रोमियो एन्ड मुना : प्रेमको फ्रेस खुराक

बिहिबार, १७ साउन २०७५, ११ : २४ अनिल यादव
रोमियो एन्ड मुना : प्रेमको फ्रेस खुराक

फिल्म दृष्टि  
 

नेपाली फिल्म बजारमा अहिले जस्ता लभस्टोरी फिल्म बनिरहेका छन्, तीभन्दा स्तरीय र कलात्मक छ– ‘रोमियो एन्ड मुना’ । यो फिल्ममा पनि धनी युवा र गरिब युवतीबीचको प्रेम नै छ तर अरुमा जस्तै कुनै भिलेन, परिवार र समाज, जात, धर्म यहाँ तगारो छैन । द्वन्द्व त छ तर पात्र आफैँसँग छ । 

फिल्मले खासगरी दुई पात्रको प्रेम कथा भन्छ । अमेरिका बस्ने वेद (विनय श्रेष्ठ) र धरान बस्ने मुना (सृष्टि श्रेष्ठ) । ‘रोमियो एन्ड जुलियट’का ‘रोमियो’ अनि ‘मुनामदन’की ‘मुना’ । निर्देशकको संकेतमा वेद फिल्मका रोमियो हुन् । 

घमण्डी र हठी स्वभावका वेद अमेरिकाबाट आमाको आग्रहमा प्रिया ( सुरक्षा पन्त) लाई भेट्न भनेर धरान आइपुग्छन् । संयोगले उनको भेट  क्याफेमा वेटर काम गर्दै फाइन आर्ट पढिरहेकी मुनासँग हुन्छ । जो जिद्दी छे तर स्वाभिमानी । एटिएममा पैसा झिक्न जाँदा भएको पहिलो भेटमै उनीहरुको झगडा हुन्छ । 

आ–आफ्नो दुनियाँमा रमाइरहेका ती दुवै संयोगले फेरि भेटिन्छन्, सृष्टि काम गर्ने क्याफेमा । जहाँ वेद आमाले रोजिदिएकी केटी प्रियासँग डेटमा हुन्छन् । चित्रकारको विषयलाई लिएर क्याफेमै वेद र मुनाबीच विवाद सुरु हुन्छ । 

‘को सही’ बन्ने विषयमा बाजी हुन्छ । वेदले बाजी हार्छन् । त्यसपछि प्रतिशोधको भावना सिर्जना हुन्छ । वेदले मुनालाई एक हप्ताभित्र आफ्नो माया जालमा पार्ने चुनौती दिन्छन् । मुना चुनौतीलाई स्वीकार्दैै सर्त राख्छिन्, ‘हारेको खण्डमा एक महिना आफू कार्यरत क्याफेमा वेटरको काम गर्नुपर्छ ।’ त्यसपछि के हुन्छ ? बाजी कसले जित्छ ? कसरी वेद र मुनाबीच प्रेम फक्रन्छ ? उनीहरुको यस्तै सम्बन्धमा आउने उतारचढावमाथि फिल्म केन्द्रित छ । 

यसमा कथा भन्नलाई निर्देशकले पात्रहरुको मनोविज्ञानको सहारा लिएका छन् । मुनाभित्रको डर नै फिल्मको केन्द्रीय द्वन्द्व हो, प्रेमको बाधक हो । डरले मान्छेलाई कसरी कमजोर बनाउँछ र प्रेमबाट अलग गराउँछ, निर्देशकले देखाउने प्रयास गरेका छन् । फिल्ममा प्रेम अभिव्यक्तिका लागि चित्रकलाको प्रयोग प्रशंसनीय छ । 

यसअघि उनले दिदीभाइको कथामाथि कलात्मक शैलीको फिल्म बनाएका थिए, ‘डाइङ क्यान्डेल’ । जसले देशविदेश विभिन्न अवार्डसमेत जितेको थियो । योपल्ट उनले संसारमै सबैभन्दा बढी बिक्ने प्रेम (विधा)लाई फिल्मको विषय बनाएका छन् । तर फिल्मलाई कलात्मक बनाउने प्रयत्न गरेर परम्परागत लभस्टोेरीको ह्याङबाट उनी थोरबहुत बाहिरिने प्रयास गरेका छन् । 

निर्देशकले फिल्ममा कम्प्युटर जेनेरेटेड इमाजिनेरी (सिजिआई)को प्रयोग गरेका छन् । फिल्ममा राखिएको सिजिआई एनिमेटेड गीत ‘पल पल’ साँच्चै सुन्दर लाग्छ । यस्तो प्रयोग नेपाली फिल्ममा विरलै देख्न पाइएको छ । 

निर्देशकले फिल्ममा विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भेन गगलाई आफ्नो आदर्श मानेका छन् । जसले प्रेमिकालाई पाउन आफ्नो देब्रे कान काटेका थिए । यो आफँैमा सुन्दर पक्ष हो तर फिल्ममा वेदले मुनालाई पाउन गरेको संघर्ष भेन गगका अगाडि फिक्का लाग्छ । 
निर्देशकले भेन गगलाई आदर्श त माने तर फिल्ममा प्रेम प्राप्तिका लागि त्यही स्तरको संघर्ष देखाउन भने चुके । वेदले फिल्ममा बाजी जित्नलाई गरेको संघर्षलाई कतिपयले प्रेमको परिभाषा पनि देलान् तर खासगरी त्यहाँ मुनाप्रतिको आकर्षणले भन्दा पनि वेदको ‘इगो’ले धेरै काम गरेको छ । 

यो फिल्मको पटकथा निर्देशक स्वयंले लेखेका हुन् । फिल्म हेरेपछि उनी स्क्रिन प्लेलाई चुस्त बनाउन चुकेको भान हुन्छ । फिल्ममा उनले मुनालाई जिद्दी पात्रका रुपमा देखाएका छन् । जो पे्रम र पुरुषप्रति त्यति विश्वास राख्दिनन् । तर फिल्मभित्र मुनाको विश्वास जित्न निर्देशकले एउटै मात्र बलियो दृश्य खर्चिएका छन्, त्यो हो क्याफेमा काम गर्ने दिदीप्रति वेदले देखाएको सहानुभूति । तर यति नै कारणले मुनाको जिद्दी पन लचिलो नहुनुपर्ने हो । यति नै कारण वेदप्रतिको मुनाको घृणा प्रेममा बदलिनु विश्वसनीय लाग्दैन । 

फिल्ममा निर्देशकले गरेका बिम्ब र चिह्न प्रयोग कलात्मक लाग्छन् । फिल्मभित्र राक्षस, झुसिलकीरा, पुतलीको प्रयोग साँच्चै रचनात्मक छ । ‘स्यान्डविच’लाई उनले यौनसँग जोडेका छन् । र, उनको रोमियो ‘स्यान्डविच प्रेमी’ छ, स्यान्डविच खाइरहन रुचाउँछ । तर मुनासँगको भेटपछि उनको यो लत बिस्तारै छोड्छ । 

फिल्ममा बाजी हारेकै कारण वेद अमेरिका फर्कन नसक्नु र उनको जीवनशैलीमा आमूल परिवर्तन आउनु पत्यारिलो लाग्दैन । कारण– फिल्मभित्र उनी धनाढ्य परिवारमा हुर्किएका हठी स्वभावका युवकको भूमिकामा छन् । त्यस्तै आमासँग वेदको सम्पर्क टुट्नु पनि फिल्मभित्र अर्को अभाव खड्किने पक्ष हो । 

सुष्मा कार्की र प्रज्ज्वल गिरीबीचको सम्बन्ध फिल्ममा हास्य पैदा गर्ने खुराक मात्र भए पनि प्रज्ज्वलको सुष्माप्रतिको एकोहोरो मायाप्रति दर्शकलाई टीठ लाग्छ । सँगैमा यो जोडीले दर्शकलाई हँसाउन सफल छ । तथापि, सुष्माको अभिनय बढी नाटकीय लाग्छ । कमजोरीका बाबजुद पनि फिल्मलाई बलियो र इन्गेजिङ बनाउने पक्ष भनेको प्राविधिक नै हो । 

ब्याकग्राउन्ड म्युजिक कथा सुहाउँदो छ । चारवटै गीतको प्रयोग कथाको लयअनुसार छ । छायाँकन पक्ष र सम्पादन पनि फिल्मको मूडअनुसारकै देखिएको छ ।

विनय आफ्नो चरित्रमा फिट देखिएका छन् । सृष्टिले अभिनयमा आफूलाई सुधारेकी छन् । पहिलो फिल्म ‘गाजलु’मा भन्दा यसमा उनको अभिनय निखारिएको छ । गाउँकी स्वाभिमानी युवती र पेन्टिङ लभरका रुपमा उनको अभिनय स्वाभाविक छ । 

विश्वका लभस्टोरी सिनेमासँग परिचित दर्शकहरुलाई ‘रोमियो एन्ड मुना’ उत्कृष्ट नलाग्न सक्छ तर यो ‘बोरिङ’ भने छैन । बासी लभस्टोरी हेरेर दिक्क भएका दर्शकहरुलाई यो फ्रेस उपहार हुनसक्छ । थोरबहुत रमाइलो त गराउँछ नै ! 
 

Leave A Comment