मनोवृत्ति

आइतबार, ०६ साउन २०७५, ०६ : ४७ प्रकाश जंग थापा
मनोवृत्ति

अमेरिकी लेखक तथा वक्ता जोन सि. म्याक्सवेल नेतृत्व विकाससम्बन्धी सेमिनारमा ‘एटिट्युड टेस्ट’ गराउने गर्छन् । त्यहीँबाट पे्ररित भई म पनि आफ्ना सेमिनारमा म्याक्सवेलले डिजाइन गरेको ‘एटिट्युड’ परीक्षण लागू गराउने गर्छु । त्यसका लागि सहभागीहरुलाई एउटा छोटो प्रश्न गर्छु– तपाईंको सबैभन्दा आत्मिय मित्र को हो र किन ? कुनै एक मात्र कारण दिनोस् । अधिकांशको कारणहरु यस्ता हुने गर्छन्– ऊ सहयोगी छ, त्यसैले मेरो मिल्ने साथी हो । उनी बुझ्झकी छन्, त्यसकारण मेरो बेस्ट फ्रेन्ड । उसलाई विश्वास गर्न सकिन्छ, त्यसैले हामी असल साथी हौं । हामी एक अर्काको भावना बुझ्ने र सम्मान गर्ने हुनाले नजिक छौँ । हाम्रो मित्रता कसिलो छ ।

यी कारणहरु तीन कोलममा विभाजन गरौं । एक, लुक्स (रुप) । दुई, स्किल (कौशल) र तीन, एटिट्युड (मनोवृत्ति) । माथि उल्लेखित कारणहरु एटिट्युडकै कोलममा समाहित हुन्छन् । केहीले स्किललाई प्राथमिकतामा राख्न सक्छन् । व्यक्तिको योग्यता हेरेर प्रभावित भई सहकार्य गर्न सक्छन् । सम्बन्ध जोड्ने कोसिस गर्लान् । निकै कमले मात्र लुक्सलाई महङ्खव दिन्छन् । कसैले पनि अनुहार हेरेर मित्रता गाँस्दैनन् । कसैले तर्क गर्लान्, बिहेका लागि रुप हेरिन्छ । रुपबिना कसरी आकर्षित हुने ? सिंगै जीवन कटाउने कसम कसरी खाने ? यहाँ केही सत्यता होला ।

हामी बिहेको लागि रुपरङ हेरेर निर्णय गर्दैनौँ । मुख्यतः मनोवृत्तिकै पल्ला भारी हुन आउँछ । केटा होस् वा केटीमा ऐटिट्युड ठीक छैन भने बिहे हुन सक्दैन । भए पनि त्यो दिगो जाँदैन । रुप आँखाका लागि हो भने मनोवृत्ति मनको लागि । मनोवृत्ति वैवाहिक जीवन सफल बनाउन मात्र नभएर मित्रता कायम गर्नेदेखि बिजनेस पार्टनर चुन्नेसम्म महङ्खवपुर्ण मानिन्छ । रवैया खराब भएका जो कोही पनि कसैको प्रिय बन्न सक्दैनन् । जसलाई रुचाइन्न, त्यो व्यक्तिसँग मित्रता कायम गर्नु, प्रेम सम्बन्धलाई निरन्तरता दिनु, बिजनेस गर्नु वा बिहे गर्नुको कुनै तुक छैन । 

कुनै पनि व्यक्तिको उचाई उसले देखाउने एटिट्युडले निर्धारण गर्छ । उदाहरणका लागि अल्बर्ट आइन्स्टाइनलाई लिउँ । आइन्स्टाइन आफ्नो समयका शिखर पुरुष थिए । कसैलाई भौतिकशास्त्रमा समस्या परे, आइन्स्टाइनसामु जान्थे । आइन्स्टाइन सामान्य सापेक्षतावादको सिद्धान्तलाई अन्तिम रुप दिन संघर्षरत थिए । उनले सिद्धान्तलाई एक इन्च लम्बाईको गणितीय सूत्रमा प्रस्तुत गर्न चाहन्थे । भौतिक शास्त्रका जिनिएस भए पनि आफ्नो सिद्धान्तलाई पूर्ण रुप दिन सकेका थिएनन् । त्यसका लागि गणितको सहयोग लिनु पथ्र्यो ।

त्यो समयमा आइन्स्टाइनलाई सहयोग गर्न सक्ने एक मात्रै व्यक्ति थिए, डेभिड हिलबर्ट । हिलबर्ट आफ्नो समयका महानतम गणितज्ञका रुपमा चिनिन्थे । कसैलाई गणितमा समस्या आए, उनलाई भेट गर्न जान्थे । आइन्स्टाइन समाधानको आशा बोकेर हिलबर्टको अफिस पुगे । हिलबर्टसँग भेट गर्न त्यति सहज थिएन । उनलाई भेट्न आउनेका लागि एउटा परीक्षा पास गर्नुपर्ने नियम राखेका थिए । परीक्षामा पाँच वटा गणितका प्रश्न सोधिन्थ्यो । हिलबर्टलाई भेट गर्ने चाहना राख्नेले सबै प्रश्न मिलाउनु पथ्र्यो । आइनस्टाइनले यसबारे थाहा पाएपछि बिच्किए । जाबो भेटका लागि परीक्षामा पास हुनुपर्ने ? यो के नाटक गरेको ? उनी रिसाउँदै घर फर्किए । सिद्धान्तले पूर्णता नपाएको वर्षौं भइसकेको थियो ।

उनको एक मनले सोच्यो– केही छैन । अहिले हिलबर्टले जतिसुकै भाउ खाए पनि म भेट्छु । आखिर समस्याको समाधान उनैसँग छ । उनीसँग भेट्न हल गर्नुपर्ने गणितका प्रश्नभन्दा मेरो समस्या धेरै ठूलो छ । उत्तिकै महङ्खवपूर्ण पनि । त्यसपछि आइन्स्टाइन दोस्रो पटक हिलबर्टको अफिस गए । प्रश्नपत्र मगाए । सरासर हल गरेर फर्किए । केही दिनपछि नतिजा आयो । उनी फेल भए । उनले हिलबर्टलाई भेट्न नपाउने भए ।

एक दिन हिलबर्ट आफूलाई भेट्न आउनेहरुको रेकर्ड फाइल हेर्दै गर्दा आइन्स्टाइनको नाम देखे । त्यसबेला आइन्स्टाइन विज्ञान जगतका परिचित नाम थियो । हिलबर्ट चकित परे । उनले तुरुन्त सन्देश पठाए– प्रिय मित्र आइन्स्टाइन तपाईं मलाई सजिलै भेट्न सक्नुहुन्छ । त्यो परीक्षाको झन्झट तपाईंका लागि होइन । म पनि तपाईंसँग भेट्न लालायित छु, उत्साहित छु ।

आइन्स्टाइनले अस्वीकार गर्दै सन्देश पठाए– हैन, म तपाईंलाई सजिलै भेट्ने छैन । सहज बाटो मेरो रोजाइ होइन । त्यसकारण म तपाईंका पाँच वटा गणितका प्रश्न हल गरेर मात्रै भेट्ने छु । उनी तेस्रो पटक हिलबर्टको अफिस गए । प्रश्नपत्रमा सोधिएका सबै प्रश्न हल गरे मात्र होइन, पास पनि भए । यसरी आइन्स्टाइन र हिलबर्टको अफिसियल भेट भयो । भेटपछि सिद्धान्तले पूर्ण रुप पायो । आइन्स्टाइनले हिलबर्टप्रति नकारात्मक एटिट्युड राखेका भए ? घमण्डी ठानेको भए ?

सायद सिद्धान्तले पूर्णता पाउन अर्को दश वर्ष लाग्न सक्थ्यो । आइन्स्टाइनले हिलबर्टप्रति सकारात्मक मनोवृत्ति राखेकै कारण सिद्धान्त पूरा गर्न सके । वैज्ञानिकहरु भन्ने गर्छन्, यदि आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त नभएको भए यो विश्व १०० वर्ष पछाडि धकेलिन्थ्यो । एउटा भनाइ छ, ‘एटिट्युड भनेको मूल्य ट्याग जस्तै हो । त्यसले हामी कत्तिको मुल्यवान् छौं भन्ने बताउँछ ।’

त्यसैले आइन्स्टाइनको जस्तो विजेता बन्ने एटिट्युड राखौं । हामीले अरुमा हेर्ने भनेको मूलतः एटिट्युड नै हो । आफ्नो पनि एटिट्युड ठीक राखौं । जुग जान्छ तर एटिट्युड परिवर्तन गर्न सकिँदैन । त्यसैले कुनै व्यक्तिमा ऐटिट्युडको समस्या आए, त्यस व्यक्ति प्रतिको दृष्टिकोण बदलौं । व्यक्तिको रुप फेर्न सकिन्छ, योग्यता बढाउन सकिन्छ तर मनोवृत्ति परिवर्तन गर्न सकिन्न । मनोवृत्ति नै परिवर्तन गर्नु भनेको व्यक्ति नै बदल्नु होे । के हामीमा व्यक्ति बदल्ने सामथ्र्य छ ?
 

Leave A Comment