‘लान्छु भन्ने ठिटाहरु त कति आउँछन्, आउँछन्’

आइतबार, ०६ साउन २०७५, ०४ : ५१ भोला अधिकारी
‘लान्छु भन्ने ठिटाहरु त कति आउँछन्, आउँछन्’

१५ वर्षदेखि लोकदोहोरी गायनमा सक्रिय छिन्– सरिता कार्की । ‘कति रुनुँ छ’, ‘खोलीमा जल’, ‘मायालु हजार’ आदि उनका रुचाइएका गीत हुन् । दोहोरी साँझमा गीत गाउन थालेको पनि १४ वर्ष भइसक्यो । उनीसँग भोला अधिकारीले गरेको नाइट संवाद :

दोहोरीसाँझमा गाउन थालेको कति भयो ?
६२ सालदेखि गोरखाबाट गाउन थालेकी हुँ  । त्यहाँ एक वर्ष गाएपछि काठमाडौं आए । काठमाडौं आएपछि दिदी भेनाकोमा बसेर चाबहिलको एउटा दोहोरीसाँझमा काम सुरु गरेँ । 

सानैदेखि गाउन थालेको हो ? 
१४ वर्षको उमेरदेखि नै गाउन सुरु गरेकी हुँ । फुच्ची थिएँ, धेरैले मलाई आँखा लगाउँथे । तर म वास्ता नगरी गाउनमै ध्यान दिन्थेँ । 

यो क्षेत्रमा काम गर्न परिवारबाट कत्तिको सपोर्ट छ ? 
सुरुमा त थिएन । दोहोरीसाँझमा गीत गाउन गइ भनेर आमाले  दोहोरीसाँभमै छुटाउन आउनुभयो । अब छोरी बिग्री, घरको इज्जत फाली भन्नुहुन्थ्यो । पछि यो नराम्रो होइन भनेर बुझेपछि सम्झिनुभयो । अहिले सपोर्ट छ । 

मसँग जान्छौ भन्ने ग्राहकहरु कत्तिको फेला पारियो ?  
रात्रिकालीन व्यापारमा मदिरा पिउनेहरु नै बढी आउने हुन् । कतिपय पारिवारिक माहोलमा आएका हुन्छन् । लान्छु भन्ने ठिटाहरु त कति आउँछन्, आउँछन् । तर लान्छु भन्दैमा जानु त भए नि !

जानु पनि भयो कि ?  
(हाँस्दै) के ढाँट्नु हौ, अहिलेसम्म कुमारी नै छु । कसैसँग जाने, बस्ने, घुम्ने भन्ने कुरै भएन । सेक्सका कुरालाई दिमागमा राख्दिनँ  ।

यो त अलि अपत्यारिलो कुरा भएन र ? 
तपाईंले नपत्याउनु अलग कुरा हो तर म अहिलेसम्म कुमारी नै छु । त्यसमा कुनै शंकै छैन । अब म तपार्इंलाई कसरी विश्वास गराऊ (हाँस्दै) ।  

राम्री हुनुहुन्छ । कलाकार पनि हो । प्रेम प्रस्ताव त पक्कै आएका होलान् ?
प्रस्ताव त कति आए, आए । गनेकै छैन । तँलाई माया गर्छु, बिहे गर्छु भन्नु त सामान्य जस्तो भइसक्यो । 

दोहोरी साँझमा त ग्राहकले पैसा दिएर लोभ्याउने गर्छन रे नि  ?
पैसामा लोभिनेहरु लोभिन्छन् होला । तर मलाई कुनै लोभ लालच छैन । मैले दोहोरीमा काम गर्न थाल्दा २५ सय (रुपैयाँ) तलब थियो । तर मेरो टिप्स कम्तीमा ५ हजारभन्दा माथि नै हुन्थ्यो। मलाई पैसाको के कमी थियो र ! कसैले २,४ हजार दिँदैमा लोभिने, जाने भन्ने मनमा थिएन र भएन पनि । दोहोरी गाउनेमा सबैभन्दा सानी मान्छे भएकाले पनि मलाई माया गरेर हो या के कारण हो पैसा भने टन्नै हुन्थ्यो । 

दोहोरीसाँझमा काम गर्नेलाई बाहिरबाट हेर्नेको दृष्टिकोण कस्तो पाउनुहुन्छ ? 
सुरुमा मलाई राम्रो नजरले हेर्दैनन् भन्ने लाग्थ्यो तर अहिले त्यस्तो लाग्दैन । अहिले राम्रो नै छ । 

डान्सबार जानुहुन्छ ?
डान्सबार त गएको छुइन तर डिस्कोमा एकपटक गएको छु । हामीलाई त गाह्रो हुँदो रहेछ । दरबारमार्गमा रहेको जुनकिरी दोहोरीसाँझमा गाउँदा त्यहीँ रहेको एउटा डिस्कोमा गएको थिएँ । हामी दोहोरीमा गाउने मान्छेलाई त टिक्न गाह्रो भयो । त्यसपछि गएको छुइनँ । 

दोहोरीसाँझमा साहुले महिला कलाकारलाई हेप्छन् भन्ने सुनिन्छ । सत्य हो ?  
होइन । यो आफूमा भर पर्ने कुरा हो । मैले नि बिरही कार्की (गायक) सँग मिलेर धुम्बाराहीमा ३ वर्षसम्म दोहोरीसाँझ चलाएँ । त्यस्तो हुँदैन । मैले अहिलेसम्म कतै भोगेको छैन । नभोगेको कुरा कसरी भन्नु  !

दोहोरी साँझमा सवालको जवाफ दिँदा गेष्टले छाडा छाडा शब्द प्रयोग गर्छन् भन्ने गुनासो सुनिन्छ । जवाफ फर्काउन अप्ठेरो लाग्दैन ?  
लाग्दैन । कस्तो गाउने भन्ने कुरा आफूमा भर पर्ने कुरा हो । गेष्टले रुचाएअनुसार, गेष्टले दिएको जवाफ फर्काउनु परिहाल्यो नि ।

गेष्टहरुसँग बसेर रक्सी पिउने गर्नुहुन्छ कि नाई ?  
अब सरिता कार्कीले गाउने ठाउँमा आएर सरितासँगै बसेर जुस खाउ भन्नुभयो भने किन नखाने तर म रक्सी भने पिउँदिन । खानेकुरामा रमाइलो गरौँ भन्दा किन नाइनास्ती गर्नु ?  बसेर पिइदिने हो । बाँकी केही हुँदैन  ।

ठमेल भित्र र बाहिर काम गर्दा कत्तिको फरक हुन्छ ? 
फरक नै हुन्छ । ठमेलमा आउँदा पर्यटक ग्राहक बढी आउने गर्छन् । भिआईपी बढी आउँछन् । बाहिर त्यस्तो हुँदैन । 


 
 

Leave A Comment