बार गर्ल मनु

बिहिबार, १७ साउन २०७५, ०६ : २० अनिल यादव
बार गर्ल मनु

तस्विरहरु : कृष्पा श्रेष्ठ


डान्सबारमा मस्त देखिने बार गर्लको वास्तविक जीवन पनि त्यस्तै बिन्दास हुन्छ होला ?
साँघुरो गल्ली । गल्लीको बीचमा सानो एक कोठे घर । त्यो पनि भूकम्पले चर्काइसकेको । कोठा खाँदाखाँद र लथालिङ्ग । दुइटा बेन्च जोडेर तयार पारिएको एउटा बेड । बेडकै छेउछाउ पुरानो दराज, छेउमै काम चलाउ किचन । 

यही जिज्ञासा मेटाउन आइतबार बिहान ८ बजे फोटोपत्रकार कृष्पा श्रेष्ठसँगै बार गर्ल मनु थापाको कोठामा पुग्दा पहिलो दृश्यले नै झसंग बनायो । 

उनले लोकेशन दिए पनि ठम्याउन नसकेपछि आँखा मिच्दै आफैं लिन आइपुगेकी थिइन् उनी । उनको राता आँखाले देखाइरहेको थियो उनको अल्पनिद्रा । 

बिहान ३ देखि ४ बजे घर पुग्ने उनी १२ बजेभित्र निन्द्रा पु¥याउँथिन् । हामी बिहानै पुग्दा उनले निर्धारित समयभन्दा ४ घण्टाअगाडि नै उठ्नु प¥यो । 
‘निद्रा डिस्टर्ब भयो है !’ 
‘होइन, ठीकै छ ।’ 
हामी उनको पछि लाग्यौं गल्लीतिर । जुन बाटोलाई हामीले गल्ली ठानिरहेको थियौँ, खासमा त्यो उनको आँगन पनि रहेछ । गल्लीसँगै जोडिएको थियो, एउटै कोठायुक्त ‘सानो घर’ । (खै घर भन्ने कि कोठा !) भित्र टाउको निहुराएर पस्दा एक किशोर स्कुलको ड्रेस लगाएर बसेका थिए ।
मैले मनुको मुहारमा हेरेँ । उनले बुझिन् मेरो जिज्ञासा ।
‘मेरो छोरो हो ।’ 
एक वृद्धा किशोरलाई सघाइरहेकी थिइन् । उनी मनुकी आमा रहिछन् । 
‘हाम्रो त घर पनि यस्तो छ । बिग्रेको मान्छेको भत्केको घर । भत्केपछि के को डर !’ आमाले आफ्नो विवशता राख्दै स्वागत गरिन् ।

‘नानीहरु चिया खानुहुन्छ होला !’ 
‘हैन, खाँदैनौँ ।’ 
हामीले नमाने पनि मनुले ब्यागबाट पैसा झिकेर आमालाई दिइन् । आमा चिया लिन पसलतिर लागिन् । 
ग्यास चुलो थियो । भाडा थिए, पानी थियो । सायद चिया बनाउन अन्य आवश्यक सामग्री रहेनछन् क्यार ! 

बिहान ९ बजिसकेछ । छोरा स्कुल जान तयार भए । 
‘राम्रोसँग पढ्नु है !’ 
छोराको गालामा चुम्बन गर्दै मनुले भनिन् । 
छोरा बाहिरिएसँगै कोठामा हामी तीन जना मात्रै भयौँ । उनले कुरा सुरु गरिन् ।

‘बार डान्सरै भए पनि छोरालाई बोर्डिङ पढाइरा’ छु, महिनाको तीन हजार त फि तिर्छु । ठूलै मान्छे बनाउने सोच छ । हेरौं !’
उनको पहिलो धोको छ– छोराले फरर इङ्लिस बोलेको सुन्ने । 
यसो भित्तातिर हेरेको केही फिल्मका पोस्टर, एक बालक, एक युवती र युवक रहेको धमिलो फोटो थियो फ्रेममा । 
‘अनि त्यो फोटो ?’
औँलाको संकेतपछि मनुको मुहार अँध्यारो भयो ।
‘उहाँ मेरो श्रीमान् तर अहिले मसँग हुनुहुन्न ।’
‘कहाँ हुनुहुन्छ त ?’ 
‘कथा लामो छ ।’ 
......................
उनको जन्म काठमाडौंमै भयो । परिवार दुई वटा भयो । उनका बाबु कान्छी आमा लिएर भिन्दै बस्न थाले । दुई भाइ थिए । उनीहरु अकालमै बिते । उनी आमासँग बसिन् ।

उनको सानैदेखिको चाहना रहेछ– कलाकार बन्ने । उनी घरको खर्च चलाउन गार्मेन्टमा काम गर्दै थिइन् । गार्मेन्ट नै बन्द भयो । उनी दरबारमार्गको एउटा डान्सबारमा पुगिन्, वेटरको रुपमा । धेरै नपढे पनि अक्षर चिन्ने उनले एउटा पत्रिकामा कलाकार चाहिएको विज्ञापन पढिन् । कलाकार बन्ने रहरमा उनी पुतलीसडकस्थित त्यो कार्यालय पुगिन् । 

त्यहाँ अडिसन भइरहेको रहेछ । उनलाई आमाको रोल गर्न भनियो । गरिन् । अडिसन लिइरहेका थिए, राजेन्द्रकुमार थापा । उनी कलाकारका रुपमा छानिइन् । दोस्रो फिल्म ‘वरदान’मा पनि काम गरिन् । उनको कोठाको भित्तामा अहिले पनि ‘वरदान’ नामक फिल्मको सुटिङ युनिटको पोस्टर छ जहाँ मनुको तस्बिर हाइलाइट गरिएको छ तर फिल्म रिलिजै भएन ।

सुटिङकै क्रममा राजेन्द्र उनीसँग नजिक हुँदै गए । १५ वर्ष जेठा उनीसँग कतिखेर मनुको मन साटियो पत्तै भएन । एक वर्षपछि दुवैले विवाह गरे ।

बिहे भएकै वर्ष छोरो जन्मियो । फिल्मी क्षेत्रमा निर्देशकका रुपमा न राजेन्द्र जम्न सके, न कलाकारका रुपमा मनु । सन्तानका लागि पैसा कमाउनुप¥यो भनेर उनका श्रीमान् मलेसिया उडे, १० वर्षअगाडि तर उनी घर फर्किएनन् । बाँचेका छन् कि बितिसके– केही अत्तोपत्तो छैन ।

‘रक्सी धेरै पिउनुहुन्थ्यो । विदेश जानुअघि नै फोक्सोमा समस्या थियो,’ बेडकै अगाडि श्रीमान् र छोरासँग खिचिएका तस्बिर नियाल्दै उनले सम्झिइन्, ‘विदेश पुगेको तीन महिनासम्म पैसा पनि पठाउनुभएकै थियो । त्यसपछि अचानक टिबी भएछ । काम गर्न गाह्रो भयो भन्नुहुन्थ्यो । मैले फर्किन कर गरेँ । नफर्किउञ्जेलसम्मका लागि औषधि पनि पठाएँ । सिरियस बिरामी हुनुभएछ । एकजना दाइले तपाईंको श्रीमान्लाई लिएर आउँदैछु भनेर फोन गर्नुभयो । होला नि त भनेर एयरपोर्ट पनि पुगेँ तर साथी एक्लै आउनुभयो, श्रीमान् हुनुहुन्थेन ।'

उनले साथीलाई श्रीमान् खोई भनेर सोध्दा अर्कै खबर पाइन्, ‘उहाँको अवस्था एकदमै नाजुक थियो । प्लेनमा चढ्दा अक्सिजनको अभाव हुन्छ भनेर आउन दिइएन । त्यसैले उता एम्बेसीमै छाडेर आएँ ।’
उनको स्वर भक्कानिएजस्तो भयो । आँखाबाट बरर्र आँसु झरे । आफ्नो भावना रोक्दै उनले भनिन्, ‘१० वर्ष भइसक्यो उहाँलाई पर्खेको तर केही खबर पाउन सकेकी छैन ।’

उनका श्रीमान्का साथीले मनुले नपत्याउलिन् भनेर एयरपोर्टमा सँगै बसेर खिचेको फोटो देखाए । ‘श्रीमान् आउनु होला भनेको त तस्बिर मात्र आइपुग्यो,’ रोक्न खोजेर पनि उनका आँसु रोकिएनन्, पुछ्दै उनले भनिन् ।

जीवनमा मनुलाई आजसम्म कुनै कुराको पछुतो छैन । छ त केवल बिरामी पतिलाई जबरजस्ती विदेश पठाउनुको पछुतो । ‘बूढाले बाहिर जान्नँ भन्दै हुनुहुन्थ्यो, मैले छोराको भविष्य देखाएँ, हाम्रा सपना बताएँ र जबरजस्ती पठाएँ,’ उनी पुनः भक्कानिइन् । 

मनुलाई सामान्य बनाउनका लागि केहीबेर हामी मौन नै रह्यौँ । केही समयपछि उनले भनिन्, ‘म पनि के गरुँ ? यहाँ बस्दा फिल्म निर्देशन गरेर कमाएको अलिअलि पैसा रक्सी पिएरै सक्नुहुन्थ्यो । विदेशमा पैसा कमाउन सक्नु भएन भने पनि सुध्रनु होला कि भनेर विदेश पठाएकी थिएँ तर  कहिल्यै नफर्किने गरी जानुभयो ।’

तापनि श्रीमान फर्कने मनुको आशा भने अझै मरेको छैन, भनिन्, ‘मरेको भए त एयरपोर्टमा बडी प्याक भएर आउनुपर्ने हो, आ’को छैन !’

उनले पाँच महिनासम्म श्रीमान्को खबर कुरिन् । पैसा आउन बन्द भइसकेको थियो । केही अत्तोपत्तो नलागेपछि छोरा र आफ्नो पेट भर्न अर्काको घरको जुठो बर्तन गर्न लागिन् । जुनबेला पनि पानीमा खेल्नुपर्ने भएकाले उनलाई चिसोले साह्रै दुःख दियो । त्यसपछि उनी पहिला काम गरिरहेको डान्सबारमा फर्किइन् । यसपाला उनको अवतार फरक थियो । पहिला ग्राहकका लागि मेनु देखाउँदै अर्डर लिन्थिन् भने यतिबेला डान्सरको रुपमा अरुलाई मनोरञ्जनका लागि अर्डर लिन थालिन्– कुन गीतमा नाचौँ भन्दै । यतिञ्जेल उनको नाम पनि डान्सबारमा मनुबाट सरितामा परिणत भइसकेको थियो ।
जीवनका पाना पल्टाउँदा पल्टाउँदै ११ बज्यो । उनी खाना पकाउने तयारीमा लागिन् ।

‘तपाईंहरु पनि यहीँ खानु है !’

पत्रकारबाट अब हामी उनको पाहुना बन्न पुग्यौँ ।
..................
फिल्म निर्देशक श्रीमान् नभएर के भो ? उनको अभिनयको भोक मरिसकेको थिएन । उनले फिल्म अभिनयको प्रयास जारी राखिन् तर  निर्दयी फिल्मी क्षेत्रले उनलाई सहजै के स्वीकार गथ्र्यो र !
श्रीमान् नभए पनि परिचित केही निर्देशक थिए । चिनेकाले मौका देलान् कि भनेर चार–पाँच जनालाई भेटिन् पनि तर कोही उनको अभिनयको भोक मेटाइदिने भेटिएनन् । 

जति भेटिन् सबको सोच आफ्नो ‘भोक’ मेटाउने मात्र ! श्रीमान् हराएकी जवान महिला ! उनीप्रति आँखा गाड्नेको कुनै कमी थिएन, फिल्म उद्योगमा । एउटा निर्देशकले म्युजिक भिडियोमा अभिनय गर्न भनी बोलाए । निर्देशकले अभिनयको गुलियो प्रस्तावसँगै कफी पनि खुवाए । निर्देशक नयाँ मोडल केटालाई लिएर आएका थिए । गीत सुनाए । त्यसपछि त भोलि गोदावरी गएर रिहर्सल गर्नुपर्छ भन्ने थाले । 

‘मैले तीन महिना अभिनय सिकेकी छु, अभिनय थोरबहुत थाहा छ भनेँ,’ उनले त्यो दिन सम्झँदै भनिन्, ‘तापनि कोठामा गएर रिहर्सल गर्नुपर्छ भनेर ती निर्देशकले जिद्दी गर्न थाले । पछि बुझेँ उनले खोजेको अभिनय त अर्कै रहेछ !’

ती निर्देशकको आशय बुझेपछि उनले पछि फोनै उठाउन छाडिन् ।

त्यसो त यस बीचमा उनले केही म्युजिक भिडियोमा अभिनय नगरेकी भने हैनन् तर जम्न सकिनन् । ‘जम्न पनि भाग्य लेखेर ल्याउनु पर्दोरहेछ क्यार !’ उनको दिग्दारी प्रकट भयो । 

हामीले भेट्दा पनि उनमा अभिनयको कडा रुचि देखियो । खाना पकाउँदै गर्दा उनले भनिन्, ‘मैले बेकारमा श्रीमान्लाई विदेश पठाएँ । उहाँ यहाँ हुनुभएको भए म कलाकारितामा जमिसक्थेँ ।’

कलाकारितामा नै जम्नका लागि उनले नृत्य सिकेकी थिइन् । त्यतिबेला फिल्मका लागि सिकेको नृत्य यतिबेला खेर भने गएको छैन । डान्सबारको डान्सर बन्न काम लागिरहेको छ । 

घर र डान्सबार गर्दै उनको दैनिकी चलिरहेको आठ वर्ष पुगिसक्यो । ‘मलाई रात काट्न गाह्रो हुन्न,’ उनले उदास हुँदै भनिन्, ‘बारमा गएपछि त्यहाँ रमाइलो हुन्छ, रमाइलो गराइन्छ । साथीभाइ हुन्छन् । उनीहरुको आत्मियता हुन्छ । रात त झिमिक्कै जान्छ ।’ तर दिन कटाउन भने निक्कै बोझिलो लाग्छ । दिउँसो ओछ्यानमा पल्टिँदा अधिकांश समय उनै हराइरहेका श्रीमान् उनको स्मृतिमा नाच्ने गर्छन् र त्यसबेला उनलाई भाउन्न भएर आउँछ ।

स्मृतिका पाना पल्टाउँदा–पल्टाउँदै खाना तयार भयो । दाल–भातका साथ तरकारीमा कुखुराको मासु थियो । उनले चार वटा थाल तयार पारिन् र भर्दै गइन् । पाहुना भएकाले होला हामी दुई जनाको भागमा कुखुराको चोक्टाको संख्या अलि बढी नै थियो ।
.............
बिहान झिस्मिसेमा कोठा छिर्ने । मध्याह्न १२ बजे उठ्ने । मुख धुने, दाँत माझ्ने, नुहाइधुवाइ गर्ने, खाना खाने । भाडाबर्तन, मैला कपडा धुने अनि फेरि सुत्ने । त्यस्तै ५ बजेतिर पुनः उठ्ने, मेकअप गर्ने, बस चढेर दरवारमार्गको डान्सबार पुग्ने । 

‘सधैँ यति गर्दागर्दै मेरो अफिस जाने टाइम भइसक्छ,’ उनी सुनाउँदै थिइन्, ‘यहाँबाट साँझ ६ बजेतिर हिँड्छु । सात बजेसम्ममा डान्सबार पुगिसक्छु । राति १ बजेसम्म डान्सबारमै हुन्छु । फर्केर घर आइपुग्दा ३–४ बजिसक्छ ।’

खाना खाएपछि हामीले सुत्नका लागि उनलाई केही समय छाडिदियौं । कुरा गर्दागर्दै आँसुले भिजेका उनका परेली लोलाइसकेका थिए । बेलुका उनले करिब ८ घण्टा डान्सबारमा काम गर्न बाँकी नै थियो ।
‘केही समय आराम गर्नुस्, हामी फेरि आउँला’ भन्दै हामी दुवै बाहिरियौं ।
...............
उनलाई निन्द्रा आएन । किन हो पत्तो भएन । श्रीमान्को याद, त्रासद भविष्य या हामीसँग दुःखको पोको फुकाउने चाह । आधा घण्टामै उनी उठिन् । 

हामी फर्कंदा उनको छोरा स्कुलबाट आइसकेको थियो । छोरा देख्दा उनको मुहारमा अर्कै चमक देखिन्छ । 
उनी कसरी डान्सबारमा पुनः पुगिन् । कुराकानी त्यहीँबाट सुरु भयो ।

‘वेटर गर्दा चिनेका साथीहरुमार्फत छिरेकी हुँ,’ मनुले भनिन्, ‘मैले डान्स पनि सिकेको थिएँ । नयाँ बानेश्वरमा साहुलाई भेट्न गएँ । नाच्न लगायो । नाचेँ । मन पराए । काम गर्न थालेँ ।’ 

विवाह अगाडि वेटरको रुपमा डान्सबार पुगेकी थिइन्, मनु । त्यो बेला बडो नौलो लागेछ उनलाई । दोस्रो यात्रा भने त्यत्ति नौलो लागेनछ । 

‘मैले वेटरको रुपमा गर्दा त न्याकेड डान्स पनि हुन्थ्यो । छक्क पर्थें देखेर । मान्छे हुलका हुल टिकट काटेर हेर्न आउँथे,’ उनले ती पल सम्झिइन्, ‘त्यसको धङ्गधङ्गी अहिलेका ग्राहकहरुमा पनि भेटिन्छ । न्याकेड डान्स गर्छौ भनेर सोध्छन् । अहिले त्यस्तो हुँदैन, पुलिसले पकड्छ भनेर सम्झाउँछौं ।’ 

उनी डान्सरको रुपमा दोस्रो पटक जाँदा अरु भन्दा कलिलै थिइन् । त्यसमाथि डान्सबारमा नयाँ डान्सर भन्नेबित्तिकै बेग्लै चार्म हुन्थ्यो । 

‘त्यत्रा मान्छेहरुका अगाडि नाच्न रमाइलो पनि लाग्यो, सँगसँगै डान्स बिग्रेला कि भन्ने पनि डर पनि थियो,’ आफ्नै ओछ्यानमा बसेर मनु आफ्नो विगत सुनाइरहेकी थिइन् ।

‘पहिलो दिन सब टेबलमा मेरै माग थियो । नयाँ भनेर सबैले माया पनि गरे,’ यत्तिका घण्टापछि बल्ल उनको अनुहारमा चमक देखियो, ‘सबैले टिप्स पनि दिए । मलाई त भ्याइनभ्याइ थियो, टिप्स टिप्न । त्यो दिन साँच्चै रमाइलो भएको थियो !’ 

पछिल्लो समय नेपाली डान्सरको माग अन्य देशमा पनि बढ्दो छ । मलेसिया, दुबई, हङकङमा मात्रै हैन अफ्रिकी देशमा पनि पुगिरहेका छन् नेपाली डान्सर । तर उनी भारतसम्म पुगेकी रहिछन् ।
उनले कोलकाताको डान्सबारमा गएर नाचेको अनुभव पनि सुनाइन् हामीलाई । 

‘गएको जेठमा कलकत्ता गएकी थिएँ,’ उनले कलकत्ता अनुभव खोल्दै भनिन्, ‘बाबु (छोरा)को धेरै याद आएर त्यहाँ बस्नै सकिनँ । दुई महिनामै फर्किएँ । साउन–१० मा छोराको बर्थ डे हो । बर्थ डे मनाउने गरी फर्किएँ ।’ 
कोलकातामा काम गर्दा उनले यताको काम र उताको काम दाँज्न भने पाइन् । ‘उता ग्राहकसँग बसेर खानुपर्दैन, उनीहरुले छुन पनि पाउँदैनन् तर यता त्यस्तो छैन, टेबलमा बसेर खानैपर्छ । उता त केटीहरुले आँखाबाटै मोहनी लाउने रहेछन् । जुन ग्राहकलाई हेर्याे , त्यही ग्राहक लोभिने,’ उनले भनिन् ।
....................

( वेपत्ता श्रीमानकाे तस्बिर हेर्दै मनु ।)

जे होस्, जीवन जसोतसो चलेको छ । श्रीमान्को पर्खाई, छोराको सुखद् भविष्यको आशा । यी दुई विषय नै हुन् उनमा बाँच्ने जाँगर भर्ने । उनले जे गरिरहेकी छन्, छोराका लागि गरिरहेकी छन् । 

मनु कोठामा फर्कंदा छोरा सुतिसकेका हुन्छन् । छोरा उठ्दा मनु सुतिरहेकी हुन्छिन् । छोरालाई स्कुल पठाउने काम, टिफिन पुर्याउने काम सबै आमाले गर्छिन् । साँझ छोरो स्कुलबाट फर्कंदा मनु अफिस हिँडिसकेकी हुन्छिन् । आक्कलझुक्कल समय मिल्छ दुवैको । 

तर विडम्बना जसका लागि यी सबै सङ्घर्ष गरिरहेकी छन्, उसैलाई समय दिन पाएकी छैनन् । आइतबार हाम्र्रै कारणले छोरा स्कुल जानु अगाडि बाई भन्दै चुप्पा गर्न पाएकी रहिछन् । महिनौँपछि छोरालाई स्कुल गइरहेको देख्न पाउँदा बडो खुसी देखिएकी थिइन्, मनु । 
.....................
साँझको ७ बजे मनुसँगै हामी उनको डान्सबार पुग्दा बार रित्तो थियो । ढोकामा केही बार गर्ल, ग्राहकको स्वागतमा उभिएका थिए । बारभित्र गीत बजिरहेको थियो तर नाच्ने कोही थिएनन् । 
‘अब बिस्तारै जम्छ,’ रित्ता टेबुलतिर हामी टोलाएको देखेर मनुले भनिन् ।
हामीलाई टेबलमा छाडेर मनु सिधै मेकअप रुमतिर लागिन् । 

करिब ४५ मिनेट भित्रै बसिन् उनी । यता बाहिर डान्स सुरु भइसकेको थियो । पालैपालो डान्सरहरु स्टेजमा नाचिरहेका थिए । 

४५ मिनेटपछि एकाएक स्टेजमा गुलाबी रङको लेहेँगा पहिरिएकी युवती देखापरिन् । नियालेर हेरेको, मनु रहिछन् । दिउँसोको भन्दा धेरै फरक । 
‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ 

उनी खुलेर नाचिरहेकी थिइन् तर दर्शक थिएनन् । ‘आइतबार प्रायः बारको हालत यस्तै हुन्छ, शुक्रबारजस्तो चमकदमक अलि हुन्न,’ उनले पछि हामीलाई प्रस्ट्याइन् ।

बेलुका ११ बजेतिर दुई ग्रुप आयो । बीचबीचमा मनु हामीसँग कुरा गर्न आइपुग्थिन् ।

उनी भन्दै थिइन्, ‘गेस्ट आएन भने त डान्स गर्नै मन लाग्दैन । धेरै गेस्ट आएपछि टिप्स झर्ला कि भन्ने आशा हुन्छ र जाँगर पनि चल्छ । हाँसेर, मस्केर, के गरेर हुन्छ, टिप्स झार्ने प्रयास गर्ने हो । नत्र तलबले धान्दैन ।’

उनको तलब रहेछ– १५ हजार रुपैयाँ । टिप्स, कमिसन गरेर महिनामा ३०–३५ हजार कमाइ हुन्छ रे ! 
मनु भित्र गइन् । ‘मुझे पिनेका सोख नहीँ’ गीतमा वाइनको गिलास बोकेर उनी स्टेजमा झुल्किइन् । एउटा ग्रुप उनको डान्सबाट लोभियो र टिप्स फ्याँक्न थाल्यो ।

हामी त्यहाँ बस्दा मनु पाँच वटा गीतमा नाचिन् । कहिले चौबन्दी चोली, कहिले लेहेंगा, कहिले ओपन ड्रेस त कहिले गाउनमा । उनीसँगको भेटमा रात्रिकालीन चमकदमकको कालो पाटो पनि खोतल्न मन लाग्यो । उनी केही खुलिन् पनि ।

त्यो दिन त गेस्टले मनुलाई कुनै अभद्र व्यवहार गरेको देखिएन । के सधैँ यस्तै भद्रभलाद्मी आउँछन् ?
‘यहाँ काम गर्दा गेस्टले नराम्रो नजरले हेर्ने मात्रै होइन, अरु पनि धेरै कुरा गर्न खोज्छन्,’ राति उनको डान्स हेर्दैगर्दा दिउँसो उनले पोखेको दुःख याद आउँथ्यो । उनले भनेकी थिइन्, ‘झ्याप भएर आउँछन् अनि जथाभावी छुन खोज्छन् । विभिन्न बहाना बनाएर फुत्किनुपर्छ ।’

कतिजना ग्राहकहरु ढोकाबाट छिर्न पाको हुँदैन, च्याप्पै समात्न आउँछन् । उनको इशारा गोप्य अङ्गतिर थियो । ‘त्यस्तो बेलामा एकदमै नराम्रो लाग्छ, बियरको बोतलले नै हिर्काइदिऊँजस्तो लाग्छ । बाध्यता छ के गर्ने ?’ उनले विवशता सुनाइन् ।

अपवादबाहेक डान्सबारमा आउने ग्राहकको दृष्टिकोण राम्रो पाएकी छैनन् उनले । बाध्यताले काम गरिरहेका हुन् भन्ने बिर्सन्छन् अधिकांशले । 

‘गेस्टका नजरमा त हामी डान्सर नै हैनौं,’ एक किसिमको आक्रोश उनको अनुहारमा देखियो, ‘सिधैँ सेक्सको प्रस्ताव गर्छन् । कति गेस्ट त होटलको चाबी बोकेरै आएका हुन्छन् । रुममा जाऊँ भन्छन्, लाजै नमानी ।’ 

घरबाट निस्कदा र डान्सबारबाट फर्कदा मनुको हातमा कपडा भरिएको झोला छुट्दैन । आइतबार पनि त्यस्तै देखियो । के हुन्छ त्यो झोलामा ? मनु सुनाउँदै थिइन्, ‘नाच्दा लगाउने ड्रेस ।’
...................
डान्सबारमा काम गर्ने धेरैले आफ्नो परिचय लुकाउँछन्, घरमा सुनाउँदैनन् । तर मनु यो मामिला बिल्कुल फरक छिन् । उनी आफूलाई निर्धक्क बार डान्सर भनेर चिनाउँछिन् । उनको कामबारे घरपरिवार र छिमेकी अधिकांश जानकार नै छन् । 

‘मलाई बार डान्सर भनेर चिनाउँदा केही फरक पर्दैन, डराउनु नै किन ?’ उनले भनिन्, ‘नराम्रो सोच्नेले जे काम गरे पनि नराम्रो सोच्छ । मान्छेको सोचसँग त कहाँ लड्न सकिन्छ र ? आफू ठीक छु भन्ने लाग्छ भने अरुको पर्वाह गर्नुहुँदैन ।’

उनले त डान्सबारमा आफ्नी आमा र छोरालाई समेत लिएर गएकी छन् ।
‘ममीले रमाइलै मान्नुभयो,’ मनुले त्यो दिनको अनुभव सुनाइन्, ‘छोरालाई अर्कोपल्टदेखि नल्याउनू भनेर साथीहरुले सुझाव दिए ।’

कान्छी आमासँग बसिरहेका बुबाले भने उनको काम रुचाएका छैनन् । 
के उनी बार डान्सरको परिचय बदल्न चाहन्नन् ?

१८ घन्टा मनुसँग बिताएपछि राति १ बजे डान्सबार छुट्ने बेलामा जिज्ञासा राख्दा उनले भनिन्, ‘छोड्ने सोच त छ तर छोडेपछि के गर्ने ? दालभात खाने पैसा कहाँबाट जुटाउने ? कम्तीमा यहाँ काम गरेर छोराका स–साना इच्छा त पूरा गर्न पाइरहेकी छु । छाडेर के गर्ने ? कसले पत्याउँछ बार गर्ललाई ?’
 

Leave A Comment