यौनको अवैध खुराक

आइतबार, २४ असार २०७५, ०५ : १८ शुक्रवार
यौनको अवैध खुराक

‘भेजाइना स्रिङ्किङ्, टाइटेनिङ, जेल—भर्जिनिटी टाइटेनिङ’, ‘भेजाइना स्रिङ्किङ् टाइटेनिङ जेल— नेचुरल एन्ड कन्भेनियन्ट’, ‘सुपर डोज ४४ हजार (४४,०००) स्प्रे’, ‘ड्रागन’, ‘ड्रागन्स् डिले स्प्रे ।’ 

माथि लेखिएका ‘औषधी’बारे सञ्चार माध्यममा समेत पटक–पटक विज्ञापन पढ्नुभएको होला । यी तिनै औषधीका नाम हुन्, जसले यौनका भ्रम र समस्यामा परेकालाई आकर्षित गर्ने गर्छन् । 

यस्ता सामग्री काठमाडौं मात्र होइन पोखरा र धरानसम्म पुगेका सेक्स टोय बिक्री गर्ने पसलमा सहजै किन्न सकिन्छ । 

आखिर यी कस्ता प्रकृतिका औषधी हुन् ? उनीहरुले दाबी गरेझैँ सकारात्मक प्रभाव पार्छन् त यिनले ? के यी वैध हुन् ?

नेपालमा बिक्रीका लागि भित्रने सबै औषधीको अनुमति दिने र अनुगमन गर्ने औषधी व्यवस्था विभागका अधिकारीसँग यिनका नाम र उल्लेख गरिएका विशेषता खुलाउँदै जिज्ञासा राख्दा यी नाम गरेका औषधी विभागको सूचीमा नरहेको खुल्यो । 

‘भेजाइना स्रिङ्किङ् टाइटेनिङ जेल—भर्जिनिटी टाइटेनिङ’, ‘भेजाइना स्रिङ्किङ् टाइटेनिङ जेल— नेचुरल एन्ड कन्भेनियन्ट’, ‘सुपर डोज ४४ हजार(४४०००) स्प्रे’, ‘ड्रागन’, ‘ड्रागन्स् डिले स्प्रे’, विभागको अनुमतिमा नेपाल भित्रिएका हैनन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘यी अवैध हुन् ।’
विभागले अवैध भने पनि यौनसँग जोडिएका अवैध खुराक खुल्लमखुल्ला बिक्री भइरहेका छन् । शुक्रवारकर्मी काठमाडौँको न्युरोडस्थित एक सेक्स टोय पसलमा पुग्दा यौनसँग जोडिएका यस्ता अवैध खुराक सहजै बिक्री भइरहेको देखियो । 

यौनसँग सम्बन्धित समस्याको बहानामा त्यहाँ पुग्दा ती व्यापारीले एक स्प्रे दिए, ‘सुपरडोज’ । उनले यौन सम्बन्ध राख्नुअगाडि सो स्प्रे पुरुषको यौनाङ्गमा लगाए लामो समयसम्म सहवास गर्न सकिने दाबी गरे । मूल्य रहेछ २५ सय । सस्तो खोज्नेका लागि इन्डियन स्टड नामक स्प्रे देखाए, जसको मूल्य ६ सय हाराहारी थियो । 

उनीसँगको कुराकानीमा धेरैजसो ३० देखि ५०÷६० वर्षसम्मका ग्राहक यी औषधी खोज्दै उनको पसलमा आउने गरेको खुल्यो । 

‘प्रायः पाका उमेरकाहरु समस्या बताउँदै यस्ता सामग्री खोज्न यहाँसम्म आइपुग्छन्,’ नाम नलेखिदिन आग्रह गर्दै ती व्यापारीले भने, ‘कोही–कोही नामै लिएर खोज्न आउँछन् ।’

चिकित्सकहरु पुरुषको यौनाङ्गको आकारप्रकारले यौन सन्तुष्टिमा कुनै असर नपार्ने दाबी गर्छन् तर यौनाङ्गको आकार सानो हुँदा आफ्नो पार्टनरले सन्तुष्टि नपाएको हो कि भन्ने आशंकामा रुमल्लिनेहरुको संख्या कम छैन यहाँ । यसैलाई क्यास गरेर व्यापार बढाउनेहरु सक्रिय छन् ।

यौनाङ्ग सानो भएका पुरुषको समस्या समाधानको उपायबारे सोध्दा ती व्यापारीले लम्बाई बढाउने भन्दै ‘पेनिस इन्लार्जर पम्प’ देखाए । उनले दैनिक १०÷१५ मिनेट पम्प उपयोग गर्दा आकार बढ्ने दाबी गर्दै मूल्य बताए, ‘तीन हजार नौ सय ।’ 

अर्का एक व्यापारीले महिलाको यौनाङ्ग कसिलो बनाएर पार्टनरलाई भर्जिनझैँ सन्तुष्टि दिने मल्हमसमेत रहेको दाबी गरे । ‘सम्पर्क राख्ने आधा घण्टाअगाडि मल्हम लगाए भर्जिनजस्तै हुन्छ,’ ती व्यापारीको भनाइ थियो ।

प्रभावकारी हुन्छ त औषधी ?

औषधीको प्रयोगले यौनाङ्ग बढाउने–घटाउने, मोटो पार्ने, कसिलो गर्ने कुरामा सहमत छैनन्, चिकित्सक जसवन शाक्य र पीयूष दाहाल । 

औषधीको प्रयोगले पुरुषको यौनाङ्ग घटाउन–बढाउन सम्भव नभएको दुवैले बताए । यस्तो औषधीका प्रयोगकर्ताले दाबी गरे अनुसारको सन्तुष्टि पाउन नसके पनि कतै उजुरी गर्न नजाँदा पीडितहरु नदेखिएको उनीहरुको ठम्याई छ ।

‘यौन समस्याबारे अझै पनि हाम्रो समाज संकुचित छ, यो छलफल गर्नै नहुनेझैँ सोच्छन्,’ चिकित्सक शाक्यले भने, ‘महँगो औषधी किन्छन् तर सो अनुसारको प्रभाव नभए पनि कसैले थाहा भए समस्या हुन्छ भनेर कतै उजुरी गर्न पनि जान सक्दैनन् । यस्तोको प्रयोग राम्रो हैन ।’

चिकित्सकका अनुसार औषधीको प्रयोगले केही समय लिङ्ग उत्तेजित गराइरहन सक्छ तर लिङ्गको आकार घटबढ गर्न सक्दैन, यो भ्रम मात्र हो ।

शाक्यले आफूसँग आइपुगेको एक केस खुलाए, शुक्रवारसँग ।

केही समयअगाडि स्तन बढाउने भन्दै मलम लगाएकी एक महिला उनीकहाँ  उपचारका लागि आइपुगिन् । ती महिलाले उनलाई मल्हम लगाउञ्जेल स्तन बढेको तर लगाउन छाडेपछि घटेर चाउरी परेको भनिन् । उनले ती महिलालाई मल्हमको असर र नकारात्मक प्रभावबारे बुझाएर पठाइदिए । 

‘मल्हम प्रयोग गरेको केही समय स्तन सुन्निएर ठूलो भएकोझैँ देखिन्थ्यो । लगाउन छाडेपछि साबिक आकारमा आउँदा झन् घटेकोझैँ अुनभव हुन्छ,’ उनले शुक्रवारसँग भने, ‘त्यस्तो मल्हमले चिलाउने, एलर्जी गराउने लगायत गम्भीर समस्यासमेत ल्याउन सक्छ तर यहाँ कसले सम्झाउने ?’

भ्रमको खेती
आफ्नो यौन जोडीलाई यौन सन्तुष्टि दिन नसकेको मनोवैज्ञानिक कारणले यौन आकार बढाउने, कसिलो पार्ने लगायतका उपायको खोजीमा लाग्ने धेरै सर्वसाधारण भेटिन्छन् ।

लिङ्गको आकार प्रकार र योनिको आकारको सम्बन्ध यौन सन्तुष्टिसँग नहुने भनेर बारम्बार सम्झाउँदासमेत भ्रम जस्ताको त्यस्तै रहेको चिकित्सकहरु बताउँछन् । 

‘आकार–प्रकार प्राकृतिक हो, जसको सन्तुष्टिसँग सम्बन्ध हुन्न भन्दा कसैले पत्याउँदैनन् र त्यसैको फाइदा व्यापारीले उठाइरहेका हुन्छन् । त्यस्तो भ्रममा पर्नेको संख्या निकै ठूलो छ,’ चिकित्सक शाक्यले भने, ‘यही मनोविज्ञानलाई हतियार बनाएर जोखिमपूर्ण सामग्रीको व्यापार भइरहेको छ, जुन नियन्त्रण गर्न अति आवश्यक छ ।’

मनोविद् गोपाल ढकाल योनि ठूलो भएका कारण आफ्नो ब्वाइफ्रेन्ड वा यौन पार्टनरलाई यौन सन्तुष्टि दिन सकिनँ कि भन्दै किशोरीहरु आफूकहाँ आउने गरेको बताउँछन् । किशोरहरु त लिङ्ग सानो भएको भन्दै तनावमा आइपुगेका छन् । 

‘किशोरहरु मेरो लिङ्ग सानो भएकाले हो कि गर्लफ्रेन्डलाई सन्तुष्टि दिन सकिनँ जस्तो लाग्छ भन्दै आउँछन्,’ ढकालले भने, ‘यौन सम्पर्कको समयमा गर्लफ्रेन्ड हाँस्ने, गिज्याउने गरेकाले कतै आफूमा कमजोरी पो छ कि भन्ने लाग्दोरहेछ ।’

कतिपय किशोर त गर्लफ्रेन्डले (नामर्दजस्ता शब्दमा) असन्तुष्टि व्यक्त गरेको भन्दै दुखेसो समेत पोख्ने गरेको ढकाल बताउँछन् । उनीहरुमा यही कारणले ब्रेकअप पो होला कि भन्ने भय देखिने गरेको उनले बताए । 
प्रायः किशोरहरु शीघ्र स्खलन, यौन सम्पर्क गर्न नजानेको जस्ता समस्या लिएर उनीकहाँ आइपुग्छन् । किशोरीहरु भने योनि ठूलो भएकाले  ब्वाइफ्रेन्डलाई सन्तुष्टि दिन नसकेको पो हो कि भन्ने आशंकामा हुन्छन् र उनीकहाँ आउँछन् । 

अविवाहित मात्रै हैन, विवाहितमा पनि यस्तै किसिमको समस्या हुने गरेको ढकाल बताउँछन् । यौन समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये धेरैजसो एउटा सन्तान भैसकेका महिला हुन्छन् । बच्चा भएपछि योनि ठूलो भएकाले श्रीमान्ले सन्तुष्टि नपाएको हो कि भन्ने अधिकांशको शंका हुन्छ । 

श्रीमान् श्रीमतीलाई यौन सन्तुष्टि दिन नसकेको गुनासो पोख्छन् । उनीहरुको चासो लिङ्ग सानो भएकोमा बढी हुन्छ । चाँडै शिथिल हुने गरेको, शिघ्र पतन हुने गरेको जस्ता समस्या लिएर आउने पुरुषहरु आफूले यौन सन्तुष्टि दिन नसक्दा श्रीमती अन्तैकतै पो लाग्ने हुन् कि भन्ने आशंका गर्छन् । 

‘योनि खुकुलो भयो, लिङ्ग सानो भयो र यौन सन्तुष्टि दिन पो सकिएन कि भन्ने मनोभाव मानसिक भ्रम मात्र हुन्,’ ढकालले भने, ‘शिघ्र पतन हुने, उत्तेजना नहुने समस्या हुन्, यिनको सहज उपचार सम्भव छ ।’

सर्जरी समाधान हो त ?

यस्ता विविध समस्याको उपचार गर्ने औषधी एउटा पाटो हो । अहिले यौनाङ्ग सर्जरीको क्रम पनि ह्वात्तै बढेको छ । यसमा महिला र पुरुष दुवैले उत्तिकै चासो राखेर चिकित्सककहाँ पुग्ने गरेका छन् । चिकित्सक योनि खुकुलो भएको, लिङ्ग सानो भएको जस्ता भावनात्मक पाटो मात्रै भएको सुझाव दिँदै समस्या नै भए सर्जरीमार्फत समस्या समाधान गर्न सकिने बताउँछन् ।औषधीको तुलनामा यो भरपर्दो पनि देखिन्छ ।

चिकित्सकका अनुसार अधिकांशको माग योनि कसिलो पार्ने र लिङ्गको आकार बढाउने नै हुन्छ । स्तनको आकारप्रकार थपघट गराउन चाहनेहरु पनि बढ्ने गरेका छन् अहिले । चिकित्सकका अनुसार योनि र लिङ्गको सर्जरी कस्मेटिक र रिकन्स्ट्रक्टिभ गरी दुई किसिमको हुन्छ ।

‘कस्मेटिक सर्जरी कस्मेटिक अन्तर्गत पर्छ भने रिकन्स्ट्रक्टिभ सर्जरी प्लास्टिक सर्जरी अन्तर्गत पर्छ,’ सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रवीन्द्र शर्माले भने ।
विशेषगरी सुन्दर हुनका लागि कस्मेटिक सर्जरी गरिन्छ । क्यान्सरजस्ता रोग लागेर गरिने सर्जरी रिकन्स्ट्रक्टिभ सर्जरी हुन् ।

स्वस्ति लेजर एन्ड स्किन केयरका कस्मेटिक सर्जन चिकित्सक जसवन शाक्य कस्मेटिक सर्जरी र रिकन्स्ट्रक्टिभ सर्जरी प्लास्टिक सर्जनले गर्ने बताउँछन् । 

यौनाङ्गमा समस्या भयो भने सामान्य छ भन्ने भावना (फिलिङ) होस् भनेर सर्जरी गरिन्छ । जसलाई रिकन्स्ट्रक्टिभ सर्जरी भनिन्छ । रिकन्स्ट्रक्टिभ सर्जरी जीवनलाई सहज बनाउन गरिने सर्जरी भएको चिकित्सक बताउँछन् । 

वीर अस्पतालका प्लास्टिक सर्जन डाक्टर पीयूष दाहाल कतिपय महिलाले धेरै बच्चा जन्माउनाले तथा उमेर ढल्कँदै जाँदा योनि खुकुलो भएको महसुस गर्छन् । यस्तो बेला उनीहरु कसिलो बनाउने उपाय खोज्दै चिकित्सककहाँ पुग्ने गर्छन् ।

‘धेरैजसो एउटा बच्चा भैसकेका महिला योनी कसिलो बनाउन आउँछन्,’ दाहालले भने । 
चिकित्सक शाक्यका अनुसार धेरैजसो ३०÷३५ वर्षका महिला योनि कसिलो बनाउन आउँछन् । 
चिकित्सकका अनुसार बच्चा जन्माउँदा योनी च्यात्तिन्छ । अस्पतालमा तत्काल सिलाइदिने भए पनि घरमा बच्चा जन्माउने महिलाको योनि भने सिलाइँदैन ।

बच्चा जन्माएको केही वर्षपछि महिलाले योनि खुकुलो भएको महसुस गर्छन् र यौन जीवन नै प्रभावित भएको अनुभव गर्दै चिकित्सककहाँ पुग्छन् । ‘उमेर घर्कँदै गएपछि महिलाहरु योनि खुकुलो भएको अनुभूत गर्छन् । श्रीमानलाई यौन सन्तुष्टि दिन नसकेको फिल गर्छन्,’ चिकित्सक जसवनले भने, ‘घरबार नै बिग्रन लाग्यो भन्दै योनि कसिलो बनाउन मेरोमा आउने महिलाको संख्या बढिरहेको छ । अहिलेसम्म खुकुलो बनाउनुपर्याे भनेर कोही पनि आएका छैनन् ।’

कसरी हुन्छ योनि कसिलो ?
योनि कसिलो गर्दा लेजर थेरापी प्रयोग गरिन्छ । यसमा प्रकाश तथा ताप दिएर योनि खुम्च्याइन्छ । लेजर थेरापी योनि कसिलो गर्नकै लागि बनेको मेसिन भएको हुनाले कति ताप दिने भन्ने हुँदैन । नेपालमा भने योनि कसिलो पार्ने लेजर प्रविधिको त्यति धेरै विस्तार नभएको चिकित्सक पीयूषले बताए । योनि कसिलो पार्ने अर्को विधि  अप्रेसन नै हो । 

चिकित्सक जसवनका अनुसार योनि कसिलो बनाउँदा काटेर मिलाइन्छ । योनि कसिलो गर्दा योनिको छाला तथा छालाको भित्री भाग (म्युकोजा) काटेर मिलाइने हो । 

यसमा महिलालाई बेहोस पार्नुपर्दैन । अस्पताल पनि भर्ना हुनुपर्दैन । योनिमा नदुख्ने सुई लगाएर सहजै अप्रेसन गर्न सकिने डा. शाक्य बताउँछन् । उनका अनुसार अवस्था हेरेर ४५ मिनेटदेखि डेढ घण्टामा अप्रेसन गरिसकिन्छ । 

चिकित्सकहरूले हिजोआज अप्रेसन भन्दा लेजर प्रविधि सहज र प्रभावकारी हुने बताउँछन् । लेजरले घाउसमेत हुँदैन, जसले इन्फेक्सनको सम्भावना रहन्न । सर्जरी गरेको ३०÷४० दिनसम्म यौन सम्पर्क गर्न नहुने चिकित्सकको सुझाव छ ।

आजीवन कसिलो हुँदैन 

चिकित्सक पीयूष यसरी अप्रेसन गरेर कसिलो बनाइएको योनि जीवनभर नै कसिलो नहुने बताउँछन् । यौनाङ्गको सर्जरी गर्नेेले प्रत्येक तीनदेखि छ महिना र एक वर्षमा सर्जरी गरिदिने चिकित्सककहाँ फलोअप गर्नुपर्छ । 

कस्मेटिक सर्जरी गरेर टाइट गरेको योनि एक वर्षदेखि तीन वर्षमा पुनः पुरानै अवस्थामा फर्कन्छ । सर्जरी गरेर योनि कसिलो बनाएको व्यक्तिले पुनः सन्तान जन्माए योनि खुकुलिन्छ र पुरानै अवस्थामा आउँछ । 

 

टिप्पणी

यौनाङ्ग कसिलो बनाउने उपाय

डा. जयनमान श्रेष्ठ
प्लास्टिक तथा कस्मेटिक सर्जन

कुनै घाउ, चोटपटक तथा क्यान्सर लगायतका समस्या भए यौनाङ्गको सर्जरी गरिन्छ । त्यसबाहेक यौनाङ्गको कस्मेटिक सर्जरी पनि गरिन्छ । 

महिलाहरु योनि कसिलो गर्ने भन्दै योनिको कस्मेटिक सर्जरी गर्न आउँछन् । सामान्यतः १÷२ वटा बच्चा जन्मिएपछि महिलाको योनि खुकुलो हुन्छ । योनिको मुखको मांसपेसी खुकुलो हुन्छ । गोलो रिङ जस्तो भएको योनिको मुख च्यात्तिन्छ । बच्चा जन्मिएपछि राम्रो नसिलाइएको तथा इन्फेक्सन भएको अवस्थामा योनिको मुख खुकुलो हुन सक्छ ।  

खुकुलो भएको अवस्थामा यौन सम्पर्क गर्दा महिला पुरुष दुवैमा यौनानन्दको अनुभूति कम हुन सक्छ । यस्तोमा विशेषगरी पुरुषले कम यौनानन्दको महसुस गरेको पाइन्छ । 

खुकुलो भएको योनि कसिलो पार्न सकिन्छ । कसिलो गर्न अप्रेसनका विभिन्न विधि अपनाइन्छ ।  खुकुलो भएको योनिको मांसपेसी पत्ता लगाएर नजिक ल्याएर सिलाइन्छ । कसै—कसैको योनिको आकार नै बाहिरबाट देखिन्छ । योनीको बाहिरी भागमा भएको छालाको पत्र बाक्लो भएकाले त्यसरी देखिन्छ । 

योनिको बाहिरको छाला बाक्लो हुनुलाई ‘हाइपरट्रोफी’ भनिन्छ । छाला बाक्लो भएका कारणले टाइट लुगा लगाउँदा यौनीको आकार बाहिरबाट नै देखिन्छ । त्यस्तो अवस्थामा स्विमिङ ड्रेस, स्पोर्टस् ड्रेस लगायतका लुगा लगाउँदा असहजता उत्पन्न हुन सक्छ । 

छाला बाक्लो हुँदा यौन सम्पर्क गर्दासमेत असहज हुन सक्छ । यौन सम्पर्कको क्रममा छाला च्यात्तिने, तन्किनेजस्ता समस्या हुन सक्छन् । यसले शारीरिक समस्या भने ल्याउँदैन । त्यसैले योनिको बाक्लो  छालालाई मिलेको आकारमा ल्याएर सानो बनाउन सकिन्छ । यसका लागि अप्रेसन गरेरै सिलाएर सानो पारिन्छ ।  

योनिको कस्मेटिक सर्जरी गर्दा कहिलेकाहीँ घाउ फाट्ने, घाउमा रगत जम्ने सानातिना समस्या हुन सक्छन् । यद्यपि सर्जरी गर्दा सामान्यतः समस्या आउँदैन । 

योनि कसिलो पार्ने सर्जरी गरेको करिब एक महिनासम्म यौन सम्पर्क गर्नु हुँदैन । योनिको छाला सानो गर्ने सर्जरी गरेको छ भने दुई हप्ता अगाडि यौन सम्पर्क गर्नुहुँदैन । चाँडै यौन सम्पर्क गर्दा सर्जरी बिग्रन सक्छ । 
बढी मात्रामा २० देखि ४० वर्ष सम्मका महिला योनि कसिलो गर्न आउँछन् । एक पटक टाइट गरेपछि सधैँ कसिलो हुँदैन । जति यौन सम्पर्क भयो त्यति नै बिस्तारै खुकुलो हुँदै जान्छ । खुकुलो भएपछि पुनः योनिलाई कसिलो पार्न मिल्छ । 

लिङ्गमाथि प्रयोग
नेपालमा लिंगको सर्जरी गरेर आकार बढाउने, मोटाई बढाउने¬ भन्ने अभ्यास त्यति छैन । विदेशतिर भने विभिन्न टेक्निक अपनाएर गरिन्छ । यस्तोमा बोसोको प्रयोग गर्ने, इन्जेक्सन लगाउने गरेको पाइन्छ । 
अप्रेसन गरेर पनि लिङ्ग लामो बनाउन सकिन्छ तर साइड इफेक्ट हुन सक्छ । जथाभावी लिंगको सर्जरी गर्दा समस्या भएको पनि देखिन्छ । लिंगको आकारका कारण यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने अनुभूति गर्ने कुरा हो, यसै भन्न सकिँदैन ।
 

Leave A Comment