‘नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन ’

शनिबार, ०५ साउन २०७५, ०२ : ४० अनिल यादव
‘नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन ’

गायिका प्रितीआले मगरको नाइट लाइफसँग गहिरो प्रेम छ । कुनैबेला दोहोरी साँझमा काम गर्दादेखि बसेको यो प्रेम अहिले ग्राहकका रुपमा पनि उस्तै छ । उनी स्टेज कार्यक्रमका लागि जुनसुकै देश जाँदा पनि नाइट लाइफमा रमाएकै हुन्छिन् । उनी विशेष गरी नाइट क्लबमा नाच्न र गजल साँझमा गीत सुन्न रुचाउँछिन् ।  नाइट लाइफसँग जोडिएका केही रोचक किस्सा उनले शुक्रबारलाई यसरी सुनाइन्  :

रातभरि क्लबमा 
कार्यक्रमका लागि कोरिया जाँदाखेरी हामीले एक रातमा चारवटा नाइट क्लब चहारेका थियौं । त्यो दिन म कहिल्यै बिर्सन्न । एकदमै रमाइलो भएको थियो । त्यस्तै युके जाँदाखेरी मसँग एकजना नायिका हुनुहुन्थ्यो । दुईजना सँगै क्लब गएका थियौँ । नायिकाज्यूको झ्याउरे नाच देखेर विदेशीहरु अनौठो मानेर हेरिरहेका थिए । त्यतिबेला एकदमै हाँसो उठेको थियो । 

ग्राहकले मुख छाडेपछि...
संघर्षको सुरुवाती चरणमा म पोखराको दाहोरीसाँझमा काम गर्दाको कुरा हो ।  एक हुल केटा मान्छेको जमात दोहोरीमा रमाइलो गर्न आएको थियो । तीनवटा टेबल नै भरिएको थियो । म स्टेजबाट कार्यक्रम सञ्चालन पनि गर्थेँ । ग्राहकहरुले अफर गरेको गीत छिटो नहुँदा रिसाउने त बानी नै हुन्थ्यो । त्यो दिन पनि एकजना रिसाइरहेका थिए । मैले  पालो आउँछ, आउँछ भनिरहेकी थिएँ । त्यही पनि सुन्नै नसक्ने अपशब्द बोलेर एउटाले मुख छाड्यो । सहनै सकिनँ । हातमा छ्याइछ्याइ पार्ने बाजा बजाइरहेको थिएँ । त्यही बजाउनेले  हान्दिएँ । ठूलो झगडा भयो । माहोल सम्हाल्नै गाह्रो । मलाई कुट्न भनेर बाहिर बाटो पनि ढुकेछन् । तर मलाई पछि दाइहरुले घर पु¥याइदिनुभयो ।  

त्यस्तै ग्राहकलाई मादलले हानेको घटना पनि छ । पोखरामै हुँदा हो । जाँड खाएर एकदमै तुच्छ व्यवहार गरेपछि स्टेजबाटै मादलले हानेको थिएँ । दोहोरी, डान्सबारतिर काम गर्ने युवतीलाई नराम्रो दृष्टिले हेर्ने गर्छन् गाह्रकहरु । अनि हेप्न खोज्छन् । यो ठिक प्रवृत्ति होइन । 

दोहोरीमा काम गर्दा त्यस्ता धेरै ग्राहक भेटिन्थ्यो जो खाइरहेको ग्लास स्टेजमै प्रहार गर्थे । झगडा गर्थे । गेष्टलाई गीत गाउन दिने अवसर पनि हुन्छ । अफर गरेको गीत छिटो भएन पनि रिसाउँछन् । गाउन दियो भने फोहोरी शब्द प्रयोग गरेर हैरान बनाउँछन् । यस्तो धेरै भोगिएको छ ।  

साथी सम्हाल्नै गाह्रो
म प्रायः बहिनी र साथीहरुसँग क्लब जाने गर्छु । नाच्न एकदमै मनपर्छ । क्लब जाँदा म त आफूलाई कन्ट्रोल गर्न सक्नेगरी नै पिउँछु । तर साथीहरुलाई सम्हाल्नै गाह्रो हुन्छ । कोही पिएपछि झगडै गर्न खोज्छन्, कोही फ्लोरमै लड्दिन्छन्, बमिट गर्दिन्छन् । बोकेर घर ल्याउँदा हैरान भइन्छ । यस्तो धेरै भएको छ । 

विदेश र काठमाडौंको नाइट क्लब
विदेश र काठमाडौंको नाइट क्लबमा धेरै फरक पाएँ । विदेशमा कोसँग आयो, के खायो, के लायो केही मतलब हुँदैन । कोही इन्ट्रेष्ट देखाएर बोल्न चाह्यो, नाच्न चाह्यो भने त्यही खालको रेस्पेक्ट हुन्छ । तर यहाँ त्यस्तो हुन्न । साथीसाथी सँगै नाचिरहेको बेला अर्को केटा जबरर्जस्ती नाच्न आउँछ, टाँसिन आउँछ, घोच्न आउँछ । यस्तो धेरैपटक भोगियो । यस्तै खराब प्रवृत्तिका कारण क्लबतिर झगडा धेरै हुन्छ । 
मलाई काठमाडौंको नाइट लाइफको नराम्रो पक्ष भनेकै आफ्नो तरिकाले इन्जोय गर्न नपाउनु हो । यहाँ हस्तक्षेप धेरै हुन्छ । त्यस्तो देख्दा नरमाइलो लाग्छ । डिस्कोमा छिरेपछि आफ्नो तरिकाले म्युजिकलाई इन्जोय गर्दै नाच्न पाइयोस् भन्ने लाग्छ । 

मनपर्ने क्लब
म पहिला काठमाडौंमा दरबारमार्गको आइ क्लब बढी जान्थेँ । अहिले डेजा भु जान थालेकी छु । क्लब ११÷१२ नबजी जम्दैन । त्यसैले सुरुमा गजल साँझ छिर्ने गरिन्छ । क्लब पुगेपछि त पूरै रात नाचिन्छ । नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन । म काठमाडौंमा भएका बेला कम्तीमा महिनामा दुईपटकसम्म त क्लब गएकै हुन्छु  । झन् पोखरा त होम टाउन नै भयो । त्यहाँ गएको बेला त लगभग रेगुलरजस्तो नै गइन्छ । नाइट लाइफको मज्जै छुट्टै हुन्छ । त्यो त त्यहाँ गएर रमाउनेलाई मात्रै थाहा हुन्छ ।  

प्रस्तुति : अनिल यादव
 

Leave A Comment