ललितपुर महानगरपालिका : सेवाग्रही मैत्री छैन कार्यालय

बिहिबार, २८ असार २०७५, ०३ : २९ रेणु त्वानाबासु
ललितपुर महानगरपालिका : सेवाग्रही मैत्री छैन कार्यालय

ललितपुर महानगरपालिकाको कार्यालय पुग्दा देखियो ‘सरकारी काम कहिले जाला घाम’ किन भनिएको हो । शुक्रवारकर्मी आइतबार दिनभर महानगरको कार्यालयमा बस्दा यो नागरिकको सुविधाका लागि बनेको स्थानीय सरकार हो भन्ने कुनै अनुभव गर्न सकेन ।

स्थानीय निकायको अभावमा स्थानीय नागरिकको सामान्य कामका लागि समेत केन्द्र नै धाउनुपर्ने समस्या समाधानका लागि भन्दै सरकारले स्थानीय सरकारको अवधारणा ल्याउँदै सबै स्थानीय तहको निर्वाचन ग¥यो । 

निर्वाचन अगाडि उम्मेदवारहरुले मतदाता आर्कशित गर्न विभिन्न योजना सार्वजनिक नगरेका हैनन् । निर्वाचन सकियो, योजना पनि थन्कियो । पूर्वाधार विकासको विषय टाढाको कुरा भयो, महानगरपालिकाको कार्यालय समेत सेवाग्रही मैत्री देखिएन ।

ललितपुर महानगरपालिकाको कार्यालय पुग्दा केन्द्रीय सरकारको कार्यालयमा जाँदाको भन्दा भिन्न अवस्था थिएन । सानादेखि जटिल समस्या लिएर आएका सेवाग्रही अलमलमा थिए । कर लगायतका दैनिक सेवाग्रही ठोक्किने शाखा असरल्ल भिड थिए । नक्सा शाखाका इन्जिनियर बेपत्ता थिए । अधिकांश शाखा प्रमुखको कुर्सी रित्तो थियो । महानगरपालिकाका मेयरको कार्यालयभित्र प्रवेश गर्न मन्त्रीको कार्यकक्षमा प्रवेश गर्न भन्दा बढी कठिन थियो ।

आइतबार १०ः१५ मा महानगरको कार्यालयमा पुग्दा कर्मचारी हुनुपर्ने अधिकांश कुर्सी रित्ता थिए । भूइँ तल्लाको कर शाखामा भीड लागिसकेको थियो । तेस्रो तल्लाको शाखा रित्तै थिए । 

बाहिर बसेका कर्मचारीलाई सोध्दा ‘आएको छैन, कहिले आउने ठेगान छैन’ भन्ने उत्तर आयो । ११ः३० सम्म कुर्सी रित्तै थिए । 

महानगरको कार्यालयमा पार्किङको सुविधा रहेनछ । रोड नै पार्किङका रुपमा उपयोग भइरहेको थियो । सोधपुछ शाखामा कर्मचारी थिएनन् । लगभग १ घण्टासम्म त्यहाँ कर्मचारी आएनन् । 
कर शाखामा बस्नका लागि कुर्सीको व्यवस्था थियो । एउटा कुर्सीमा बृद्ध महिला देखिइन् । उनको नजिकै बस्न पुगेँ । उनको नाम अष्टमाया शाक्य थियो । 
‘तपाईं के का लागि आउनु भएको बज्यै ?’

अष्टमायाले ‘घरको कर तिर्न आएको’ बताइन् । २÷३ घण्टा लाग्ने रहेछ  कर तिर्न पनि । 
ललितपुरकी अन्जना महर्जन सोधपुछ शाखामा काखे बालक लिएर बसिरहेकी थिइन् । उनी निराश देखिन्थिन् । उनी इन्जिनियरलाई भेट्न आएकी थिइन् । 

उनको घरको डिपिसी भइसकेको रहेछ । ललितपुर महानगरपालिकाबाट नक्सा पास गरेको फाइलै हराएपछि उनी धाइरहेकी रहिछिन् । 
फाइल नहराएको भए अहिले सम्म २ तल्ला बनिसक्थ्यो उनको घर । तर फाइल हराएको कारण कामै बन्द छ । उनी महानगरको कार्यालय धाउन थालेको ४ हप्ता पुगेछ । 

‘मेरो मात्र होइन, धेरैको फाइल हराइदिएको छ रे,’ उनले भनिन् । 

भूइँ तल्लामा शिक्षा, पञ्जीकरण, दर्ता चलानी, कर र नक्सा शाखा, जनसम्र्पक डेक्स, विद्युत शाखाका विभागहरु थिए । पहिलो तल्लामा प्रशासन शाखा, कानुन महाशाखा, प्रमुख प्रशासनको कोठा र लेखाशाखा थियो । 
दोस्रो तल्लामा सम्पदा संरक्षण केन्द्र प्रमुख, सहरी विकासको सबै अफिस, पूर्वाधार, जिन्सी केन्द्र पर्यटन शाखा छ । तेस्रो तल्लामा प्रमुख र उपप्रमुखको कोठा, सचिवालय र भूकम्प शाखा  छ ललितपुर महानगरको कार्यालयमा । 

प्राय सबै शाखाहरु सेवाग्रही मैत्री देखिएनन् । अधिकांश शाखाको प्रमुखको कुर्सी रित्तो थियो । कहाँ जानु भएको भन्ने जिज्ञासामा कोही मिटिङ भन्थे, कोही विदामा । कोही चै भर्खरै आउनुभाथ्यो प्रमुखकोमा जानु भएको होला भन्ने जवाफ आउथ्यो ।
 

Leave A Comment