खै त बालगीत !

बिहिबार, २८ असार २०७५, ०३ : ३६ पुष्पा थपलिया
खै त बालगीत !

कालिमाटी निवासी सिस्ता श्रेष्ठको (वर्ष ३) मुखमा अहिले ‘मन ठूलो कि धन ठूलो’ गीत झुण्डिएको छ । केही हप्ता भयो, उनी हिन्दी गीत छाडेर यो गीतमा आदि भएकी । तोतेबोलीमा जब उनी यो गीत गुन्गुनाउँछिन्, आमा शर्मीला मख्ख परेर सुनेको सुन्यै हुन्छिन् । उनका बाबाको पनि अफिसको थकान मेट्ने माध्यम सिस्ताले गुन्गुनाउने गीत नै बनेको छ । 

कोही आफन्त घरमा आयो कि, शर्मिलाले छोरीलाई गीत गाउन लगाउँछिन्, जसमा हिन्दी फिल्मका आइटम गीतको संख्या बढी हुने गरेको छ । कहिलेकाहीँ सिस्ता गाउँदागाउँदै भुल्छिन्, त्यस्तो बेला सम्झाउने कार्यभार पनि शर्मिलाकै काँधमा छ । अस्पष्ट स्वरमा उनले आइटम गीत गाएको सुनेर सबै खुसी मान्छन्, कसैले त खानेकुरा पनि दिन्छन्, यसैमा सिस्ता खुसी हुन्छिन् र जो पाहुना आए पनि झर्को नमानी गीत गाउँछिन् । 

कुलेश्वरमा बस्ने कुशल पाण्डे (वर्ष ४) पनि कम छैनन् । उनी त झनै हिन्दी फिल्मका गीत मात्रै हैन, हिरो–हिरोइनले बोल्ने प्रेमिल संवाद पनि दुरुस्तै उतार्ने गर्छन् ।  त्यति मात्रै हैन, उनी अंग्रेजी गीत पनि गाउन सक्छन् । एकताका ‘सेप अफ यु’ बोलको गीत उनको मुखमै टाँसिएको थियो ।  कतिपय त अश्लील शब्द भएका गीतहरु पनि उनीहरु गाइरहेका हुन्छन्, अनि अभिभावक पनि उनको मुखबाट निस्किएका अश्लील शब्द सुनेर हाँसिरहेका हुन्छन् । 

भनिन्छ, बालबालिका काँचो माटो हुन्, जसलाई जस्तो आकारमा पनि ढाल्न सकिन्छ । गलत आकारमा ढाल्यौं भने पुनः सही आकारमा ल्याउन निकै मुस्किल पर्छ । बाल मनोविज्ञ अनिल कर्ण, गीतको मामिलामा पनि बालबालिकाको मनोविज्ञान त्यस्तै हुने बताउँछन् । उनले भने, ‘हामी बालबालिकाले अश्लील शब्द बोले सुरुमा यस्तो बोल्यो भन्दै हाँस्छौं, यसले उनीहरुमा हौसला बढ्छ, झनै बढी बढी बोल्न थाल्छ, अनि चुप लाउन पिट्न थाल्छौं । कस्ले बोल्न सिकायो भनेर उनीहरुलाई हप्काउँछौं, वास्तविकतामा सिकाएको त हामीले नै हो ।’

सुरुमा प्रोत्साहित गर्ने र पछि उनीहरुलाई नराम्ररी झपार्ने व्यवहारले बालबालिकाको मस्तिष्कमा गहिरो छाप छोड्ने कर्णको धारणा छ ।  गीतमा पनि यही कुरा लागू हुने उनको जिकिर छ । उनले भने, ‘हामीले सुरुमा यस्तो गायो भन्छौँ, दोहो¥याउन खानेकुराकोे लालच देखाउँछौं, पछि उनीहरु त्यस्तै उछृङ्खल गीत सुन्ने, उछृङ्खल साथीहरुको संगतमा पर्ने हुन्छन्, अनि हामी नै उनीहरुलाई हप्काउँछौं, यो गलत व्यवहार हो ।’ 

बालगीत नआउनुको कारण
सबैका लागि गीत बन्छन् । बालबालिका केन्द्रित गीतहरु पनि थुप्रै बनेका छन् तर जति बन्नुपर्ने हो र लोकप्रिय हुनुपर्ने हो, त्यति भने बन्न सकेको छैन । नयाँ बालगीतहरु बने पनि बालबालिकाको कानसम्म पुग्न सकेको नसक्नुका विविध कारण हुनसक्ने कभर भिडियो निर्देशक आभाष आचार्य बताउँछन् । आचार्य विभिन्न गीतहरुलाई बालबालिकाको कन्सेप्टमा कभर भिडियो बनाएर युट्युबमा राख्छन् । उनले भने, ‘बालबालिकाले बालगीत त सुन्दैनन्, कमसेकम १८ कटेकाहरुका लागि बनेका गीतमै भए पनि उनीहरुको सोचाई परिवर्तन गर्न सकियोस् भनेर म यस्ता भिडियोहरु बनाउँछु ।’

उनले विभिन्न फिल्मका गीतमा बालबालिकालाई प्रयोग गरेर कभर भिडियो बनाउने गरेका छन् । 
अर्का बालमनोविज्ञ सबनम श्रेष्ठ यस्ता कभर भिडियोले झनै बालबालिकाको दिमागमा नराम्रो असर पार्ने बताउँछिन् । उनले भनिन्, ‘यो भनेको वाइनमा फलफूलको जुस हुन्छ, त्यसैले स्वास्थ्यलाई फाइदा गर्छ भन्नुजस्तै हो ।’ उनले जोड दिँदै भनिन्, ‘गीत उही १८ माथिकाको हुन्छ, भिडियोमा भने साना बालबालिकालाई नचाएर उनीहरुलाई आकर्षित गर्नु भनेको पैसा कमाउने तरिका मात्रै हो ।’

यस्तो कभर सङले अभिभावक पनि भ्रममा पर्ने र बालबालिकालाई त्यस्तै गीत लगाइदिने गरेको उनको अनुभव पनि छ । उनले थपिन्, ‘अहिले बालबालिकाकै लागि भनेर तयार पारिएका कार्टुनहरुले समेत अश्लील शब्द र प्रेमलाई गलत ढंगले व्याख्या गर्छ, त्यसैले बालबालिकाले कार्टुन हे¥यो भनेर छाडिदिने हैन, कस्ता किसिमका कार्टुन हेरिरहेका छन् भन्ने कुराको पनि ध्यान दिन जरुरी छ ।’  

अंग्रेजीको मारमा नेपाली बालगीत
बालगीत बालबालिकाका लागि तयार पारिन्छ तर यो उनीहरुकै कारण चल्न सकेका छैनन् । दुई दसकअघिसम्म जस्ता बालगीत बन्थे, चल्थे, आज पनि तिनै गीतबाहेक नयाँ बालगीत चल्तीमा आउन सकेका छैनन् ।  एजुकेड नेपाली प्रा.लि.का आयुश ठकुरी अभिभावकहरुले नै बालबालिकाले नेपाली बोलेको मन नपराउने कारण नेपाली गीत गाउँदा मन पराउने कुराको कल्पनै गर्न नसकिने बताउँछन् । 

ठकुरीले भने, ‘बालगीतहरु मज्जासँग बन्छन् र चल्छन् पनि । बालबालिकाहरु पनि बालगीतमा मज्जासँग रमाउँछन् तर अभिभावकले नेपाली बालगीत बालबालिकालाई सुन्न दिँदैनन् । अंग्रेजीमा बनेका नयाँ बालगीत स्कुलहरुले पनि सिकाउँछन् । एजुकेड नेपाली प्रा.लि.ले नेपाली बालगीहरुको भिडियो बनाएर युट्युबमा राख्ने गरेको छ, त्यसैगरी अंग्रेजी बालगीतलाई पनि अनुवाद गर्ने गरेको छ । 

कलंकीमा रहेको एक विद्यालयको नर्सरी कक्षामा पढाउने शिक्षिका आयुषा केसीले ठकुरीको कुरामा सहमति जनाउँदै भनिन्, ‘अभिभावकहरु सुरुमै मेरो बच्चाले अंग्रेजी बोल्यो कि बोलेन भनेर सोध्छन् । त्यसैले उनीहरुलाई हामी अंग्रेजी बालगीतका माध्यमबाटै पढाउँछौं । उनीहरुलाई ए, बी, सी, डी, वन, टु तथा हप्ता, महिनाका नाम, रङहरुका नाम सबै अंग्रेजी बालगीतको माध्यमबाट सिकाउँछौँ । यिनै कुरा सिकेर जब बालबालिकाले घरमा सुनाउँछन्, अभिभावक पनि दङ्ग र हामी पनि मख्ख !’

बालगीत गायन, संगीत तथा रचनामा रमाइरहेका आभाष पनि अंग्रेजीले नेपाली बालगीतलाई पछि पारेको स्वीकार्छन् । उनले भने, ‘अंग्रेजी मात्रै हैन, कतिपय स्कुलले त आफ्ना कार्यक्रममा हिन्दी फिल्मका आइटम गीतमा बालबालिकालाई उफारिरहेका हुन्छन्, यो निकै गलत चलन हो ।’ 

नेपाल सरकारलाई बालगीतको महत्व थाहा नभएकाले बालगीतको भविष्य अन्धकार भएको आभाषको गुनासो छ । उनले भने, ‘मैले बनाएको लेकका हामी केटाकेटी गीत अंग्रेजीमा पनि अनुवाद गरिएको छ र विदेशीले त्यसलाई आफ्नै सम्पत्ति बनाएका छन् । यस्ता कयौँ बालगीतलाई विदेशीले आफ्नो नाम गरिसके सरकारलाई पत्तो छैन ।’

बालगीत मनोरञ्जनका लागि मात्र हैन, ज्ञानका लागि पनि हो भन्दै आभाषले ज्ञान र भाषा फरक भएको बताए । उनले भने, ‘हाम्रा अभिभावक अंग्रेजीलाई ज्ञानका रुपमा लिइरहेका छन् । कसैले अंग्रेजी बोल्यो कि हाम्रो समाजले उसलाई विद्वान बनाइदिन्छ, यो बुझाइ नै गलत हो ।’

यसैको असर नेपाली बालगीतमा परिरहेको उनको धारणा छ । एक वर्षको अवधिमा आफूले ४० ओटा बालगीत तयार पारिसकेको र अब छिट्टै बाहिर ल्याउने तयारीमा रहेको पनि उनले जनाए । 
‘संगीत सिकाईको महङ्खवपूर्ण माध्यम हो,’ उनी भन्छन्, ‘तर यस माध्यमको दुरुपयोग भइरहेको छ, चाहे त्यो स्कुलको लापरवाहीका कारण होस् या अभिभावकको अज्ञानताका कारण ।’
 

Leave A Comment