हिरोइन सन्ध्या केसी भन्छिन् ' ब्वाइफ्रेन्ड नै नभाको त भन्दिनँ तर मिडियामा आएयता छैन '

शुक्रबार, २२ असार २०७५, ०५ : ४७ अनिल यादव
हिरोइन सन्ध्या केसी भन्छिन् ' ब्वाइफ्रेन्ड नै नभाको त भन्दिनँ तर मिडियामा आएयता छैन '

हिरोइन, भिजे, होस्ट, मार्केटिङ अफिसर । सन्ध्या केसीका परिचय थुप्रै छन् । जागिरदेखि अभिनय सबै भ्याएकै छिन् । १७ वर्षको उमेरदेखि टिभीमा कार्यक्रम चलाउन थालेकी उनले लिड रोलमा अभिनय गरेको एउटा मात्रै फिल्म रिलिज छ– ‘ह्याप्पी न्यु इयर’ । उनको पहिलो फिल्म अनमोल केसी अभिनित ‘ड्रिम्स’ हो तर पहिलो फिल्मबाटै उनी निराश छिन् । कारण– लिड भूमिकाका लागि अनुबन्धित भएकी उनी पछि अतिथि कलाकार भइन् । अहिले सन्ध्याका तीन फिल्म प्रदर्शनको तयारीमा छन्– ‘पण्डित बाजेको लौरी’, ‘कथा काठमाडौं’ र ‘कमलेको बिहे’ । उनको फिल्मीयात्राबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी :  

हिरोइन बन्नु तपाईंको पुरानै गन्तव्य हो या हिँड्दै गर्दा बनेको नयाँ बाटो ? 
म हिरोइन नै बन्छु भन्ने थिएन तर मेरो हाउभाउ, सानैदेखि मेकअप गर्ने र एक्टिङ गर्ने स्वभाव थियो । अरुको गीत हेर्दा त्यसमा आफूलाई कल्पना गर्थेँ । 

त्यसोभए कसरी बन्नुभयो त हिरोइन ?
एक्सिडेन्ट्ली नै भयो । ब्याचलर सकाएर जब म मास्टर फस्ट इयर पढिरहेकी थिएँ, घरमा बस्दा एकदमै बोर लाग्न थाल्यो । फेरि साथीभाइसँग त्यति ह्याङआउट पनि गर्दिनँ थिएँ । नाइन टु फाइभ जब गर्न पनि मन लाग्दैन थियो । पहिल्यैदेखि बहिर्मुखी (एक्स्ट्रोभर्ट) स्वभावकी थिएँ । नाच्ने–गाउने गर्थें ।  स्पोटर््समा पनि राम्रै थियो । इमेज च्यानलमा ज्योति श्रेष्ठ, नग्मा श्रेष्ठले चलाएको कार्यक्रम हेर्थें, मन पथ्र्यो । मलाई पनि भिजे हुन मन लाग्थ्यो । इ–२४ च्यानलमा एकदिन हिँड्दाहिँड्दै पसेँ । पसेको भोलिपल्ट स्क्रिन टेस्ट पनि गरियो । पर्सिपल्ट छनोटमा परेँ । अनि कार्यक्रम चलाउन थालेँ । 

फिल्म कसरी खेलियो नि ?  
भुवन (केसी) अंकलले नै कल गर्नुभएको हो । अनमोल केसीको मुभी छ, तिमीलाई फिचर गर्न खोजेका छौं भन्दै अफर गर्नुभयो । इमेज टिभी कार्यक्रम चलाउँदा नोटिस गर्नुभएको रहेछ । सुरुमा त मभन्दा पनि कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठलाई फोन आ’को हो । उहाँले मलाई सोध्नुभयो, ‘नम्बर दिऊँ कि नदिऊँ ?’ दिनु न त भनेपछि भुवन अंकलसँग भेट भयो । यसरी नै म ‘ड्रिम्स’ फिल्मसँग जोडिएँँ ।  

पहिलो फिल्ममै तपाईंको रोल एकदमै छोटो थियो, किन ? 
यो प्रश्नको सामना मैले धेरै गरिसकेँ । खासमा मलाई सुरुमा लिड रोल नै भनेर लिइएको थियो । मुभी हिट होस् या फ्लप होस् अहिले पनि म फिल्म खेल्दा लिड रोल नै गर्छु । त्यो मुभी बनाउने बेलामा धेरै अप्स एन्ड डाउन्स भयो । मेरो पनि पछि सिन घटेर गेस्ट रोलमा पुगेछ । तर मैले फिल्म साइन गर्दा लिड रोल नै थियो । 

भनेपछि तपाईंलाई भुवन केसीबाट धोका भएछ !
धोका त भन्दिनँ तर भुवन अंकलले चाहेर गर्नुभएको थिएन । त्यतिबेला धेरै समस्या उत्पन्न भएका थिए । उहाँ आफैँ पनि फँस्नु भयो । अब यो विषयमा धेरै कुरा नगरौं होला ! कुरा पुराना भइसक्यो । जे हुनु भइसक्यो !  

आफ्नो पहिलो फिल्म हेर्दा आफ्नो सिन थोरै देखेर छक्क पर्नुभएन ? 
म त्यो फिल्म हेरेर एकदमै निराश भएकी थिएँ । डबिङमा पनि मेरो आफ्नो भ्वाइस थिएन । म विशेष कामले पोखरा पुगेका बेला भुवन अंकलले डबिङ गर्नुप¥यो भनेर फोन गर्नुभएको थियो । म तत्काल फर्कने अवस्थामा थिइनँ । त्यतिबेलै अरुलाई डबिङ गराएर फिल्म रिलिज भयो । 

लिड रोलको आश्वासन दिएर किन क्यामियोमा सीमित गराएको भनेर भुवनजीलाई सोध्नुभएन ? 
मलाई त्यो मुभीको सबै समस्या थाहा थियो । त्यसैले सोध्नै मिलेन । एउटा स्क्रिप्ट चेन्ज भएर अर्को भइसकेको थियो । फिल्ममा मेरो एक्टिङ पनि देखिएको थिएन । फिल्ममा मैले आफ्नो अभिनय देखाउन पनि पाएको छैन । त्यसैले फिल्ममा आफ्नो रोलको हिसाबले दुःखी भए पनि अनमोलसँग काम गर्न पाएकोमा भने खुसी नै थिएँ । 

तपाईंलाई त तपाईंको पहिलो फिल्म (ड्रिम्स) हेरेपछि आफ्ना शुभचिन्तकले तारिफ भन्दा बढी गाली गरे होलान् ! 
गाली नै त गरेनन् तर थोरै सिन भएकोमा कतिपयले गुनासो गरे । तिम्रो स्वर किन त्यस्तो भनेर धेरैले सोधे तर जे भयो, भइसक्यो । म यसलाई ठूलो विषय बनाउन चाहन्नँ । 

‘ड्रिम्स’पछि तपाईंले लगातार तीन वटा मुभी खेल्नुभयो– कथा काठमाडौं, कमलेको बिहे र ह्याप्पी न्यु इयर । लामो समय बितिसक्दा पनि रिलिज एउटा मात्रै भयो । किन यस्तो ?
हो । अफर आयो, स्क्रिप्ट राम्रै लाग्यो अनि खेलियो । तर ‘ह्याप्पी न्यु इयर’ मात्र रिलिज भयो, अरु बाँकी नै छ । खै किन ढिला भएको हो, त्यो त म भन्न सक्दिनँ । 

रिलिज ढिला हुँदा कस्तो लाग्ने रहेछ ?
एकदमै निराश बनाउने रहेछ । एउटा समयमा खिचिएको हुन्छ, त्यो समयका लागि त्यो फिल्म एकदमै उपयुक्त हुन्छ तर ढिलो हुँदा फिल्ममा दिएको ‘इनर्जी’ खेर गा’को फिल हुने रहेछ । 

अब फिल्मको कुरा गरौं, ‘पण्डित बाजेको लौरी’ कस्तो फिल्म हो ? 
यो फिल्ममा वादी समुदायको कथा उठाइएको छ । यो समुदायका महिलाहरु लामो समयदेखि आफ्नो रोजीरोटीका लागि यौन व्यवसायमा संलग्न हुँदै आएका रहेछन् । मैले फिल्ममा वादी महिलाको भूमिका निर्वाह गरेकी छु । म सहरिया परिवेशमा हुर्किएकाले गाउँको यो क्यारेक्टर गर्न निकै चुनौती थियो तर मैले सक्दो राम्रो गर्ने प्रयत्न गरेकी छु । 

यो क्यारेक्टर निर्वाह गर्नुअघि के–के मिहिनेत गर्नुभयो ?
दाङ पुगेर वादी समुदायलाई भेटियो । त्यहाँ उनीहरुको बडी ल्याङ्वेज, हाउभाउ, लवाइखवाई सबै हेरियो, अध्ययन गरियो । अनि मात्र फिल्म गरियो । 

‘ह्याप्पी न्यु इयर’ पनि फ्लप भयो । तपाईंले अहिलेसम्म हिटको स्वाद चाख्न पाउनुभएन है ?  
म हिट नै हुनुपर्छ भन्ने लाग्दैन । आखिर हिट भएर पनि पाउने भनेको अडियन्सको माया नै हो तर म हिट नभए पनि प्रशंसकको माया कमाएकै छु, फलोअर्सको कुनै कमी छैन । फेसबुक, इन्स्टाग्राममा फलोअर्सहरु बढिरहेकै छन् । साथीहरु कहिलेकाहीँ सोध्ने पनि गर्छन्, ‘तेरो मुभी आ’को छैन तैपनि कसरी यति धेरै फलोअर ?’ खासमा मुभी आएर÷नआएर पनि मलाई फरकै परेको छैन क्या ! 

त्यसोभए ‘पण्डित बाजेको लौरी’ फिल्मको व्यापारले तपाईंको फिल्मी करिअरमा केही महत्व राख्दैन त ?
खासमा फिल्म हिट हुनु÷नहुनु कलाकारको हातमा हुँदैन । कुनै फिल्म राम्रै भएर पनि हिट हुँदैन, कुनै नराम्रो भएर पनि हुन्छ । भन्नै सकिन्न । यति भन्न सक्छु, मैले यो मुभीमा सक्दो मिहिनेत गरेकी छु । कामदेखि सन्तुष्ट छु । हिट होस्÷नहोस् त्यो अर्कै कुरा । 

हिरोइन नभएको भए तपाईं के बन्नुहुन्थ्यो होला ? 
सायद आर्मी बन्थे होला । मेरो ड्याडको चाहना म आर्मी बनौं भन्ने थियो । ड्याडी आर्मी नभए पनि घरमा अरु थुप्रै आर्मीमै छन् । पढेको पनि आर्मी स्कुलमै हो तर मलाई आर्मीतिर रुचि लागेन ।  

तपाईं कार्यक्रम होस्ट पनि गर्नुहुन्छ । फिल्म पनि खेल्नुहुन्छ । कुण्डलिनी डायग्नोस्टिक सेन्टरमा जागिर पनि खानुहुन्छ । अस्ति भर्खरसम्म टिभीमा कार्यक्रम पनि चलाउनुहुन्थ्यो । यति धेरै काम एकैपल्ट कसरी भ्याउनुहुन्छ ?
गाह्रो छ तर म काम नगरी बस्नै सक्दिनँ । मनले चाहेपछि जे पनि सम्भव हुने रहेछ । 

तपाईंलाई फिल्ममात्रै करिअर बनाउन किन मन लागेन ? 
आर्थिक रुपले गाह्रो छ नि त ! भविष्यको स्थिरता पनि हुन्न  । कतिखेर झ्वाट्ट तल झर्ने हो पत्तै हुन्न । ‘ह्वाट नेक्स्ट’ भन्ने त चाहिन्छ नि ! फेरि म मार्केटिङको विद्यार्थी भएकाले डायग्नोस्टिक सेन्टरमा मार्केटिङ अफिसरका रुपमा जागिर खाएकी हुँ । 

कस्तो किसिमको फिल्ममा काम गर्न मन लाग्छ ? 
आफू जे छु, त्यो भन्दा फरक खालको क्यारेक्टर होस् । इस्यु बोकेको फिल्म होस् । हिट हुनु÷नहुनु त्यो अर्को ठाउँमा छ तर मैले यस्तो मुभी गरेको छु है भनेर गफ लाउन पाइयोस् ।

साँच्ची तपाईंलाई त नेपाली ऐश्वर्य राय पनि भन्दा रहेछन् है ?
भन्छन्, कतिपयले । यो अडियन्सबाटै आ’को कमेन्ट हो । 

तपाईंलाई के लाग्छ नि ? 
मलाई त त्यस्तो लाग्दैन तर म सानैदेखि ऐश्वर्याको एकदमै कपी गर्ने मान्छे हो । बरु मेरो बेस्ट फ्रेन्ड ऐश्वर्याजस्तो देखिन्थ्यो । पछि म देखिन थालँे, ऊ देखिइन । म सानैदेखि ऐश्वर्याको हाउभाउ र एक्टिङ कपी गर्न खोज्थेँ । कजरा रे, क्रेजी किया रे, डोला रे जस्ता गीतमा ड्रेस लगाईलगाई नाचिन्थ्यो । साथी माधुरी दीक्षित बन्थिन्, म ऐश्वर्या । एकदमै कपी गथ्र्याैं हामी । किन ढाट्नु ! (हाँस्दै)  


फिल्म छान्दा कत्तिको चुजी हुनुहुन्छ ? 
खै । म मेरो नर्मल लाइफमा एकदमै चुजी छु । एक्स्ट्रोभर्ट पनि छु । कहीँ जाँदा एक्लै बस्न रुचाउँछु । ड्रेसअप र खानपिनमा पनि अलि चुजी नै छु । 

अनि फिल्ममा ?
यत्रो समयमा पाँच वटा फिल्म मात्रै खेलेँ, चुजी भएरै त होला नि (हाँस्दै) ! फेरि नेपाली फिल्मको स्क्रिप्ट भयंकर हुन्छ क्या ! सुन्दा त मन्त्रमुग्ध भइन्छ । पछि बन्दा पो खोइ के, खोइ के ! म फेमस नै हुने हो भने मसँग धेरै अवसर थिए र छ पनि । धेरै म्युजिक भिडियोको अफर आएको हो । हातमा धेरै विज्ञापनहरु आएका हुन् । तर रोजेर मात्रै गरेँ, सबै गरिनँ । 

किन नि ?
म्युजिक भिडियो, विज्ञापन जताततै दर्शकले मलाई मात्रै देखे भने निश्चित समयपछि दर्शकको म प्रतिको मोह घट्छ । तपाईंले यो ७ वर्षमा मलाई हेर्नुभयो भने मलाई एउटै गतिमा पाउनुहुन्छ । म माथि पुगेको पनि छैन, तल झरेको पनि छैन । 

फिल्म क्षेत्रको के कुराले तपाईलाई एकदमै चित्त दुख्छ ?
यहाँको व्यवस्थापन राम्रो छैन । इन्डस्ट्री सानो छ । बजेट थोरै हुन्छ । अनि व्यवस्था पनि त्यहीअनुसार हुन्छ । सुट हुँदैछ भने कुन बेला हुन्छ भन्ने समय ठ्याक्कै थाहा हुन्न । कति वटा मुभीमा त डे«स पनि आफैँ लानुपर्ने हुन्छ । धेरै कुरा ब्यानर र मान्छेमा भर पर्छ । अर्को मलाई चित्त दुख्ने कुरा भनेको यहाँ मान्छेहरु छिट्टै जज गर्छन् । फलानो हिरोइन यस्तो रे, उस्तो रे भनेर नजिकबाट नचिनी जज गरेको मन पर्दैन । यथार्थ नबुझी व्यक्तिको क्यारेक्टरलाई लिएर नराम्रो कमेन्ट नगरिदिए हुन्थ्यो भन्ने लाग्छ । आखिर हाम्रो पनि त परिवार हुन्छ नि, होइन र ? क्यारेक्टरलाई लिएर कमेन्ट गर्दा चित्त दुख्छ । 

अभिनेत्री भएपछि के कुरालाई तपाईं सबैभन्दा बढी मिस गर्नुहुन्छ ?
पहिला खुल्ला रुपमा जे–जे गर्न पाइन्थ्यो, त्यो अहिले पाइँदैन । अर्को कुरा, सपिङ गर्दा बार्गेनिङ पनि गर्न पाइँदैन । पहिलो दाइ यति घटाइदिनु न, उति घटाइदिनु न भनेर रिक्वेस्ट गर्न पाइन्थ्यो, अब मिल्दैन । लाज हुने रहेछ (हाँस्दै) ! 

थोरै रमाइलो कुरा गरौं । बिहे कहिले गर्ने ? 
म त बिहे नै गर्दिनँ होला जस्तो लाग्छ । म आफ्नो लागि आफैँ कमाउँछु । त्यसैले होला मलाई मेरो लाइफमा अरुले हस्तक्षेप गरेको चित्त बुझ्दैन । 

अफेयरमा त पक्कै हुनुहुन्छ होला ?
छैन, कतै सुन्नुभा’को छ र ?

लुकाएपछि कसरी सुन्नु ? 
साँच्ची छैन । म सिंगल नै हो । ब्वाइफ्रेन्ड नै नभाको त भन्दिनँ तर मिडियामा आएयता छैन ।

ब्रेकअप भएपछि सिंगल हुने निर्णय गरेको हो ?
ब्रेकअप नै भन्ने गरी त्यस्तो कडा रिलेसनसिप चलेको पनि होइन हौ ! म चाँडै मान्छेलाई विश्वास गरिहाल्दिनँ । मलाई मान्छे राम्रोसँग चिन्नुपर्छ अनि मात्र नजिक हुन सक्छु ।  

हुनेवाला पार्टनर कस्तो होस् भन्ने लाग्छ ?
क्रिएटिभ र बिजनेस क्षमता भएको हुनुपर्यो । मलाई धेरै बोल्ने हाउडे टाइपको केटा मनपर्दैन । म धेरै बोल्छु तर मेरो पाटर्नर थोरै बोल्ने होस् भन्ने लाग्छ । बरु ‘गुड लुकिङ’ त्यति म्याटर्स गर्दैन । आँखालाई चित्त बुझ्ने भए पुग्यो (हाँस्दै) ।
 

Leave A Comment