्नेले नै कोर्ट म्यारिज गरेर विदेश उडेका घटना पनि रहेको बताउँछन्, कन्सल्ट्यान्सी सञ्चालकहरू । यस्ता विवाह सहमतिअनुसार नचलेर अंशसहितको सम्बन्ध विच्छेदमा पुग्दा वास्तविकता खुल्ने गरेको छ ।
प्रशासनको लापरवाहीले पनि कोर्ट म्यारिज व्यवस्थाको दुरुपयोग भइरहेको जानकारहरूको भनाइ छ । काठमाडौँ जिल्ला प्रशासनका कर्मचारीका अनुसार डाटा कम्प्युटराइज्ड नहुँदा कसैले पटकपटक विवाह गर्न खोजेको भए पनि थाहा हुँदैन ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले कोर्ट म्यारिजलाई दुरुपयोग गरेको भन्नेबारे अहिलेसम्म कतैबाट उजुरी वा गुनासो लिखित रूपमा नआएको बताउँदै यतिमात्र भने, ‘नेपालीहरू बाठा छन् ।’ जानकारहरूका अनुसार अदालतमा मुद्दामामिला गर्दा कानुनी बिहेजस्तो बलियो आधार अर्को हुन सक्दैन ।
‘यसलाई दुरुपयोग कसरी भन्नु ?’
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार धु्रवकुमार उप्रेतीले यस्ता केसलाई सम्बन्ध विच्छेद वा विवाहको कानुनी व्यवस्थालाई दुरुपयोग भन्न नसकिने बताए । ‘हामीसँग कानुनले दिएको अधिकारलाई प्रयोग गरिरहेका बाहेक जानकारी हुँदैन,’ उनले भने, ‘यसलाई कसरी दुरुपयोग भन्ने ? यस्ता व्यवस्थाबाट कसले कसरी फाइदा लिइरहेको छ भन्ने कुरा बरु अनुसन्धानको छुट्टै पाटो बन्ला ।’
ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले भने सम्बन्ध विच्छेदकै नियतबाहेक पनि यस्ता मुद्दा लिएर सेवाग्राही आउने गरेको बताए । उनका अनुसार कसैलाई ठग्ने नियतले पनि सम्बन्ध विच्छेद गर्न चाहनेहरू हुन्छन् । ‘यस्ता कुरा हामीलाई भन्दा कानुन व्यवसायीलाई थाहा हुन्छ,’ उनले भने, ‘सम्मानित अदालतको आदेशलाई अक्षरशः कार्यान्वयन गराउनेतिर नै सोच्नुपर्छ ।’ पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेद धेरै हुने गरेको उनले बताए । उनका अनुसार नक्कली बिहे गरेर विदेश गएकाहरू सम्बन्ध विच्छेदको विवाद ल्याएर अदालत आउँछन् । दूतावासमार्फत विदेशबाटै सम्बन्ध विच्छेद दिन पाउने व्यवस्थाको फाइदा विदेशमा रहेका महिला–पुरुषले लिइरहेको उनले बताए ।
काठमाडौँ जिल्ला अदालतमा महिनामा सरदर डेढ सय हाराहारी सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । विभिन्न तहका अदालतमा गरेर देशभर वार्षिक छ हजारदेखि सात हजार हाराहारीमा सम्बन्ध विच्छेद मुद्दा पर्ने गरेको तथ्यांक छ ।
सम्पत्तिको लोभमा सम्बन्ध विच्छेदको व्यवस्थालाई दुरुपयोग गर्न महिला अगाडि भएको जस्तो देखिए पनि समग्रमा पुरुषवादी उग्र सोच नै यसको मूल कारण रहेको महिला अधिकारकर्मीहरू बताउँछन् । सम्बन्ध विच्छेदमा महिलालाई कानुनले केही संरक्षण गरेका कारण पनि धेरै कुरा काट्ने गरिएको उनीहरूको भनाइ छ । ‘अंशकै लागि सम्बन्ध विच्छेद गरेका र विभिन्न नियतले बिहे गरेका एकाध महिलालाई औँल्याएर समग्र महिलाको मूल्यांकन गर्न खोज्नु सरासर गलत हो,’ महिला अधिकारकर्मीसमेत रहेकी अधिवक्ता मुना उपाध्यायले भनिन्, ‘सबै त्यागेर वैवाहिक बन्धनमा बाँधिएको महिला डिभोर्सकै लागि मात्र त्यसो गर्न आँट गर्दैन । यसको जिम्मेवार त्यो नौलो परिवार नै हुन्छ । पर्याप्त काउन्सिलिङको वातावरण भयो भने परिवार विखण्डनबाट रोकिन्छ । गलत नियतले पैसा कमाउने सोचलाई निरुत्साहित गर्न राज्य नै लाग्नुपर्छ ।’

 

Leave A Comment