कुमार नगरकोटीकाे निष्कर्ष : अधिकांश पाठक सेक्सभन्दा माथि उठ्न सकेका छैनन्

आइतबार, १३ साउन २०७५, ०७ : ५६ प्रजु पन्त
कुमार नगरकोटीकाे निष्कर्ष :  अधिकांश पाठक सेक्सभन्दा माथि उठ्न सकेका छैनन्

कुमार नगरकोटी आफ्नो लेखनमा चल्तीको भन्दा पृथक् शैली अपनाउँछन् । कथा, नाटक र उपन्यास लेखेका उनी आफूलाई साहित्यकार भन्दा फिक्सन डिजाइनरको रुपमा परिचय दिन रुचाउँछन् । आठ वटा पुस्तक लेखे पनि उनी आफूलाई लेखक भन्न रुचाउँदैनन् । उनीसँग क्याफेमा भेट्दा कालो कफीका साथ थिए । शुक्रवारकर्मी प्रजु पन्तले सुरु गरिन् अन्तरंग संवाद ।

कालो कफी, कालो कपडा प्रायः पुस्तकको कभर पनि कालै रंगको हुन्छ । कालो रंग र नगरकोटीको सम्बन्ध गहिरो छ जस्तो छ, है ?
(हाँस्दै...) मलाई एकदमै मनपर्ने कलर नै कालो हो । त्यही भएर होला मैले ज्यादा कालो रंग नै प्रयोग गरेको हुन्छु । म अटोनमस तरिकाले यही लगाउने भनेर लगाएको चाहिँ हुँदिनँ । अरु रङ पनि मन परेकै हुन्छ ।

पढाउने मान्छे लेखन यात्रामा कसरी आउनुभयो ?
अरुको भन्दा अलि भिन्नै छ मेरो प्रवेश । जीवनको यात्रा गर्ने क्रममा लेख्न आइपुगेको हुँ । म साहित्यमा एकदमै रुचि राख्ने मान्छे हुँ । साहित्य, दर्शन, साइकोलजी बढी पढेको छु । सानैदेखि लेखिरहन्थेँ । त्यस्तै पुस्तक पढ्ने क्रममा म प्रायः लेखिरहेको हुन्थेँ । स्कुल पढ्दा पनि मैले धेरै पढेँ । कलेज गएर भने पढिनँ । मैले मास्टर्ससम्म घरमै बसेर पास गरेको हो । युनिभर्सिटीको अनुभव छैन मलाई । सेल्फ स्टडी गर्न रुचाउने मान्छे परेँ म । एकोहोरो अध्ययन गरेको मान्छे । मलाई छपाउनको निम्ति उति साह्रो रहर पनि थिएन । लेख्ने क्रममा छापिँदै गयो । 

अरु लेखक साहित्यकारसँग लेखक बन्न गरेको संघर्षका लामा गाथा भेटिन्छन् । तपाईंसँग त्यस्तो छैन जस्तो छ हो ?
म संघर्ष गरेर लेखक भएको होइन । म धेरै मनमौजी मान्छे हो । संयोगवश लेखक भइयो र संयोगवश छापिँदै गयो । स्कुल छँदा स्पोर्टस् बढी खेलियो । फिल्ममा पनि रुचि थियो । त्यस्तै मलाई एकदमै रुचि भनेको शास्त्रीय संगीत पनि हो । धेरै रुचि थियो । सायद लेखक नभएको भए गायक अथवा खेलाडी पो भइन्थ्यो कि ! नेपाली साहित्यमा संयोगवश आएको हुँ । कहाँ गएर टुंगिन्छ, थाहा छैन । 

तपाईंको लेखाईमा रक्सीको प्रसंग धेरै आउँछ तर अहिले खानुहुन्न रे । हो र ?
२०६० सालदेखि २०७२ सम्म पुरै दिन रक्सी खाएर बसियो । ती दिनहरुमा ललितपुरका गल्लीमा रक्सी खाएर म हिँड्थे । रक्सी खाएका कयौँ रेस्टुराँका कतिवटा हरियो पर्दा छन् भनेर कण्ठै थियो । पछि यसो लाग्यो, कति खानु यो रक्सी पनि ! त्यसपछि छाडियो । रक्सी नछाडेको भए म अहिले कुनै नालीमा लडिरहेको हुन्थेँ होला अथवा मरिसकेको हुन्थेँ होला । हाम्रा कतिपय साथीहरु छोराछोरीलाई छोएर रक्सी छुटाएको भन्छन् तर  खासमा मैले त्यसरी छोड्नु परेन ।

घरमा लफडा भएर कि मर्छु भन्ने डरले छोडियो त ?
मेरो घरमा मैले जे गरे नि, छुट छ । घरमा छोरा र श्रीमती छन् तर मैले उनीहरुको नाममा कसम खाएर वा उनीहरुले दबाब दिएर छाडेको हैन । म  त साहै्र मनमौजी मान्छे हो । मन लागेको बेला टन्न खाएँ । मन लागेन, खान छाडेँ । यत्ति हो ।

केही समयअघि ‘ज्ञ’ पुस्तक निकाल्नुभयो । यो पुस्तकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
अहिलेसम्म त राम्रै पाइरहेको छु । पाठकले मलाई माया नै गरिरहनुभएको छ ।

तपाईंको पहिलो पुस्तक ‘मोक्षान्तः काठमाडौँ फिभर’ बजारमा चलेका भन्दा फरक प्रकृतिको कथ्य शैली छ । त्यसपछि ‘मिस्टिका’को कथानक पनि युनिक छ । यस्तो प्रयोग किन गर्नुहुन्छ ?
पुरानै मान्यतामा आधारित भएर लेख्नुपर्छ भन्ने छैन । भइरहेको भन्दा पृथक् लेखौँ भन्ने जो कोहीलाई लाग्छ । मैले पनि त्यही प्रयोग गरेको हुँ । पाठकले रुचाइदिनुभयो । मेरो लेख्ने शैलीलाई मन पराइदिनुभयो । तर कसैले मन पराउला भनेर मैले त्यो शैलीमा लेखेको होइन । मलाई यसरी नै लेख्न मन प¥यो, त्यही भएर यस्तो शैली अपनाएँ । 

तपाईंको पुस्तक नेपाली भाषाको तर नेपालीभन्दा अंग्रेजी शब्द नै बढी हुन्छन् । यस्तो फ्युजन किन ? 
मलाई अनौठो अनौठो काम गर्न मन पर्छ । म शब्दलाई असाध्यै प्रेम गर्छु । मलाई राम्रा लागेका शब्दहरु प्रसगंवश जोडी हाल्छु । चाहे त्याे संस्कृत वा हिन्दी नै किन नहोस् । मैले मिसाएकै हुन्छु । यसै क्रममा अंग्रेजी पनि आएको हो । 

यो त भाषा माथिको हमला भएन ?
मलाई प्योरिटी (शुद्धता)मा विश्वास लाग्दैन । अरुले शुद्ध नेपाली लेख्नुहुन्छ । मलाई भन्नु केही छैन । आफूलाई जुन भाषामा मज्जा आउँछ, जसरी लेख्दा मज्जा आउँछ, उसैगरी लेख्ने हो । यसमा कुनै टाउको दुखाइको कुरा छैन । मैले भाषा बिगारेको पनि छैन । मैले त झनै नयाँ शैली अपनाएको हो ।

नयाँ शैलीको बहानामा विकृति भित्रियो भन्ने पनि सुनिन्छ नि ?
त्यो भन्नेले के–के भन्छन् के–के । हामी कहाँ नयाँ कुरा आयो भने अलि पच्दैन । परापूर्वकालदेखि जुन चलन आएको हो, त्यहीअनुसार भए ठीक नत्र बेठीक भन्ने छ । कम्फर्ट जोनमा बस्न रुचाउँछ त्यो जमात । जस्तो उदाहरणका लागि, भिडमा बस्नेलाई एक्लै बस्न गाह्रो होला । एक्लै बस्नेलाई भिडमा बस्न गाह्रो होला । मानिआएको कुरालाई यसले यस्तो गर्ने ? भन्ने लागेको हुन सक्छ तर मलाई लेख्दा आनन्द आए पुग्छ । मलाई कसैको विरोध गर्नु पनि छैन । आई लभ एभ्रिबडी । क्रिटिसाइज गर्नु कुनै क्रिएटिभिटी होइन ।

भनेपछि आलोचनाले केही असर पारेको छैन ?
अलिअलि त पार्ला नै  ! एकातिर मलाई आलोचना गर्नेहरु छन्, अर्कोतिर नगरकोटीबाहेक नपढ्ने भन्ने जमात पनि छ । यो खत्तमै हो, झुर हो नेपाली साहित्यको अभिसापै हो भन्ने पनि छन् । तर मलाई त्यस्तो केही लाग्दैन ।

आलोचना सुन्दा नरमाइलो त लाग्ला नि !
आलोचना मात्रै हैन, प्रशंसा सुन्दा पनि केही लाग्दैन । यो स्वाभाविक कुरा हो । मन परेको कुराको समर्थन र मन नपरेको कुराको विरोध गर्नु मान्छेको नेचर हो ।मैले न कसैले मन पराउँछन् भनेर लेखेको हो, न त अरु कुनै उद्देश्य राखेर । मलाई जे गर्दा आनन्द आउँछ, त्यही गर्छु । आनन्द आउँछ, फिल्म हेर्छु, आनन्द आउँछ सेक्स गर्छु, आनन्द आउँछ हिँड्छु । जे गर्दा आनन्द आउँछ, म त्यही गर्छु । मलाई यही शैलीले लेख्दा आनन्द आयो, यही लेखेँ । जेमा आनन्द आउँछ त्यही गर्ने हो । 

नगरकोटीको पुस्तक मन नपरे पढ्न आवश्यक छैन भन्न खोज्नु भएको हो ?
पढ्नेलाई पनि धेरै छनोट छन् । जेमा आनन्द आउँछ, त्यही पढ्ने हो । मेरो पुस्तक पढ्दा कतिलाई आनन्द आउला, पढ्नु होला । कतिलाई नआउला, अरुको पढ्नुहोला । त्यो त सेलेक्ट गर्ने न हो !

तपाईंले आफ्नो कृतिमा सेक्सलाई अलि बढी नै उल्लेख गर्नुहुन्छ । सेक्सबारे लेखेपछि बिक्छ भनेर हो ?
हो, सेक्स आउँछ । यो स्वभाविकै हो । फेरि त्यो अलि डोमेन क्यारेक्टर भएर त आउँदैन । सेक्सको एलिमेन्ट प्रयोग गर्ने कुरामा चाहिँ बिकज आई  लभ सेक्स । सेक्स भन्ने चिजलाई मेरो लेखहरुमा पढ्नुभयो भने कुन परिवेशमा आएको छ र न्यारेटरको कुन मोसनमा छ भनेर पढ्नुभयो भने भल्गर पाउनुहुन्न । सेक्स फेरि सबै प्राणीजगतका लागि आवश्यक कुरा हो । यसले हरेक चिजलाई ड्राइभ गरेर लगेको हुन्छ ।

बायोग्राफीका लेखकले पनि आँट गर्न नसकेको विषय तपाईं, आफ्नै सेक्स सम्बन्धका बारे पनि खुलेरै लेख्नुहुन्छ । यसले पारिवारिक सम्बन्धमा असर पार्दैन ?
पार्दैन । मैले मेरो जीवनमा केही ढाँटेको छैन । ढाँटेको भए पो फरक पर्नु !
 
सेक्सबारे लेख्दा महिलालाई अलि होच्याएर लेखेको प्रतिक्रिया पनि सुनिन्छ । हो ?
यो गलत  हो । म लेख्दा महिला वा पुरुष भनेर छुट्ट्याएर लेख्दिनँ । मेरो नजरमा को महिला, को पुरुष सबै बराबर देखिरहेको हुन्छु । त्यो पढ्नेले कसरी पढ्छ भन्ने कुरा हो । जुन कुरा सबैको जीवनमा भइरहेको हुन्छ, त्यसलाई लेख्दा खासै फरक पर्छ जस्तो लाग्दैन । मैले भनिहालेँ नि, मेरो लेखाइमा सबैकुराको सम्मिश्रण पाइन्छ । त्यो लिनेले कसरी लिन्छ भन्ने हो ।

नगरकोटीको पुस्तक पढेको छु भन्दा ए त्यो सेक्सबारे लेख्ने भनेर भन्छन् । यस्तो परिचय ठीक हो त ?
इफ यु थिङ्क ब्रोड्ली, द्याट इज नट वन्ली सेक्स । हाम्रोमा अधिकांशको सोचाइ अलि वाइड छैन । सेक्सभन्दा माथि उठ्न सकेका छैनन् अधिकांश पाठक पनि । मेरो लेखनमा सबै कुरा आइरहेको हुन्छ तर पाठकले केलाई फोकस दिएर पढ्छ भन्ने कुराले भर पार्छ । मैले लेख्ने क्रममा सेक्स आएको हो, अन्य कुरा पनि त आइरहेका हुन्छन् ! मान्छे अब सेक्समा नै अल्झिन्छ त मैले के गरुँ ?  मेरो राइटिङ चैँ डेफिनेट्ली सेक्समैत्री छ ।

लेख्दा यही विषयमा लेख्छु भनेर फ्रेमवर्क बनाएर सुरु गर्नुहुन्छ कि विषयवस्तुले तानेपछि ?
लेख्दा दिमागमा धेरै प्लटहरु आएका हुन्छन् । सोच पनि अनौठो किसिमको आउँछ । मलाई कुनै परम्परामा बाँधिएर बसेर लेखेको मन पर्दैन । परम्परावादी भएको मन पर्दैन । विशाल ब्रह्माण्डमा एउटा सानो प्लानेट छ,  त्यो सानो प्लानेटमा सानो देश छ । संयोगवश आइएको छ । के लानु छ र ! परम्परामा किन बाँधिनु । म यही विषयवस्तुभन्दा स्वतन्त्र भएर प्लट बनाएर लेख्छु ।

लास्टै उदारवादी सोच छ है तपाईंको ! 
मलाई के लाग्छ भने पुस्तकले हाम्रो दिमाग ओपन बनाउन सघाउ पुर्याउँछ । कोही पनि मान्छे बन्नुमा उसको बानीहरुमा उसले पढेका पुस्तकहरुको ठूलो योगदान हुन्छ । जस्तो पुस्तक पढिन्छ उस्तै किसिमको सोचाइ आउँछ । जीवन आफैँमा एउटा विश्वविद्यालय हो भन्ने ठान्ने हो भने त्यहाँ अनेक कुरा आउँछन् । तपाईं कस्तो पुस्तक पढ्नुहुन्छ भन्ने कुरा तपाईंले के कस्ता कुरा बोल्नुहुन्छ भन्ने कुराले भर पार्छ । मैले जस्ता पुस्तकहरु पढेँ, म त्यस्तै भएँ ।
 

Leave A Comment