‘एउटीले म यहीँ सुत्छु ल्याङ नगर्नु ल भनिन् ’

शुक्रबार, २२ असार २०७५, ०४ : ५२ भोला अधिकारी
‘एउटीले म यहीँ सुत्छु ल्याङ नगर्नु ल भनिन् ’

चालक : बेचन मुखिया 
 

गुरुजीको बसाइ कता हो ?
गौरीघाट चौकमै हो । 

ट्याक्सी चलाउन थालेको कति भयो ? 
५ वर्ष जति भयो ।

सुरुदेखि नै ट्याक्सी चलाउन थाल्नु भएको हो ?
होइन । काठमाडाैं आएको २५ वर्ष भैसक्यो । पहिला गोपीकृष्णमा फिल्ममा अपरेटरको काम गर्थेँ । 

अपरेटरको काम कति वर्ष गर्नु भयो ? 
१४ वर्ष । यो ट्याक्सी चलाउनुभन्दा पहिला एउटा निजी गाडी किनेको थिएँ । सामान ओसारपसार गर्ने गर्थेँ । त्यो बेचेर थपथाप पारेर ट्याक्सी किनेको हुँ । अझै ऋणमै छु । 

ट्याक्सी चलाउनु र फिल्ममा अपरेटर गर्न कुनमा सजिलो हुँदो रहेछ त ?
ट्याक्सी चलाउनुनै सजिलो लाग्छ । फिल्म हलमा बसेर काम गर्दा १२ घण्टा काम गर्नु पर्ने, आफूखुसी काम गर्न नपाइने । अब ट्याक्सी भनेको आफ्नै भयो । जति खेर चलाए पनि हुने, कसैले धेरै चलाइस् भन्दैनन् । 

राति कतिखेरसम्म चलाउनु हुन्छ ? 
बिहान ७ बजेतिर निकाल्छु । दिउँसो खाना खान कोठा जान्छु । राति ११, १२ बजेसम्म चलाउँछु । जति कमाए पनि आफ्नै हो । साहुलाई दिनु पर्दैन । ट्याक्सी त्यसै गुड्दैन तेल हाल्नै प¥यो । आफ्नै ट्याक्सी  भएपछि तेलको खर्च हो अरू त भएन नि । 

दिन–रात ट्याक्सी चलाउँदा त आम्दानी राम्रै होला हैन ?
ठिकै छ । मिलाएर भन्नु पर्दा टिक्या छु भन्नु प¥यो । साहुलाई बुझाउनु नपर्ने भएकाले केही जोगाउन सकेको छु । अरुकोमा काम गर्दा तलब बढ्ने होइन । यहाँ त आफ्नै  पसिना बगाउन पाइयो । त्यही अनुसारको आम्दानी पनि हुन्छ  । 

ट्याक्सीको समस्या के होला ? 
ट्याक्सी स्टेसन भन्दा बढी ट्याक्सी हुन्छन् । सार्वजनिक शौचालय नै छैन ।  कतै ट्याक्सी पार्किङ राख्न पाइँदैन । ट्राफिकले सिठी फुकेपछि दौडाउनु पर्छ । नदौडाए चिट काटिहाल्छ । 

राति ट्राफिकले के सिटी फुक्ला र ? 
ठाउँ हेरेर हुन्छ । ठमेल, न्यूरोड, दरबार मार्गमा भने राख्नै पाइँदैन । यात्रुले ठमेल जाउँ भन्छन्  । गयो भित्र लैजान ट्राफिकले दिँदैन, यात्रुभित्र नपुगी पैसा दिन मान्दैनन् । गाह्रो छ । यात्रुलाई यहाँभन्दा भित्र ट्याक्सी लैजान पाइँदैन भन्दा उल्टै निहुँ खोज्छन् । जहाँ भनेको हो त्यहाँ पु¥याउनु पर्छ । नपु¥याए पैसा नदेलान् भन्ने डर हुन्छ । 

ट्याक्सी चालक, ट्याक्सी चालकबीच कत्तिको झगडा पर्छ ? 
साथीहरुले कहिले काहीँ कुरा गर्छन् । फलाना टयाक्सीवाला र फलानाबीच  झगडा प¥यो भन्छन् । मैले अहिलेसम्म कसैसँग झगडा गरेको छैन । झगडा गरेर नि के फाइदा । 

ट्याक्सीवालालाई कत्तिको हेप्छन् ?
सबै भन्दा बढी ट्याक्सीवालालाई नै हेपेको देख्छु । बाइकवालाले ट्याक्सीवालालाई नै हेप्छ । ठूला गाडी कुदाउनेले पनि ट्याक्सीलाई नै हेप्छ ।

ट्राफिकले किन हेपेको होला त ? 
बाटोमा तातो घामामा बसेर अरुको रिस पोखेको हो कि । ट्याक्सीवालाले केही गर्न सक्दैनन् भनेर हेपेको होला कि । कोही कुदाउँदा कुदाउँदै अगाडि आएर कुट्ने गरेका पनि छन् ।

तपाईंलाई नै कुटेको ? 
मलाई होइन, मेरो साथीलाई कुटेको हो ।  साँझको समय थियो गौरीघाटमा साथीले टिप लिएर जाँदै रहेछ नयाँबस्ती तिर ।  पछाडिबाट बाइक हुइँक्याएर आयो र हर्न बजायो । बाटो किन नछोडेको भनेर अगाडि आएर बाटो छेक्यो र पटापट हिर्काएर गयो । त्यो मोटर साइकलको नम्बर टिपेर प्रहरीमा उजुरी हालँे, एकछिनमा प्रहरीले समाइ हाल्यो । अनि त्यसलाई एक रात गौशाला प्रहरी चौकीमा राखेर उनका परिवारलाई बोलाएर जिम्मा लगाएर पठायौँ । 

क्षतिपूर्ति माग्नु भएन ? 
उपचार खर्च र गल्ती मेरै हो भनेपछि उसको परिवारका मान्छेहरु आएर सहमतिमा छोडियो ।

यात्रुबाट ट्याक्सी चालक ठगिने गरेको कुरा सुनिन्छ नि । तपाईं कत्तिको ठगिनु भएको छ ?
धेरै पटक ठगिएको छु । न्युरोडबाट नक्साल भाटभटेनी जाउँ भनेर लग्यो । त्यहाँ गएपछि उसले गोजीमा पैसा छैन म एटिएमबाट निकालेर आउँछु भनेर यसो भित्र छिरेको थियो । कतिखेर आउला भनेर पर्खेको आउँदै आएन । 
रातिको समयमा ट्याक्सीमा रक्सि  खाने, डान्सबारमा नाच्नेहरु हुन्छन् । एकपटक एयरपोर्ट जाँदा एउटाले बान्ता गरेर मेरो ट्याक्सी फोहोर गरिदियो । सय रुपैयाको बिल उठेन तर सात सय खर्च भयो । बान्तापछि सफाइ गर्नु पर्याे । सफा गर्ने ठाउँमा लगेपछि पैसा ठटाइहाल्छ ।

अर्को घटना नि छ , जोरपाटीबाट ३ जना केटी ट्याक्सीमा चढे । उनीहरुले नयाँबसपार्क जाउँ भने । उनीहरु मातेर ल्याङ भएका थिए । मैले उनीहरुलाई लिएर बसपार्क पुगेँ । त्यहाँ पुगेपछि २ जना झरे । एउटी भने म यहीँ सुत्छु दाइ ल्याङ नगर्नु ल भनिन् । यसो भने पछि मलाई त गाह्रो लाग्यो कसरी ट्याक्सीमा सुताउनु । उसको साथीलाई अनुनयविनय गरी बल्ल बल्ल उनीहरुले लगे । पैसा भने ठिकै दिए । 

मिटरमा हिँड्नुहुन्न रे ? बिलप्रिन्टको जमाना आएको छ । लागेको बिल दिए भइहाल्यो नि ? 
मान्छेले खासै बिल माग्ने गरेका छैनन् । मागे भने दिन मलाई के आपत्ति । हचुवाको भरमा जाउँ भन्छन् । हचुवामा जाउँ हाउमचले समाउला भन्ने डर । नजाउँ मिटरमा जान मान्दैेनन् । 

अब पारिवारिक कुरा सोध्छु है त ? परिवारमा कतिजना हुनु हुन्छ ? 
म मेरो श्रीमती र छोरी छ । अरू विराटनगरतिर हुनुहुन्छ । 

मागी विवाह गर्नु भएको हो कि प्रेम विवाह ? 
प्रेम विवाह गरेको हो । ३ वर्षसम्म लभ गरेर उनलाई भगाएको हो । उनी चितवनकी अधिकारीकी छोरी म मधेसी मूलको मुखिया । 
प्रस्तुति : भोला अधिकारी 


 

 

Leave A Comment