युट्युबमा बसाइँ सर्दै टिभी शृंखला

बिहिबार, २८ असार २०७५, ०३ : २० भोला अधिकारी
युट्युबमा बसाइँ सर्दै टिभी शृंखला

टेलिभिजनमा नियमित हास्य श्रृंखला चलाउनु कुनै समय नाम र दाम दुवै कोणबाट राम्रो अवसर थियो । वाहवाही पनि पाइने, दाम पनि राम्रै हुने । दीपकराज गिरीदेखि सीताराम कट्टेलसम्म त्यही सानो पर्दाबाटै जमे तर अहिले अवस्था भने फेरिएको छ । 

अहिले टेलिभिजको क्रेज ह्वात्तै घटेको छ । त्यसअनुसार आम्दानी पनि घटेको छ । कलाकार विकल्पको खोजीमा युट्युबतिर झुम्मिन थालेका छन् । युट्युबमा नाम र दाम दुवै देखिएपछि टेलिभिजन कार्यक्रम छाडेर कलाकार अहिले युट्युबमा सक्रिय हुन थालेका छन् । र, सँगैमा लोकप्रिय पनि भइरहेका छन् । कच्चा कलाकारदेखि स्थापितसम्मको आ–आफ्नै युट्युब च्यानल छन् । कतिले चल्तीका युट्युब च्यानललाई नै उपयोग गर्दै आएका छन् । 

हास्य कलाकार यादव देवकोटा सिरियल टेलिभिजनमा भन्दा युट्युबमा लोकप्रिय हुन थालेपछि आफू त्यतै लागेको बताउँछन् । 

‘मेरी बास्सै’बाट चर्चामा आएका केदार घिमिरे (माग्ने बूढा) र विल्सन विक्रम राईले युट्युब च्यानलबाटै ‘खासखुस’ शृंखला चलाइरहेका छन् । ‘मेरी बास्सै’को टोलीबाट छुट्टिएपछि नेपाल टेलिभिजनमै ‘खासखुस’ भन्ने सिरियल ल्याएका थिए । नेपाल टेलिभिजनमा सिरियल टिक्न सकेन । त्यसपछि उनीहरु कान्तिपुर टेलिभिजनतर्फ लागे । त्यहाँ पनि उनीहरु जम्न नसकेपछि युट्युबतिर लागेका हुन् ।

यसका लागि घिमिरेले ‘आमाअग्नि’ नामको युट्युब च्यानल खोले र आफूले निर्माण गर्दै आएको ‘खासखुस’ नियमित रुपमा अपलोड गर्न थाले । दर्शकको राम्रो प्रतिक्रिया पाउन थालेपछि नयाँ शृंखला अपलोडलाई निरन्तता दिएका छन् । 

नेपाल टेलिभिजनको चर्चित सिरियल ‘जिरे खोर्सानी’ निर्देशन गर्दै आएका निरज नेपालले युट्युबमा ‘ओके छ त’ र ‘खिचडी’ गरी दुई वटा हास्य सिरियललाई युट्युबमा राख्दै आएका छन् । 

अहिले यो सिरियल युट्युबमा ७२ भाग पुगिसकेको छ । पहिला माग्ने बूढा युट्युब च्यानलबाट रिलिज हुँदै आएको यो सिरियल अहिले टिभी नेपाली युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ । 
निरज नेपाल र देवीराम पराजुलीको लेखन–निर्देशनमा बन्ने गरेको सिरियल ‘खिचडी’ भने आमाअग्नि युट्युबबाट प्रसारण हुँदै आएको छ । 

एपीवन टेलिभिजनबाट प्रसारण हुने ‘टेन टु फाइभ’ सिरियल टेलिभिजनमा भन्दा युट्युबमा हिट छ । युट्युबमा यसको २४ भाग आइसक्यो । 

कान्तिपुरबाट प्रसारण भइरहेको हास्य शृंखलामा कार्यरत राजु कमेडीले सिरियल छोडेर युट्युब सिरियलमा सक्रिय भएका छन् । उनले ‘गुलेली’ नामक सिरियल चलाउने गरेका छन् । ‘मेरी बास्सै’मा ‘सरापे’ नामले परिचित यादव देवकोटा र राजु कमेडी मिलेर युट्युबमा ‘गुलेली’ ल्याएका हुन् । 
मेरी बास्सैमा सरापेका नामले परिचित यादव देवकोटाले टेलिभिजन च्यानले पत्याउन गाह्रो मान्ने । सिरियल प्रशारण गर्न धेरै पापड बेल्नुपर्ने भएपछि युट्युबमा च्यानल खोलेको बताए । युट्युबको कमाइले सिरियल सुटिङ गर्न खर्च पुग्ने उनले बताए ।

हास्य मात्र हैन अन्य सामाजिक कथाका सिरियल पनि अहिले युट्युबतिर सरेका छन् । हिमशिखर टेलिभिजनबाट प्रसारण हुँदै आएको धारावाहिक सिरियल ‘स्टुडेन्ट’ ५७ भाग नपुग्दै बन्द भयो । अहिले सो सिरियल युट्युबमा हेर्न सकिन्छ ।  यसका निर्मातासमेत रहेका ज्ञानेन्द्र कोइराला टेलिभिजनमा भन्दा युट्युब च्यानलबाट पैसा राम्रो आउने र धेरै झन्झट नपर्ने भएकाले त्यता लागेको बताउँछन् । उनले ‘नो टेन्सन’ भन्ने सिरियल पनि युट्युबमै रिलिज गरेका छन् । 
 

Leave A Comment