किन बोल्दैनन् सुष्मा र पूजा ?

शुक्रबार, २९ असार २०७५, ०४ : ५९ शुक्रवार
किन बोल्दैनन् सुष्मा र पूजा ?

अभिनेत्रीहरु झरना थापा, नीता ढुंगाना, रेखा थापा, पूजा शर्मा, श्वेता खड्का क्रमशः अगाडि पङ्क्तिमा लस्करै बसेका थिए । पछाडिबाट आइपुगिन्, सुष्मा कार्की । 

पालैपालो पछाडिबाटै झरना, नीता र रेखासँग उनले हात मिलाइन्, त्यसपछि अंकमाल गरिन् । जब पूजाको पालो आयो, उनी थोरै पछाडि फर्किइन् । त्यसपछि पूजालाई इग्नोर गरिन् । एकैचोटी श्वेतासँग अंकमाल गरिन् । रेखाले सुष्माको हात समातेर पूजासँग मिलाउन खोजिन् । तर सुष्मा झर्किँदै पर लागिन् । 

बिहीबार काठमाडौंस्थित मध्यबानेश्वरको डाइनिङ पार्क रेष्टुरेन्टमा ‘रमाइलो छ’ ले आयोजना गरेको एनिभर्सरीमा देखिएको दृश्य हो यो । पहिल्यैदेखि चर्चा थियो– सुष्मा र पूजाबीच राम्रो सम्बन्ध छैन । यो दृश्यले पुष्टि गरिदियो– उनीहरुको सम्बन्ध पानी बाराबार छ । 

धेरैलाई उत्सुकता छ– पूजा र सुष्मा के–कारण बोल्दैनन् ? सुष्मा किन पूजासँग चिढिन्छिन् ? स्रोतको दाबी छ, यसको एउटै कारण हो– सुदर्शन थापा । 

किनभने कुनैबेला सुदर्शन सुष्माको प्रेमी थिए, अहिले उनी पूजासँग निकट छन् । सुष्मासँग ब्रेकअप भएपछि पूजा र सुदर्शन अफेयरमा रहेको चर्चा फिल्मवृत्तमा व्यापक छ । र, सुष्मालाई पूजा सुदर्शन नजिक भएको मन पर्दैन । त्यसैले सुष्मा दुवैसँग बोल्न नरुचाउने उनी निकटस्थहरु बताउँछन् । 

यता पूजा र सुदर्शनको प्रेम पनि दुवैले स्वीकारेको अवस्था भने छैन । दुवै यसलाई मित्रतामात्रै भनिरहेका छन् । तर लगातार सुदर्शनको फिल्मसँग पूजा एसोसिएट भने भइरहेकी छिन् । जसले शंका गर्ने ठाउँ भने दिइरहेको छ । 

के–कारण सुष्माले पूजालाई इग्नोर गरेकी हुन् ? कारणबारे जान्न खोज्दा सुष्मा शुक्रवारकर्मीसँग उल्टै झर्किइन् ।  ‘म कसैसँग बोलौं–नबोलौं, हात मिलाउँ नमिलाउँ त्यो मेरो पर्सनल कुरा हो । यत्तिकै जे मन लाग्यो त्यही लेख्न बोल्न कहाँ पाइन्छ ? ननसेन्सहरु !,’ उनको जवाफ थियो । 

उनी यत्तिमै रोकिइनन् । उल्टै धम्काइन् पनि, ‘तपार्इंले यसबारे केही लेख्नुभयो भने म मुद्दा हाल्दिन्छु, मेरो मानहानी ग¥यो भनेर ।’ यता पूजासँग यसबारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आइनन् । उता सुदर्शन सुष्मा र पूजाको यो दृश्यबारे मौन नै छन्, कुनै प्रतिक्रिया जनाएका छैनन् । 

रेखाले सुष्माको हात तानेर पूजासँग मिलाउन खोजेको दृश्य देखेपछि शुक्रवारकर्मीले झगडाको कारणबारे रेखासँग जान्न खोज्दा उनले आफूलाई थाहा नभएको बताइन् । ‘बोल्दैनन् भन्ने चाहिँ थाहा थियो त्यसैले मिलाउन खोजेको तर सुष्माले मान्दै मानिनन्,’ रेखाले शुक्रवारलाई सुनाइन् । 


 

Leave A Comment