‘कपिराइटको टन्टोले टाउको खान्छ’

आइतबार, ३१ असार २०७५, ०५ : ५५ शुक्रवार
‘कपिराइटको टन्टोले टाउको खान्छ’

ज्योभान भुजु युट्युब प्रयोगकर्तामाझ परिचित नाम हो । भिन्नभिन्न गायकको कभर सङ गाएरै उनी हिट छन् । एकाउन्ट पढ्न युके पुगे पनि असफल भएर नेपाल फर्किएका उनी अहिले सांगीतिक क्षेत्रमा भने सफल हुँदैछन् । उनै भुजुसँग शुक्रवारकर्मी पुष्पा थपलियाले गरेको अन्तरंग संवाद ।

यो ज्योभानको अर्थ चैं के रहेछ ?
मलाई पनि यसको एक्ज्याक्ट मिनिङ के हुन्छ भन्ने थाहा छैन । सबैले नामको सुरुमै यसको अर्थ खोज्छन्, उच्चारण गर्न पनि राम्रोसँग जान्दैनन् । साँच्चै अप्ठ्यारो नै रहेछ कि क्याहो ! प्रायः कमै मानिसले मेरो नाम सही तरिकाले उच्चारण गर्न र लेख्न जान्दछन् । सबैले आफूलाई सजिलो हुने तरिकाले कोही जीवन, कोही ज्योवन, कोही जोवन लगायतका नाम दिन्छन् । यस्तो अप्ठ्यारो नाम चैं मेरो फूपूले राखिदिनुभएको हो रे ! मेरो ममीको नाम ज्योति, अनि त्यही मिलाउन ज्योभान राख्नुभयो होला सायद । एउटा अमेरिकी ब्रान्डको पफ्र्युम पाइन्छ नि, ज्योभान भन्ने, सायद त्यही होला कि !

संगीतमा कसरी आउनु भयो ? 
संगीतमा त म ढिलै आएको हुँ । परिवारले धेरै सपोर्ट गरेको हो तर म आफैँ यस पेसाप्रति विश्वस्त हुन सकिनँ । सानो उमेरदेखि नै मेरो परिवारले यस क्षेत्रमा आउन सहयोग गरेको थियो । म एक्लैले प्रयोग गर्नका लागि यति ठूलो फ्ल्याट नै स्टुडियो बनाउन दिनुभएको छ । कहिलेकाहीं धेरै मानिस आएर हल्ला भयो भने, भाडा दे चैं भन्नुहुन्छ । 

यति धेरै सपोर्ट रहेछ परिवारबाट तर पनि संगीतको क्षेत्रमा आउन किन ढिला त ?
म  प्लस टु सकेपछि बाँकी पढाइ पूरा गर्न बेलायत गएँ । त्यहाँ मैले म्युजिक पढिनँ, एकाउन्ट पढेँ । यो मेरो बिलकुल व्यक्तिगत निर्णय थियो । खै, किन हो– मलाई म्युजिक पढेर भविष्य पो बिग्रेला कि भन्ने लाग्यो । बेलायत चार वर्ष बसेपछि भने मेरो ठाउँ यो हैन रहेछ भन्ने फिल भयो, अनि त्यहाँ भएका साथीहरुले पनि म्युजिकमा लाग्न प्रेरणा दिनुभयो ।  अनि नेपाल फर्किएर कभर सङहरु गर्न थालेँ र अहिले यसैलाई अगाडि बढाइरहेको छु । 

नेपाल आउनेबित्तिकै कभर सङ गरिहाल्नुभएको हो र ?
हैन ।  नेपाल आएपछि मैले चार वर्ष लगाएर संगीत सिकेँ । इन्डियाबाट सम्बन्धन पाएको स्कुलमा शास्त्रीय संगीत सिकेर सर्टिफिकेट हात पारेपछि मात्रै मैले संगीत विषय पढाउन थालेँ । त्यो समयमा म स्कुल पढाउने, कभर गीतहरु गाएर युट्युबमा राख्ने अनि बेलुकीको समय विभिन्न रेस्टुराँमा लाइभ गाउने गर्थें, त्यो क्रम अहिलेसम्म पनि जारी छ । तपाईंलाई रोचक पनि लग्नसक्छ, मैले मेरो म्युजिक करियर एक्लै सुरु गरेँ । अहिले पनि यस क्षेत्रमा मेरा जिग्री टाइपका साथी छैनन् । हुन त सबैले आफ्नो काम आफैँ त गर्ने हो नि भन्नुहोला, तर संयोग कस्तो भयो भने मेरो परिवारका कोही पनि यस क्षेत्रका छैनन्, म एक्लै हो । अनि संगीतको ट्युसन पढ्थेँ, त्यहाँ पनि एक्लै । जति पनि स्टेज सोहरु गरेको छु, त्यो सबै सोलो छन्, अरु त अरु मेरो युट्युबका कभर गीतिहरु पनि आफैँले खिच्ने, आफैँले बजाउने र आफैँ गाउने अनि एडिट पनि आफैँ गरेर राख्ने गरेको छु । गु्रपमा काम गर्ने र संगीतमा भिजेका मानिससँग संगत गर्ने मौका नै पाइनँ, अहिलेसम्म पनि पाएको छैन । 

शास्त्रीय संगीत सिकेको मान्छे, साधना छाडेर किन ड्याङड्याङ डुङडुङ गीततिर सक्रिय त ? 
मैले मेरा गुरुहरुलाई हेरेँ । हामी शिक्षकले पढाएको देख्दा शिक्षक बन्ने सपना देख्छौँ तर संगीतका गुरुको हालत देख्दा डर लाग्छ । सपनामा पनि आफू त्यस्तै भएको नदेखौँ भन्ने लाग्छ । यो देशमा शास्त्रीय संगीतमा लाग्नेको हालत निकै खराब छ । यसमा लाग्नेको आर्थिक अवस्था निकै कमजोर छ । त्यसैले मलाई मेरा गुरुजस्तो बन्नु छैन ।

सबै काम एक्लै गर्नुभयो, संगीतका साथी पनि छैनन् भन्नुभयो । अनि बिना कनेक्सन लाइभ म्युजिक कसरी पाउनुभयो त, कसरी कन्ट्र्याक्ट गरे रेस्टुराँले तपाईंलाई ?
अँ, यो मानेमा पनि म लक्की निस्किएँ । मेरो फ्यामिली फ्रेन्ड मोहितवंश आचार्य (हरिवंश आचर्यका छोरा) को कुपन्डोलमा ब्रिक्स क्याफे छ, त्यहीँ उसैले गाउन लगायो । लगायो मात्रै के भन्नु अर्डर नै दियो भनौं, गाउनलाई ।  सुरुमा भएकाले होला पैसा पनि थोरै दिएको थियो, त्यहीँ गाएपछि अन्य बार तथा रेस्टुराँका मानिस, एजेन्सीहरुसँग सम्बन्ध बढ्यो र स्टेज कार्यक्रमहरु पाउन थालेँ । 

भिडियो एडिट गर्न सिक्नुभएको त होला ?
कुनै इन्स्टिच्युटमा गएर सिकेको हैन । नेपाल आउनेबित्तिकै एड एजेन्सीमा काम गर्न पुगेँ । त्यहाँ काम गर्ने क्रममा संगीतमा लागेका थुप्रै मानिसहरुसँग भेटघाट गर्ने मौका पाएँ, अनि त्यही एजेन्सीमा अरु एडिटर दाइहरुको काम हेरेर बेसिक एडिटिङ सिकेँ । नौ महिना त्यस कम्पनीमा काम गरेपछि आफैँले घरमा डेक्सटप कम्प्युटर किनेँ र भिडियो एडिट थालेँ । प्रत्येक भिडियोमा नयाँ प्रयोग गर्दागर्दा अहिले त भिडियो एडिटको काम चैं कामचलाउ गर्नसक्छु भन्ने कन्फिडेन्ट बढेको छ ।  

आफ्नै स्टुडियो छ, गीत आफैँ लेख्नुहुन्छ, सबै काम आफैँ गर्नुहुन्छ तर कभर गीतबाट करियर सुरु गर्नुको कारण चैं के हो ? आफ्नै ओरिजनल गीत पनि त गाउन सकिन्थ्यो नि हैन ?
धन्न तपाईंले कभर सङ गाएर चर्चामा आउने सर्टकट बाटो अपनायो भन्नु भएन ।  नत्र त सर्टकट बाटो अपनाएर चर्चा र पैसा दुवै कमायो भन्नेको लर्को छ अचेल तर यसमा कति पीडा छ भन्ने त हामीलाई नै थाहा छ । कुरा रह्यो, मैले किन कभर सङ गाएँ भन्ने, कभर सङ गाउने चलन नेपालमा मात्रै हैन, विश्वभर नै छ । म युकेमा हुँदा कति युट्युबरहरु कभर गाएरै सेलिब्रेटी बनेका, मालामाल भएका देखेको थिएँ । त्यही बेलादेखि मलाई पनि कभर गर्ने सोच आयो । फेरि मैले लेखेका गीतहरु अलि रुन्चे पिन्चे, स्लो मोसनका स्याड सङहरु भए । अहिले जमानै चटपटे टाइपका गीतको छ, अनि मेरो गनगन कसले सुनिदिन्छ ? फेरि युट्युबमा मेरा आफन्त मात्रै भ्युअर्स भए लाजमर्दो हुन्न । कभर सङ त सबैले गाएर हाल्ने भए । त्यहीअनुसार मैले पनि राखिहालेँ, त्यही कभरलाई सबैले मन पराइदिनुभयो त मैले के गर्नु ! 

कभर गायकको पनि पीडा छ भन्नुभयो, के छ र त्यस्तो ?
सबैलाई लाग्छ, कभर गाउनेले युट्युबबाट पैसा पाउँछ तर यो गलत हो ।  अहिले त कपिराइटको टन्टोले टाउको खान्छ । फेरि यहाँ एकदमै दुःखलाग्दो कुरा के छ भने, मैले जति पनि पुराना गायक–गायिकाका कभर गाएको छु, ती सबैको कपिराइट इन्डियन कम्पनीको छ । त्यो पैसा नेपाली कम्पनीले लिएको भए या तिनै कलाकारका आफन्तले पाए, त्यति चित्त दुख्दैनथ्यो । यहाँ त कस्तो कस्तो नाम भएका इन्डियन कम्पनीको कपिराइट छ । हाम्रो देशका लागि काम लाग्ने, देशको सम्पत्ति छिमेकी देशले देख्दादेख्दै लगिरहेको छ । यहाँका बुद्धिजीवी भने सटकट अपनाएर चर्चा र पैसा दुवै कुम्ल्यायो भनेर कुर्लिरहेका छन् ।

त्यस्तो पनि हुन्छ र ?
भयो र त भनेको !  मैले जति पनि कभर गाएको छु, तिनीहरुबाट आएको पैसा मैले लिएको छैन । मेरो युट्युबमा तीस हजार क्रस सब्सक्राइबरहरु छन्, पुराना गीतहरु ५ मिलियन भन्दा बढी पटक हेरिएका छन्, ती सबैबाट आएको पैसाको भारतीय म्युजिक कम्पनीहरुले लगेका छन् । मलाई सबैले रोयल्टी दिनुपर्याे  भन्छन्, मेरो तर्फबाट त जो प्रतिलिपि अधिकारका धनी हुन्, उनीहरुले लगिरहेकै छन् । अझै एक पत्रकारले त मैले गीत गाएपछि आएको रकमको रोयल्टी ती गीतका स्रष्टा सर्जकका घरघर गएर दिनुपर्छ समेत भन्नुभयो । अब नारायण गोपालका छोरानातिको घर खोज्दै गएर, उनीहरु पनि दुई परिवारमा छुट्टिएका होलान्, पाँच रुपैयाँ रोयल्टी छ भने दुई रुपैयाँ पचास पैसा एकलाई अनि बाँकी अर्कोलाई दिएर आउनुपर्ने हो त मैले ?

अब अलिकति पारिवारिक कुरा पनि गरौं, बिहे गर्नुभयो ?
अँ, गरेँ । तीन बर्ष भैसक्यो बिहे गरेको पनि । अहिले छोरी पनि जन्मिसकिन्, संगीतबाट कमाएको पैसाले पास्नी पनि गरिसकेँ । 

कस्तो बिहे गर्नुभयो, लभ या एरेन्ज ?
यसलाई सेल्फ एरेन्ज भनिन्छ होला । म र मेरी श्रीमती एक कक्षादेखि दश कक्षासम्म सँगै पढेका हौं । त्यो बेलामा त्यस्तो लभ, आकर्षण भन्ने केही थिएन । पछि जब म युकेबाट आएँ, एक्सिडेन्ट्ली इन्टरभ्यु दिन गएकै कम्पनीमा उनीसँग भेट भयो । हामीले केही समय सँगै एकै कम्पनीमा काम पनि ग¥यौं । अब जुराएको होला, मेरी गर्लफेन्डले छोडेको सात महिना भएको थियो, उनको पनि ब्वाइफ्रेन्डसँग ब्रेकअप भएछ । हामी दुःखी दुःखी मिलेर परिवार सुरु गरौं न त भन्ने भयो अनि बिहे ग¥यौँ ।

सानैदेखि सँगै पढेको, जीवन त गज्जवसँग बितिरहेको होला है ?
के भन्नु ! साथीसँगै बिहे भयो । बिहे गरेकी श्रीमती जस्तो पनि लाग्दैन, साथीजस्तै लाग्छ । फेरि मेरा साथी सबै उसले पनि चिनेको छ, उसको साथी सबै मैले पनि चिनेको छु । यसो साथीहरुलाई यिनी मेरी श्रीमती भनेर चिनाउने मौकै मिलेन, सबैले ओई तैंले त ऊ सँग पो बिहे गरिछस् है भन्छन् ।  

आगामी दिनको योजना के छ त ?
धेरै योजना छन् । म यस क्षेत्रमा परिपक्व छैन, त्यसैले यसमा धेरै मिहिनेत गर्न बाँकी छ । अनि भ्वाइस नामको अन्तर्राष्ट्रिय कार्यक्रम हुन लागिरहेका छ नि, यसमा पनि सहभागिता जनाउने योजनामा छु । म नेपाल आइडलको पनि टप २८ बाट आउट भएँ । यस्ता कार्यक्रममा सहभागी हुँदा धेरै कुरा सिक्न पाइने लोभले म सहभागी हुन्छु । सबैले एक प्रकारको हाइप बनाइसकेको मान्छे, किन यस्ता टिभी सोमा भाग लिएको भनेर सोध्छन् । जितिएन भने बेइज्जत हुन्छ भन्छन् तर यो गलत हो । मलाई जान मन लाग्यो, त्यस्तोमा सहभागिता जनाउन मन लाग्यो भनेपछि त्यो मेरो व्यक्तिगत कुरा हो । अनि अन्तर्राष्ट्रिय मापदण्ड नै हेर्ने हो भने पनि यस्ता सोहरुले मानिसलाई पपुलर बनाउने हो । नेपाल आइडलले नै पनि मेरा धेरै फ्यान फलोइङ बढाइदियो । म यसैमा सन्तुष्ट छु ।    

आइडलबाट आउट हुँदा अनफेयर जस्तो लागेन ?
अहँ, पटक्कै लागेन । म पनि ओनर भएको भए त्यसै गर्थें होला जस्तो लाग्यो । अब तपाईं नै भन्नुस् न, मिडियामा के बिक्छ, आँशु, दुःख ! मेरो के छ त्यस्तो बिक्ने चिज ? कार चढेर रेस्टुराँमा गाउन जान्छु, बाआमाको पुग्ने सम्पत्ति छ, युके पढेर आएको मान्छे । आँशु आउने कुरै केही छैन त म कसरी त्यहाँ अडिन्छु ? तर त्यस कार्यक्रमबाट मैले सिक्न चैं धेरै कुराहरु सिकेंँ । 
 

Leave A Comment