कति क्रूर अपराध !

बिहिबार, १० साउन २०७५, ०४ : ०६ केपी ढुंगाना
कति क्रूर अपराध !

न  कुनै रिसइबी, न कुनै झैँझगडा । दुई वर्षको बालकको दुश्मन पनि को हुन्छ होला ! तर घरमा खेलिरहेको बेला अनाहकमा मारिए आयुश सार्की । उनलाई आफ्नै काका सीताराम सार्कीले खुर्पा प्रयोग गरी हत्या गरे । 
गत साता धादिङको रिचोकटारमा भएको यो क्रूर हत्याको कारण के हो अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार भाइको छोरा भएपछि आफ्नो छोराले अंश नपाउने आशंकाले भतिजको हत्या गरेको हुनसक्ने देखिएको बताउँछन् । 

‘हत्या सीतारामले गरेको देखिन्छ, उनलाई खोजिरहेका छौं,’ तिमल्सिनाले भने, ‘उनी कहिलेकाहीँ ओडारतिर गएर बस्ने गर्ने रहेछन् । ओडारहरुमा खोज्दासमेत फेला परेका छैनन् ।’

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४–०७५ पुससम्ममा २ हजार ८ सय १२ जनाको हत्या भइसकेको छ । अधिकांश घटना क्रूर छन् ।

असारमा घटेका केही क्रुर घटनाहरु पढौं ।
कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले कुटिकुटी ३२ वर्षीया श्रीमती गरिबी चौधरीलाई मारे । 

कारण सामान्य घर झगडा भए पनि मदिराको मातमा आक्रोश रोक्न नसक्दा उनले विभत्स रुपमा श्रीमतीको हत्या गरे । गरिबीको टाउको र शरीरभरि नीलडामै नीलडाम थियो । अहिले इन्द्रबहादुर प्रहरी हिरासतमा छन् । 

स्याङ्जा वालिङमा असारमा रिसाहा ज्वाइँले कुटेर ससुराको हत्या गरे । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङमा छोरीज्वाइँ खुमबहादुर थापाले रडले हानेर ७८ वर्षीय मोहनसिंह थापाको हत्या गरे । 
ज्वाइँको प्रहारबाट गम्भीर घाइते भएका थापा उपचारका लागि पोखराको फिस्टेल हस्पतालसम्म आइपुगेका थिए । तर क्रूर ज्वाइँको निर्मम प्रहारको चोट उनको वृद्ध ज्यानले थेग्न सकेन । धन्न ६९ वर्षीया सासू चित्रकुमारी थापाको भने ज्यान जोगियो । 

यी भए आम नागरिकको क्रुरताका उदाहरण । शान्ति सुरक्षा र नागरिकको जिउज्यानको रक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीको क्रुरता झल्काउने यस्तै एक घटना सार्वजनिक भयो । घटना घटेको स्थान हो, कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरी । 

सशस्त्र प्रहरी हवल्दार केशव कार्कीले खेतमा धान रोपिरहेकी २७ वर्षीया श्रीमती सीता कार्कीलाई टाउकोमा हानेर हत्या गरे । बिहान खेत रोप्न निस्किएकी श्रीमती घर नआएको झोँकमा उनले हिर्काउँदा अनाहकमा सीताको ज्यान गएको थियो । 

योजनाबद्ध रुपमा पेशेवर अपराधीबाट भएका अपराध हैनन् माथिका घटना । आवेश र आक्रोश रोक्न नसक्दा निम्तिएका गम्भीर अपराध हुन्, जो पढ्दा पनि आङ सिरिङ्ग बनाउँछ । अपराधको प्रकृतिले देखाउँछ क्रुरता । 

मनोविद् विनोद ढकाल सामान्य विषयमा असामान्य घटना घट्नुका कारण अनियन्त्रित आवेग रहेको बताउँछन् । ढकालका अनुसार बढी आवेगमा आएको बेला निर्णय गर्ने क्षमता कमजोर हुने र यस्तो बेला नचाहँदा नचाहँदै गम्भीर अपराध हुने गरेको बताउँछन् ।

‘आक्रोश बढ्दै जाँदा व्यक्ति पागलपनको अवस्थामा पुग्नसक्छ, त्यो बेला म के गर्दैछु भन्ने नै थाहा हुन्न,’ ढकालले भने, ‘यस्तो अवस्थामा क्रुरताको हद नाघ्न पनि सक्छन् र नतिजा दुःखदायी हुन्छ ।’
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह आवेगमा आएर भएका क्रूर हत्यामा पक्राउ पर्नेहरु अधिकांशको मानसिक अवस्था कमजोर देखिने गरेको बताउँछन् ।

यस्तोमा पूर्व योजना नभए पनि के ठीक के बेठीक छुट्ट्याउन नसक्दा घटना क्रूर बन्ने गरेको उनले बताए । अधिकांश यस्ता घटनाका कारण व्यक्तिगत सम्बन्धमा आएको चिसोपना, धोका, सम्पत्तिको विवाद मुख्य देखिएको उनको विश्लेषण छ । 

वैदेशिक रोजगारी र त्यसले पारिवारिक सम्बन्धमा ल्याउने धोकाका कारणले बदलाको भाव बढ्दासमेत गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको सिंहले जानकारी दिए ।

‘आवेग प्रेरित गम्भीर घटनामा पक्राउ पर्नेमध्ये ६० प्रतिशत अभियुक्त पछुताउँछन् तर नहुनुपर्ने भइसकेको हुन्छ,’ एसएसपी सिंहले भने, ‘मानसिक कमजोरी रहेका अभियुक्तको हकमा आफूले के गरेको हो भन्ने भेउसमेत नपाउने अवस्था हुँदा उनीहरुमा कुनै प्रतिक्रिया देखिन्न ।’

क्रूर छोरा
२०७१ असोजमा लमजुङको भोटेवडार गाउँ विकास समिति भोटेओडार– ४ को पिप्ले गाउँमा अर्जुनप्रसाद रेग्मी परिवारका ४ जनाको हत्या भयो । ६० वर्षीय अर्जुनसँगै धर्म छोरी ३५ वर्षकी रीना घिमिरे, रीनाका नाबालक १२ वर्षका छोरा विकास घिमिरे र अर्जुनकी नाबालिका १४ वर्षीया छोरी ज्योति रेग्मीको विभत्स हत्या भएको थियो । 

भारतमा काम गर्दै आएका उनी दसैँ मनाउन घर फर्किएका थिए । त्यही बेला घरायसी विवादमा उनीसहित घरका अन्य तीन जनाले ज्यान गुमाए । चार जनाको क्रूर हत्या गरेको अभियोगमा पक्राउ परे उनकै छोरा राममणि रेग्मी, जो नेपाली सेनामा कार्यरत थिए । हत्याको कारण प्रतिशोध रहेको खुल्यो । 

उनले बयानमा बाबुले आफूलाई माया नगर्नु, ५ अंश लाग्नेमा २ अंश मात्र लगाउनु, बाबुले आफ्नो नागरिकतासमेत बनाउन नमानेकाले घृणा लागेर बाबुलाई मारेको बताएका थिए । उनले बयानमा बाबुको हत्या गरेकोमा कुनै पछुतो जनाएनन् । बहिनी मरेकोमा भने थकथक मानेका थिए । 

क्रूर छोरी
२०७२ माघमा काठमाडौको टोखा साङ्लेखोलानजिकै बगरमा ४३ वर्षीय माइला महर्जनको शव भेटियो । घटनाको प्रकृतिले हत्या देखाएको थियो । अनुसन्धानमा उनको हत्याको कारण देखिएन ।
अनुसन्धानको क्रममा उनी हराउनु अघिल्लो दिन छोरी संगीताले बोलाएर गएको खुल्यो । छोरीमाथि प्रहरीले शंका गरेन तर जति गरे पनि हत्याको कारण नखुलेपछि प्रहरीले छोरी संगीताबाटै अनुसन्धान गर्दा हत्याको रहस्य खुल्यो । अनुसन्धानमा हत्याको योजनाकार उनै छोरी रहेको खुल्यो भने हत्याको कारण सम्पत्ति ।

अनुसन्धानमा खुलेअनुसार २० वर्षकी संगीताले माइतीको सम्पत्ति लिन भाडाका अपराधी प्रयोग गरेर बाबुको हत्या गरेको र दाइको समेत हत्या योजना बनाएको खुलेको थियो । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर आफ्नो बनाउन उनले बाबुको हत्या गराइन् । उनले बाबुको हत्या गर्न २० लाखको प्रलोभन दिएर अन्य युवाको प्रयोग गरेकी थिइन् । 

योजना अनुसार बाबुलाई कुरा गर्नुछ भनेर बोलाएर एकान्त स्थानमा लगेर खटाएका सहयोगीले ह्यामर र खुकुरी प्रयोग गरी हत्या गरेका थिए । 

क्रूर साथी
छ महिनाअघि काठमाडौंमा एउटा किशोरको हत्या भयो । कारण थियो फेसबुकमा भएको सामान्य विवाद । विवाद आक्रोश बन्यो । जुन आक्रोशले एक १६ वर्षीय किशोर कुमार सुचीकारको ज्यान लियो भने उनका नौ जना साथीलाई हत्यारा बनायो । 

विवादको कारण थियो फेसबुक पेजमा आफूलाई हटाउनु । 

साथीहरु मिलेर गुहेश्वरी एजी ग्रुप नामको फेसबुक बनाएका थिए । सो पेज सबैले प्रयोग गर्थे । कुमारले आफ्ना केही साथीलाई फेसबुक पेजबाट हटाइदिएपछि उनीहरुबीच विवाद सुरु भएको थियो । 

त्यही रिस फेर्न उनीहरुले गत माघ २६ मा कुमारलाई तारकेश्वरको फूलबारी गेटमा बोलाए र निस्लोट हुनेगरी कुटे । इँटा र ढुंगाले हाने । भोलिपल्ट बिहान घाइते अवस्थामा भेटिए उनी । उनी अचेत अवस्थामा थिए । राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याए पनि उनको ज्यान जोगिएन । उपचार सुरु भएको दुई दिनपछि उनको मृत्यु भयो । अनुसन्धानका क्रममा उनकै साथीहरु तानिए र नौ जना पक्राउ परे ।
 

रिस किन उठ्छ ?

मनोविद् गोपाल ढकाल

स्ट्रेस हार्माेन बढ्यो भने मानिस रिसाउँछ र अपराध गर्न सक्छ । स्ट्रेस हर्माेनलाई ‘कोटिसोल’ पनि भनिन्छ । टिनएजरमा बढी स्ट्रेस हुने हुनाले यो उमेर समूहका किशोरकिशोरी बढी तनावमा आउँछन् । 

हर्निया भएको मानिस पनि चाँडो रिसाउँछन् । यो कडा खालको मानसिक रोग हो । कडा किसिमको मानसिक समस्यालाई सिजोफ्रेनिया भनिन्छ । यो रोग लाग्दा पनि भ्रम पैदा हुन्छ र निर्दोष मानिसलाई समेत हत्या गर्ने सम्भावना हुन्छ । 

थोरै तापक्रममा बस्नेलाई भन्दा धेरै तापक्रममा बस्नेलाई बढी रिस उठ्छ । जाडरक्सी खाँदा पनि निर्णय लिने क्षमता कमजोर हुन्छ र अपराध गर्ने सम्भावना हुन्छ । माछामासु तथा धेरै मसालायुक्त खाना खाने व्यक्ति पनि चाँडै रिसाउने स्वभावको हुन्छ । 

बढी आवेगमा आएको बेला निर्णय गर्ने क्षमता कमजोर हुन्छ । यस्तो बेला नचाहँदा–नचाहँदै पनि गम्भीर अपराध हुनसक्छ । 

Leave A Comment