अभिनेत्री साम्राज्ञीकाे ब्रेकअप,शंकाले जलायो लंका

शुक्रबार, २९ असार २०७५, ०४ : २८ शुक्रवार
अभिनेत्री साम्राज्ञीकाे ब्रेकअप,शंकाले जलायो लंका

नेपाली कलाकारहरुको प्रेम देख्दा लाग्छ– जोडी बाँधिनु र छुट्नु यहाँ कुनै ठूलो कुरा होइन । यस्तै देखियो अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र व्यवसायी मयंक खड्काको प्रेमयात्रा र ब्रेकअप । 

नेपाली फिल्मकी चल्तीकी अभिनेत्री साम्राज्ञी र काठमाडौंको दरबारमार्गमा रहेको डेजा भु क्लबका सञ्चालक खड्काबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो जुन अहिले एकाएक टुट्यो ।

सामाजिक सञ्जालमा दुवैको प्रेमिल तस्बिर सार्वजनिक भइरहे । साम्राज्ञीको फिल्म सुटिङस्थलमा मयंक पुगिरहन्थे । दुवैबीचको पे्रम यात्रा कसै सामु लुकेको थिएन तर उनीहरुले सार्वजनिक रुपमा स्वीकार गरेका पनि थिएनन् ।

जब दुवैको सम्बन्ध चिसो भयो साम्राज्ञी मौन छिन् । ब्रेकअपबारे जिज्ञासा राख्ने पत्रकारसँग उनी झर्किरहेकी छिन्, ‘अनि के भो त ?’ 

मयंकले भने स्वीकार गरे शुक्रवारसँग ।

दुवैबीचको सम्बन्धबारे जान्न मयंकसँग फोन सम्पर्क गर्दा सुरुमा उनले अफेयर स्विकार्न हिच्किचाए । उनले ‘हामी रिलेसनमै थिएनौं र अहिले पनि छैनौ’ भने । 

गफैगफमा उनको मुखबाट फुत्कियो, ‘हामी रिलेसनमा थियौं तर ब्रेकअपको कारण भने खुलाउन चाहन्नँ, खुलाएँ भने तपाईंले लेख्दिहाल्नुहुन्छ ।’

सस्पेन्स लभ, ओपन ब्रेकअप
चार वर्ष अगाडिबाट ग्ल्यामर यात्रा सुरु गरेकी साम्राज्ञी र मंयकबीचको भेट र प्रेम यात्रा संस्पेन्समै थियो । जब उनीहरुले तस्बिर सार्वजनिक गर्न थाले त्यसपछि नै दुवैबीच झाँगिएको प्रेम सम्बन्ध खुलेको थियो । 
डेढ वर्षअघि आफ्नो जन्मदिनको अवसर पारेर साम्राज्ञीले मयंक खड्का ‘राहुल’ सँगको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । र, लेखेकी थिइन्, ‘द डे ह्याज जस्ट बिगन’ । त्यसपछि उनीहरुको अफेयरको पोल खुलेको थियो । 

‘ड्रिम्स’ हुँदै साम्राज्ञीको फिल्मी यात्रा अगाडि बढ्दै गयो । दुवैबीच निकटता पनि उत्तिकै झाँगिदै गएको दुवैले बारम्बार सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको तस्बिरले देखायो । काठमाडौं, दरबारमार्गको भिक्ट्री लाउन्जमा उनीहरूले थुप्रै पल्ट डेटिङ गरेका तस्बिर फेला परे । 

फिल्मका कार्यक्रममा पनि कहिलेकसो मयंक साम्राज्ञीसँग आउँथे तर सँगै फोटो खिचाउन मान्दैनथे । ‘ए मेरो हजुर–२’को फिल्मको सुटिङताका साम्राज्ञीलाई भेट्न मयंका पोखरा नै पुगेको खबरसमेत सार्वजनिक भएको थियो । 

निकटस्रोतका अनुसार दुवैको प्रेमको विषयमा दुवैको परिवार जानकार थियो । साम्राज्ञीकी आमा मंयकबारे सकारात्मक रहेको स्रोतले बतायो ।

तर दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्ध भने खुलाएनन् कहिल्यै । 

साम्राज्ञीलाई जन्मदिनमा ब्वाइफ्रेन्ड सार्वजनिक गरेको खबरबारे प्रश्न गर्दा उनले त्यतिबेला शुक्रवारसँग भनेकी थिइन्, ‘यो मेरो प्राइभेट लाइफ हो । अहिलेसम्म मेरो ब्वाइफ्रेन्ड छ÷छैन मैले कसैलाई भनेको छुइन । पछि भन्नुप¥यो भने राम्रोसँग लेखेरै भन्छु होला ।’ 

साम्राज्ञीले भनेझै उनले आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्नुअगाडि नै ब्रेकअपको समाचार बाहिरियो । 

शंकाले जलायो लंका
जसरी यी दुवैबीचको प्रेमको प्रारम्भ सस्पेन्समै छ, यी दुवैबीचको ब्रेकअपको कारण पनि सस्पेन्समै छ । ब्रेकअपको हल्का संकेत भने दिएका छन् मयंकले सामाजिक सञ्जालमार्फत ।

उनले फेसबुक स्टाटसमा लेखे, ‘मैले शंका गरेँ रे, कति हाँस्नु !’

शुक्रवारसँगको कुराकानीमा उनले शंका गरेको भएर ब्रेकअप भएको खबर गलत रहेको पुष्टि गरे । त्यसो भए खास कारण भन्दिनु न त भन्ने प्रश्नमा उनले खुलाउन आनाकानी गरे । 

‘मेरा नजिकका साथीहरु, मेरो परिवारका सदस्यहरुलाई थाहा छँदैछ, के कारण ब्रेकअप भयो भन्ने । त्यसैले म यसलाई पब्लिक बनाउन चाहन्नँ ,’ उनले भने । साम्राज्ञी यसबारे मौन नै छिन् । 

दुवै निकटबाट आएको सूचनाअनुसार मुख्य कारण एक अर्काबीचको शंका नै हो । अर्को कारण साम्राज्ञीको महत्वकांक्षा  । साम्राज्ञी डिमाण्डिङ अभिनेत्री बन्दै गइन् । उता रात्रिकालीन व्यवसायमा आबद्ध मयंक विवादमा तानिन थाले ।

केही महिनाअघि डेजाभु नाइट क्लबले विश्व चर्चित डिजे मार्स मेलोलाई कार्यक्रममा सहभागी गराउन नसक्दा उत्पन्न भएको घटनामा मयंक प्रहरी हिरासतमा पुगेका बेला साम्राज्ञी भेट्नसम्म पुगिनन् । त्यसले उनीहरुको सम्बन्धमा खटपट बढाएको देखियो । 

पछि फेरि ‘कायरा’ फिल्मको सुटिङताका वक्षस्थल छेउमा खोपिएको साम्राज्ञीको ट्याटु तस्बिर बाहिरियो । त्यतिबेला मंयकले केही अनलाइन मिडियालाई फोटो डिलिट गर्न रिक्वेष्ट गर्दै म्यासेज पठाएका थिए । त्यसले साम्राज्ञी र मयंकको सम्बन्धमा सुधार आएको देखाएको थियो । 

साम्राज्ञी ‘कायरा’, ‘इन्टु मिन्टु लण्डन’ लगायतका फिल्मको सुटिङमा विदेशतिर व्यस्त भइन् । मयंक यतै रहे । यही ग्यापमा दुवैको मनमा शंका उब्जिएको जानकार स्रोतको दाबी छ । 

मुख्यतः ‘इन्टु मिन्टु लण्डन’ को सुटिङका क्रममा अभिनेत्री साम्राज्ञी लन्डन पुगेकी थिइन् । त्यतिबेला मयंकले साम्राज्ञीलाई उनको एक्टर धिरज मगरसँग निकट भएको भन्दै शंका गर्न थाले । 

आफू विदेशमा रहँदा मयंक यता नेपालमा अर्कै युवतीसँग निकट भएको सन्देश पाइन् साम्राज्ञीले । यसैले दुवैको तातो प्रेम चिसिन थाल्यो । दुवैबीच शंका बढ्दैजाँदा अन्त्यमा अलग हुन सहमत भए । 

 

‘पहिले रिलेसनसिपमा थियौँ, अहिले छैनौँ’

मयंक खड्का
हामीले त पहिले पनि हाम्रो सम्बन्ध बाहिर ल्याएका थिएनौँ, अहिले पनि ल्याएका छैनौँ, खै कसरी लेख्नुहुन्छ ? बाहिर ल्याएपछि पो थाहा हुनुपर्ने हो । हामी पहिले रिलेसनसिपमा थियौँ, अहिले छैनौँ । त्यो कुरा सही हो तर जे कुरा मिडियामा आएको छ, त्यो गलत हो । मैले शंका गरेकाले ब्रेकअप भएको भन्नु गलत हो । अब के कारण ब्रेकअप भयो भन्ने चाहिँ म बाहिर ल्याउन चाहन्नँ । मेरा नजिकका साथीहरु, मेरो परिवारका सदस्यहरुलाई थाहा छँदैछ, के कारण ब्रेकअप भयो भन्ने । त्यसैले म यसलाई पब्लिक बनाउन चाहन्नँ ।  

 

Leave A Comment